Comments Add Comment

दुई दिनसम्म काठमाडौंमा अन्तराष्ट्रिय उडान ठप्प

Ratish-chandra-lal-suman

नविन अर्याल

२० फागुन, काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा दुर्घटनाग्रस्त टर्किस एयरको जहाजको पखेटाले धावन मार्ग छेकेपछि विहीबार साँझसम्म विमानस्थलमा अन्तराष्ट्रिय उडान रोकिएको छ ।

ठूलो जहाज हटाउने साधन नेपालमा नभएकाले विमानस्थल बन्द भएको हो ।  विमानस्थलको धावन मार्ग ओगटेको जहाज हटाउन विहीबार इन्डियन एयरफोर्सको विशेष जहाज काठमाडौं ल्याइने भएको हो ।  विमानस्थलको धावन मार्गबाट जहाज हटाउन ‘एयरक्राफ्ट रिमुभल किट’ बोकेर इन्डियन एयरफोर्सको जहाज मुम्बईबाट विहीबार बिहान ११ बजे आउने नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक रतिश चन्द्रलाल सुमनले बताए ।

नेपालले नसकेपछि भारतको सहारा

नेपालमा ठूलो जहाज पन्छाउन सक्ने खालको टोइङ बार मेसिन एवं क्रेन नभएका हुँदा भारतबाट ल्याउन लागिएको सुमनले बताए ।
विमानस्थल अधिकारीहरुका अनुसार दुर्घटनाग्रस्त जहाजको तौल १२६ टन छ । विमानको कार्गो डोर नखुल्दा यात्रुका लगेज र कार्गोसमेत जहाजमै थन्किएको छ ।

यो पनि पढ्नुस् : टर्कीस एयरको विमान काठमाडौंमा दुर्घटना, सबै यात्रुको सकुशल उद्दार (भिडियोसहित)

त्यस्तै, जहाजमा ३२ टन इन्धन रहेकोमा जम्मा १७ टनमात्र निकाल्न सफल भएको विमानस्थलका अधिकारीहरुले बताएका छन् । बाँकी तेल निकाल्न सम्भव नभएको महानिर्देशक सुमनले बताए । ‘कार्गो र तेलसमेत गरेर अहिले जहाजको कुल तौल कम्तिमा पनि १५० टनभन्दा बढी छ । धेरै तौल भएकाले हामीसँग भएको इक्विपमेन्टले काम नगर्ने भयो’ सुमनले भने- ‘हामीसँग जम्मा ७० केजी तौलमात्रै पन्छाउन सक्ने साधनहरु छन् ।’

टर्किस एयरजत्रै विमानलाई हटाउन सक्ने इक्विपमेन्ट भारतमा समेत एउटा मात्रै सुमनले बताए । ‘बिहीबार विहान इन्डियन एयरफोर्सको जहाज ८ बजे त्रिभुवन विमानस्थलमा आइपुग्छ’ महानिर्देशक सुमनले बुधबार साँझ आयोजित पत्रकार सम्मेलनमा भने- ‘विहीबार बेलुका ४ बजेसम्म जहाज हटाएर रन वे खाली गरेपछि ५ बजेदेखि नियमित उडान सुरु गर्ने तयारी भइरहेको छ ।’

Trukish Airlines (3)

दुर्घटनाग्रस्त जहाजका ल्यान्डिङ गियर तीनवटै ड्यामेज भएको हुँदा जहाजलाई गुडाएर पन्छाउन नसकिने बताइएको छ । जहाजका दुईवटा इञ्जिन समेत ड्यामेज भएका छन् ।

जहाज अत्यधिक भारी भएकाले ड्यामेज भएका तीनवटा चक्का परिवर्तन गर्न पनि असम्भव छ । एउटा चक्काको ५७.५ टन तौल हुन्छ ।
भारतबाट मेसिनसहित विशेषज्ञ प्राविधिक टोलीसमेत आउने बताइएको छ । ‘एयरक्राफ्ट रिमुभल किट’ एक ट्रक बराबरको हुन्छ । टोइङ मेसिनले चारैतिर जग राखेर कुनै क्षति नगराई जहाज उचालेर दायाँ बायाँ, अगाडि पछाडि गराउन सक्छ । विशेषज्ञ टोलीले मेसिनमार्फत् उक्त जहाजलाई ‘रन वे’ भन्दा बाहिर लैजानेछ जहाज सेवा सञ्चालनको वातावरण बनाउनेछ ।

प्राधिकरणले पर्यटन तथा नागरिक उड्यन मन्त्रालयमार्फत भारतबाट एयरफोर्सको जहाज ल्याउन पहल थालेको हो । पर्यटन मन्त्रालयले परराष्ट्र मन्त्रालयमार्फत उक्त मेसिनसहितको जहाज ल्याउन भारत सरकारसँग कुटनीतिक पहल गरिरहेको छ । ‘इन्डियन एयरफोर्सको जहाज ल्याउन कुटनीतिक पहल सुरु भइसकेको छ, विहीबार बिहान जहाज आउँछ’ सुमनले भने- ‘आशा गरौं, बेलुका ४ बजेसम्म रन वे खाली हुन्छ ।’

नेपालले भारतीय टोलीलाई जहाज हटाउन सहयोगी औजारहरु के-के चाहिन्छ, लिष्ट पठाउनसमेत आग्रह गरेको बताइएको छ । एयरफोर्सको जहाज विमानस्थलको पूर्वी भागबाट अवतरण गर्ने बताइएको छ ।

केही गरी उक्त जहाज आउन नसके के गर्नुहुन्छ भन्ने पत्रकारको प्रश्नमा सुमनले भने- ‘जहाज ल्याउन माथिल्लो तहबाट पहल भएको छ, यदि आएन भने पनि त्यसको विकल्प समेत सोचिसकेका छौं ।’

लाइट पनि तोडिए

जहाज दुर्घटना हुँदा विमानस्थलका केही लाइटहरु बिगि्रएको बताइएको छ । रन वे का ५ वटा, ट्याक्सी वे का ८ वटा र साइनिङ लाइट ३ वटा बिग्रिएको सुमनले जानकारी दिए ।

यी लाइट बिगि्रएकै कारण रातको समयमा इन्डियन एयरफोर्सको जहाज ल्याउन नसकेको क्यानको दाबी छ । विमानस्थलको १० हजार फिट ‘रन वे’को बिच भागमा जहाज रहेको छ । जसले गर्दा ५ हजार फिटमा जहाज अवतरण गराउनुपर्ने हुन्छ ।

बुधबार बिहानैदेखि उडान ठप्प

‘रन वे’ को छेउमै विमान दुर्घटना भएको हुँदा बुधबार बिहानैदेखि अन्तर्राष्ट्रिय उडान तथा अवतरण हुन सकेका छैनन् । बिहीबार बेलुकासम्म कुनै पनि अन्तर्राष्ट्रिय उडान अवतरण नहुने प्राधिकरणले विज्ञप्तिमार्फत जानकारी गराइसकेको छ । विमानसेवा अवरुद्ध हुँदा देश विदेशमा यात्रुहरु अलपत्र परेका छन् ।

बुधबार दिनभरि विमानस्थल अवरुद्ध हुँदा ४०/४० वटा उडान र अवतरण स्थगित भएको बताइएको छ । जसबाट करिव १२ हजार यात्रुहरु प्रत्यक्ष मारमा परेको महानिर्देशक सुमनले जानकारी दिए ।

विहीबार दिनभरि विमानस्थल अवरुद्ध हुँदा त्यति नै यात्रुले दुख पाउने देखिएको छ । विहीबार पनि विभिन्न एयरलाइन्सका करिव ४०/४० को हाराहारीमा उडान अवतरण गर्ने तालिका छ ।

आन्तरिक उडान पनि ५ घण्टा अवरुद्ध

विमान दुर्घटनामा परेपछि बुधबार विहान आन्तरिक उडानसमेत अवरुद्ध हुन पुग्यो । करिव ५ घण्टा उडान अवतरण अवरुद्ध भएको विमानस्थलले जनाएको छ ।

विहान ५ वटा माउन्टेन फ्लाइटमा गएका सबै जहाजलाई बिराटनगर र भरतपुरमा अवतरण गराइएको थियो । विमानस्थलका अनुसार ३ वटा बुद्ध एयर र २ वटा यति एयरका जहाज माउन्टेन फ्लाइटमा गएका थिए ।

के हो दुर्घटनाको कारण ?

जहाज ल्यान्ड गर्दा नै एउटा चक्का बाहिर भएको महानिर्देशक सुमनको दाबी छ । ‘के कति कारणले जहाज सुरुको एप्रोचमै रन वे बाहिर गयो, त्यो छानविन पछि थाहा हुन आउनेछ’ उनले भने- ‘नोज गियर -अगाडिको टायर) नखुलेकै कारण जहाज बाहिर गएको भन्ने कुरा मान्न सकिँदैन ।’

प्लेन रन वे को सेन्ट्रल लाइनमा किन अवतरण हुन सकेन, किन छेउमा अवतरण भयो भन्ने कुरा खुल्न नसकेको महानिर्देशक सुमनको भनाइ छ । सबै कुराको सत्यता छानविनपछि बाहिर आउने उनले बताए ।

जहाज यसरी दुर्घटना हुनुमा जहाजको नोज गियर सहित भिजिविलिटी, जहाजमा टेक्निकल समस्या, विमानस्थलको इन्स्ट्रक्सन लगायतका कारणहरु हुन सक्ने अनुमान गरिएको छ । अहिले जहाजका पाइलटसँग यस विषयमा कुनै पनि सोधखोज नगरिएको सुमनले बताए ।

सामान्यतया ठूलो जहाज अवतरण गराउन एक हजार मिटर भिजिविलिटी आवश्यक पर्छ । जहाज पहिलो पटक अवतरण गर्न खोज्दा भिजिविलिटी एक हजार मिटर नै रहेको थियो ।

पछिल्लो पटक अवतरण गर्दा भिजिविलिटी घटेको हुनसक्ने अनुमान पनि क्यानको रहेको छ । कुहिरोले दुर्घटनाको समयमा मौसम त्यति सफा थिएन । ‘भिजिविलिटी जतिबेला पनि एकैनास हुँदैन, कहिले घट्न सक्छ, कहिले बढ्न सक्छ, कहिलेकाहीँ कन्स्ट्यान्ट पनि रहन सक्छ’ महानिर्देशक सुमनले भने- ‘टर्किसको जहाज ल्यान्ड गर्दा भिजिविलिटी हजार मिटर भन्दा तल भएजस्तो लाग्छ ।’

छानविन समिति गठन

क्यानले पूर्वसचिव नगेन्द्रप्रसाद घिमिरेको अध्यक्षतामा ४ सदस्यीय छानविन समिति गठन गरेको छ । समितिले दुर्घटनाको पुरै अध्ययन गरेर के-कती कारणले दुर्घटना हुन गयो प्रतिवेदन बुझाउने छ ।

यो पनि पढ्नुस् :

यात्रुको स्मरण : पाइलट महान छन्, जसले हामीलाई बचाए (भिडियोसहित)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment