Comments Add Comment

अध्ययन भन्छ-कफीले सफा गर्छ रक्तनली, कम गर्छ मुटुको रोग

coffee
पछिल्लोपटक गरिएको एक अनुसन्धानले नियमति रुपमा कफी पिउने मानिसहरुको रगत बग्ने धमनी सफा हुने र विभिन्न खाले मुटुसम्बन्धि रोगको जोखिम कम हुने तथ्य पत्ता लगाएको छ ।

२५ हजार जना महिला तथा पुरुषमा गरिएको अध्ययनले दिनहुँ केही कप कफी पिउने मानिसहरुको रक्तधमनी भित्र रगत जम्ने जोखिम कम हुन्छ, जुन मुटु रोगको जोखिमजन्य तत्व मानिन्छ ।

दक्षिण कोरियामा गरिएको अध्ययनका क्रममा दिनमा ३ देखि ५ कपसम्म कफी पिउने मानिसहरुमा हृदयरोगका लक्षणहरु कम देखिने गरेको पाइयो ।

यो शोधले कफी पिउनु मानिसको मुटुका लागि हितकर वा हानीकारक के हुने ? भन्ने विषयमा नयाँ बहसको सिर्जना गरेको बीबीसीले उल्लेख गरेको छ ।

यसअघिका कतिपय अध्ययनहरुले कफीको सेवनले रगतमा कोलेस्ट्रोलको मात्रा वृद्धि गर्ने, रक्तचाप बढाउने दाबी गरेका थिए ।

तथापि हार्ट जर्नलमा छापिएको पछिल्लो अध्ययन प्रतिवेदनले भने कफी सेवन मुटु वा रक्तधमनीका लागि फाइदाजनक हुने देखाएको छ ।

अध्ययनका क्रममा शोधकर्ताहरुले स्वास्थ्य जाँच गराउन आउने महिला तथा पुरुषको मुटु स्वास्थ्यको अवस्था पत्ता लगाउन मेडिकल स्क्यान गरेका थिए ।

त्यसक्रममा उनीहरुले मुटुमा रक्तप्रवाह गर्ने कोरोनरी धमनीमा कुनै रोग भए नभएको विषयमा हेरेका थिए ।

कोरोनरी धमनीको भित्तामा बोसो जमेको अवस्थामा हृदयाघात लगायतका मुटुरोगको जोखिम बढ्दछ । शोधकर्ताहरुले धमनीको भित्तामा जमेको क्याल्सियम र मानिसहरुको कफीको दैनिक सेवनबीच तुलनात्मक अध्ययन गरेका थिए ।

त्यस क्रममा दैनिक केही कप कफी पिउने मानिसहरुमा भन्दा कफी नपिउने तथा निकै बढि कफी पिउने मानिसहरुको कोरोनरी धमनीको भित्तामा बढि क्याल्सियम जमेको पाइयो । यस अर्थमा कफी पिउँदै नपिउनु मात्र नभै निकै बढि पिउनु पनि मुटुका लागि लाभदायक देखिएन ।

शोधकर्ताहरुका अनुसार कफीको सेवन र मुटुमा रगत पूराउने धमनीको सफाइका बीचको सम्बन्धका बारेमा प्रकाश पार्नका लागि थप अनुसन्धानको आवश्यकता छ । कफीमा हुने क्याफाइन तथा अन्य कतिपय यौगिकहरुमध्ये कुन पदार्थले धमनीलाई स्वस्थ राख्न सहयोग पूराउने हो तत्काल त्यो विषय पत्ता लगाउन भने सकिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment