Comments Add Comment

बेलुनमा हावा भरेर यसरी हटाइँदैछ टर्किस एयरको जहाज

Tukis airlines plane crash  (16)

नविन अर्याल

२१ फागुन, काठमाडौं । टर्किस एयरलाइन्सको विमान धावनमार्ग नै अवरुद्ध हुने गरी दुर्घटना भएपछि नेपालको अन्तराष्ट्रिय अडान अवरुद्ध भएको ३४ घण्टाभन्दा बढी भयो ।

त्रिभुवन बिमानस्थल ब्यबस्थापनका अनुसार अझै कम्तीमा १८ घण्टाभन्दा बढि समय लाग्ने छ बिमानस्थल सुचारु हुन । दुई दिनदेखि नेपालको अन्तराष्ट्रिय हवाई सम्बन्ध बिच्छेद भएपछि हजारौं यात्रु नेपालभित्र र नेपाल बाहिर अलपत्र परेका छन् ।

आखिर किन यति लामो सयम लाग्यो त बिमानस्थल सुचारु हुन ? कसरी हटाइँदै छ दुर्घटनाग्रस्त बिमानस्थल धावनमार्गबाट ?

भारतबाट इन्डियन एयरफोर्सको जहाज त काठमाडौं आयो तर, पूर्व घोषणा अनुसार बिहीबार ५ बजेबाट उडान सुरु हुन सकेन । दिउँसो ३ बजेतिर नागरिक उड्ययन प्राधिकरणले शुक्रबार विहान १० बजेसम्मका लागि सबै उडान रद्द गरेको घोषणा गरेको छ ।

यतिबेला धेरैलाई चासो छ कि अब धावनमार्ग अवरुद्ध हुने गरी दुर्घटनाग्रस्त भएको विमान कसरी हट्छ ?

इन्डियन एयरफोर्सको जहाजमा ‘एयरक्राफ्ट रिमुभल किट’ सहित १२ जनाको प्राविधिक टोली काठमाडौं आएको छ । नेपालको तर्फबाट १२ जना प्राविधिकहरु खटिएका छन् । सहयोगी भूमिकामा नेपाल आर्मी, नेपाल पुलिस, प्राधिकरण, नेपाल एयरलाइन्स, टर्किस एयरको प्राविधिक टिमसहित करिव सय जना काममा खटिएका छन् । 

जहाज हटाउन आवश्यक पर्ने सहयोगी औजार भने प्राधिकरणले जुटाइदिएको छ । दुर्घटना स्थलमा सम्भावित खतरालाई मध्यनजर गर्दै दमकल पनि तयारी हालतमा राखिएको छ ।

यसरी हटाइँदैछ जहाज

भारतबाट ल्याइएको रिमुभल किटको प्रयोग गरी धावनमार्गमा रहेको जहाज हटाउने काम सुरु भएको छ । नागरिक उड्ययन प्राधिकरणका महानिर्देशक रतिस चन्द्रलाल सुमनका अनुसार सबैभन्दा पहिले विमानको दुबै तर्फ २ फिट गहिरो खाडल खनिएको छ ।

त्यसमा विशेष खालको बेलुन राखी त्यसमा हावा भरेर जहाज उचाल्ने प्रयास हुनेछ ।  जहाज सन्तुलनमा आइसकेपछि चारतिर जग हालिने छ र विमानका बिग्रिएका सबै टायर फेर्ने प्रयास गरिने छ । पछाडिको पाग्रा भने परिवर्तन गरिसकिएको छ ।

जहाजमा टायर फेर्न सफल भएमा विस्तारै जमिनमा राखी तानेर प्राविधिक टोलीले धावनमार्गबाट बाहिर लैजानेछन् । यो प्रयास सफल भएमा उडान सुचारु गर्ने बाटो खुल्नेछ ।

सजिलो छैन टायर फेर्न

तर, जहाजमा सहजै टायर फेर्न सकिने सम्भावना निकै कम छ । पछाडिको टायर धावन मार्ग बाहिर भएकाले क्षति कम भएको अनुमान गरिएको छ । तर, अगाडिको टायर जमिनमा भासिएको हुँदा कस्तो अवस्थामा छ अहिल्यै भन्न नसकिने अधिकारीहरुले बताएका छन् ।

Tukis airlines plane crash  (15)

विमानको टायर फेर्नका लागि सामान्य नट बोल्ट कस्ने प्वाल समेत बिगि्रनु वा तलमाथि हुनहुँदैन । तर, दुर्घटनाका क्रममा जहाज धावनमार्ग र घाँसेमैदानमा जोडसँग बजारिएको हुँदा टायर राख्ने ठाउँहरुमा क्षति भए/ नभएको अहिले नै केही भन्न सक्ने अवस्था छैन ।

नागरिक उड्ययन प्राधिकरणका अनुसार जहाजका तीनवटै टायर ड्यामेज भएको छ । टायर राखेर जहाज गुडाउनका लागि ‘नोज गियर’ पनि खुल्नुपर्ने हुन्छ । तर, जहाज उचालेर सन्तुलनमा ल्याएपछि मात्र यस विषयमा थाहा हुने प्राविधिकहरु बताउँछन् ।

अर्को विकल्प के ?

यदि जहाजमा टायर राखेर गुडाउन नसकिने अवस्था रहेमा अर्को विकल्पमा जानुपर्ने हुन्छ । त्यसका लागि पनि प्राविधिक टोली तयारी अवस्थामा रहेको महानिर्देशक सुमनले जानकारी दिए ।

पहिलो प्रयास असफल भएमा प्राविधिकले ‘टोइङ बार’ मार्फत जहाज उचालेर धावन मार्गबाट हटाउने प्रयास गर्नेछ । ‘टोइङ बार’ नामक मेसिनबाट जहाजलाई उचाल्ने तथा दायाँबायाँ सार्न सकिन्छ । यसबाट जहाजलाई भने क्षति नहुने बताइएको छ ।

Tukis airlines plane crash  (18)

कार्गो र इन्धनसहित जहाजको तौल १५० टनभन्दा बढी हन्छ । जसले दुघर्टनाग्रस्त विमानलाई सहजै धावन मार्गबाट हटाउन सकिने अवस्था नरहेको विमानस्थल प्राविधिकको भनाइ छ ।

भोली विहानसम्म जहाज हटाउन सकिने प्रारम्भिक अनुमान गरिए पनि थप समय लाग्न सक्ने प्राविधिकहरु बताउँछन् । जहाजमा अन्य प्राविधिक समस्या पनि हुनसक्ने हुँदा प्रारम्भीक रुपमा आंकलन गरिएको समयमा जहाज हटाउन असम्भव पनि हुनसक्छ ।

त्यसैले यदि तपाईं भोलि नै त्रिभुवन बिमानस्थल सुचारु होला भन्ने ठानेर नेपाल आउन टिकट लिने योजना बनाउनुभएको छ भने कम्तीमा अझै २४ घण्टा कुर्नु बुद्धिमानी हुने छ ।

नेपाल उड्ने बिभिन्न बिमानस्थल जस्तै थाइल्याण्डको बैंकक, मलेसियाको क्वालालम्पुर, कतारको दोहा, हङकङ, लगायतका शहरमा सयौं यात्रुहरु अलपत्र परिरहेको सूचना आइरहेका छन् । त्यसैले तपाईले नेपाल आउनका लागि हतार गरिहाल्ने अबस्था छैन् ।

यो पनि पढ्नुहोस्

हेर्नुहोस् त्रिभुवन बिमानस्थलमा बिदेश उड्ने यात्रुको बिजोग

Tukis airlines plane crash  (10)
दुर्घटनाग्रस्त विमान हटाउने उपकरणहरू लिएर आएको इण्डियन एयरफोर्सको विमानमा सामान निकाल्दै

Tukis airlines plane crash  (5)

Tukis airlines plane crash  (22)

तस्वीरः श्रीधर पौडेल/अनलाइनखबर 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment