Comments Add Comment

एकीकृत जनक्रान्तिले ‘ब्यालेट र बुलेट’ दुवै स्वीकारेको छ

पुष्प न्यौपाने

नेकपा माओवादी महासचिव नेत्रविक्रम चन्द विप्लवले परिकल्पना गरेको एकीकृत क्रान्तिको सिद्धान्त एक प्रस्तावित दस्तावेज हो । यो प्रस्तावित दस्तावेज प्रस्तावित मान्यता वा सिद्धान्त हो । यसले आफूलाई एक प्रमाणित सिद्धान्तका रुपमा ब्याख्या गरेको छैन । विश्व कम्युनिष्ट आन्दोलनका सफल र असफल दुवै खाले इतिहासका मान्यता र चरित्र भन्दा यसले अगाडि सारेका मान्यताहरु केही पृथक छन् ।

pushpa neupane
पुष्प न्यौपाने

अर्थनीतिमा यसले पुँजीको विकाका लागि निश्चित चरण सम्म निजी स्वामित्वलाई छुट दिने स्पष्ट संकेत दिएको छ । यसको अर्थ पुँजीवादको जस्तो चौतर्फी निजी क्षेत्रको प्रभुत्व राज्य निरिह, असीमित स्वामित्व र बेलगाम पुँजी संकलन होइन । तर जनवादलाई संस्थागत नगर्दे निजी स्वामित्वको अन्त्यको डंका पिटेर आफूलाई अब्बल दर्ताको क्रान्तिकारी कम्युनिष्ट देखाउने मनोरोगलाई पनि यसले खारेज गरेको छ ।

राजनीतिः राजनीतिमा यसले -ब्यालेट र बुलेट) बल प्रयोग र प्रतिष्पर्धा दुवैलाई स्वीकार गरेको छ । आलोचनात्मक कोणबाट तर्क गर्दा यसलाई आलोचकहरुले गोलमटोल, विरोधाभाष र अर्कमन्यताको आरोप लगाउन सक्लान् तर प्रस्ताव प्रस्तोताले यसलाई दुई कालखण्डको सेटमा ब्याख्या गरेका छन् । कम्युनिष्ट सत्ता स्थापनाका लागि बल प्रयोग र सत्ता सञ्चालनको विधि प्रक्रियालाई तानाशाही बन्न सक्ने खतराको घेराबाट बाहिर ल्याउन प्रतिष्पर्धाको ढोका खुल्ला ।

सैन्य नीतिः सैन्य नीति राजनीतिकोे एक अभिन्न अंग हो तर राजनीति सहि हुँदाहुँदै पनि सैन्य नीति गलत ट्रयाकमा जाँदा भागमा पराजय गर्छ भन्ने विप्लवको मान्यता छ । सैन्य नीतिका लागि माओको दीर्घकालिन जनयुद्ध वा लेनिनको सहरी विद्रोह दुई मध्ये एउटा मोडेल रोज्ने पक्षमा उनी छैनन् । उत्तर कोरिया, क्यूवा, भियतनाम लगायतका मुलुकहरुको सैन्य नीतिको पनि अध्ययन र मुलतः नेपालकै विशेषता अनुसारको सैन्य नीति तर्जुमा गर्नुपर्छ भन्ने उनको बुझाइ छ ।

दशकौंसम्म जंगल चहार्दै दुईचार वटा ग्रामीण प्रहरी चौकीमाथि आक्रमण गरी आफ्नो क्रान्तिकारी अस्तित्व बचाउने वाहना वा सहरमा दुईचार दर्जन (अर्वान) छाडेर विध्वंसात्मक गतिविधि गरी राज्यसँग वार्गेनिङ गर्ने दाउपेच दुवै अतिबाट विप्लव मुक्त छन् । अन्य राजनेताहरु जस्तै उनमा पनि राजनीतिक महत्वाकांक्षा हुनु स्वभाविक हो । उनको नजर केन्द्रीय राज्यसत्तामा गढेको छ । आफ्नो विचार दर्शन र राजनीतिलाई ब्यवहारमा लागू गर्न राज्यसत्तामाथि नजर लगाउनुको अर्को विकल्प पनि छैन ।

अन्य राजनेताहरु जस्तै उनमा पनि राजनीतिक महत्वाकांक्षा हुनु स्वभाविक हो । उनको नजर केन्द्रीय राज्यसत्तामा गढेको छ ।

युद्ध हतियारसहितको राजनीति हो र राजनीति हतियारविनाको युद्ध हो । अझ झर्रो शब्दमा भन्दा युद्ध रक्तपातपूर्ण राजनीति हो र राजनीति रक्तपातविहिन युद्ध हो भन्ने मान्यताबाट निर्देशित उनी सैन्य नीतिमा अपराध, आतंक र युद्ध रोमान्सलाई स्थान दिने पक्षमा देखिदैनन् ।

समग्रमा विप्लवको राजनीति, अर्थनीति र सैन्य नीतिसँग डराउनुपर्ने, तर्सिनुपर्ने वा आत्तिनुपर्ने कुनै कारण छैन । निशाना राज्यसत्ता भएकाले सत्तासिनहरु अत्तालिनु भने अस्वभाविक होइन । एकीकृत क्रान्ति युगको मोडेल बन्ने सम्भावना यस अर्थमा छ कि यसले बदलिदो समाजका नियम र चरित्रहरुलाई बझेर आफ्नो रणनीति अख्तियार गर्ने कोशिश गरेको छ अर्थात स्पष्ट शब्दमा यो भन्न सकिन्छ कि एकीकृत क्रान्तिले समाजका गतिशील पक्षसँग सहकार्य र विपरितहरुसँग संघर्ष गर्दै अस्तित्वसहित उत्साहपूर्ण जीवन बाँच्ने सुत्रहरु खोजी गरिरहेको छ ।

डेढसय वर्षअघि जीव विज्ञानका क्षेत्रमा डार्विनले प्रतिपादन गरेको सिद्धान्त प्रकृतिसँग संघर्ष गर्न सक्ने जीव अस्तित्वमा रहने र प्रकृतिसँग संघर्ष गर्न नसक्ने जीवको अस्तित्व लोप हुने र सर्वाइवल आफत फिटेस्ट समाजका हरेक क्षेत्रमा लागू हुन्छ । जसले सघर्षद्वारा समय आफ्नो अनुकुल ल्याउन सक्दैन त्यसको विनास अवश्यम्भावी छ । राजनीति विज्ञानका क्षेत्रमा पनि यो नियम लागू हुन्छ ।

समयअनुसार संघर्ष, सहकार्य र सहअस्तित्वको तरिका, चरित्र र सापेक्षतामा ध्यान दिइएन भने माक्र्सवादले आफूलाई गतिशील बनाउन सक्दैन । गतिशील बनाउन नसक्नृु पछि पर्नु हो । पछि पर्नु भनेको अन्ततः समाप्त हुनु नै हो । माक्र्सवादलाई संसोधन, परिमार्जन र युग सापेक्षिक बनाउने नाममा पुँजीवादी ब्यवस्था र त्यसका राजनीतिक प्रशासनिक लगायत सम्पूर्ण संरचनाहरुको हु-बहु अनुशरण माक्र्सवादलाई जोगाउने, रक्षा गर्ने तथा त्यसलाई दह्रो समात्ने नाममा १९ औं र २० औं शताब्दीका रणनीति र कार्यनीतिहरुको ह्रस्वदीर्घ, कमा र पूर्णविराम नछुट्याइकन अक्षरश पालनाको यान्त्रिकीकरण दुवै प्रवृत्तिमाथि यसले घन बजारेको छ । समाज विज्ञान र मनोविज्ञानका आधारभूत नियम तथा तिनका क्षेत्रमा देखापरेका विकसित घटनाक्रमको सुक्ष्म अध्ययनबाट राजनीतिक विज्ञानमा पनि केही फेरबदल गरिनुपर्छ ।

राजनीति विज्ञानका क्षेत्रमा हुने आंशिक वा पूर्ण फेरबदलले माक्र्सवादलाई प्रभावमा नपार्ने कुरा हुँदैन । कुनै पनि विचार दर्शन र राजनीतिले समाज विज्ञान र मनोविज्ञानमा आउने परिवर्तनलाई अत्यन्तै चाँडो र सुनिश्चित ढंगले संबोधन वा त्यसको ब्यवस्थापन गर्नुपर्छ । माक्र्सवाद एक गतिशील विज्ञान हुनुको नाताले उसले समाजका अन्तरविरोध र तिनले मनोविज्ञानमा दिने तरंगलाई अरुभन्दा चाँडो टिप्न सक्नुपर्छ । शास्त्र र सिद्धान्तहरुको अक्षरशः पालना गर्ने कुरा माक्र्सवादसम्मत हुँदैन । किनकी माक्र्सवादी दर्शन गीता, बाइबल र कुरानजस्तो होइन न त त्यसको ब्याख्याताहरु पादरी पूजारी र पैगम्बर नै हुन् न त्यसका अनुयायी कोही भक्तजन हुन् । हामी विकास, सृजनशीलता र त्यससँगै रक्षाको प्रश्न उठाउँछौं । एकीकृत क्रान्तिले समाज विज्ञान र मनोविज्ञानका क्षेत्रमा देखिएका परिवर्तनलाई संवोधन गर्ने कोशिश गरेको छ । यसअर्थमा यो गतिशील र युगकै मोडल बन्न सक्छ ।

कुनै पनि राजनीतिक प्रस्तावनासँग स्वकीकृत मूल्यमान्यतालाई चुनौती दिने दम छ कि छैन ? समकालिन स्वीकृत मूल्य मान्यताहरुलाई नयाँ राजनीतिक प्रस्तावनाले विस्थापित गर्न सक्ने नसक्ने अवस्था के हो ? आधारहरु प्रयाप्त र भरपर्दा छन् कि छैनन् ? नयाँ राजनीतिक प्रस्तावनाले अघि सारेका मान्यताहरु नीतिको धुरीबाट ब्यवहारको मैदानमा ओर्लन सक्छन् कि सक्दैनन् यति कुराहरुको मोटामोटी जवाफ पाइने ठाउँ हो । उक्त प्रस्तावना ल्याउने इन्ट्रेस्ट ग्रुप वा राजनीतिक शक्तिको सांगठनिक तागत । त्यसपछि बल्ल कुरा आउँछ, संगठनको आचरण, ब्यवहार, अनुशासन, ब्यवस्थित संरचना आदि इत्यादिको । माथिका प्रश्नहरुको मोटामोटी जवाफ विप्लव र विप्लव नेतृत्वको माओवादीमा पाइने आधारहरु छन् ।

आफू नेतृत्वको नयाँ पार्टी विप्लवका लागि एक गम्भीर चुनौती बनेको छ । सांगठनिक रुपमा बहुपद छैन । तल्ला निकायबाट हुने सहयोगको जसलिने सुविधासँगै असहयोग भयो भने पनि आलोचना वा अपजस उनकै भागमा पर्नेछ ।

विप्लव एक कुशल संगठन हुन्, यो कुरा उनले एकीकृत माओवादीमै प्रमाणित गरिसकेका छन् । पालुङटार बैठकमा प्रचण्डले पटक पटक विप्लवको नाम लिनु र आफूपछिको उत्तराधिकारी घोषणा गर्नुले नै सो कुराको पुष्टी भइसकेको छ । उनी एक सैन्य रणनीतिकार हुन् भन्ने कुराको संकेत उनले युद्धकै चरणमा र खासगरी विस्तृत शान्ति सम्झौतापछि पश्चिम नेपालमा विना रक्तपात पुर्नस्थापित प्रहरी चौकी हटाएर दिएका थिए । एकीकृत माओवादीबाट अलग भएपछि पोखरा वैठकसम्म पुग्दा तत्कालिन अध्यक्ष मोहन वैद्यले विप्लवलाई सैन्य रणनीतिकारको ब्याख्या गरे । मोहन वैद्य -किरण) नेतृत्वको पार्टीबाट अलग भएपछि विप्लवले एकीकृत क्रान्तिको सिद्धान्त अगाडि ल्याएर आफूलाई एक राजनीतिक विचारकका रुपमा समेत उभ्याए । यी सम्पूर्ण घटनाक्रमले उनी एक परिपक्व क्रान्तिकारी नेता हुन् भन्ने कुरामा अब दुविधा छैन । यद्यपी आफू नेतृत्वको नयाँ पार्टी उनका लागि एक गम्भीर चुनौती बनेको छ । सांगठनिक रुपमा बहुपद छैन । तल्ला निकायबाट हुने सहयोगको जसलिने सुविधासँगै असहयोग भयो भने पनि आलोचना वा अपजस उनकै भागमा पर्नेछ ।

निकै आशा भरोसा आफू भन्दा बढी विश्वास गरेर दुई दुई पटक पार्टी विभाजनमा साथ दिने पंक्तिको ठूलो हिस्सालाई उनले जति धेरै उपयोग गर्न सके त्यति धेरै राजनीतिक लाभ पार्टी संगठनलाई हुन सक्नेमा दुई मत छैन । तर दुवै पार्टीबाट भौतिक रुपमा नयाँ पार्टीमा आउँदा पनि केही आचार-विचार उनैबाट बोकेर ल्याएका नेता कार्यकर्ताको सुद्धिकरण पनि कम चुनौतीपूर्ण छैन । एकीकृत क्रान्तिमा पनि पार्टीको सांगठनिक बल पहिलो कुरा नै हो तर पनि कार्यकर्ताहरुको राजनीतिक क्षमता, विचार र नीतिगत बहसमा प्रतिष्पर्धी शक्तिहरुमाथि हावी र हालको यहि राज्य ब्यवस्थाको प्रशासनिक निकायलाई धेरथोर प्रभावमा पार्ने कुशलता पनि यस क्रान्तिका लागि त्यत्तिकै आवश्यक छ ।

निश्कर्षमा उनले अगाडि सारेको एकीकृत क्रान्ति एक सिद्धान्त नै हो । यसका पक्ष र विपक्षमा संभवतः यस शताब्दी भरी नै बहस हुन सक्छ । जसरी डार्बिनको सर्भाइवल अफ दी फिटेस्ट डेढ वर्षपछि प्रमाणित भयो, माक्र्सवादका क्षेत्रमा एकीकृत क्रान्ति पनि एक दिन अवश्य प्रमाणित हुनेछ ।

यस आलेखमा लेखकले दावी गरे जस्तो एकीकृत क्रान्तिलाई सिद्धान्त मान्नुपर्ने आधार के हो जिज्ञासा पनि उठ्न सक्ला यसको एउटै आधार हो, राजनीति, अर्थनीति र सैन्यनीति आजको युग र समाजका चरित्रसँग घुलित हुनुपर्छ र त्यसको केन्द्रीय प्रश्न क्रान्तिको कार्यदिशाले जनताको विशाल पंक्ति र आजको प्रवृत्तिलाई संवोधन गर्न सक्ने अपील गर्नुपर्छ, यही मान्यता नै एकीकृत क्रान्तिको वैज्ञानिकता हो । तर यस विषयमा एक चुनौती भने छ त्यो भनेको विप्लवले यस सिद्धान्तलाई आफ्नै जीवनकालमा पूर्णता दिएर प्रमाणित गरि छाड्छन् वा त्यो आउने समयलाई जिम्मा दिएर आफू आजिवन आलोचक र प्रश्नहरुको घेरामा उभिएर समय विताउँछन् ? हेर्न बााकी छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment