Comments Add Comment

स्वाइनफ्लुको उपचार गर्न पन्छिन्छन् सरकारी अस्पताल

१८ फागुन, काठमाडौं ।  स्वाइन फ्लु संक्रमण हुने डरले सरकारी अस्पतालले संक्रमित बिरामीको उपचार गर्न आलटाल गर्न थालेका छन्। सरकारी अस्पतालको उदासीनताकै कारण संक्रमित एक महिलाको शनिबार राति राजधानीमा मृत्यु भएको छ।

टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालले आईसीयू र ठाउँ अभाव भन्दै संक्रमितको उपचार नगरेको पाइएको छ। यसैगरी पाटन अस्पतालले पनि संक्रमित लिन नमानेको अन्नपूर्ण पोस्टमा खबर छ ।

काठमाडौं मोडेल अस्पतालले आइतबार त्यहाँ भर्ना हुन गएका दुई संक्रमितलाई उपचारका लागि सरुवा रोग अस्पतालमा रिफर गर्दा उसले भर्ना लिन मानेन। ‘सरकारले रिफरल सेन्टर तोकेको अस्पतालले समेत सेवासुविधा नभएको बहानामा संक्रमितलाई भर्ना लिन नमानेपछि अन्य अस्पतालले के लिन्थे?’, मोडेलका निर्देशक भरत प्रधानले भने।

ती महिला गम्भीर बन्दै गएपछि मोडेलले टेकुस्थित उक्त अस्पताललाई भर्ना लिएर उपचार गर्न आग्रह गरेको थियो। ठाउँ अभाव भन्दै उक्त अस्पतालले लिन नमानेपछि मोडेलमै उपचार गरिएको थियो। ती महिलाको उपचार गर्न पाटन अस्पताललाई आग्रह गर्दा उसले पनि नमानेको प्रधानले बताए।

सरुवा रोग अस्पतालका निर्देशक डा. केदारप्रसाद सेन्चुरीले आईसीयू र भेन्टिलेटर अभावमा गम्भीर प्रकृतिका बिरामीलाई चाहेर पनि उपचार गर्न नसकेको बताए। ‘कुरा साँचो हो, हामीसँग गम्भीर बिरामीलाई उपचार गर्ने सुविधा छैन’, उनले भने, ‘त्यही भएर लिन नमानेका हौं।’

केही महिनाअघि नेपालमा इबोलाको जोखिम बढेका बेला सरुवा रोग अस्पतालमा निर्माण गरिएको आइसोलेसन वार्डमा हाल स्वाइन फ्लु संक्रमित एकजनाको उपचार भइरहेको छ। ‘आइसोलेसन वार्डमा स्वाइन फ्लुका बिरामीलाई उपचार गरिरहेका छौं’, निर्देशक सेन्चुरीले भने, ‘हाललाई त्यतिमात्र हो हामीले गर्न सक्ने।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तीन वर्षअघि उक्त अस्पताललाई आईसीयू सेवा सञ्चालनमा ल्याउन दिएको निर्देशन अलपत्र छ। निर्देशक सेन्चुरीले प्रक्रियागत ढिलाइले आईसीयू सञ्चालन कार्य अगाडि बढ्न नसकेको बताए।

अस्पतालका एक चिकित्सकले भने प्रक्रियागत ढिलाइभन्दा पनि बिरामीप्रति गम्भीर चासो नदिँदा आईसीयू सञ्चालनमा आउन नसकेको बताए। ‘हामीलाई पनि लाज लाग्छ, अहिले स्वाइन फ्लुका बिरामीलाई आईसीयू छैन, भेन्टिलेटर छैन भनेर निजी अस्पतालमा पठाउनुपरेको छ’, उनले भने, ‘अस्पतालको मात्र होइन मन्त्रालयको पनि यसमा कमजोरी छ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment