Comments Add Comment

कविता-तर आएन जवाफ…

उसले भन्यो देशमा आज शान्ति छ
छाडीदेऊ जातभातका कुरा
मैले सोधे पहिचान भनेको जात हो र ?
तर आएन जवाफ

उसले भन्यो देशमा विकास चाहियो विकास
छाडीदेऊ मधेशी, आदिवासी, जनजाती, खसआर्य, महिला, दलितका कुरा
मैले सोधे सबै छुटे त विकास कसका लागि ?
तर आएन जवाफ

उसले भन्यो देश टुक्राउने अब
छाडीदेऊ विकेन्द्रीकरणका कुरा
मैले सोधे जनताले समान अधिकार पाएर देश कसरी टुक्रिन्छ?
तर आएन जवाफ

खै त खै,
शान्ति कहाँ छ ?
अरबको बालुवामा बिलिन हुने नेपाली रगतमा कि
दिनहु बाकसमा पोका परेर भित्रिने लासमा
राष्ट्रियता कहाँ छ ?

सुस्ताको सिमाना रुंगेर पनि गैर नेपाली कहलिने मधेशीमा कि
सिटामोल नपाएर ज्वरोले ज्यान गुमाउन पर्ने कर्णाली बासीमा
स्वभीमान कहाँ छ ?

नौ महिना गर्भमा राखि दशधारा दुध चुसाई नागरिकता दिलौन काबिल नहुने आमामा कि
कम्लरी बसी शरिर लुछाउन बाध्य थरुनिको व्यथामा
गर्व कहाँ छ ?

दलनमा पारी समाज बाटै बहिस्कृत सिल्पीमा कि
थेप्चे, चुच्चे, चिम्से, काले, सिमान्तक्रीत, अल्पसंख्यक नजर अन्दाज गर्ने राज्यमा ?
देश कहाँ छ ?

अधिकारको लागि बारमबार बलिदानी दिई राख्नपर्ने शोशित शाषीत जनतामा कि
माटो मेरो तर तिमी को होउ थाहा छैन म चाही नेपाली भन्ने प्रवृतिमा ??
तर आएन जवाफ, अझै आएन…

सुरेन्द्र लुइटेल

 surendra-luitel

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment