Comments Add Comment

सत्तारुढ दललाई होलीसम्म पर्खन्छौं : प्रचण्ड

prachanda in khulamanch

१६ फागुन, काठमाडौं । एकीकृत नेकपा माओवादी अध्यक्ष प्रचण्ड नेतृत्वको ३० दलीय मोर्चाले राजधानीमा शक्ति प्रदर्शन गर्दै संविधानमा सहमतिका लागि सत्तारुढ दललाई एक साताको दिनको समय दिएका छन् ।

तर, यथास्थितिमा औपचारिक वार्तामा नबस्ने विपक्षी नेताहरुले बताएका छन् । वार्तामा बस्नका लागि प्रक्रिया स्थगनको घोषणा हुनुपर्ने प्रचण्डले स्पष्ट पारेका छन् ।

माओवादी, मधेसवादी र साना जनजाति पार्टीहरुले आफ्नो शक्ति प्रदर्शन गर्दै शनिबार खुलामञ्चमा सभा गरे । सभामा ३० दलीय मोर्चाका संयोजकसहितका नेताहरुले अब अर्को चरणको आन्दोलन घोषणा भएपछि कांग्रेस र एमालेसँग सम्झौताका लागि अहिलेकै ठाउँ नरहने चेतावनी दिए ।

एमाओवादी अध्यक्ष प्रचण्डले भने-‘यदि तपाईहरु (कांग्रेस-एमाले) ले तुरुन्तै गल्ती सच्याउनुभएन भने धेरै ढीलो भइसक्छ, अबको कार्यक्रम घोषणा भइसकेपछि तपाईहरुसँग यो रुपको सम्झौताको ठाउँ रहँदैन । जनताले पूरै सत्ता आफ्नो हातमा लिनुपर्ने थिति आउँछ ।’

बल कांग्रेस र एमालेको कोर्टमा भएको प्रचण्डले बताए । उनले भने-‘होली आउँदैछ, त्यतिञ्जेलसम्म हामी कुर्छौं, त्यसपछि पनि सहमतिमा आएनन् भने अबका कार्यक्रममा खुलामञ्चमा हुुनेछैन, जिल्ला-जिल्लामा आफ्नो अधिकार प्रयोग गर्ने छ । जिल्ला जिल्लामा कब्जा गर्ने छन् ।’

उनले वार्ता र सहमति वा द्वन्द्व चाहने फैसला गर्न कांग्रेस र एमालेलाई आग्रह गरे । उनले भने-‘तपाईंहरु (कांग्रेस-एमाले) ले गल्ती गर्नुभएको छ, प्रचण्डलाई देखाउँछु भन्नुभएको छ भने हेर्नुहोला भोलि कसले देखाउँछ ? जनता महाजंगे भएर आउने छ र सबै खारेज गर्नेछ ।’

भिडियो हेर्नुहोस् 

सरसल्लाह सभालाई नसुन्दा शनिबारको खबरदारीसम्म आउनुपरेको भन्दै प्रचण्डले अब पनि सुनुवाइ नभए यस्ता सभाहरु विद्रोहको सभा बन्ने चेतावनी दिए ।

संविधानसभा क्रान्तिको परिणाम भएको भन्दै उनले क्रान्तिलाई बहुमतले रोक्न खोजिए विस्फोट हुने चेतावनी दिए । उनले भने-‘योसँग खेलाची गरियो भने आगोसँग खेलाँची गरेको बराबर हुनेछ, तपाईहरु भस्म हुनु हुनेछ । खबरदार !’

विगतमा कांग्रेस र एमालेलाई विश्वास गरेर आफूले गल्ती गरेको भन्दै उनले भने-‘अरु गल्ती भएको छैन । म योपटक मर्न तयार छु, झुक्न तयार छैन ।’

भ्रष्टलाई कारबाही गर्न नसके प्रधानमन्त्री राजीनामा देऊ

एमाओवादी अध्यक्ष प्रचण्डले भ्रष्टाचारीलाई कारवाही गर्न वा राजीनामा दिन प्रधानमन्त्री सुशील कोइरालालाई आग्रह गरेका छन् ।
प्रधानमन्त्री कोइराला आफैंले आफ्नो कार्यकालमा सबैभन्दा भ्रष्टाचार भएको स्वीकार गरेको भन्दै उनले किन कारवाही गर्नु हुन्न भन्दै प्रश्न गरे ।

बलात्कारी फासी दिनुपर्छ

खुलामञ्चको आमसभालाई सम्बोधन गर्दै प्रचण्डले बारामा भएको बालिका बलात्कार भएको प्रशंग कोट्याउँदै बलात्कार गरेर हत्या गर्नेहरुलाई फाँसी दिनुपर्ने बताए । उनले भने-‘त्यस्ता अपराधीलाई फाँसीमा लट्काएपछि मात्र त्यस्ता अपराध कम हुन्छ ।’

एमाले अब चाहिँदैन, कांग्रेसमा घुसे हुन्छ

एमाओवादी अध्यक्ष प्रचण्डले अब मुलुकमा अब एमाले पार्टीको आवश्यकता नरहेको बताए ।  एमाले अब नचाहिने भन्दै कांग्रेसमा घुस्न सल्लाह दिँदै उनले भने- ‘कांग्रेस र एमाले दुई पार्टी भन्ने भ्रम हटोस् भन्ने चाहन्छु । एउटै पार्टी हो ।’

उनले अघि भने-हिजो चुनावमा भोग माग्दा बहुपहिचान हुन्छ भनेको थियो । अहिले पहिचान नै सुन्न नचाहेपछि एमाले किन चाहियो । ठग्ने र भ्रष्टाचार गर्ने हो भने कांग्रेसमा बसेर पाइन्छ ।’

बाघ दुब्लायो भने बिरालो हुँदैन : बाबुराम

कार्यक्रममा एमाओवादी वरिष्ठ नेता डा. बाबुराम भट्टराईले कांग्रेस र एमालेका केही नेताहरुलाई ‘कलर ब्लाइन्ड’ (रंग नदेख्ने) रोग लागेको टिप्पणी गरे ।

30-dal-sava-5

एमाओवादी अध्यक्ष डा. भट्टराईले शनिबारको सभा ट्रेलरमात्रै भएको बताउँदै अझै पनि सत्तापक्षले आँखा नखोले साँच्चैको फिल्म देखाइदिने बताए । आफ्नो पार्टी दुब्लाए पनि मुसो वा बिरालो नबन्ने डा. भट्टराईले बताए । ‘हात्ती दुब्लायो भने हात्ती नै हुन्छ, मुसो हुँदैन’ डा. भट्टराईले भने, ‘बाघ दुब्लायो भने बिरालो हुँदैन ।’

सहमतिबाट संविधान बन्छ भन्ने आफूहरु वार्तामा आउन तयार रहेको भन्दै भट्टराईले अधिकार प्राप्त नभएसम्म क्रान्तिकारीहरु नझुक्ने डा. भट्टराईले बताए । उनले भने- ‘बाघ बूढो भए पनि घाँस खाँदैन ।’

सहमति कांग्रेस र एमालेले तोडेका हुन् : गच्छदार

अघि वार्ताको पक्षमा रहँदा आएका मधेसी जनअधिकार फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदारले सत्ता पक्षले नसुने ठूलो आन्दोलन हुने चेतावनी दिए । ‘तपाईहरुले सहमति तोड्नुभएको छ, वार्तालाई अगाडि बढाउनुस्’ खुलामञ्चको सभालाई सम्बोधन गर्दै गच्छदारले-‘सहमति हामीले तोडेका होइनौं, कांग्रेस एमालेले तोडेको हो, कांग्रेस एमालेले नै जोड्नुपर्छ ।’

उनले अघि भने- ‘अहिले पनि समय छ, सोच्नुस्, हामी वार्ताबाट भाग्दैनौं, तपाईहरु त्यो सुन्न चाहनुहुन्न भने देशमा अब ठूलो आन्दोलन हुन्छ, निर्णायक आन्दोलन हुन्छ ।’

फोरम नेपालका अध्यक्ष उपेन्द्र यादवले जनता विद्रोहका लागि तयार रहेको भन्दै उनले खुट्टा नकमाउन आन्दोलनकारी मोर्चाका नेताहरुलाई आग्रह गरे ।

‘वार्ताबाट मधेस प्रदेश बन्छ, लिम्बुवान बन्छ, नेवा प्रदेश बन्छ भने वार्ता गर्नुस्, नत्र काम छैन’ उनले भने-‘मधेसमा विद्रोह हुन्छ र विद्रोहीले काठमाडौं कब्जा गरेर नयाँ संविधान बनाउने छ । त्यो संविधान समावेशी हुनेछ । यो बकम्फुसे वार्ताको काम छैन ।’

वार्ता गर्ने हो भने प्रधानमन्त्री सुशील कोइरालालाई विगतमा भएका सहमति कार्यान्वयन हुन्छ कि हुँदैन भनेर सोध्न नेताहरुलाई आग्रह गरे ।

सभालाई सम्बोधन गर्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले आन्दोलन सुरु भइसकेपछि वार्ता नहुने भन्दै वार्ता गर्ने हो भने केही दिनभित्र गर्न सत्तारुढ दलसँगै ३० दलका नेता प्रचण्डलाई आग्रह गरे ।

आमसभाअघि ३० दलले राजधानीका विभिन्न स्थानबाट जुलुस निकालेका थिए । एमाओवादी अध्यक्ष प्रचण्डले कृष्ण पाउरोटी, एमाओवादी नेता डा. बाबुराम भट्टराईले कालिमाटीबाट जुलुसको नेतृत्व गरेका थिए ।

एमाओवादी नेता नारायणकाजी श्रेष्ठ प्रकाशको नेतृत्वमा तीनकुनेबाट आएको जुलुसलाई प्रहरीले बानेश्वरमा राकेपछि झडप भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment