+
+

सुदूरपश्चिमबाट लेखराज भट्टलाई पत्र

समय सँधै एकैनासको हुँदैन रहेछ। परिस्थितिको अनुकुलतालाई र प्रतिकुलतालाई ध्यानमा राखेर नै मान्छेले आफूलाई चलायमान बनाउँदोरहेछ। बढो अचम्भित हुँदै भावुक र दुखका साथ भन्नु पर्छ, किन किन आज तपाईलाई देखेर भित्र कतै अन्तरकुन्तरमा दया पलाएको छ।

अनलाइनखबर अनलाइनखबर
२०७१ फागुन १९ गते १२:२१
Krishna-Bohara-Yatri
कृष्ण बोहरा

कमरेड राकेश सलाम !

समय सँधै एकैनासको हुँदैन रहेछ। परिस्थितिको अनुकुलतालाई र प्रतिकुलतालाई ध्यानमा राखेर नै मान्छेले आफूलाई चलायमान बनाउँदोरहेछ। बढो अचम्भित हुँदै भावुक र दुखका साथ भन्नु पर्छ, किन किन आज तपाईलाई देखेर भित्र कतै अन्तरकुन्तरमा दया पलाएको छ।

आफूले लामो समय अघिदेखि आदर्श र मार्गदर्शक मानेको नेताप्रति एकाएक दयाभाव पलाउँदा नमीठो लाग्दो रहेछ।हिजो देश युद्धमा थियो र आज पनि युद्धमा नै छ,युद्धको रूप मात्र त फरक हो।आफ्नो कमाण्डका कमेरडहरूलाई अत्यन्त शालीनताका साथ अनुशासित तवरले प्रेरित गर्ने तपाई एक सचेत कमाण्डर र एक बौद्धिक नेता हो लागेको थियो।

भौतिक सम्पती तपाईँसँग त धेरै छ जनता सँग नभए पनि।यो आश्चर्यको कुरा पनि भएन । यी हरेक कम्यूनिष्ट नेताका आफ्ना आफ्नै तरिका छन् जीवन बाँच्ने।

तपाईलाई धेरै प्रश्न सोध्न मन लागेको छ।पहिलो कुरा त तपाई आफैलाई स्पष्ट हुनु पर्ने युद्ध किन र केका लागि लडियो ? युद्धकालमा कामी, दमाई, सार्की, थारू गरिब बाहुन, क्षेत्री सबैको घरमा पाकेको आटो खानुभयो, आफ्नो ज्यानको प्रवाह गर्नु भएन।मुक्तिका लागि लड्नुभयो।कस्तो लाग्छ आज विगत सम्झिँदा ? आज के ती थारू, कामी, दमाई, मधेशी, जनजातिले आफ्नो मुक्ति भएको वा आफू सबल भएको महसुस गरे त ?

तपाई मन्त्री हुनुभयो , देश सङ्क्रमणमा छ र थियो।संविधान बनेको छैन।यो अवस्थामा भौतिक उन्नति नभए पनि आपत्ती भएन। तर युद्ध त सबै जातजातिको अधिकार र पहिचानका लागि भएको हैन र ? जब पहिचान हुन्छ तब देशमा हरेकलाई अपनत्वको भावना जाग्छ,यो देश मेरो पनि हो भन्ने लाग्छ पिछडिएको वर्गलाई ।उनैको पहिचान मिल्ने र अधिकार सुनिश्चित गर्ने संविधान लेख्ने भनेर लडेको हैन र?

तपार्इ आज आफैं पनि दोधारमा हुनुहुन्छ भने के को लागि क्रान्ति गर्नुभएको थियो त कमरेड ?

अखण्ड सुदूरपश्चिम एउटा राज्य हुन्छ भने त महेन्द्रको पालाका पाँच विकास क्षेत्रलाई पाँच राज्यमा बाँडे त भैहाल्यो किन यत्रो युद्ध लडेको ?

पहाडमा बस्ने बाहुन र क्षेत्रीले मात्रै राष्ट्रियता जोगाउँछन्, संघीयतामा गए देश टुक्रिन्छ भन्ने मानसिकताभित्र राखेर बाहिर बोक्रो मात्रै देखाएर कसरी अगाडि बढ्ने त कमरेड ? थारूलाई म नेपाली हुँ भन्ने भावना छैन र ?

तपाईलाई एउटा कुरा राम्ररी थाहा छ सुदूरपश्चिमका तमाम जनतामा राजनीतिक चेतना छैन।फलानो चिन्हमा भोट हाल भनेको भरमा भोट हाल्ने परम्परा अँझै छ भने ती जनतालाई के को मुक्ति दिनुभयो ? तपाईले कतै भन्नुभाथ्यो जनताभन्दा पार्टी ठूलो हैन, त्यसो हो भने पार्टी केको आधारमा निर्माण हुन्छ ? ती जनतालाई विचारको ज्ञान दिन नसक्नेले केको लागि लडेको त कमरेड ? अहिले आएर कसरी विच्किनु भयो ? याद गर्नुहोस् युद्ध लड्दा के के सपना बाँडेर लड्नुभाथ्यो, दुर्गम जनताका पिर थाहा छ तपाईलाई ? अझै उज्यालो छैन, बाटो छैन, पानी छैन ।

तपाईको घरमा गाडी जाने बाटो छ । तर, गरिब जनताको घर जाने बाटो कस्तो छ ? न त भौतिक विकास, न त वैचारिक विकास, न त अपनत्वको भावनाको विकास।अझै छुवाछुत, अझै हेपिने चेपिने यो कस्तो क्रान्ति गर्नुभयो कमरेड ? याद रहोस् इतिहास निर्मम थियो र अझै निर्मम हुनेछ।जनताले तपाईबाट धेरै अपेक्षा गरेका छन् र जनताको चाहाना पूरा गर्न तपाईको प्रशिक्षणको जरूरी छ। कसरी दिने के गर्ने अझै समय बाँकी छ।

वाहुनवादी मानसिकताको भूत टाउकोमा राखेर परिवर्ननको हवाला दिनु आफ्नै लागि घातक हुन सक्छ ।

ठूलो हिस्सा पहाडी समुदाय तरार्इमा बसोबास गर्छ।उनीहरूको पहाडमा पनि र तराईमा पनि घर छ । तर, पहाड वा तराईमा मात्रै वास हुनेको पनि एउटा अलग हिस्सा छ।हिजो तपाईले तराईमा वा पहाडमा मात्रै वास हुने अल्पसङ्ख्यक पिछडिएका वर्गको प्रतिनिधित्व गर्दै र केही मात्रामा तराई-पहाडमा घर हुनेको प्रतिनिधित्व गर्दै क्रान्तिमा होमिनु भएको थियो।समानताको नारा दिएर समाजका विकृति र विसङ्गतिलाई निर्मुल पार्दै सकारात्मक र सभ्य समाजको निर्माणका खातिर तपाईले त्यस क्षेत्रको जिम्मेवारी लिनुभएको थियो। सदियौँ अघिदेखि हेपिएका बहुसंख्यक थारू समुदाय जो राज्यका तमाम सुविधाबाट बञ्चित रहे, कमलरी, हलिया बसेर बाँच्नकै लागि बाँचे।ती समुदायको मुक्तिका खातिर लडाईँको मोर्चा सम्हाल्नुभएको थियो ।

तपाईले त नेन्सल मण्डेलाको जस्तो क्रान्तिकारिता देखाउन सक्नुपर्थ्यो।तर तपाई आज विगतलाई भुलेर देउवा र रावलको एजेण्डामा विलीन हुँदै अखण्ड सुदूरपश्चिमको नारा बोकेर घुईँकिदै हुनुहुन्छ। तपाई आफू कुन वर्गबाट आउनुभएको थियो भन्ने कुरा पछिल्लोचोटि तपाईले देखाएको लुले चरित्रबाट स्पष्ट पार्दैछ जो मुक्ति चाहन्छन्।संघीय राज्यको सीमाको निर्धारण केका आधारमा किन गर्ने ? यो कुरामा नै थरथरी काँपेर पार्टी भन्दा जनता ठूलो हो भनेर उद्घोष गर्नेले लडेको लडाईँ के मित्थ्या भ्रम हो त ? शेरबहादुर, भिम रावल र लेखराज सुदूरपश्चिमलाई टुक्रीन नदिने नेता हुन् भने केपी ओलीले पूर्व सग्लै राख्लान्, प्रचण्डले चितवन राख्लान् गोर्खामा बाबुराम छन् होला। यति कमजोर मानसिकता कसरी र किन आयो ?

तपाईको पूर्खाका पनि हिलिया र कमलरी बने होलान् दलित र थारू समुदाय।कामी दमाई जात भएकै आधारमा शिक्षाबाट बञ्चित भए।पहाडको गरिब दलित समुदाय अझै पुस्तौँअघिको ऋण तिर्न हिलिया बसैकै छन्।के यो देश त्यो समुदायको हैन र ? धारामा अझै विभेद छ खै त भ्रातृत्वको भावना जगाउन सकेको ?

भूमि व्यक्तिगत भन्दा पनि सामुहिक हुनुपर्छ र सवै जनताले समानताका साथ बाँच्न पाउनपर्छ भन्नुहुन्थ्यो खै त ? दलितहरूको पहिचान खै ? पुस्तौं अघिदेखि दास भएको थारू समुदाय कैलेसम्म दास हुने ? यी सबै कुराको समाधानका निम्ति तत्कालीन राज्य व्यवस्थाका विरूद्धमा उत्रिएको तपाई जस्तो नेतालाई अहिले केही जनतालाई अखण्ड सुदूरपश्चिम भन्दै ओराले भनेर आत्तिनेले कसरी मुक्ति दिनुहुन्छ ? उही पुरानै राज्य व्यवस्था र उही पुरानै राज्यको सीमानामा थोरै थपघट गर्ने

विचार थियो भने यति ठूलो क्रान्ति जरूरी थिएन।अहिले कुनै भूगोलका आधारमा आत्मसमर्पण गरे पनि क्रान्ति रोकिने छैन र सबैले समानताको श्वास फेर्ने र गाँस खाने वातावरण बन्ने छ। बहस गम्भिर हुन जरूरी छ।

कृष्ण बोहरा यात्रीबाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

Khusi
                                chhu

खुसी

Dukhi
                                chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?