Comments Add Comment

फूल चोरेको आरोपमा कुटिइन् बालिका

१७ फागुन, बुटवल । मारिया मन्टेश्वरीको बगैंचाबाट फूल चोरेको आरोपमा रुपन्देहीकी एक बालिकालाई नराम्रोसँग कुटिएको छ । मन्टेश्वरीका कर्मचारीहरुले बालिकालाई कुटेर प्रहरीको जिम्मा लगाए । प्रहरीले अभिभावकको जिम्मा लगाएको छ ।

फूल टिप्ने बालिकालार्इ लिएर जाँदै गरेको प्रहरी । तस्वीरः ट्वीटर
फूल टिप्ने बालिकालार्इ लिएर जाँदै गरेको प्रहरी । तस्वीरः ट्वीटर

बालबालिकालाई घरायसी वातावरणमा पढाउने भनिएको मारिया मन्टेश्वरी परिसरमा फूलको राम्रो बगैचा छ । त्यहि बगैंचामा धेरैको आँखा जान्छ । कतिपयले फूल टिप्छन् र कतिपयले विरुवा चोर्ने पनि गर्छन् ।

स्थानीयले अनलाइनखबरलाई दिएको जानकारी अनुसार आइतबार विहान पनि ५-६ जना बालबालिका फूलबारी भित्र छिरेका थिए । अरु सबै भागे पनि एक बालिका भने उम्किन पाइनन् । उनलाई समातेर मन्टेश्वरीका कर्मचारीहरुले फूल चोर्न लागेको आरोपमा लठ्ठी बर्साए र प्रहरीको जिम्मा लगाए ।

हतियारसहित आएको प्रहरीले १०-११ बर्षकी एक बालिकालाई भ्यानमा हालेर लग्यो र आइन्दा गलत काम नगर्ने सर्तमा अभिभावकको जिम्मा लगायो ।

‘लठ्ठी भाँचिने गरी कुटियो बालिकालाई’

मारिया मन्टेश्वरी नजिकै बस्ने प्रत्यक्षदर्शी तुफानले अनलाइनखबरलाई पठाएको विवरण यस्तो छ-

‘म यो मन्टेश्वरी विद्यालयको नजिकै बस्छु । बिहान ५ः३० बजे एउटा सानो बालीका चिच्याएर रोई । छिमेकीहरु सबै के भएको रहेछ भनेर छतबाट हेर्दा त्यो स्कूलको कर्मचारी र संस्थापक मधु अर्यालले ती बालिकालाई बेस्मारी पिटीरहेका थिए । १ घण्टासम्म उनले ती बालिकालाई लाठी नै भाचिने गरी पिटे । ६ः३० तिर हामी त्यहाँ पुग्दा थाहा भयो की उनका साथीहरुले त्यस स्कूलको बगैंचाको फूल टिपेको हुनाले उनलाई समातेको हो ।

ती बालिका बुटवल कालिकानगरमा रहेको कालिका उच्चमाविमा कक्षा पाँचमा अध्ययनरत हुन् र ट्युसन पढ्न हिँडेकी थिईन् । उनी बाहेक अरु साथीहरु उम्कन पाएछन् । ती कर्मचारीको अनुरोधमा केहिछिनमा प्रहरीहरु आई उनलाई लिए र उनका साथीहरु बोलाउन लगाएर प्रहरी भ्यानमा राखेर वडा प्रहरी कार्यालय देबीनगर लगियो ।

उनकी आमालाई आफ्नी छोरी पिटिएको पछि थाहा भयो र अब के गर्न सकिन्छ भन्नेमा अलमल्ल छिन् ।’

के भन्छ मन्टेश्वरी ?

मन्टेश्वरी विद्यालयहरु बालबालिकालाई पारिवारिक वातावरणमा राम्रोसँग पढाउने विद्यालय भनेर चिनिन्छन् । तर, मारिया मन्टेश्वरीका संस्थापक मधु अर्याललाई भने स्थानीयहरुले बालिकालाई लठ्ठी भाँचिने गरी पिटेको आरोप लगाएका छन् । यसबाट उनी तनावमा छन् ।

अनलाइनखबरले घटनाबारे जानकारी माग्दा उनी अलि झर्किए । उनले भने, ‘यो सब सामान्य कुरा हो, तिललाई पहाड बनाउने ?’ अर्यालले घटनाबारे वास्तविकता बताउन उनले चाहेनन् र यही शब्द बोलेर फोन राखे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment