Comments Add Comment

जलवायु अनुकूलनका लागि खाद्यान्न सहकारी स्थापना

१८ फागुन, धनगढी । जलवायु परिवर्तनबाट जोखिममा रहेका परिवारलाई जोगाउन कैलाली जिल्लाको मध्यक्षेत्रमा रहेको साविक भजनी गाविस र लालबोझी गाविसमा खाद्यान्न सहकारी स्थापना गरिएको छ ।

सहकारी स्थापनाले जलवायु परिवर्तनबाट उत्पन्न हुने खाद्यान्न सङ्कटको समस्या समाधानमा टेवा पुग्ने जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका जिल्ला संयोजक शिव अधिकारीले बताए ।

खाद्यान्न सहकारी स्थापनासँगै यी सहकारीको कोषमा रु एक लाख ६० हजारका दरले रकम जम्मा गरिएको छ ।

खाद्य सङ्कट भएका बेला यी सहकारीबाट रकम झिकेर खाद्यान्नको जोहो गरी अनुकूलन गर्न सकिने बताइएको छ । २५/२५ जना सेयर सदस्य रहेका यी दुई सहकारी संस्थामा आबद्ध सदस्यलाई सहकारीसम्बन्धी प्रशिक्षणसमेत दिइएको छ ।

जिल्लाका धनसिंपुर, नारायणपुर, लालबोझी, भजनी गाविस र टीकापुर नगरपालिका क्षेत्रमा गत वर्षदेखि जलवायु परिवर्तनबाट पुग्ने क्षति न्यूनीकरणका लागि स्थानीय अनुकूलन कार्यक्रमहरु सञ्चालनमा रहेका छन् ।

अनुकूलनका कार्यक्रमअन्तर्गत पशु स्वास्थ्य व्यवस्थापन, बालीको प्रविधि हस्तान्तरण, प्रकोपबाट अनुकूलित हुन उच्च शौचालय एवम् उच्च भवन, जैविक तटबन्धन, मकै खेती, तरकारी खेती, नश्ल सुधार, वृक्षरोपण, क्षमता अभिवृद्धि, सिँचाइ कुलो निर्माण, चरन क्षेत्र व्यवस्थापनलगायतका क्रियाकलाप हुँदै आएका छन् ।

जिल्लाको धनसिंपुर, नारायणपुर, लालबोझी, भजनी गाविस र टीकापुर नगरपालिकालगायतका क्षेत्र हरेक वर्षायाममा बाढी र डुबानबाट प्रभावित हुँदै आएका कारण बर्सेनि धनजनको ठूलो क्षति पुग्ने गरेको छ ।

पछिल्ला वर्षहरुमा जलवायु परिवर्तनकै कारण मौसमी चक्रमा परिवर्तन भई प्रभावित क्षेत्रका बासिन्दाले बर्खेबाली समयमै सहज रुपमा भित्र्याउन पाएका छैनन् । कहिले असार पहिलो हप्तामा त कहिले बालीनाली पाक्ने असोजमा बाढी आएर अन्नबाली तथा धनजनको क्षति व्यहोर्दै आउनुपरेको अनुभव लालबोझी गाविसका स्थानीय डम्मरदत्त जैशीले जानकारी दिए ।

कृषिमा निर्भर अधिकांश किसानले मुख्य रुपमा धान र मकै खेती लगाउँदै आएकामा जलवायु परिवर्तनको चक्र फेरिएसँगै विकल्पमा अन्य खेतीको रोज्ने समय आएको जैशीको भनाइ छ ।

जलवायु परिवर्तन अनुकूलन कार्यक्रमका संयोजकले जलवायु परिवर्तन अनुकूलन कार्यक्रम कार्यान्वयनबाट गएको वर्ष अति सङ्कटमा रहेका ८९४, सङ्कटमा परेका १३ हजार ८३१ जना, मध्ययम सङ्कटमा रहेका पाँच हजार २६ जना लाभान्वित भएको दाबी गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment