Comments Add Comment

वैदेशिक रोजगार व्यवसायी संघमा भाँडभैलो

१७ फागुन, काठमाडौ । नेपाली युवालाई विदेश पठाउने म्यानपावर व्यवसायीहरु आपसी झगडामा उत्रिएपछि वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभा रोकिएको छ ।

हंशराज वाग्ले नेतृत्वको संघले शुक्रबार साधारणसभा बोलाएको थियो । तर, वाग्लेले मनोमानी ढंगले साधारणसभा बोलाएको भन्दै असन्तुष्ट पक्षले जिल्ला प्रशासन कार्यालय गुहारेको थियो ।
Baideshik-Rojgar-Punarabeda
असन्तुष्ट पक्षको उजुरीका आधारमा काठमाडौंका प्रमुख जिल्ला अधिकारी एकनारायण अर्यालले साधारणसभा रोकी चैत्र १५ भित्र अधिवेशन गर्न फागुन १३ गते लिखित निर्देशन दिएका थिए ।

वाग्ले समूहचाँहि जिल्ला प्रशासनको आदेशविरुद्ध पुनरावेदन अदालत पाटन पुगेको थियो । तर, प्रशासनको निर्देशनपछि वाग्ले प्रशासनको आदेशविरुद्ध विरुद्ध पुनरावेदन गए । अदालतले पनि वाग्लेकै माग अनुसार सधाराणसभा गर्न दिनू भन्ने आदेश सुनायो ।

वैदेशिक रोजगार व्यवसायी संघको साधारण सभाको मिति तोक्ने अधिकार सीडीओलाई नभएको भन्दै वाग्ले समूहले फागुन १५ गते नै साधारणसभा गर्न कस्सिएको थियो । आफूले तोकेकै मितिमा साधारणसभा गर्न कस्सिएका वाग्ले सोही दिन पुनरावेदन पाटनबाट फैसला गराई पत्र बोकेर साधारणसभास्थल आएका थिए ।

पुनरावेदन अदालत पाटनका न्यायाधीश नारायणप्रसाद श्रेष्ठको एकल इजलासले वैदेशिक रोजगार ब्यवसायी संघका नाममा अन्तरिम आदेश जारी गर्दै जिल्ला प्रशासन कार्यालयको निर्णय कार्यान्वयन नगर्नु भनी शुक्रबार फैसला सुनाएको थियो ।

तर, सो दिन गणपूरक संख्या नपुगेपछि वाग्लेले साधारणसभा एक साताका लागि स्थगित गरी फागुन २२ गतेका लागि बोलाएका छन् ।

संघको विधान अनुसार पहिलोपटक साधारणसभामा कोरम नपुगे दोस्रो पटक बोलाइएको साधारणसभामा जति संख्यामा उपस्थिति भए पनि साधारणसभा हुने उल्लेख रहेको वाग्ले समूह बताउँछ  ।

अधिवेशन नबोलाए अस्वीकार्य

संघका अध्यक्ष वाग्लेको कार्यशैलीप्रति असतुष्टि जनाउँदै द्वीतीय उपाध्यक्ष कुमुद खनालसहितका पदाधिकारीहरुले राजीनामा दिएका छन् ।

संघमा वाग्लेको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै झण्डै एक दर्जनले राजीनामा दिइसकेका छन् ।

उता संघका पूर्वअध्यक्ष बलबहादुर तामाङले वाग्ले अवैध अध्यक्ष भन्दै आफू नै अध्यक्ष रहेको दावी गर्दै आएका छन् ।

असन्तुष्ट समूहले तत्काल अधिवेशन बोलाएर मात्रै संघको विवाद हल हुने भन्दै साधारणसभाको साटो अधिवेशनका लागि दबाव दिँदै आएका छन् । अधिवेशन नबोलाइए संघ नै कब्जा गर्ने असन्तुष्ट पक्षले चेतावनी दिएको छ ।

वाग्ले समूह भने पुनरावेदनको अन्तरिम आदेशका आधारमा साधारणसभा सम्पन्न गर्ने दाउमा छ । संस्थापन पक्षले आगामी फागुन २२ गते हुने साधारणसभाले अधिवेशन गर्ने नगर्नेबारे निर्णय गर्ने बताएको छ ।

संघका अधिकांश सदस्यले भने संघभित्रको विवाद अन्त्यका लागि साधारणसभा नगरी तत्काल विशेष अधिवेशन गर्नुपर्नेमा जोड दिँदै आएको खनाल पक्षका एक सदस्यले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment