Comments Add Comment

बानेश्वरमा प्रहरीले हार्‍यो, माओवादीले जित्यो

समाचार टिप्पणी

१६ फागुन, काठमाडौं । एमाओवादी नेतृत्वको मोर्चाले शनिबार राजधानीमा गरेको प्रदर्शन बानेश्वरमा बाहेक अन्यत्र शान्तिपूर्णरुपमा सम्पन्न भयो । नयाँ बानेश्वरको घटनाले केही गम्भीर संकेत गरेको छ ।

baneshower-Jhadap-3
बानेश्वर झपडको दृश्य । थप तस्वीर हेर्न यहाँ क्लिक गर्नु्स् 

नयाँ बानेश्वरमा जुनखालको अपि्रय झडप भयो, त्यसले एकातिर सरकारको अलोकतान्त्रिक एवं होस्ल्याङे चरित्रलाई देखाएको छ भने अर्कोतर्फ एमाओवादीको सामना गर्न सुरक्षाकर्मीहरु सक्षम छैनन् भन्ने सन्देश प्रवाह गरेको छ ।

एमाओवादी उपाध्यक्ष नारायणकाजी श्रेष्ठको नेतृत्वमा आइरहेको जुलुसमा एमाओवादी सभासद हरिबोल गजुरेल, अग्नि सापकोटा लगायत थिए । उनीहरुको उद्देश्य नयाँ बानेश्वरको बाटो हुँदै खुलामञ्चसम्म पुग्नु थियो । उनीहरुलाई खुल्लामञ्च जानबाट छेक्न न्यायसँगत थिएन ।

तर, सरकारले वीचबाटोमा निशेधाज्ञाका नाममा अवरोध गर्ने नीति अपनाउँदा १६ प्रहरी र दर्जनौं आन्दोलनकारी घाइते भए ।

सरकारको अव्यवहारिक नीति

अनलाइनखबरले शुक्रबारै नयाँ बानेश्वरको रुटबारे गंगा श्रेष्ठको अन्तरवार्ता प्रकाशित गरेर सरकारलाई सचेत गराइसकेको थियो कि यो बाटो अवरुद्ध भएमा झडप हुन सक्छ । तर, राज्यले जुलुसलाई सहज निकास दिएर बुद्धिमत्ता अपनाएको भए यो घटना हुने थिएन ।

एमाओवादीलाई बाटोमा छेक्न सकिने जुन हेपाहा नीति गृह मन्त्रालयले लियो, त्यसले गर्दा १६ सुरक्षाकर्मी समेत घाइते बने । दर्जनौं प्रदर्शनकारी मात्रै होइन, बाटो हिँडिरहेका बटुवासमेत मारमा परे ।

माओवादीलाई शक्ति परीक्षणको मौका

बानेश्वर झडपले अर्को के संकेत के गरेको छ भने माओवादीका प्रदर्शनकारीहरु चप्पल छाडेर भाग्नेखालका मात्रै रहेनछन्, उनीहरुले घेरा तोड्न चाहेको खण्डमा लाठीे, काँडेतार, अश्रुग्यास र पानीको फोहोराको केही काम नलाग्ने रहेछ ।

एउटा सानो झडपमा १६ प्रहरी घाइते हुनु र प्रहरीको भागाभाग हुनुले केही गम्भीर संकेत गरेको छ ।  सरकारले यो कुरा बुझ्न सकेन कि काभ्रे र सिन्धुपाल्चोकतिरबाट आएका प्रदर्शनकारीको समूहमा पूर्वलडाकूसमेत थिए, जसका कारण उनीहरुले प्रहरीको घेरा सहजै तोड्न सके ।

भविश्यमा विपक्षी मोर्चासँग सहमति भएर न उनीहरुले राजधानीमा आक्रामकता अपनाए पनि सरकार पछि हट्नुपर्ने त होइन ? बानेश्वरमा प्रहरीको पराजयले यही संकेत गरेको छ ।

प्रहरीले यदि निषेधित क्षेत्रमा जुलुस गर्नै नदिने नीति लिएकै हो भने किन सो क्षेत्रलाई जोगाउन सकेन ? प्रदर्शनकारीलाई बाटो दिनु नै थियो भने छेक्ने प्रयास गरेर किन पछि हटियो ? यो घटनाले प्रहरीको मोराल कमजोर पारेको छ भने एमाओवादीलाई जितको महसुस गराएको छ ।

कमल थापाले गरेको गम्भीर संकेत

केही साताअघि अनलाइनखबरसँगको अन्तरवार्तामा पूर्वगृहमन्त्री समेत रहेका राप्रपा नेपालका अध्यक्ष कमल थापाले भनेका थिए कि माओवादी कार्यकर्ताहरु सिंहदरबार पस्न खोजे भने प्रहरीले गोली हान्न मिल्दैन र सरकार कोल्याप्स हुन सक्छ । (हेर्नुहोस् थापाको विश्लेषण)

विगतमा जनओन्दालनको सामना गरिसकेका थापाले गरेको विश्लेषण शनिबार नयाँ बानेश्वरमा प्रयोगमा आएको छ । एमाओवादीले घेरा तोड्न खोज्यो भने सरकारका अंगहरु ‘कोल्याप्स’ हुन सक्ने यसले स्पष्ट संकेत यसले गरेको छ ।

कमल थापाले यो पनि भनेका थिए कि एमाओवादीले ३०/४० हजार मानिस राजधानीमा उतार्न सक्छ । यो पनि शनिबारको प्रदर्शनले देखाएको छ ।

विगतमा सैन्य तालिम लिएका युवाहरुको संलग्नता रहेको पार्टी भएकाले माओवादीको प्रदर्शनमा भाग्नेहरु भन्दा भिड्नेहरुको बाहुल्य रहने नयाँ बानेश्वरको घटनाले संकेत गरेको छ ।

यद्यपि एमाओवादीको प्रदर्शनको उद्देश्य अहिले नै प्रहरीसँग मुठभेठ गर्ने नभई शक्ति देखाउने मात्रै थियो । बानेश्वरमा निषेधाज्ञाका नाममा प्रहरीले बिच्काउँदा दुबै पक्षले आफ्नो शक्तिको अभ्यास गर्ने मैदान प्राप्त गरे । दुबैको हैसियतको परीक्षा भयो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment