Comments Add Comment

एमालेमा ‘झापाली’ को चिनारी र प्रभाव

 ईश्वर पोखरेल (महासचिव, नेकपा एमाले)

नेकपा एमालेलाई अहिले पनि कतिपय व्यक्तिहरु ‘झापाली’ भन्न पछि पर्दैनन् । त्यस्ता व्यक्तिहरुले गर्ने यो सम्वोधनले एकैपटक धेरै अर्थ बोकेको हुन्छ भन्ने मलाई लाग्छ ।

ISHWOR-POKHREL

पुरानो एवं क्रान्तिकारी पृष्ठभूमि भएका केही केही साथीहरु आफ्नो राजनीतिको ऐतिहासिक निरन्तरता झल्काउन पनि ‘झापाली’ प्रशंग उठाउने गर्नुहुन्छ । कहीँ ‘घृणा’ वा ‘विरोध’ तथा कहीँ भने केही विरोधी मानसिकता बोकेकाहरुले ‘मजाक’ को भाव बोकेर पनि “झापाली” शब्द प्रयोग गर्ने गर्छन् ।

झापातिर घरायसी-पारिवारिक सम्बन्ध भएका साथीहरुको पनि पार्टीभित्र ‘झापाली’ चिनारी हुने नै भयो । यिनै प्रशंगहरुमा म पनि कहिलेकाहीं “झापाली” हुन पुग्छु ।

नेपालको कम्युनिष्ट आन्दोलनमा झापाको विशेष चिनारी छ । कम्युनिष्ट आन्दोलनलाई क्रान्तिकारी स्पिरिटकासाथ पुनःगठनको शुरुवात झापाली क्रान्तिकारीहरुले गरेका थिए । आधारभूत श्रमजीवी वर्गका बीचमा कम्युनिष्ट पार्टीको राजनीतिलाई पुर्‍याउने, स्थानीय वर्ग-संघर्षकै बीचबाट पार्टी निर्माण गर्ने, क्रान्तिकारी शैलीमा पार्टी कामलाई अगाडि बढाउने र यसो गर्दै अगाडि बढेर मात्र कम्युनिष्ट पार्टीलाई क्रान्तिकारी पार्टीको रुपमा पुनःगठन गर्ने-त्यसबेला झापाली क्रान्तिकारीहरुका घोषित उद्देश्य थिए ।

भनिरहनु पर्दैन, यस्तो उद्देश्य राखे पनि झापाली क्रान्तिकारीहरुका त्यस बेलाका कतिपय चिन्तन र आचरणमा उग्रता तथा दुस्साहसिकता भेटिन्थ्यो र व्यवहारका कतिपय प्रशंग अराजक लाग्नेखालका पनि थए । यसैकारण, त्यसबेलाका प्रारम्भिक दिनमै पनि ‘झापालीहरु’ ले गम्भीर नोक्सानी पनि बेहोर्नुपरेको थियो । अनावश्यक बलिदानका पीडाहरु पनि सहनुपरेको थियो । तर, सँगसँगै, पञ्चायती निरंकुशतामा निस्सासिएकाहरुका लागि एउटा महत्वपूर्ण प्रेरणाको स्रोत पनि बनेका थिए झापाली क्रान्तिकारीहरु ।

झापालीसँग मेरो नाता

स्कुले जीवन सकेर कलेजको पढाइमा प्रवेश गर्नासाथ म ‘झापाली क्रान्तिकारी’ प्रेरणाबाट अभिप्रेरित बनेको थिएँ । म त्यसबेला जनकपुरको कलेजमा पढ्थें । त्यहाँ पढ्ने प्रगतिशील विद्यार्थीहरुका बीचमा झापाली क्रान्तिकारीहरुका गतिविधि चर्चाका विषय बन्न थालेका थिए ।

सामन्ती शोषण-उत्पीडन तथा जाली फटाहा विरोधी संघर्षले जिल्लाव्यापी रुप लिँदै थियो । नौजवान विद्यार्थीहरुका शैक्षिक क्षेत्र र राष्ट्रियतासित सम्बन्धित अन्य मागहरु ज्वलन्तरुपमा उठ्न थालेका थिए । भारतीय शासकहरुको नेपालप्रति प्रकट हुने हेपाहा व्यवहार, नेपालको अभिन्न भूभाग-सुस्ता, महेशपुरमाथि भारतीयहरुको अतिक्रमण र भारतीयहरुका त्यस्ता व्यवहारप्रति तत्कालीन पञ्चायती शासकहरुको मौनता आदि बारेमा देशभक्तिको भावना बोकेका झापाली युवाहरु जुर्मुराउन थालेका थिए । शोषक, सामन्त तथा स्थानीय जाली फटाहा विरोधी स्थानीय संघर्षहरु विशेष चर्चामा आउने गरेका थिए । यी सबै गतिविधि निरंकुश राजतन्त्र र निर्दलीय पंचायती व्यवस्था विरोधी संघर्षको रुपमा विकसित भइरहेका थिए । यो सन्देश देशका अन्यत्र भागमा समेत फैलिन थालेको थियो ।

sukhani

त्यसबेला मेरा माइला दाइ चन्द्रगढी, झापामा बस्ने भएका कारण अरु साथीसमक्ष झापाका क्रान्तिकारी गतिविधिका लागि म विशेष आधिकारिक मानिन्थें । यसप्रति म पनि नजानिँदो किसिमले गर्व गर्दै आफुले प्राप्त गरेको छिटफुट जानकारी सुनाउने गर्थें ।

पछि हामीले थाहा पाउँदै गयौं – झापामा स्थानीय वर्ग संघर्ष सञ्चालित हुने सिलसिलामा शोषक, सामन्त र जाली फटाहाहरुलाई क्रान्तिकारीहरुका स्थानीय संगठनहरुको अगुवाइमा ‘खत्तम’ गर्न थालियो । झापामा शुरु भएको ‘खत्तम’ संघर्षले देशैभरि गम्भीर तरंग पैदा गरेको थियो ।

प्रतिकृयावादी सत्तासीनहरुले भारतमा शुरु भएको ‘नक्सलवादी’ आन्दोलनको विस्तारित गतिविधिको रुपमा हेर्न थालेका थिए । र, परिवर्तनको पक्षमा रहेका प्रगतिशील विचार राख्नेहरुले भने न्यायपूर्ण तथा क्रान्तिकारी संघर्षको शुरुआतको रुपमा बुझ्न थालेका थिए ।

प्रायः दैनिकजसो नै हामी जनकपुरका केही साथीहरुबीच छलफल चलिरहन्थ्यो । हामी झापा संघर्षसित भावनात्मक रुपमा नजिकिँदै गएका थियौं ।

सधैंझैं, ०२९ फागुन २२ गते बेलुका हामी केही साथीहरु जनकपुरको भानुचोक दक्षिणमा रहेको एउटा कल्भर्टमा जम्मा भयौं । प्रगतिशील साहित्यिक पत्रिका ‘आँखा’का सम्पादक लक्ष्मण खरेलले हातमा एउटा पत्रिका बेरेर ल्याएका थिए । उनले ल्याएको पत्रिकाप्रति अरु सबैको उत्सुकता पोखियो । उनले आफुले ल्याएको पत्रिका फैलाउँदै गम्भीर मुद्रामा भने “झापामा सरकारले नेत्रहरुलाई गोली हानी हत्या गरेछ ।”

गोधुली पार गरेर अँध्यारो भइनै सकेको भए पनि मैले त्यसबेला उनको हातमा रहेको गोरखापत्र तानेर लिएको थिएँ । नजिकै रहेको बिजुलीको पोल छेउ उभिएर टिमटिम गर्दै बलिरहेको उज्यालोमा मैले केहीछिन त्यो समाचार पढेको थिएँ । केही छिन हामी कोही पनि केही नबोली अँध्यारो अनुहार लगाएर बसेका थियौं । एकै छिनपछि हामी सबैका आँखा रसाएका थिए । हामी त रोएछौं पनि । हामीले एक अर्काको हात समातेका थियौं र आँसु पुछ्दै हत्याको बदला लिने संकल्प गरेका थियौं ।

हामीमा त्यो अठोट कसरी आयो – कसरी प्रकट भएको थियो – म अहिले पनि भन्न सक्तिँन । त्यसबेला त्यहाँ रहेका हामी सबैको मन एकैचोटि बोलेको थियो । त्यसदिन हामी केही परसम्म सँगै हिँडेर छुट्टनिे बेलामा हात मिलाउँदा पनि बोल्न सकेका थिएनौं । अहिले म सम्झन्छु – म त्यस रात अबेलासम्म सुत्नै सकेको थिइनँ ।

अहिले झण्डै ४२ वर्ष पूरा हुन लाग्दैछ । झापाली क्रान्तिकारीहरुको सम्मानमा आफ्ना आँखाबाट बगेको आँसुलाई मैले अहिलेसम्म बिर्सन सकेको छैन ।

म बेलाबेलामा झापा चन्द्रगढीमा बस्नुहुने दाजुकोमा जाने गर्थें । खासगरी कलेज पढ्न थालेपछि त्यहाँ मेरो आगमन अर्थपूर्ण हुन थालेको थियो । म झापाली क्रान्तिकारीहरुसित सम्पर्क-सम्बन्ध गर्न चाहन्थें । उनीहरुले प्रकाशित गरेका प्रकाशनहरुको खोजीमा पनि थिएँ । म यहाँ आउँदा प्रगतिशील जनवादी गीतहरुलाई राम्रो संकलन गरी कतिपयलाई त राम्रै गाउने गरी आएको हुन्थें । त्यहाँ टोल – छिमेकका भाइ बहिनीहरुलाई जम्मा गरी सामुहिक गायनमा उतार्ने गरेको थिएँ । त्यसबेला मेरो त्यो गायन अभियानमा सहभागी हुने भाइ बहिनीहरु अहिले को-को, कहाँ-कहाँ पुगे मलाई थाहा छैन । तर, मलाई त्यसबेला लाग्दथ्यो – यी सबै भाइ-बहिनीहरु क्रान्तिकारी आन्दोलनका लागि होनहार सिपाही हुनेछन् । म त्यहाँ पुग्नासाथ रानोको वरिपरि झुम्मिएका मौरीझैं झुम्मिन्थे, उनीहरु । ‘घर छोडाएर मान्छे काट्ने कुरा सिकाउँदै छ रे’ भनेर कोही-कोही छिमेकीहरुले त मेरो झापा बसाइलाई विशेष चियोचर्चो समेत गर्न थालेका थिए ।

त्यसबेला कोइराला थरका मेरै आफन्त पर्ने एक जनाले त टोलभरि नै ‘राहु पस्यो’ भनेर उछित्तो काढ्नसमेत पछि पर्नुभएन ।

यही क्रममा भूमिगत भई राजनीतिक काममा जुटिरहेका क्रान्तिकारीहरुसित छिमेकी केदार न्यौपाने, रमेश पौडेल आदिको सम्पर्क रहेको थाहा पाएँ । उहाँहरुसित मेरो विशेष सम्बन्ध बढ्न थाल्यो । उहाँहरुले मलाई ‘झापाली प्रकाशनहरु’ दिन थाल्नुभयो । ती प्रकाशनहरुलाई यति आदरपूर्वक अध्ययन गरें कि त्यसका शब्द शब्दप्रति म मोहित बनेको थिएँ । ती सामाग्रीहरुले मलाई प्रकाश दिइरहेका र अगाडि बढ्न दिशा देखाइरहेका छन् जस्तो लाग्थ्यो ।

मैले पाएका ती सामग्रीहरु प्रायः हस्तलिखित थिए । अरु त के – लिखतमा पोखिएका अक्षरहरु पनि मलाई औधी सुन्दर लागेका थिए । ‘अहा-कति सुन्दर अक्षरहरु’ भन्दै त्यही बान्कीमा मैले ती लेखहरुको उतारसमेत गरेको थिएँ ।

पछि, मैले ‘झापाली प्रकाशनहरु’ काठमाडौंमा सँगै पढ्दै गरेका विश्वासिला साथीहरु समक्ष अत्यन्त मूल्यवान दस्तावेजका रुपमा पुर्‍याएको थिएँ । त्यहाँ हामीले ती सामाग्रीहरुको सामूहिक अध्ययन चलाउन थाल्यौं । रत्नकुमार वान्तवा त्यसमध्ये एकजना अगुवा हुनुहुन्थ्यो ।

काठमाडौंमा पढ्दाका दिनमा झापा मेरो विशेष आकर्षणको केन्द्र बनेको थियो । म काठमाडौंमा पढिरहेको भए पनि मेरो मन मस्तिष्क झापातिरै हुन्थ्यो । झापाली क्रान्तिकारीहरुसित भेट गर्ने उत्कट अभिलाशा झन्झन् बढिरहेको थियो । म अहिले पनि त्यसबेला आफुमा प्रकट भएको ‘क्रान्तिकारी छट्पटी’ लाई बिर्सन सक्दिँन ।

गाउँमा जाने, जनताको बीचमा जाने, जनतालाई क्रान्तिकारी राजनीतिले सचेत पार्ने, नयाँ समाज बनाउने’ आदि मेरा त्यसबेलाका छ्टपटीका विषयहरु थिए । ‘झापा नेपाली क्रान्तिको केन्द्र हो’ ‘झापाली क्रान्तिकारीहरु त्यसका अगुवा हुन्’ भन्ने आफ्नो निस्कर्षलाई म यति प्रचण्ड किसिमले अनुभूत गरिरहेको थिएँ कि त्यसबेलाको मेरो चिन्तन र दिनचर्या यही निश्कर्षका वरिपरि मात्र घुमिरहेका हुन्थे ।

यही क्रान्तिकारी आवेगमा मैले त्यसबेला धेरै निजी तथा पारिवारिक बन्धनहरु समेत चुँडाउने आँट गरेको थिएँ । त्यसबेला मेरो उमेर र अवस्था शुलभ चाहनाहरु पनि मभित्र सल्बलाइरहेका थिए । ‘एउटी मनले खाएकी सुन्दर युवतीसित माया प्रीति गर्ने, सुखी दाम्पत्य जीवन शुरुवात गर्ने, उच्च शिक्षा अध्ययन गर्ने, पेशा व्यवसाय आदिमा नाम चलेको व्यक्ति बन्ने’ आदि त्यसबेला मेरो दिमागमा बेलाबेलामा सल्बलाउने निजी विचारहरु थिए ।

फेरि त्यसैबेला स्वीट्जरलैण्ड जाने पाँच वर्षे छात्रवृत्ति मेरा लागि कम आकर्षक विषय थिएन । मैले त्यो अवसर पाइ नै सकेको थिएँ । मलाई बेलाबेलामा ‘जाउँ कि क्या हो’ भन्ने लागेकै हो । तर, मभित्र ‘क्रान्ति’, ‘परिवर्तन’ को उत्कट चाहना यति वेगवान बनिसकेको थियो कि मैले आफुमा आउने गरेका ती व्यक्तिगत इच्छाका डोरीहरुलाई चुँडाएरै छोडें ।

साँच्चै, त्यो घडी मलाई प्रश्रव वेदनामा परेकी आमाले सन्तान पैदा गरेपछिको पीडा-मिश्रति सुखानुभूतिजस्तो भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment