Comments Add Comment

यस्तो छ एमाओवादी मोर्चाको जनप्रदर्शनको ‘रुट’

१६ फागुन, काठमाडौं । तपाईले शनिबार राजधानीमा कुनै विशेष काम गर्नुपर्ने छ भने विचार गर्नुहोला, एमाओवादी मोर्चाको जुलुसका कारण तपाई वीच बाटोमै जाममा पर्न सक्नुहुनेछ ।

30-Party-protest
फाइल फोटो

३० दलीय मोर्चाको जुलुस राजधानीका विभिन्न स्थानबाट शुरु हुने भएकाले सवारी जामको समस्या हुने छ । रत्नपार्क लगायतका क्षेत्र साँझसम्म नै प्रभावित हुनेछ ।

एमाओवादी नेतृत्वको ३० दलीय मोर्चाले राजधानीका विभिन्न ६ स्थानबाट जुलुस प्रारम्भ गर्ने तयारी गरेको छ । जुलुस निस्कने स्थानहरु बल्खु, कलंकी, बालाजु, गौशाला, तीनकुने र लगनखेल तोकिएका छन् ।

प्रचण्डको मध्य कमाण्ड

मोर्चाका संयोजकसमेत रहेका एमाओवादी अध्यक्ष प्रचण्डले कमलपोखरीदेखि खुल्लामञ्चसम्म जुलुसको नेतृत्व गर्ने पूर्व घोषित कार्यक्रम स्थगित गरिएको छ । प्रचण्डले पुतलीसडकबाट जुलुसलाई नेतृत्व गर्ने एमाओवादी महासचिव कृष्णबहादुर महराले जानकारी दिए ।

बालाजुबाट निस्कने जुलुसमा मधेसको अवध राज्यका कार्यकर्ता सहभागी हुनेछन् । त्यसैगरी बालाजुमा नुवाकोट, रसुवा र काठमाडौंका निर्वाचन क्षेत्र नं ५, ६ र ७ का कार्यकर्ता सहभागी हुने छन् ।

त्यसैगरी गौशालाबाट कमलपोखरी आउने जुलुसको राजनीतिक नेतृत्व गिरीराजमणि पोखरेलले गर्नेछन् भने स्वयंसेवकको कमाण्डिङ विष्णु माझीले सल्हाल्नेछन् । गौशालाको जुलुसमा नुवाकोटको पूर्वी भाग, सिन्धुपाल्चोकको पश्चिमी भाग र काठमाडौं निर्वाचन क्षेत्र नं ३ र ४ का जनता एवं मजदुर सहभागी हुनेछन् ।

बाबुरामको पश्चिम कमाण्ड

एमाओवादीका अर्का नेता डा. बाबुराम भट्टराईले कालिमाटीबाट पश्चिम कमाण्डका जिल्लाहरुबाट आएका कार्यकर्ताको नेतृत्व सम्हाल्ने छन् ।

शक्ति बस्नेत र नन्दकिशोर पुनसहित कलंकी र बल्खुबाट आउने जुलुस कालीमाटीमा एकत्रित भएपछि डा. भट्टराई त्यहाँ मिसिने छन् ।  डा. भट्टराईले नेतृत्व गर्ने जुलुसको सुरक्षा हेर्ने जिम्मा पूर्व डेपुटी कमान्डर बलदेवले लिएका छन् । साथै पूर्वलडाकू गोविन्द बटाला जीवन्तले कालीमाटी ‘आर्क’को जिम्मेवारी सम्हाल्ने छन् ।

बाबुरामले नेतृत्व गर्ने जुलुसमा बूढीगण्डकीदेखि पश्चिम महाकालीसम्मका जिल्लाहरु (अवध बाहेक) बाट आएका कार्यकर्ता सहभागी हुनेछन् ।

कलंकी-बल्खु-कालीमाटीको जुलुसमा धादिङ, चितवन र मकवानपुरको केही भागका कार्यकर्ताहरु सहभागी हुनेछन् । काठमाडौंको हकमा निर्वाचन क्षेत्र नं ८, ९ र १० का कार्यकर्ताले बाबुरामलाई साथ दिनेछन् ।

नारायणकाजीको पूर्वी कमाण्ड

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठले कोटेशवर नजिकै तीनकुनेबाट पूर्वीकमाण्डका जिल्लाहरुको नेतृत्व गर्नेछन् । तीनकुनेको जुलुसमा हरिबोल गजुरेल, लोकेन्द्र विष्ट र अग्नि सापकोटाको पनि सहभागिता हुनेछ । पूर्वी नेपालका जिल्लाहरुका साथै मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं आउने सिन्धुली रामेछाप, ओखलढुंगा र सोलुसम्मका कार्यकर्ताको नेतृत्व श्रेष्ठले गर्ने छन् ।

श्रेष्ठको कमाण्डमा भक्तपुर, र काठमाडौं निर्वाचन क्षेत्र नं १ र २ का कार्यकर्ताहरु सहभागी बन्ने एमाओवादीले बताएको छ । काभ्रे र सिन्धुपाल्चोकबाट आउने कार्यकर्ताहरु श्रेष्ठको कमाण्डअन्तरगत स्वयंसेवक र सुरक्षाको जिम्मा गंगानारायण श्रेष्ठ, गोपाल किराती र वाइसीएलका प्रमोद, शरद र हेमन्तले गर्नेछन् ।

वर्षमानको ललितपुर कमाण्ड

एमाओवादी सचिव वर्षमान पुनले ललितपुरको लगनखेलबाट निस्कने जुलुसको नेतृत्व गर्नेछन् । यो जुलुसमा ललितपुरका तीनवटै निर्वाचन क्षेत्रमा साथै मकवानपुर र काभ्रेका केही भागका कार्याकर्ताहरुको सहभागिता हुने बताइएको छ । यो जुलुसमा सुरक्षाको जिम्मा वाइसीएल नेता विश्वासलाई दिइएको छ ।

महासचिव महरालाई मञ्चको जिम्मा

एमाओवादी महासचिव कृष्णबहादुर महराको जिम्माचाँहि खुल्लामञ्चको व्यवस्थापन गर्ने परेको छ । महराले खुल्लामञ्चको राजनीतिक कमाण्ड सम्हाल्नेछन् ।

खुल्लामञ्च व्यवस्थापनमा महरालाई झक्कु सुवेदी र शालिकराम जमरकट्टेलले साथ दिनेछन् । मञ्चको सुरक्षा हेर्ने जिम्मा वाइसीएल नेता दीपशिखाले पाएका छन् । मञ्चमा सुरक्षा, पानी, स्वास्थ्य र शौचालयको व्यवस्थापन पनि दीपशिखाकै जिम्मेवारीमा परेको छ ।

राजधानीको चारैदिशाबाट जुलुस निस्कने भएपछि शनिबार राजधानीको आवत-जावत र व्यापार-व्यवसाय प्रभावित हुने देखिएको छ ।

आयोजकहरुले यातायात बन्दको घोषणा गरेका छैनन् । तर, जुलुसका कारण यातायातमा अवरोध पुग्ने प्रायः निश्चित देखिएको छ । एमाओवादी मोर्चाले करीब २ लाख मानिस राजधानीमा उतार्ने दाबी गरेको छ ।

एमाओवादीले सबै राज्य र जिल्लाहरुले झण्डा र व्यानर व्यापक रुपले बनाई जुलुश तथा जनसभामा प्रदर्शन गर्नुपर्ने एमाओवादीले निर्देशन दिएको छ ।

पार्टीका सबै पीबीएम केन्द्रीय सदस्यहरु, संविधानसभा सदस्यहरु, आ-आफ्नो जिम्मा भएका राज्यमा सहभागी हुने जनाइएको छ । जनवर्गीय संगठन, राष्ट्रिय मोर्चाहरु र संघीय जनसम्पर्क मञ्च (गणतान्त्रिक मञ्च) का ब्यानरहरुसहित ५ वटै ठाउँबाट पायकअनुसार सहभागी हुने बताएको छ ।

जनप्रदर्शन अनुगमन गर्न समिति
एमाओवादीले जनप्रदर्शनको अनुगमनका लागि पार्टी प्रवक्ता दीनानाथ शर्माको नेतृत्वमा ५ सदस्यीय अनुगमन समिति गठन गरेको छ ।

समितिमा लिलामणी पोखरेल, हितराज पाण्डे, जोखबहादुर महरा, र डोरप्रसाद उपाध्याय रहेका छन् । अनुगमन समितिका सदस्यहरुले जुलुस, सभा, मञ्च व्यवस्थापन झााकी व्यवस्थापन, स्वयम्सेवक परिचालन, झाण्डा ब्यानर व्यवस्थापन, गाडी पार्किन, खानेपानी, औषधोपचार लगायतको अनुगमन र निरिक्षण गर्ने बताइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment