Comments Add Comment

वामदेवले मुख खोले- कांग्रेससँगको सहयात्रा पीडादायी भयो

१९ फागुन, काठमाडौं । उपप्रधानमन्त्री एवम् एमाले उपाध्यक्ष वामदेव गौतमले कांग्रेससँगको सत्ता सहयात्रा अत्यन्तै पीडादायी र कष्ठकर रहेको खुलासा गरेका छन् ।

Bamdev-Gautamएमाले केन्द्रीय प्रचार विभागले मासिक रुपमा प्रकाश गर्ने मुखपत्र ‘नवयुग’मा एकवर्षे सत्ता सहयात्राको विस्तृत समीक्षा गर्ने क्रममा गृहमन्त्री गौतमले प्रधानमन्त्री सुशील कोइरालासँगको काम गराइ असाध्यै कठीन रहेको बताएका हुन् ।

मुख्य प्रतिद्वन्द्वी राजनीतिक दलहरु एउटै सरकारमा बस्नु कठिन र अनुचित रहेको अनुभव आफूले गरेको गौतमले बताएका छन् । उनले कांग्रेसका मन्त्रीहरुबाट एमालेले सम्हालेका मन्त्रालयमा अनावश्यक हस्तक्षेप गर्न खोजेको समेत आरोप लगाएका छन् ।

‘मुख्य प्रतिद्वन्द्वीका बीचको यो सहकार्य व्यवहारतः ज्यादै कठीन सावित भएको छ, स्वभाविक रुपमा हामीमध्ये एउटा सत्तापक्ष र अर्को प्रमुख प्रतिपक्षका रुपमा रहनुपथ्र्यो’ गौतमले भनेका छन् ‘तर संविधानसभा बहाल रहेको र नयाँ संविधान बनाउने कार्यभार रहेकाले हामी संयुक्त सरकारमा सामेल भयौं । त्यस क्रममा हामीले ज्यादै खुम्चिएर नै आफ्नो कार्यभार पूरा गर्ने काम गरिरहेका छौं’ ।

कांग्रेसले शुरुमै आफूलाई सरकारमा एमालेको नेतृत्व गरेर आउनबाट रोक्न खोजेको र मन्त्रालय बाँडफाँडमा पनि अनावश्यक खोंचे थापेको आरोप उपप्रधानमन्त्री गौतमले लगाएका छन् ।

बराबरी शक्तिका दलहरुबीच मन्त्रालय पनि बराबर बाँडफाँड हुनुपर्नेमा कांग्रेसले अझै पनि १४ वटा मन्त्रालय आफूले राखेर एमालेलाई १० मन्त्रालय मात्रै दिएको  गौतमको गुनासो छ ।

सरकारमा एमालेको तर्फबाट नेतृत्व गरिरहेका उपप्रधानमन्त्री गौतमले भनेका छन्- बारम्बार हामीले दुईवटा मन्त्रालय एमालेले पाउनुपर्छ भन्यौं । तर, त्यसो भएन र अहिलेसम्म पनि स्थिति त्यस्तै छ । यस्ता किसिमका विषयसम्म हाम्रा बीचमा सहकार्यका निम्ति बाधकका रुपमा उभिए ।

लोकेन्द्रबहादुर चन्द, प्रचण्ड र सुशील कोइरालासमेत गरी तीन प्रधानमन्त्रीको नेतृत्वमा उपप्रधानमन्त्री भएर काम गर्दाको अनुभवमा वामदेवले कोइरालासँगको सहयात्रा असजिलो भएको महसुस गरेका छन् ।

गौतम भन्छन्-‘प्रधानमन्त्रीसँग उपप्रधानमन्त्रीले टक्कर लिएर काम गर्न मिल्दैन । पार्टीगत हिसाबले भन्नुपर्दा दुबै झण्डै झण्डै एउटै हैसियतमा छौं । राजकीय हिसाबले त प्रधानमन्त्रीको नेतृत्वमा सरकार छ र उप्रधानमन्त्रीले प्रधानमन्त्रीकै माताहतमा रहेर काम गर्नुपर्छ ।

उपप्रधानमन्त्री एवम् गृहमन्त्री गौतमले संविधान निर्माणमा बाधा पर्ने गरी आफूले कोइरालासँग टक्कर लिन नखोजेको पनि प्रष्ट पारेका छन् ।

‘टक्कर लिएर काम गर्दा जति उपलब्धि हुन्थ्यो, त्योभन्दा भिन्न पछाडि हटेर, गम खाएर र बढी विनम्रता देखाएर काम गर्नुपर्ने अवस्था रहृयो’ गौतम भन्छन् ‘फलस्वरुप पहिलेका दुईपटक नेतृत्व गरेर सरकारमा जाँदा जस्तो भएन । यद्यपि जेजस्तो अवस्थामा हामीले काम गर्नुपरेको छ, म सरकारबाट हटेपछि भनौंला, अहिले केही नबोलुँ । तर, जति काम गरेको छ, त्यो विशिष्ठ (डिस्टिङ्सन) नै हो भन्ने मलाई लागेको छ ।

यो पनि पढ्नुहोस्

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment