Comments Add Comment

मालीगाउँमा रात्रीभाेज खाएर फर्किए शीर्षनेता

२२ फागुन, काठमाडौं । शनिबार बिहान बालुवाटारमा वार्ता गर्न तयार भएका प्रमुख दलका नेताहरुले शुक्रबार साँझ मालीगाउँस्थित सूर्यबहादुर थापाको निवासमा भेला भएर रात्रीभाेज खाएका छन् ।

फाइल तस्वीर
फाइल तस्वीर

बालुवाटारमा शनिबार बिहान हुने भनिएको औपचारिक वार्ताका लागि सहमति खोज्न प्रमुख दलका नेताहरु वरिष्ठ राजनीतिज्ञ थापाको रोहवरमा बैठक बसेका हुन् ।

बैठकपछि फाेरम नेपालका अध्यक्ष उपेन्द्र यादवले अनलाइनखबरसँग भने- ‘त्यहाँ वार्ता भएकाे हाेइन, त्याे वार्ता गर्ने ठाउँ पनि हाेइन । सूर्यहादुरले हाेलीकाे उपलक्ष्यमा बाेलाउनुभएकाे थियाे, खानपिन गरेर फर्किइयाे ।’

स्रोतका अनुसार थापा निवासमा भेला भर्का प्रधानमन्त्री लगायतका पाहुनाहरूलार्इ खसीकाे मासु, मासकाे दालसहित धनकुटाकाे ‘मुगाली खाना’ खुवाइएकाे थियाे ।

थापा निवासमा राजनीतिक कुराकानी भयाे कि भएन भन्ने प्रश्नमा यादवले भने, ‘नेताहरू भेला भएका ठाउँमा राजनीतिकाे कुरा त भइहाल्छ नि ।’

शनिबार बिहान बालुवाटारमा बस्ने बैठकका एजेन्डा के के तय भएका छन्र भन्ने अर्काे प्रश्नमा यादवले राज्य पुनसंरचना अायाेगले अघि सारेकाे प्रदेशकाे संख्या सहमतिकाे अाधार बन्न सक्ने बताए । दलहरूवीच कुरा नमिले दाेस्राे चरणकाे अान्दाेलन घोषणा हुने उनले बताए ।

यसैवीच थापा निवासमा भएकाे छलफलमा केही नेता असफल भए देश नै असफल हुने भन्दै दलीय स्वार्थ भन्दा माथि उठेर बालुवाटार बैठकमा प्रस्तुत हुने नेताहरूवीच सहमति भएकाे छ ।

बैठकमा सहभागी एक नेताका अनुसार सुरुमापूर्व प्रधानमन्त्री सूर्यबहादुर थापाले कुरा राख्दै दलहरुवीच सहमति नभए राष्ट्र ‘फेलियर’ हुन सक्ने भन्दै सहमतिमा आउन सबैलाई आग्रह गरेका थिए ।
सूर्यबहादुर थापा बोलेपछि प्रधानमन्त्री सुशील कोइराला, एमाले अध्यक्ष केपी ओली, माओवादी अध्यक्ष प्रचण्ड, कांग्रेस नेता शेरबहादुर देउवा र फोरम लोकतान्त्रिकका अध्यक्ष विजय गच्छदार बोलेका थिए ।

को को पुगेका थिए मालीगाउँ ?

मालीगाउँको बैठकमा सुशील, ओली र प्रचण्डका साथै पूर्वप्रधानमन्त्रीहरु र प्रमुख दलका अध्यक्षहरूलाई निम्त्याइएको थियाे ।

छलफलमा कांग्रेस नेता शेरबहादुर देउवा, एमाले नेता माधवकुमार नेपालसमेत थिए ।
फोरम लोकतान्त्रिकका विजयकुमार गच्छदार, तमलोपाका महन्त ठाकुर र फोरम नेपालका   अध्यक्ष उपेन्द्र यादव मालीगाउँ पुगेका थिए ।

सत्ता पक्षका तर्फबाट राप्रपा अध्यक्ष पशुपतिसमशेर जबरा र माले महासचिव सीपी मैनाली सहभागी थिए ।

बाबुराम र राजेन्द्र महताे अनुपस्थित 

मालीगाउँको छलफलमा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई पनि सहभागी हुने भनिएकोमा उनी नेपालगञ्जमै रोकिएका कारण काठमाडौं आउन सकेनन् । सदभावना पार्टीका अध्यक्ष राजेन्द्र महताे बिरामीका कारण मालीगाउँ जान नसकेकाे बताइएकाे छ । 

एमाले बरिष्ठ नेता झलनाथ खनाल पनि मलेसिया भएकाले मालीगाउँमा थिएनन् ।

नेपालगञ्जबाट काठमाडौं आउने विमान नआएकाले डा. बाबुराम भट्टराई बैठकमा सहभागी हुन नसकेका हुन् । मालीगाउँमा हुने छलफल भ्याउने भन्दै डा. भट्टराई लखनऊ हुँदै शुक्रबारै नेपालगञ्ज आएका थिए ।

विमानबाट आउन सम्भव नभएपछि डा. भट्टराई गाडीको बाटोबाट बुटवल आएर बास बस्ने कार्यक्रम रहेको बताइएको छ । डा.भट्टराई शनिबार बुटवलबाट काठमाडौं आउने छन् ।

शनिवार बिहान ९ बजे प्रधानमन्त्री निवास बालुवाटारमा सत्तापक्ष र प्रतिपक्षी ३० दलीय मोर्चावीच औपचारिक वार्ता गर्ने कार्यसूची छ ।

शुक्रबार बिहान बालुवाटारमा प्रधानमन्त्री सुशील कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डवीच भएको छलफलपछि शनिबारको वार्ता तय भएको हो । प्रधानमन्त्री कोइराला र एमाओवादी अध्यक्ष प्रचण्डबीच भएको भेटमा शनिबार औपचारिक वार्तामा बस्ने सहमति भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment