Comments Add Comment

ओलीले भने-एमालेसँग अब कांग्रेसले पनि प्रतिस्पर्धा गर्न सक्दैन

Kp-oli

२१ फागुन, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पछिल्लो समयमा एमालेको प्रतिष्ठा बढेको र राष्ट्रिय राजनीतिको केन्द्र भागमा रहेको भन्दै अब कांग्रेसले पनि प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् ।

यदु स्मृति प्रतिष्ठानद्धारा आयोजित १६ औं यदु स्मृति दिवस तथा पत्रकारिता पुरस्कार वितरण समारोहमा अध्यक्ष ओलीले भने-‘केही सिटले दोस्रो हुनु परे पनि विचार, संगठन र प्रभावको हिसाबले एमाले पहिलो पार्टी हो । अब एक पल्ट हामीसँग कांग्रेसले प्रतिस्पर्धा गर्न सक्छ, त्यसपछि उसले पनि सक्दैन । कांग्रेस शिथिल भइसकेकाले एमालेसँग प्रतिस्पर्धा गर्न नसक्ने उनको तर्क छ ।

कुनामा बसेर कुण्ठा नपोख्न आग्रह

एमाले अध्यक्ष ओलीले पार्टी एकताबद्ध रुपमा अघि बढेका बेला एक दुई नेताले व्यक्तिगत कुण्ठा व्यक्त गरेको भन्दै चित्त फराकिलो बनाउन आग्रह गरे ।

उनको संकेत पार्टी उपमहासचिव घनश्याम भुषालको नोट अफ डिसेन्टप्रति थियो । तर, ओलीले भुसालको नाम भने लिएनन् । ‘पार्टीको प्रभाव प्रतिष्ठान बृद्धि भएको बेला कुनामा बसेर व्यक्तिगत कुण्ठा व्यक्त नगरौं, नेता कार्यकर्ताले खुद्रा कुरा नगरि पार्टीको हाइ हाइ हुने काम गरौं’ ओलीले भने-‘केही अशन्तुष्टि भए संस्थाभित्र राख्नुपर्छ, बाहिर अराजकता प्रदर्शन गर्नु हुँदैन ।’

केन्द्रमा एक दुई जनाले कुनामा बसेर कुण्ठा पोखे जस्तै जिल्लातिर पनि एक दुई जनाले त्यस्तो गरेको सुनिएको भन्दै त्यस्ता गतिबिधि नगर्न आग्रह गरे । ‘यो चित्त भन्ने चीज देखिदैन, अप्रेसन गर्दा मुटु, कलेजो भेटिन्छ तर, चित्त भेटिँदैन’ ओलीले भने-‘त्यस्तो नदेखिने चित्त दुखाएर पार्टीलाई किन हानी गराउने ?’

ओलीले झापा क्रान्तिका पूराना योद्धाहरुलाई सभासद, केन्द्रीय सदस्य लगायतका पदमा व्यवस्थापन गरेको सन्दर्भ जोड्दै यस्ता कुरामा चित्त नदुखाउन आग्रह गरे । ‘जेल बसे, दुःख पाए, उनीहरुलाई अहिले न्याय गर्न खोजेको हो । तर, सबै झापा क्रान्तिका मान्छेले मात्र पाउने भन्ने होइन’-ओलीले भने ।

सामुहिक ब्रतबन्ध गरिदिउँला

अहिले झापा क्रान्तिदेखि विभिन्न आन्दोलन र पार्टीमा रहेकाहरु एमालेमा आउने क्रममा रहेको र उनीहरुलाई व्यवस्थापन गर्ने काम पनि भइरहेको ओलीले बताए ।

ओलीले अब अन्य पार्टीमा रहेकाहरुलाई एमालेमा प्रवेश गराउने अभियान चलाइने घोषणा गरे । ‘काम नलाग्ने, मारकाट र ढुंगा हान्ने ठाउँमा नबस्नुस्, एमालेमा आउनुस्’ ओलीले भने-‘तपाईहरु पनि अरु पार्टीका मान्छे एमालेमा ल्याउनुस्, सामुहिक ब्रतबन्ध गरिदिउँला, अरु पार्टीमा किन बस्ने अब ?’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment