Comments Add Comment

ठमेलमा २४ सैं घन्टा विद्युत् आपूर्ति हुने

१५ फागुन, काठमाडौं । राजधानीको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा २४ सैँ घन्टा विद्युत् आपूर्ति हुने भएको छ ।

ठमेल पर्यटन विकास परिषद्ले पर्यटकहरुको भीडभाड रहने ठमेल क्षेत्रका मुख्य सडक र चोकमा सौर्यबत्ती जडान गरेपछि ठमेल रातमा पनि झलमल्ल हुने भएको हो ।

परिषद्ले पहिलो चरणमा ठमेलको मुख्य प्रवेशद्वार त्रिदेवीमार्गस्थित सञ्चयकोष भवन अगाडि १५ र अस्कल क्याम्पसको पछाडिको क्षेत्रमा तीनवटा गरी जम्मा १८ सौर्यबत्ती जडान गरेको छ । सडकका दुवै किनारमा खम्बामा जडान गरिएको बत्तीको आकर्षणले सडकको सोभालाई बढाएको छ ।

विद्युत् प्राधिकरण र एसियाली विकास बैंकको सहयोगमा पहिलो चरणमा ६० वाटका १८ बत्ती जडान गरिएको परिषद्का अध्यक्ष रामशरण थपलियाले जानकारी दिए । ट्रेकिङ एजेन्सीज एसोसिएसन अफ नेपाल (टान) को सहयोगमा ठमलेका अन्य क्षेत्रमा केहीदिनभित्रै थप बत्ती जडान गरिने हो ।

ठमेलको सातघुम्तीलगायत क्षेत्रमा ४० वाटका बत्ती ३५ मिटरको दुरीमा राखिनेछ । उक्त क्षेत्रको सडक साँघुरो भएकाले खम्बा राख्न समस्या भएपछि घरका छतमाथि सोलार बत्ती जडान गरिने परिषद्ले जनाएको छ ।

परिषद्का अनुसार ठमेलको मुख्य क्षेत्र र भित्रि सडकमा २०० भन्दा बढी सौर्य बत्ती जडान गरिनेछ । टानको रु १५ लाख, नेपाल पर्यटन बोर्डको रु १५ लाख र विभिन्न १६  बैंक र पाँच फाइनान्सको (४० सौर्य बत्ती) विद्युत् प्राधिकरणको (६० वटा वत्ती) तथा अन्य व्यावसायिक संस्थाको (३० सौर्य बत्ती) गरी जम्मा दुई करोड दुई लाख ६० हजारको लागतमा बत्ती जडान गरिनेछ ।

नवीकरणीय ऊर्जा प्रालिमार्फत परिषद्ले ठमेल क्षेत्रमा सौर्य बत्ती जडान गरेको हो । परिषद्ले ठमेल क्षेत्रमा सौर्य बत्तीसँगै सिसी क्यामेरा पनि जडान गर्ने जनाएको छ ।

ठमेलका मुख्य चोकमा यसअघि आठवटा सिसी क्यामेरा राखिएको थियो तिनलाई छोटो दुरीमा राखेर अब अझ प्रभावकारी बनाउन अत्याधुनिक क्यामेरा राखिने परिषद्ले जनाएको छ । पर्यटन प्रवद्र्धन र ठमेलको सौन्दर्यतालाई मध्यनजर गरी परिषद्ले सडक विभागलगायत विभिन्न निकायको सहयोगमा ठमेल क्षेत्रको सडक कालोपत्रे र चिल्लो गरेको थियो । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment