Comments Add Comment

बाग्मतीलाई स्वच्छ राख्न किनारमा सात पार्क निर्माण

१८ फागुन, काठमाडौँ । बाग्मती नदीलाई दीर्घकालीन रुपमा स्वच्छ राख्ने उद्देश्यले जोरपाटीदेखि गुह्येश्वरीसम्मको नदी किनारमा पार्क निर्माण भएको छ ।

फाइल तस्वीर
फाइल तस्वीर

हप्तामा एक दिन मात्र सरसफाइ गरेर बाग्मती सफाइको अभियानलाई निष्कर्षमा पुर्याउन समय लाग्ने देखिएकाले वृक्षारोपण गरी पार्क निर्माण गरेर सफाइ अभियानलाई तीव्रता दिन लागिएको हो ।

राम्रो जोरपाटी हाम्रो जोरपाटी र पुडासैनी मैत्री समाजको सहकार्यमा पार्क निर्माण गरिएको समाजका अध्यक्ष उत्तम पुडासैनीले जानकारी दिए । यस क्रममा पाँचवटा पार्क निर्माण गरिसकिएको छ भने थप दुईवटा पार्क निर्माणको क्रममा रहेको छ ।

“यसरी निर्माण गरिएका पार्कमा जोरपाटी नारायणटारको पुलनजिक उत्सव पार्क, त्यसको नजिकै बाल उद्यान, हत्यामोचनघाटमा पानीको फोहरासहितको युनिक पार्क, गोठाटार पुलनजिक दिवङ्गत व्यक्तित्वहरुको सम्झनामा स्मृति पार्क र त्यसको नजिकमा जापानबाट साकुराको बिरुवा ल्याएर रोपी पार्क निर्माण गरिएको छ”–अध्यक्ष पुडासैनीले भन्नुभयो–“स्थानीय साधन र स्रोतकै परिचालन गरेर यी पाँचवटा पार्क निर्माण गरिएको हो, यसमा स्थानीयवासीको स्वामित्व छ, हामीले संयोजन मात्र गरेका हौँ, काम र स्रोत त स्थानीयवासीकै हो ।”

पार्क निर्माणपछि घुम्न आउनेले पनि शनिबार बाग्मती सफाइमा साथ दिन थालेका छन् । “मुख्यसचिव लीलामणि पौडेलको अगुवाइमा बाग्मतीको उद्गमस्थल सुन्दरीजलबाट सुरु गरिएको सफाइ अभियान सिनामङ्गलबाट तलतिर झरेपछि जोरपाटीदेखिको बाग्मती क्षेत्र फोहर हुन थाल्यो । २०७० फागुन ३ गतेबाट यस क्षेत्रमा छुट्टै अभियान सुरु गरिएको हो”–अभियानका संयोजक बटुककृष्ण ढुङ्गेलले भने–“जनसहभागिता बढाउनका लागि पार्कका माध्यमबाट आकर्षण गर्न सकिएको छ, वृक्षारोपणसहितको पार्कको निर्माणले बाग्मती किनार पनि हरियाली भएको छ, सरकारी स्तरबाट गरिएको भए करोडौँ लाग्ने पार्क निर्माण जन सहभागितामा मितव्ययी ढङ्गबाट गरिँदा सकारात्मक सन्देश गएको छ ।”

उत्सव पार्क क्षेत्रमा घरमा विवाह, व्रतबन्ध परेकाहरुले अनिवार्य रुपमा वृक्षारोपण गर्नुपर्ने नियम बनाइएको छ । जसका कारण नवविवाहित जोडीले यस पार्कमा आई एउटा–एउटा वृक्ष रोपण गर्ने गरेका छन् । बाल उद्यानमा भने विभिन्न विद्यालयका विद्यार्थीले वृक्षारोपण गरी आकर्षक बनाउन थालेका छन् । विशिष्ट र फरक ढङ्गले निर्माण गर्न लागिएको युनिक पार्कमा फरक तरिकाका संरचना निर्माण भएको छ । जसमा फरक संरचनाका सामग्री राखी आकर्षक पनि बनाइनेछ ।

दिवङ्गतको सम्झनामा निर्माण हुने स्मृति पार्कमा कपूर र तुलसीका वृक्ष रोपण गरिने ढुङ्गेलले बताए । यी दुवै वृक्षले वातावरणलाई स्वच्छ र शुद्ध पार्ने भएकाले दुई थरी बिरुवा रोप्न प्रोत्साहन गरिएको उनले बताए । जसले बाग्मती तीर्थलाई पवित्र बनाउने विश्वास अभियानले लिएको छ ।

जाल्सान संस्थाको सहकार्यमा जापानबाट साकुराको बिरुवा ल्याई बनाइएको साकुरा पार्क भने तीन सय ५० मिटरको क्षेत्रमा फैलिएको छ । तीनसय वटा साकुरा बिरुवा रोपिएको यो क्षेत्रमा भ्रमण गर्दा जापान पुगेको भान हुने जापानमा वकालत गरी काठमाडौँ आउँदा बाग्मती किनार घुम्न पुगेका बलराम श्रेष्ठले जानकारी दिए । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment