Comments Add Comment

मौलिक सिनेमा मन पर्दैन नेपाली दर्शकलाई

balidan-basanti

काठमाडौ । सुदुरपश्चिमका किसान नेता भीमदत्त पन्तमाथी बनेको सिनेमा चल्दैन कि भन्ने आशंका ब्यक्त भईरहेको बेला राजनीतिक विषय जोडिएको फिल्मको ब्यबसायिक सफलता र असफलताका विषयमा पनि बहस सुरु भएको छ ।

नेपालमा राम्रा र मौलिक भनिएका धेरै फिल्म नचलेको उदहारण प्रसस्तै छ । राजनीतिक विषयमा बनेका फिल्मले त दर्शकलाई तान्दै तान्दैन भन्दा पनि हुन्छ । सर्वाधिक चर्चा पाएको ‘बलिदान’ देखि माओवादी जनयुद्धका प्रसंग समेटिएका आधा दर्जन फिल्मलाई लगानी उठाउन हम्मे-हम्मे पर्‍यो । नेपाली सिनेजगतमा मौलिक भनिएका तर, ब्यापार गर्न नसकेर चौपट भएका सिनेमाको सूची यस्तो छ-

बलिदान : हरिबंश आचार्य र नीर शाहको बेजोड अभिनय रहेको चलचित्र ‘बलिदान’ अहिलेसम्मकै ऐतिहासिक फिल्म हो । ०४६ सालमा बहुदलीय प्रजातन्त्र पुर्नस्थापना भएपछि जनआन्दोलनकै प्रसंगलाई समेटिएको यस फिल्मको निर्देशन तुलसी घिमिरेले गरेका थिए ।

रामेशको संगीत रहेको फिल्मका केही गीत अहिले पनि उत्तिकै चर्चित छन् । तर, फिल्मका निर्माता श्याम सापकोटा लगानी उठाउन नसकेको बताउँछन् ।

बीर गणेशमान : ०४६ सालका जनआन्दोलनका सर्वोच्च नेता गणेशमान सिंहको जीवनमाथि बनेको थियो ‘बीर गणेशमान’ । सहजमान श्रेष्ठ र बिजयरत्न तुलाधरको निर्देशन रहेको फिल्मको समिक्षकले समेत तारिफ गरेका थिए ।

फिल्म रिलिज हुँदा मुलुकमा नेपाली कांग्रेस सबै भन्दा ठूलो पार्टी थियो भने, कांग्रेस समर्थित थोरै कार्यकर्ताले फिल्म हेरेको भए पनि लगानी उठाउन समस्या हुने थिएन । तर, कुनै पनि राजनीतिक दलका कार्यकर्ताले उक्त फिल्मप्रति चासो देखाएनन् । पोष्टर टाँसेको पैसा उठाउन समेत हम्मे हम्मे पर्‍यो निर्मातालाई ।

desh-main

बसन्ती :  प्रसिद्ध उपन्यासकार डायमन शमशेर राणाको उपन्यासमा आधारित ‘बसन्ती’ को निर्देशन नीर शाहले गरेका थिए । प्रेस सो मा वाहवाही पाएको फिल्मले सार्वजनिक प्रदर्शनीमा भने ठुलै सास्ती बेहोर्‍यो । राणा सासनको समयको राजनीतिक स्थितीलाई फिल्ममा समावेश गरिएको थियो । अभिनेता राजेश हमालले समेत आफ्नो करियरको कोसेढुंगा मानेको फिल्मको ब्यापार भने नाजुक भयो ।

जे भो राम्रै भो : हरिबंश आचार्यलको लगानीमा निर्माण भएको अर्को महत्वकांक्षी फिल्म थियो ‘जे भो राम्रै भो’ । ०४६ पछि नेपाली राजनीतिमा भित्रिएको बिकृतिलाई समेटेर निर्माण गरिएको उक्त फिल्मलाई पनि दर्शकले स्वीकारेनन् ।

जनयुद्ध : ०६२/०६३ को आन्दोलनपछि फिल्मी बहसमा फेरि मौलिकताको चर्चा हुन थाल्यो । १० बर्षे जनयुद्धको समात्तिसँगै सोही बिषयसँग जोडिएर फिल्म बनाउने क्रम सुरु भयो । निर्देशक विमल पौडेलले ‘जनयुद्ध’ बनाए ।

सिमित माओवादी समर्थित दर्शकले फिल्म हेरे भने लगानी उठ्छ भन्ने ठानेका निर्देशक पौडेल त्यतिवेला अचम्ति भए, जब माओवादीकै कार्यकर्ता पनि हलसम्म पुगेनन् । जनयुद्धकै विषयमा बनेका लालसलाम, नयाँ नेपाल, आवाज लगायतका फिल्मको पनि हालत पनि निकै खराब भयो ।
मैना : माओवादी द्धन्द्धकालमा नेपाली सेनाद्धारा ब्यारेकमै मारिएकी किशोरी मैना सुनारमाथि निर्देशक केपी पाठकले बनाएकेा फिल्म ‘मैना’ ले पनि अघिल्ला सिनेमको जस्तै हालत बेहोर्नुपर्‍यो । केही अधिकारवादीहरुले फिल्मको तारिफ गरे पनि आम दर्शकका लागि रुचीको विषय भएन ।

देश : राजेश हमाल र निखिल उप्रेतीलाई मुख्य भुमिकामा लिएर तुलसी घिमिरेले राजनीति माथि नै चलचित्र बनाए- ‘देश’ । यसमा राजेश हमाललाई पत्रकारको भुमिका दिईएको थियो भने निखिल उप्रेतिलाई विद्यार्थी नेताको रुपमा प्रस्तुत गरिएको थियो ।

तर, दुई ठूला स्टारकास्टले पनि फिल्मलाई चलाउन सकेन् । अन्य मुलुकहरुमा मौलिक सिनेमाहरुले ब्यबसायिक सिनेमाजस्तो राम्रो ब्यापार गर्न नसके पनि लगानीकर्ता नै डुब्ने अबस्था भने हुँदैन् । तर, नेपाली सिनेमा उद्योगमा मौलिक सिनेमा बनाउन कोसिस गर्नेहरुलाई यी असफलताका कथाले निकै तर्साउने गरेको छ, जसले गर्दा मौलिक सिनेमा बनाउँछु भन्नु मुर्खता सावित हुँदै गएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment