Comments Add Comment

भारतसँगको खेल अघि सागर थापाको गोलको सम्झना

Sagar-thapa

१७ फागुन, काठमाडौं । विश्वकप छनोट फुटबलमा नेपालले भारतसँग खेल्नु अघि राष्ट्रिय कप्तान सागर थापाले सातौं साफ च्याम्पियनसिपमा बंगलादेशविरुद्धको फ्रिकिक गोलको सम्झना गरिएको छ ।

सागरले भारतकै नेहरु रंगशालानमा सनसनीपूर्ण गोल गरेका थिए । सागरले झण्डै ३५ यार्ड टाढाबाट सेकेण्ड बार च्याप्दै गरेको बल गोलमा परिणत भएको थियो ।

त्यही गोलको मदतमा बंगलादेशविरुद्ध १८ वर्षपछि जित हात पार्नुका साथै नेपाल १२ वर्षपछि साफ च्याम्पियनसिपको सेमिफाइनलमा पुगेको थियो ।

ब्लिचर रिपोर्टले सागरको उक्त गोल फुटबल इतिहासकै उत्कृष्ट २० औं गोल समेत भनेको छ । नेपालले अन्तराष्ट्रिय खेल खेलिरहँदा धेरै फुटबल समर्थकले अहिले पनि सागरको त्यो गोलको सम्झना गर्ने गर्छन् ।

Sagar-thapa-Samman

दक्षिण एसियाको बलियो प्रतिद्वन्द्वी भारतसँगको खेल अघि मेगा बैंकका कार्यकारी अधिकृत अनिलकेशरी शाहले कप्तान थापाको गोलको स्मरण गर्दै १ लाख नगद पुरस्कारबाट सम्मान गरेको छ । ‘धेरै फुटबल हेरिन्छ । तर, त्यो गोल एकदम मिठो गोल थियो’ सम्मान कार्यक्रममा शाहले भने-‘राम्ररी खेल्नुस्, जितेर आउनुस् ।’

सन् २०१८ को विश्वकप र २०१९ को एसियन कपको प्रारम्भीक छनोट चरणको खेलमा अब नेपालले मार्च १२ अर्थात फागुन २८ गते भारतको गुहाटीमा भारतसँग खेल्दैछ ।

१७ तारिखमा घरेलु मैदान रंगशालामा होम गेम खेल्नेछ ।

कप्तान सागरले पनि त्यो गोल बिर्सिएका छैनन् । ‘क्रिटिकल टाइम थियो । १८ वर्षपछि बंगलादेशलाई जित्न सफल भयौं । त्यसैले पनि त्यो गोल महत्वपूर्ण लाग्छ’ उनले भने-‘मेरो जीवनमा फेरि त्यो टाइम आउँछ कि आउँदैन भन्ने लाग्छ ।’ उनले अघि भने-‘मलाई लाग्छ फेरि त्यो टाइम आउन गाह्रो छ । तर,प्रयास गर्छु ।’

भारतलाई हराउने नेपालको सपना

कार्यक्रममा नेपाली टोलीका प्रशिक्षक ज्याक स्टेफानोस्कीले सम्मानले भारतसँगको खेल अघि खेलाडीहरुलाई उत्साह थपेको बताए । ‘यसले सकारात्मक सन्देश दिएको छ’ उनले भने-‘भारतलाई हराउनु हाम्रो ठूलो सपना हो । मलाई आश छ हामी सफल हुन्छौं ।’

नेपाल अहिले भारतसँगको खेलका लागि अन्तिम तयारीमा जुटेको छ । बन्द प्रशिक्षण चलिरहेको छ र केही दिनमा नै अन्तिम टोलीको घोषणा हुनेछ । विमल घर्तीमगर र रोहित चन्द समेत बन्द प्रशिक्षणमा रहेको एन्फाका कार्यबाहक अध्यक्ष ललितकृष्ण श्रेष्ठले जानकारी दिए ।

कप्तान सागर थापाले अहिलेसम्मको तयारी राम्रो रहेको बताए । ‘तयारी राम्रो छ र हामी १०० प्रतिशत फिट छौं’ उनले भने-‘अहिलेसम्मको तयारीमा जितका लागि आक्रामक खेल खेल्ने भन्ने नै छ ।’

यस्तो थियो सागर थापाको गोल 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment