Comments Add Comment

एमालेका जेठा नेता कान्छा भए, कवि नेता ‘डाक्टर’ भए

Rk-mainali-sapath

१८ फागुन, काठमाडौं । एमाले केन्द्रीय कार्यालयमा सपथ ग्रहण गरिसकेपछि राधाकृष्ण मैनालीले भने-‘यो पार्टीको सबैभन्दा जेठो सदस्य थिएँ, आज सबैभन्दा कान्छो सदस्यका रुपमा पुनः सपथ लिनुपर्दा भावुक भएको छु ।’

जातीय पार्टी बनाएर जीवनमै ठूलो भूल गरेंछु भन्दै संघीय समाजवादीबाट फर्किएका विजय सुब्बाले भावुक हुँदै भने- आफू एमालेबाट हिँडेको गायक, डाक्टर बनेर फर्किएको छु ।’

एमाओवादी र संघीय समाजवादीमा पुगेर फेरि एमालेमै फर्किएका मैनाली र सुब्बालाई अध्यक्ष केपी ओलीले पार्टी केन्द्रीय सदस्यको सपथग्रहण गराएपछि एमाले केन्द्रीय कार्यालयको पत्रकार सम्मेलन हलमा सोमबार रमाइलो माहौल छायो ।

कुनै जमानामा एमाले नेतृत्वको शीर्ष तहमा रहेर पार्टी छाडेका र पुनः पार्टीमै फर्किएका केशरमणि पोखरेलदेखि राधाकृष्ण मैनाली र बिजय सुब्बा समेतको जमघट थियो बल्खुमा ।

आफ्नै सहकर्मी केपी ओलीबाट सपथग्रहण गरेपछि मैनाली ४५ वर्ष अघि फर्किए । उनले ०२५ सालमा कम्युनिस्ट पार्टीको सदस्यता लिँदा बाहिर पानी परिरहेको थियो रे । ०७१ सालमा पुनः सदस्यता पाउँदा पनि बल्खु मुख्यालय बाहिर सिमसिम पानी परिरहेको थियो ।

मैनालीले एमालेले साधारण सदस्यता समेत खोसेको दिन आफू साह्रै पीडित भएको सम्झिए । ‘म यो मञ्चमा भएकामध्ये सबैभन्दा जेठो सदस्य थिएँ, आज कान्छो सदस्य भएर सपथ गर्नुपर्दा दुःख लागेको छ’ मैनालीले भने-‘यो सस्यता खोसेको दिन साह्रै दुःखी भएको थिएँ, आज खुसी छु ।’

करीव २ वार्षपछि पुनः एमाले केन्द्रीय सदस्यको सपथग्रहण गरेपछि बिजय सुब्बा पनि भावुक भए । उनले एमालेभन्दा क्रान्तिकारी बन्न खोज्दा आफू चिप्लिएको बताए ।

‘यसबीचमा जनजाति आन्दोलनको बारेमा पीएचडी गरें, डाक्टर भएर फर्किएको छु यो अनुभव पार्टीमा प्रयोग गर्छु’ सुब्बाले भने-‘अशोक राईसँग लागेर बढी नै क्रान्तिकारी हुन खोजियो, तर, बाहुन क्षेत्रीलाई काशी खेदाउँछु भनेर यो देशको समस्या हल हुँदैन ।’

मैनाली र सुब्बा दुबैले अब बाँचुञ्जेल एमालेमै बसेर काम गर्ने प्रतिवद्धतामात्र जनाएनन्, कुनै पनि गुटमा नलाग्ने बताए । मैनालीले भने-‘आरके मतिर आउँला भनेर कसैले सोच्नुपर्दैन, म गुटमा लाग्दिँन, युवा नेताले पार्टीका ठूला नेतालाई फुटाउने काम गर्नुभएन ।’

एमाले डाक्टरको खानी

एमाले अध्यक्ष ओलीले पार्टीमा फर्किएका नेताहरुलाई स्वागत गर्दै एमाले छाडेकाहरु ढीलोचाँडो सबै घर फर्किने विश्वास व्यक्त गरे । उनले दुबै नेताको सदस्यता पुरानै निरन्तरता हुने आश्वासन समेत दिए ।

उनले एमाले सिर्जनशील मान्छेहरुको खानी हो भन्दै ढुंगा हान्न लगाउने पार्टी छाडेर एमालेमा प्रवेश गर्न एमाओवादी कार्यकर्तालाई समेत आह्वान गरे ।

‘अरु पार्टीमा एउटा डाक्टर छन्, उनैलाई दशतिर डुलाएर टाल्न खोज्छन्, हाम्रोमा डाक्टरै डाक्टर छन्’ बिजय सुब्बासहितको नाम लिँदै ओलीले भने-‘अन्त बरालिनु पर्दैन, एमालेमा आउनुस् ।’

ओलीले ३० दलका लागि एक्लो एमाले काफी रहेको बताउँदै भने-एमालेलाई पराजित गर्न नसकेपछि शीशुपालले कृष्णलाई गाली गरेजसरी खुलामञ्चबाट एमालेको सत्तोसराप गरेका हुन्, एक्लो एमाले ३० दलका लागि काफी छ ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment