Comments Add Comment

‘बन्दुक बोकेर आएका हौं, केको भाटाको कुरा ?’

१५ फागुन, काठमाडौं । एमाओवादीका केन्द्रीय नेता एवं जनस्वंसेवक दस्ताका मध्य कमाण्ड इञ्चार्ज गंगानारायण श्रेष्ठले राजधानीमा शनिबार हुने प्रदर्शनमा नयाँ बानेश्वरको निशेधित क्षेत्र खोल्न सरकारसँग आग्रह गरेका छन् ।

तीनकुनेबाट पूर्वीकमाण्डको जुलुस बबरमहल हुँदै खुल्लामञ्चतर्फ जाने भएकाले सो बाटोमा अवरोध नगर्न श्रेष्ठले सरकारलाई आग्रह गरेका हुन् ।

फागुन १६ को प्रदर्शनको तयारीबारे अनलाइनखबरसँग कुरा गर्दै श्रेष्ठले भने- ‘हामीले तोडफोड गर्ने होइन, संविधानसभा कब्जा गर्न जाने होइन । आफ्नो उद्देश्य जे छ, त्यसबाट दायाँ वायाँ गर्दैनौं ।’ एमाओवादी नेता श्रेष्ठले बन्दुक बोकेर आएको शक्तिले भाटा बोक्नु सामान्य भएको बताए ।

ganga-narayan-shrestha-1

फागुन १६ गते एमाओवादीले भाटा लिएर काठमाडौं कब्जा गर्दैछ भन्छन् नि, के हो ?

– काठमाडौं कब्जा गर्ने होइन, जनताले आफ्नो उपस्थिति देखाउँछन् ।

तर, झडप होला भनेर राजधानीवासी आतंकित भएका छन्….

– झडप हामीले गर्दैनौं, सरकार झडप गर्न आउँछ भने जनताले जवाफ दिन्छन् ।

तीनकुनेबाट निस्कने जुलुस निषेधित क्षेत्र हुँदै बबरमहलतिर जाने तपाईहरुको तयारी देखिन्छ, निषेधित क्षेत्र तोड्नुहुन्छ ?

-हामीले राज्यसँग कुराकानी गरिरहेका छौं । उहाँहरुले मिल्दैन भनेर भन्नुभएको छ । हामीले गृह मन्त्रालयस्तरमा नै कुराकानी गरिरहेका छौं । मिल्छ होला ।

बानेश्वरको निषेधित क्षेत्र प्रयोग गर्न मिलेन भने गौशालातिरबाट घुमेर खुल्लामञ्च गए हुन्न ?

– गौशाला हुँदै घुम्दैनौं । नमिल्नुपर्ने कारण छैन । हामी तोडफोड गर्ने होइन, संविधानसभा कब्जा गर्न जाने होइन । आफ्नो उद्देश्य जे छ, त्यसबाट दायाँ वायाँ गर्दैनौं । त्यसकारण सरकार पनि अनावयक ढंगले आत्तिनुपर्ने, आकंतिक हुनुपर्ने, प्रोभोक हुनुपर्ने जरुरी छैन ।

उसोभए बानेश्वरको निषेधित क्षेत्र तोड्ने ?

– हामी पनि पछि हट्नुपर्ने जरुरी छैन । हामी जुन रुट निर्धारण भएको छ, त्यहीँबाट जान्छौं ।

तपाईहरुको प्रदर्शन शान्तिपूर्ण हुन्छ कि आक्रामक ?

– हाम्रोतर्फबाट अशान्ति हुँदै हुँदैन । हामीले त्यही शान्तिपूर्ण गर्नकै लागि दुई लाख जनतालाई व्यवस्थित गर्न टाउका गनेर स्वयमंसेवक तयार गरेका छौं । १० जना प्रदर्शनकारीका लागि एकजना स्वयंम सेवक हुन्छन् । त्यो हुँदा यहाँ कोही पनि दायाँबायाँ केही हुँदैन ।

घुसपैठ भयो भने नि ?

त्यसको हामी प्रतिवाद गर्छौं । त्यसको हामीले तयारी गरेका छौं ।

प्रदर्शन शान्तिपूर्ण हुन्छ भन्नुहुन्छ । तर, भाटा बोकेर प्रदर्शन गर्नुहुन्छ । कतैकतै भाटा चलाउनुभयो । गृहले भाटा नबोक्नुस् भनिसकेको छ….

– यो भाटा कस्तो हो भने नेपालीहरुको आफ्नो हतियार पनि हो । यसलाई भाटा बोक्दा के के न गरिहाल्यो भनेर आतंकित हुन आवश्यक छैन ।

अर्को के पनि हो भने हिजो त हामी बन्दुक नै बोकेर आएका हौं, केको भाटाको कुरा ? भोलि आवश्यक पर्‍यो भने फेरि भाटा होइन, बन्दुक पनि मानसिक रुपले तयार भएर अघि बढेको हो । त्यसो हुँदा खासगरी गृह मन्त्रालयले भाटालाई के-के न हो भनेर प्रचार गरेको छ, यो नगर्न म आग्रह गर्छु ।

सार्वजनिक ठाउँमा लठ्ठी बोकेर हिँड्न पाइँदैन, गैरकानुनी हुन्छ रे त ?

– सार्वजनिक ठाउँमा लठ्ठी बोक्न हुँदैन भनेर नेपालको कुनै कानुनको धाराहरुमा लेखिएको छ भन्ने मलाई लाग्दैन । सामान्यतः मानिसहरुले बोकेकै छ । तर, हामीले बोक्ने लाठीले समाजमा आतंक फैलायो कि फैलाएन, जनता अतंकित भए कि भएनन् भन्ने हो ।

तपाईहरुलाई थाहा नै छ, समाज बर्गमा विभाजित छ । हाम्रो लौरोले कुनै वर्गलाई चोट पुग्छ भने कसैलाई सुरक्षा पनि महसुस भएको छ ।

तपाईहरुले बोक्नु मात्र भएन, भाटाले हान्नु नै भएछ नि ?

– तपाईहरुले हेर्नुभए हुन्छ कुट्न गएकाहरुलाई छेकेको हो । तस्वीहरु हेर्नु भए हुन्छ ।

दुई लाख सडकमा उतार्ने भन्नुभएको छ, तयारी हेर्दा के देखिन्छ ? कांग्रेस र एमालेले भनेजस्तै जनता नआउने हुन् कि ?
– कांग्रेस र एमाले भोलि हेर्न आए हुन्छ, उहाँहरुलाई हाम्रो निम्ता छ । हाम्रो अहिलेसम्मको तयारी अनुसार २ लाख नाघ्छ, कम हुँदैन ।

यसरी सकडमा आउने जनता हुन् कि कार्यकर्ता मात्रै ?

– यो खासगरी जनता र कार्यकर्ताको समिश्रण हुन्छ । तर, कार्यकर्ताको बाहुल्यता रहन्छ । किनकि देशभरिको हो ।

किन फागुन १६ लाई प्रतिष्ठाको विषय बनाएर देशभरबाट कार्यकर्ता ल्याएको हो ? खुल्लामञ्चमा नआए पार्टीबाटै निकाल्ने चेतावनी पनि दिनु भएको रहेछ….

– प्रतिष्ठाको विषय बनाएको होइन । आन्तरिक रुपमा प्रष्ट भन्दा हिजो त हाम्रो फौजी संरचनबाट आएको पार्टी हो । शान्ति प्रक्रियामा आएपछि हाम्रो संरचनामा केही लुज भयो र एक ढंगले प्वाल पर्न थाल्यो । अनुशासन मान्नु नपर्ने जस्तो, लेबी नै तिर्नु नपर्ने जस्तो । म माओवादी भनिदिए भयो । त्यसलाई हामीले फिल्टरेशन पनि गर्नुछ ।हामीले यसलाई रुपान्तरण र शुद्धीकरण भनेका छौं । यो आन्दोलन भनेको देश र दुनियाँ बदल्ने मात्र होइन, पार्टी र आफैलाई बदल्ने पनि हो । यस हिसाबले पार्टी कार्यकर्ताहरुलाई धारिलो, उर्जावान बनाउन कडा निर्देशन जारी गरेको हो ।

काठमाडौंमा दुई लाख मानिस सडकमा उतार्‍यो भने माओवादीमा जितको उन्माद आउँछ भन्नेहरु पनि छन् नि ?

– हाम्रो उन्माद हुँदैन । संयमतापूर्वक आफ्नो जिम्मेवारीबाट विचलित हुँदैनौं । अर्को, एमाओवादीका लागि २ लाख जनता काठमाडौंमा परिचालन गर्नु ठूलो पनि ठाँन्दैनौं । किनकि ६ दिने आम हड्तालको समयमा ५ लाखभन्दा बढी जनता कार्यकर्ता परिचालन गरेकै हो । रिङरोडमा मानव चेन जुलुस बनाएर देखाएकै हो ।

तर, दुई लाख सडकमा आए पनि दलहरुसँग गर्ने त वार्ता र सहमति नै त होला ?

वार्ता त अहिले पनि हामीले गर्दैनौं भनेका छैनौं । वार्ताको प्रशंगमा अध्यक्ष कमरेडले प्रतिकात्मक रुपमा भन्ने गर्नुहुन्छ, माघ ५ गते तरबार म्यानबाट थुत्न खोज्नुभो । त्यसको परिणाम संविधानसभामा झडप भो । ११ गते गएर बाहिर निकाल्नु भो, विपक्षीहरुको गर्धनमाथि झुण्ड्याइहाल्नुभो । अब त्यो फेरि म्यानमा नराखेसम्म वार्ताको वातावरण बन्दैन ।

तर, अहिले त तरबार राखिसके होइन र ?

– स्थगित गरेको मात्र हो, तरबार म्यानमा राखिसक्नुभएको छैन । उज्याएको तरबार अहिले भूईँमा राख्न खोज्नुभएको छ । हामीले त प्रष्टै भनेका छौं कि प्रश्नावली समिति खारेज गर्नुपर्‍यो । प्रक्रिया र सहमति एकसाथ हुन सक्दैन ।

अहिले दुई साता नाघिसकेन प्रक्रिया रोकिएको ?

– अहिले रोक्नुभएको छ, त्यसलाई हामीले सकारात्मक भनेका छौं । तर, त्यसले मात्र वार्ताको वातावरण बन्दैन ।

वार्तामा सहमति भए प्रक्रिया स्वतः खारेज हुन्छ भनेकै छन् त सत्तारुढ दलहरुले ?

– यो त केटाकेटीलाई ललीपप देखाएको कुुरा भयो । प्रश्नावली समिति बन्नुभन्दा पहिले उहाँहरुलाई त पहिला एक साताका लागि संविधानसभा रोक्नुस् भनेको हो । हिजो चारजना सभासदले नारा लगाउँदा रोकिएकै हो । अहिले १४८ जनाले नारा लगाएका छन् । पूर्वप्रधानमन्त्रीहरुले छ-छ घण्टा चिच्याएका छन् । त्यो केही होइन ?

तर, तपाईहरु एकपछि अर्को शर्त थप्दै हुनुहुन्छ । पहिले प्रधानमन्त्रीको वक्तव्य आए हुन्छ भन्नुभो, फेरि हुँदैन भन्नुभो । अब प्रक्रिया नै खारेज भन्न थाल्नुभएको छ । १६ पछि फेरि अर्को शर्त आउने होला… 

– होइन । त्यस्तो हुँदैन । उहाँहरुलाई हामीले पहिलादेखि नै भनेको के हो भने कम्तिमा पनि प्रक्रिया खारेज गर्नुस् । यसरी हुन्न । भाषामा के भने होला, बेग्लै हो । स्पिरिट भनेको प्रक्रिया खारेज गर्नु हो ।

आन्दोलनको एजेन्डाकै कुरा गर्दा पनि संघीयतामा केही जिल्लाको मात्रै विवाद थियो ।तपाईहरुले १०, ९ हुँदै ६ प्रदेश भन्नुभएको थियो । अब फागुन १६ पछि के भन्नुहुन्छ ? 

– हाम्रो सैद्धातिक र नीतिगत कुरा गर्नुहुन्छ भने १४ प्रदेश नै हो । मिलाएर जान सकिन्छ भने भनेर ३० दलमा १० प्रदेशको अवधारणा बनाएका छौं । आधिकारित त्यही हो । ६ प्रदेशमा बहुपहिचान खुल्ने गरी हुन्छ भने स्वीकार गछौंं भनेका हौं । अर्को ९ पनि भनेका छौं, यो पनि अस्वीकार्य हुँदैन भनेका छौं र यसबाट फागुन १६ पछि पनि पछाडि हट्दैनौं ।

फागुन १६ को प्रदर्शनले सरकार गल्छ भन्ने ठान्नुभएको छ ?

– हामीले सोचेका छौं, १६ गतेको प्रदर्शनबाट सरकार गल्छ । गलेन भने हामीले तीन चरणको कार्यक्रम घोषणा गरेकै छौं । पहिलो चरणको प्रचारात्मक कार्यक्रमको उत्कर्ष हो १६ गतेको प्रदर्शन ।

१६ गतेपछि के गर्नुहुन्छ ?

– त्यसपछि दोस्रो चरण क्रियात्मकमा जान्छौं । भएन भने निर्णायक आन्दोलन गर्छौं । हामीले के भन्ने गरेका छौं भने श्रीपेच लगाएका महाराजहरु त जनताका अगाडि झुक्न बाध्य भए भने कालोटोपी लगाएका छोटे महाराजहरु जनताका अगाडि टिक्न सम्भव छैन । उनीहरु झुक्नैपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment