Comments Add Comment

आशिर्वाद थाप्न जानेहरुले माओवादीलाई भारतबाट सञ्चालित भने : बाबुराम

Baburan-in-Delhi-Round-table

१८ फागुन, नयाँ दिल्ली । एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले सत्ताका लागि आशिर्वाद थाप्न दिल्ली जानेहरुले माओवादीलाई भारतबाट सञ्चालित भनेर आरोप लगाएको बताएका छन् ।

भारत भ्रमणमा रहेका भट्टराई ‘सोसाइटी फर पोलिसी स्टडिज’ र ‘इण्डिया इन्टरनेशनल सेन्टर’ले नयाँ दिल्लीको इण्डिया इन्टरनेशनल सेन्टरमा नेपालको विकास र तत्कालीन विकसित राजनीतिबारे गरेको छलफलमा सहभागी भएका छन् ।

छलफलमा भट्टराईले एमाओवादी लगायतका दललाई पाखा लगाएर एमाले-कांग्रेसले भनेजस्तो संविधान बने अतिवादी शक्तिहरुले द्वन्द्व भड्काउने खतरा रहन बताए । संविधानसभामा एमालेको भूमिकाप्रति टिप्पणि गर्दै उनले भने-‘नक्सलवादी आन्दोलनको हाँगो एमाले थियो । यो आज पूरै पतन भइसकेको छ ।’

सहमतिबाटै संविधान निर्माणका लागि दबाव सिर्जना गर्न गरिएको पहिलो चरणको आन्दोलन पूरा भएको भन्दै उनले दोस्रो र तेस्रो चरणको आन्दोलन गर्न नपरोस् भन्ने आफूहरुको चाहना रहेको बताएका छन् ।

नेपालमा क्रान्तिको जनादेश र चुनावको मतादेशबारे अन्तरविरोध रहेको भन्दै उनले भने-‘चुनावको मतादेशभन्दा क्रान्तिको जनादेश मुख्य हो । संविधानसभाले क्रान्तिका उपलब्धीलाई खारेज गर्न सक्दैन ।’

एमाओवादी नेता भट्टराईले आफूहरुले समावेशी-समानुपातिक लोकतन्त्र चाहेको बताए । उनले भने-‘ ‘हामी संसदीय लोकतन्त्र होइन, त्यो भन्दा अगाडिको, ‘समावेशी-समानुपातिक लोकतन्त्र’ चाहन्छौं ।’

नेपालमा संघीयताको बहसमा संघीयताका विरोधीहरुले भ्रम सिर्जना गरेको भट्टराइेल बताए । ‘हामीले जातीय, ऐतिहासिक, भाषिक र साँस्कृतिक पहिचान सहितको समूह, जसलाई राष्ट्रियता भनिन्छ, उनीहरुको लागि स्वायत्त प्रदेश भनेका हौं । यसो गर्दा नौ वटा राष्ट्रियताले अवसर पाउँछन् । सूदुरपश्चिममा खस-ब्राह्मणहरुको पनि आफ्नै प्रदेश हुनसक्छ’ उनले भने-‘हामीले सयवटै जातिलाई प्रदेश भनेको होइन, जुन सम्भव छैन । यो दुष्प्रचार हो ।’

संघीयता माओवादी आन्दोलन, मधेस आन्दोलन र जनजाति आन्दोलनको उपलब्धी भएको भन्दै भट्टराईले संघीयताबारे मधेशी र जनजाति समुदायको आकांक्षा पूरा नभए विश्वासघात हुने बताए ।

छलफलमा भारतीय पूर्व विदेश सचिव श्याम शरण, पूर्वराजदूत शिवशंकर मुखर्जी, भाजपाका नेपाल सेल इन्चार्ज अजित कुमार, भारतीय बुद्धिजिवी एसडी मुनी लगायत सहभागी थिए ।

भट्टराई राजनीतिक भेटघाटमा व्यस्त

यसैबीच दिल्लीमा नेता भट्टराईको केही राजनीतिक भेटवार्ता समेत गरेका छन् ।

नेता भट्टराईले सोमबार भारतीय जनता पार्टीका महासचिव राम माधव, भारतीय पूर्व विदेश मन्त्री सलमान खुर्सिद र भारतीय कांग्रेस पार्टीका प्रभावशाली नेता तथा पूर्वमन्त्री दिग्विजय सिंहसँग छुट्टाछुट्टै भेटवार्ता गरेको उनको निजी सचिवालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment