Comments Add Comment

धरानमा गुञ्जियो ‘छमछम पाउजु बजाउँदा’

dharan
‘२१४२ औं ‘सिङ् मो लुक लो ग्यल्पो लोसार (भेडा वर्ष)’को अवसरमा ‘हिमालयन शेर्पा सांस्कृतिक केन्द्र जिल्ला कार्य समिती सुनसरी’ले शनिबार धरान सभागृहमा आयोजना गरेको वृहत्त लोसार सांस्कृतिक कार्यक्रममा शेर्पा कलाकारहरुले गीत तथा नृत्य प्रस्तुत गरेका छन् ।

चर्चित गायक मिङ्मा शेर्पाले ‘छमछम पाउजु बजाउँदा’ लगायतका आफ्ना चर्चित गीत प्रस्तुत गर्दा धरान सभागृहमा खचाखच दर्शक छमछमी नाच्न थाले । दर्शक नाचेको जोशमा सँगै नाच्दै मिङ्माले अर्को गीत गाए ‘ आमाकी बहिनी बाबुकी साली मेरो त सानीमा’ । मिङ्माले एकपछि अर्को गीत गाउँदै जाँदा दर्शकपनि जोडले नाच्दै गए । मिङ्माले मात्र होइन धरानकै गायक एपी शेर्पाले पनि खुब मनोरञ्जन प्रदान गरे ।

कार्यक्रमकै लागि काठमाडौंबाट आईपुगेका सोनाम शेर्पाले ‘माटो मै जन्म्यो, माटोमै मिल्यो’ लगायतका गीत प्रस्तुत गरेर कार्यक्रम रमाईलो बनाए । हिमालयन शेर्पा सांस्कृतिक  केन्द्रको स्वागत गीतबाट सुरु भएको कार्यक्रममा लाक्पा अमोद, सोनाम कसिस, दावा के शेर्पा लगायतले आफ्ना गीत प्रस्तुत गरेर कार्यक्रमको रौनक थपे ।

हिमालयन शेर्पा सांस्कृतिक केन्द्रका केन्द्रीय अध्यक्ष लाक्पा शेर्पाको प्रमुख आतिथ्यमा भएको कार्यक्रममा शेर्पा जातिको प्रतिनिधित्व गर्दै नेपाली संगीत क्षेत्रमा योगदान पुर्‍याए वापत चर्चित गायकद्वय एपी शेर्पा र मिङ्मा शेर्पालाई सम्मानसमेत गरियो ।

शेर्पा जातिको संस्कृति लोप हुँदै गएकाले त्यसको जगेर्ना गर्ने र युवापुस्तालाई संस्कृतिप्रति आकषिर्त गर्ने उद्देश्यले सांस्कृतिक कार्यक्रम आयोजना गरिएको आयोजक समितिका अध्यक्ष तादेम्बा शेर्पाले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment