Comments Add Comment

खुल्लामञ्चको प्रदर्शनका ९ विशेषता

१६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी नेतृत्वको ३० दलीय मोर्चाले शनिबार  खुल्लामञ्चमा गर्न लागेको शक्ति प्रर्दशनका विशेषता यस्ता छन् :

maobadi morcha

१. खुल्लामञ्चमा ३० दलका ३५ नेता अटाउने मुख्य मञ्च हुनेछ । कलाकार र फोटो पत्रकारका लागि बेग्लै मञ्च हुनेछ । डिजिटल डिस्प्ले सहितको खुल्लामञ्चको व्यवस्थापनमा करिब ६ लाख खर्च हुने अनुमान गरिएको छ ।

२. करिब ३० हजारको हाराहारीमा मानिसहरु अट्ने क्षमता रहेको खुल्लामञ्चमा सुदुरपूर्व र सुदुरपश्चिमबाट आएका कार्यकर्ताहरुलाई राखिनेछ । उपत्यका र वरिपरिका जिल्लाबाट आउनेहरु खुल्लामञ्च परिपरिको सडकलाई घेरा हालेर बस्नेछन् । सुन्धारा र बागबजारसम्म सुन्न सकिने गरी माइक फिट गरिएका छन् ।

३. प्रदर्शनमा २० हजार स्वयंसेवक परिचालन हुनेछन, जसमध्ये खुल्लामञ्चभित्रको सुरक्षा दुई हजारले गर्नेछन् । दुर्इ सयको विशेष दस्ताले नेताको सुरक्षा गर्नेछन् । खुल्लामञ्चमा पानी र शौचायलको व्यवस्था हुनेछ ।

maoist
नवलपरासीबाट शनिबार बिहानै राजधानी अाइपुगेका एमाअाेवादी कार्यकर्ता

४. काठमाडौं बाहिरबाट आएका कार्यकर्तालाई काठमाडौंमा खाने बस्ने व्यवस्था गरिएको छैन । उनीहरु नाइटबसमा बिहान काठामाडौं आइपुग्छन्, दिउँसो प्रदर्शनमा भाग लिन्छन् र बेलुका नाइट बस चढेर फर्कन्छन् । बाटोमा हुने खानपिन सम्बन्धित जिल्ला कमिटीले नै व्यहोर्नेछ ।  मञ्चको सुरक्षामा खटिने २ सयजनाको स्पेसल फोर्सले भने बिहानको खाना त्यहीँ खाने व्यवस्था छ ।

५. सरकारले लाठी बोक्न प्रतिबन्ध लगाए पनि करिब पाँच हजार स्वयंसेवकहरुले भेट्टाएसम्म हातमा भाटा बोक्ने छन् । तर, भाटा र लाठीको अभाव छ । त्यसैगरी स्वयंसेवकले लगाउने टोपीको अभाव देखिएको छ । टोपी वाइसीएलले मात्रै लगाउनेछन् । मधेसीले पनि लाठी बोक्ने बताएका छन् । प्रहरीले नागढुंगामा लाठी जफत गरेको छ ।

६. टाढाका जिल्लाबाट जिल्ला कमिटीसम्मका कार्यकर्तामात्रै राजधानी आउनेछन् । तत् तत् जिल्लाबाट राजधानीमा बसोबास गर्ने जिल्लाबासीलाई सम्पर्क समितिमार्फत् सडकमा उतार्ने रणनीति अपनाइएको छ ।

७. कार्यक्रम एमाओवादीमय हुनेछ । तर, ३० दलीय मोर्चामा रहेका अन्य दलहरुले पनि सकेसम्म आफ्नो अस्थित्व देखाउने प्रयास गर्ने छन् । अशोक राईले स्यंभु र डल्लुबाट जुलुसको नेतृत्व गर्नेछन् भने मधेसवादी दलहरुले त्रिपुरेश्वरदेखि बबरमहलसम्म जिम्मा लिएका छन् । कुमार लिङदेन र पासाङ शेर्पाका दलहरुले भृकुटीमण्डपको जिम्मा पाएका छन् । पदमरत्नको मोर्चाले सुन्धाराको जिम्मा पाएको छ । शुक्रबारदेखि पत्मरत्नको दम बढेकाले मोर्चाको नेतृत्व डा. अोम गुरूङले गर्ने बताइएको छ ।

maoist1
झन्डाको कफन बाँध्दै कार्यकर्ता

८. प्रदर्शनमा दुईलाख मानिस उपस्थित गराउने विपक्षी रणनीति छ । एमाओवादीले राजधानीबाट मात्रै ६० हजार, ताम्सालिङबाट २० हजार, मधेसबाट १० हजार, ल्याउने भएको छ । चितवन, नुवाकोट, धादिङ, काभ्रे, सिन्धुपाल्चोक लगायतका जिल्लाबाट बढी मानिस ल्याइनेछ ।

९. जनवर्गीय संगठनलाई ब्यानरसहित ठूलो उपस्थिति जनाएर सत्व झल्काउन र जातीय मोर्चालाई पहिचान झल्काउन एमाओवादीले निर्देशन दिएको छ । तर, शनिबार विद्यालय र कलेज बन्द हुने भएकाले विद्यार्थी संगठनलाई युनिर्फममा मान्छे उतार्न समस्या परेको छ । एमाओवादी जुन जनवर्गीय संगठनको प्रदर्शन बलियो हुन्छ, उसको उचित मूल्यांकन गर्ने र कार्याक्रममा नआउनेलाई दण्डित गर्ने नीति लिएको छ ।

यो पनि पढ्नुहोस्

  यस्तो छ एमाओवादी मोर्चाको जनप्रदर्शनको ‘रुट’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment