Comments Add Comment

बालिका बलात्कार : संवेदनहीनताको पराकाष्टा

दीपेश केसी

छ वर्षीया बालिका बलात्कृत हुन्छिन् त्यो पनि २८ वर्षे युवकबाट । बलात्कारपछि लठ्ठी घुसाइन्छ । मानवताका सबै अंश बिर्सेर गरिएको कुकृत्यले मृत्युको मुखमा पुग्छे । बारा सदरमुकाम कलैयामा पछिल्लो समयमा भएको घटना आङ सिरिङ्ग पार्नेखालको छ ।

दीपेश केसी
दीपेश केसी

समाजमा यति निकृष्ट घटनाको सिलसिला चलिरहेछ । बोली फुटेर सुखद बाल्यकाल नभोग्दै दानवको शिकार बनेकी बालिका बलात्कारको घटना बाल हिंसाको निकृष्ट नमूना त हो । तर, यो सामाजिक मुद्दाका रुपमा उठ्छ उठ्दैन भन्ने चासोको विषय हो ।

संवेदनहीन समाज

बोली नफुटेकी बालिका बलात्कार भएका धेरै घटना छन् । घरभित्रै बाबु र हजुरबाबुबाट किशोरी बलात्कारको घटना चर्चामा आयो । घटना घट्नु र सेलाउनुको सिलसिला चलिरहृयो ।

संवेदनहीन समाजमा अपाङ्ग र अशक्त पनि छाडिएनन् । वृद्धा समेतको बलात्कार भएको धेरै घटना छन् । आधुनिकताले गाँजेर स्वार्थी बन्दै गएको समाजमा अपराध बढ्नु स्वाभाविक हो । तर, बारा घटनाका पीडक कति नृशंश रहेछन् भन्ने घटनाको प्रकृतिले प्रष्ट पार्छ ।

यसअघि पनि बलात्कारका धेरै घटना उजूरी भए । तर, कतिपय घटनामा दोषी पक्राऊसम्म परेन । पक्राऊ परे पनि अनेकन हतकण्डा अपनाएर उम्कन सफल भयो । देशमा बलात्कारीलाई उन्मुक्ति दिन सक्रिय हुने नेताको पनि कमी छैन । पत्थरको मन भएपछि स्वार्थका लागि जे पनि गर्न तयार हुन्छ मान्छे । यहाँ जिम्मेबार निकायमा पत्थरको मन भएकाहरु हालीमुहाली छन् । त्यसैले बलात्कारी प्रोत्साहित हुन्छन् र बलात्कारका घटना बढिरहन्छन् ।

पीडितलाई खतरा

बलात्कारको घटनामा पीडित जहिले पनि खतरामा पर्छ । त्यसैले बलात्कारीले पीडितको हत्या गरिदिन्छ । बलात्कारपछि पनि कहीँ कसैलाई भनेमा वा उजूरी गरेमा ठूलो नोक्शान पुर्‍याइदिने धम्की दिन्छ । धम्कीका कारण पीडित कसैलाई भन्न सक्दैन । जीवनभर पीडा गुम्साएर बाँच्न विवश हुन्छ । अर्कोतर्फ बलात्कारी झन् प्रोत्साहित भई डरधम्की देखाएर बारम्बार बलात्कार गर्छ ।

बलात्कार घटना गुपचुप हुँदा बलात्कारी झन् उत्साही हुन्छ । जसका कारण उसल झनै धेरैलाई हवसको शिकार बनाउँछ

पीडितले कथंकदाचित् आफन्त वा साथीभाइलाई भनिहालेमा पनि कानुनी कारबाहीका लागि प्रोत्साहन मिल्ने सम्भावना कम हुन्छ । उल्टो लोकलाजको सम्भावनाका कारण घटना लुकाउन लगाइन्छ । यसले पीडितले आफूमाथि जहिले पनि खतराको महसुस गर्छ ।

लोक लाज

समाजमा बलात्कारी भन्दा बलात्कृत लज्जित हुनुपर्ने अवस्था छ । योजतिको लाजमर्दो अवस्था अरु के होला ? यसले चोरलाई चौतारोजस्तै भएको छ । समाजले बलात्कृत महिलालाई सहजरुपमा लिँदैन । त्यस्ता महिलाको विवाह गर्न कठिन हुने यथार्थ हो । ‘भर्जिन’युवती खोज्ने समाजमा कसैले यौनसम्पर्क भइसकेको र त्यो पनि बलात्कृत युवतीप्रति नकारात्मक सोच बनाउने प्रवृत्ति छ । यसकारण पनि पीडित र तिनका परिवारले घटनालाई गुपचुप राख्छन् । भविष्यमा आइपर्ने कठीन चुनौतीको सामना गर्न जो कोही तयार नहुन सक्छन् । बलात्कारको घटना उजूरी गर्न पनि ठूलो साहस चाहिने अवस्था विद्यमान छ ।

बलात्कार घटना गुपचुप हुँदा बलात्कारी झन् उत्साही हुन्छ । जसका कारण उसल झनै धेरैलाई हवसको शिकार बनाउँछ । बलात्कृत लोक लाजले घटना लुकाइरहन्छे, बलात्कारी घटना घटाइरहन्छ ।

सन् २०१३ मा मुम्बईमा फोटो पत्रकार सामूहिक रुपमा बलात्कार भएपछिमात्र घटनाका पीडकहरुको शृंखलावद्ध कुकृत्य सार्वजनिक भयो । उनीहरुले त्यसअघि धेरै युवतीलाई शक्ति मिल्सको भग्नावशेषमा  बलात्कार गरेका रहेछन् । तर, युवतीहरुले लोक लाजले घटनाबारे उजूरी गरेनन् । बलात्कारी तीन युवक पक्राऊ परेपछि पीडितको संख्या धेरै रहेको खुल्यो ।

उजूरीका लागि पीडकलाई प्रोत्साहित गर्न सके बलात्कारका घटना कम हुन सक्छन्

बलात्कारको शृंखला

महिला र बालबालिका बलात्कारको घटना बढ्नु घट्नुको तथ्यांक प्रहरीमा परेको उजूरी र मुद्दा दर्तालाई मात्र आधार मानेर निक्र्योल गर्न सकिँदैन । बलात्कारको घटना कमैमात्र उजूरीमा पर्छ । यसका पछाडि समाजमा बलात्कृतप्रतिको परम्परागत मूल्य मान्यता मुख्य कारण हो ।

बलात्कारीविरुद्ध जतिसुकै कडा कानुन बनाए पनि मूल्य मान्यतामा परिवर्तन नआएसम्म बलात्कारको घटनामा उजूरी पर्दैन । कतिपय समाजमा बलात्कारको घटना बाहिर पुग्न दिइँदैन । समाजभित्रै गुपचुप पार्ने शैली अपनाइन्छ ।

नेपाली समाजमा बलात्कारको घटना विगतमा पनि हुँदै आएका थिए । वर्तमानमा त्यसको सिलसिला चलिरहेछ । विगतमा घटनाको उजूरी शायदै हुन्थ्यो । पछिल्लो समयमा शिक्षा, चेतना र सशक्तीकरणले उजूरी गर्ने साहस बढेको छ ।

यसले पनि बलात्कारको घटना बढेको तथ्यांक देखिन्छ । उजूरीलाई आधार मानेर घटना बढ्यो भनेर चर्को आलोचना गरिहाल्नु सान्दर्भिक हुन्न । बरु घटनाको उजूरी गर्ने परम्परा विकास भएकोमा र बलात्कारी निरुत्साहित हुने वातावरण विकास हुन लागेकोमा आशावादी हुन सकिन्छ ।

उजूरीका लागि पीडकलाई प्रोत्साहित गर्न सके बलात्कारका घटना कम हुन सक्छन् । बलात्कारीलाई निरुत्साहित नगरी बलात्कारका घटना कम हुँदैनन् ।

दोषी के ? को ?

बलात्कार हुनुमा आधुनिक जीवनशैली, युवतीले लगाउने पोशाक, परम्परागत समाजले सहज रुपमा नलिने लवाई जसलाई उत्छृखंल भनिने गरिन्छ र राज्यले दिने सुरक्षा कमजोरीलाई मुख्य देखाइन्छ ।

दिल्लीमा सन् २०१२ मा निर्भयामाथि भएको बलात्कारमा संलग्न एक युवकले बीबीसीसँगको अन्तवार्तामा महिलाले लगाउने गरेको ‘उत्छृंखल’ पोशाकलाई कारण मध्येको एक भनेको छ ।

कसैको लवाइ र बलात्कारबीचको सम्बन्ध एउटा बहानामात्र हो । कस्तो लुगा लगाउने भन्ने व्यक्तिगत अधिकार हो ।

सामान्य पोशाकमा रहेका धेरै महिला बलात्कार भएका छन् । यसले पनि छोटो पहिरनमा रहनु बलात्कारको कारण होइन भनी पुष्टि गर्छ । आधुनिक जीवनशैली अपनाउने अधिकार जो कोहीमा छ । त्यसो भन्दैमा अर्काको अधिकार खोस्ने गरी यौन शोषणसम्ममा पुग्ने उग्र आधुनिकता दोषी हो ।

कसैको पीडा उठानका नाममा चर्चामा आएर क्षणिक लाभ लिन सकिएला, तर पीडा घटाउन धेरै जिम्मेवारीवोधका साथ काम गर्नुपर्छ

सबैभन्दा ठूलो दोष समाजको हो । बलात्कृतलाई विचरा भन्ने तर सहज रुपमा नस्वीकार्ने समाज जत्तिको दोषी अरु केही हुन सक्दैन । बलात्कारी पलपल पीडामा बाँच्नुपर्ने मुख्य कारण यही हो । घटनाको उजूर बाजुर केही नभए पनि बलात्कारीले ठूलै पुरुषार्थ गरेको ठान्न पुग्छ । यस्ता घटनालाई निरन्तरता दिन्छ । समाजको यही शैली र प्रवृत्तिले बलात्कारी जन्माइरहेछ । बलात्कृतहरु बढिरहेछन् ।

इथिक्सको बेवास्ता

केही अपवादबाहेक नेपालको मिडियाले बलात्कारको घटनामा इथिक्स राख्ने गरेको छ । बलात्कारको घटनाको पीडकको नाम सार्वजनिक गर्दैन ।

समाचार बिकाएर सनसनी मच्चाउन खोज्ने केही इथिक्स नभएकाहरुले मात्र पीडितलाई झन् पीडा दिने गरी नाम सार्वजनिक गर्छन् ।

बारामा बलात्कृत भएकी छ वर्षीया बालिकाको घटनामा पनि यही देखिन्छ । मूलधारका मिडियाले इथिक्स राखेका छन् । बरु जिम्मेवार सरकारी निकायदेखि राजनीतिक दलहरुले समेत इथिक्स बिर्सेका छन् ।

गैरकानुनीरुपमा विदेश पुगेकाले फर्काइएकी युवती एयरपोर्टमा खटिएका प्रहरीबाट बलात्कार हुँदा नेपाल प्रहरीले प्रेस विज्ञप्तिमा पीडकको नामसहित उल्लेख गरेको थियो ।

निधन भएपछि नाम सार्वजनिक गर्दा केही फरक पर्दैन भन्नेहरु पनि नभएका होइनन् । रिपोर्टर्स क्लबमा घटनाको भत्र्सना गर्न पत्रकार सम्मेलनमा सहभागी हुन आएका प्रमुख दलका महिला संगठन हाँक्नेहरुको तर्क यही थियो ।

दिल्लीमा सामूहिक बलात्कारपछि २३ वर्षीया विद्यार्थीको निधन भयो । तर, उनको नाम सार्वजनिक गरिएन । मृत युवतीलाई निर्भया नाम दिइयो । मिडियाले आफै नाम दिएर वास्तविक परिचय लुकायो । घटनापछि पीडकको परिवारमा चोट नपुगोस् भनेर इथिक्स राखिएको थियो ।

बलात्कार जस्तो संवेदनशील विषयमा महिलाहरुको नेतृत्व लिनेहरुले समेत हेक्का नपुर्‍याउनु र इथिक्स नराख्नु गम्भीर विषय हो । कसैको पीडा उठानका नाममा चर्चामा आएर क्षणिक लाभ लिन सकिएला, तर पीडा घटाउन धेरै जिम्मेवारीवोधका साथ काम गर्नुपर्छ ।

(केसी दिल्लीस्थित जवाहरलाल नेहरु विश्वविद्यालयमा अपराधबारे विद्यावारिधि गर्दैछन् )

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment