Comments Add Comment

एजेन्टको कमिशनमा पनि सरकारी अनुदान

insurance-company-agent१८ फागुन काठमाडौं । कृषि बीमाका एजेन्टले पनि सरकारी अनुदान पाउने भएका छन् । सरकारले कृषि बीमा गर्ने किसानलाई बीमा शुल्क (प्रिमियम) मा दिने अनुदान अभिकर्ता (एजेन्ट) ले पनि पाउने भएका छन् ।

चालू आर्थिक वर्षको बजेटमा अर्थमन्त्री डा. रामशरण महतले कृषि बीमा गर्ने किसानलाई प्रिमियमको ७५ प्रतिशतसम्म अनुदान दिने घोषणा गरेका थिए । जसअनुसार कृषिजन्य वस्तुको बीमा गराउँदा किसानले २५ प्रतिशत मात्रै बीमाशुल्क तिरे पुग्छ । तर, एजेन्टले भने सरकारले व्यहोर्ने ७५ प्रतिशत अनुदानबाट पनि कमिशन पाउने छन् ।

निर्जीबन बीमाको व्यवसायमा बीमा कम्पनीहरुले एजेन्टलाई १५ प्रतिशत कमिशन दिनुपर्ने व्यवस्था छ । जसअनुसार कृषि बीमा गराउने एजेन्टले पनि कूल बीमा शुल्कको १५ प्रतिशत कमिशन नै पाउने बीमा समितिले जनाएको छ ।

समितिले कृषि बीमामा कूल बीमांक (बीमा गरिने) रकमको पाँच प्रतिशत बीमा शुल्क लिन पाउने व्यवस्था गरेको छ । जसअनुसार एक लाख रुपैयाँ बराबरको कृषिजन्य वस्तुको बीमा गर्दा किसानले पााच हजार रुपैयाँ बीमा शुल्क तिर्नुपर्छ । पाँच हजार बीमाशुल्क मध्ये ३७ सय ५० रुपैयाा सरकारले अनुदान दिन्छ भने १२ सय ५० रुपैयाँ किसान आफैंले व्यहोर्नुपर्छ ।

एक लाख रुपैयाँको बीमा गराउने एजेन्टले बीमा शुल्क (पाँच हजार) को १५ प्रतिशत अर्थात ७ सय ५० रुपैयाँ कमिशन पाउँछ । एजेन्टले पाउने ७ सय ५० कमिशनमा मध्ये ५ सय ६२ रुपैयाँ ५० पैसा सरकारले अनुदान दिन्छ । किसानले भने १ सय ८७ रुपैयाँ मात्रै एजेन्ट कमिशन व्यहोरे पुग्छ ।

सय प्राविधिकलाई एजेन्ट तालिम

बीमा क्षेत्रको नियामक निकाय बीमा समितिले हालैमात्र एकसय जना कृषि प्राविधिकलाई बीमा एजेन्ट तालिम दिएको छ । कृषि बीमालाई प्रभावकारी बनाउने उद्देश्यले प्राविधिकहरुलाई तालिम दिइएको बीमा समितिका निर्देशक राजुरमण पौडेलले अनलाइनखबरलाई जानकारी दिए ।

‘समितिले बीमा कम्पनीहरुलाई ७३ वटा जिल्ला समेट्ने गरी कृषि शाखा खोल्न निर्देशन दिइसकेको छ ।’ पौडेलले भने- ती शाखाहरुमा काम गर्न बीमा बुझेको प्राविधिक चाहिने भएकाले तालिम दिएका हौं ।’

बीमा समितिले निर्जीबन बीमाको व्यवसाय गर्दै आएका १७ वटा बीमा कम्पनीलाई माघ २३ गतेभित्रै कृषि शाखा खोल्न निर्देशन दिएको थियो । दक्ष प्राविधिक जनशक्तिको अभावलगायतका समस्याहरु देखाउादै बीमा कम्पनीहरुले तोकिएको समयमा शाखा नखोलेपछि प्राविधिकलाई अभिकर्ता तालिम दिएको हो ।

को-को बन्न सक्छन् एजेन्ट ?

निर्देशक पौडेलका अनुसार एसएलसी पास गरेका जुनसुकै नेपाली नागरिक बीमा एजेन्ट बन्न सक्छन् । त्यसका लागि बीमा समितिले दिने १९ घन्टे तालिम र एजेन्टको प्रमाणपत्र भने अनिवार्य छ ।

निजामति कर्मचारी, प्रहरी, शिक्षक, अन्य जागिरे, व्यवसायी, सर्वसाधारण सबै एजेन्ट बन्न सक्छन् । बीमा समितिले कृषि बीमा योजना सफल बनाउन ग्रामीण क्षेत्रमा कार्यरत निजामति कर्मचारी, प्रहरी, शिक्षक, स्थानीय व्यवसायी र सर्वसाधारणलाई एजेन्ट बनाएर बीमाको पहुँच विस्तार गर्न सजिलो हुने अनौपचारिक निश्कर्ष निकालेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment