Comments Add Comment

भारतको चाकडी गर्नेहरुलाई पाखण्डी भनेको हुँ

एमाओवादी बरिष्ठ नेता डा. बाबुराम भट्टराईले भारत भ्रमणका क्रममा आफूले नेपाल र नेपालीको सम्मान बढाएको बताएका छन् । भारतमा कुनै पनि नेपाली नेताले यति ठूलो ‘एक्सपोजर’ नपाएको डा. भट्टराईको दाबी छ ।

अहिलेसम्म नेपाली नेताहरु भारतमा गएर छोराछोरीको पढाइ, स्वास्थोपचार, चुनाव खर्च र मदिरामा भुल्ने गरेको बताउँदै डा. भट्टराईले भने- ‘मैले जुन ढंगको कुरा राखेँ, यसले नीति निर्माता र बौद्धिक तहमा तरंग पैदा गरेको छ, यसले चुनावी खर्च माग्ने र मदिरापानको सुविधा मात्र लिने नेताहरुलाई डाहा हुनु स्वभाविक हो ।’

अनलाइनखबरसँगको विशेष कुराकानीका क्रममा पूर्वप्रधानमन्त्री डा. भट्टराईले आफ्नो भारत भ्रमणका विषयमा उठेका प्रश्नहरुको यसरी बेलिविस्तार लगाए-

Baburam-Bhattrai-1

भारत भ्रमणलाई लिएर विभिन्न टीकाटिप्पणी भएपछि फेसबुकमा प्रतिक्रिया दिनुभयो । तपाईको आलोचना गर्नेजति सबै पाखण्डी र आलाकाँचा नै हुन् त ?

– राष्ट्रियताजस्तो विषयलाई हल्का ढंगले टिप्पणी गर्ने र त्यो चासो दिने मान्छे कस्तो भेटियो भने एकाधबाहेक सबै परिवर्तन विरोधी । जतिमान्छेहरुले यहाँका मिडियाहरुमा कलम चलाएको देखियो, उनीहरुको पृष्ठभूमि हेर्ने हो भने सबै परिर्वतनका विरोधी । गणतन्त्र, धर्मनिरपेक्षता, समानुपातिक समावेशी सबै विदेशबाट आएका आयातीत हुन् भन्ने लाग्ने ।

प्रतिगमन, निरंकुशता, सामन्तवाद, पछौटेपन, राजतन्त्रचाहिँ नेपालको स्वदेशी बस्तु भन्नमा गर्व गर्ने पात्रहरुले यो बारेमा बढी कलम चलाएको पाइयो ।

राष्ट्रियता जस्तो एउटा महान विषयलाई पश्चगामी दृष्टिकोणबाट केलाएको देख्दा मलाई नेपालको सार्वजनिक विमर्शको स्तरबाट खिन्नताबोध भएर टिप्पणी गरेको हुँ । अन्यथा होइन ।

मानिसहरु भन्ने गर्छन्, बाबुराम आलोचना सहँदैन् । तपाई आलोचनाबाट उत्तेजित हुनुभएको हो ?

– होइन, उत्तेजित नभएको हो । किनकि मैले देशको श्रीवृद्धि निर्वाह गर्न भूमिका खेलेको छु भन्ने मलाई लाग्छ । नेपालीले विदेशमा गएर, दिल्लीमा गएर सार्वजनिक विमर्शका लागि यति स्पेस प्राप्त गर्दैन । कुनै पनि नेपालीले आफ्नो बौद्धिक क्षमताले र अन्य कारणले त्यो प्राप्त गरेको छ भने अलिकति गुन मान्नुपर्ने हो ।

नेपालको इतिहास त कस्तो छ भने काजी भीम मल्लले तिब्बतमा शान बढाएरै आएका थिए । आउँदा आउँदै षड्यन्त्रकारीले उल्टो पोल लगाएर टाउको काटियो ।

भीमसेन थापाले अंग्रेजहरुविरुद्ध लड्न एशिया स्तरमै पहल गरौं र मोर्चा बनाउँ भनेका थिए । तर, उनी भीमसेन थापाको निर्मम ढंगले हत्या गरियो । नेपालको इतिहास यस्तो कृतज्ञ इतिहास भएको ठाउँ हो, त्यो सामन्तवादी युगको कुरा थियो । अहिले हामी लोकतान्त्रिक युगमा छौंं । तर, सामन्तवादी, अन्यन्त संकीर्ण चिन्तन बोकेको देख्दा आफ्ना देशवासीप्रति अन्यन्त दया लागेर आउँछ । त्यसैको अभिव्यक्ति मात्र हो । प्रतिटिप्पणी गरेको होइन । उत्तेजित हुने कुरा छैन ।

मलाई के आत्मविश्वास छ भने देश र जनताको हितमा नै सम्मानपूवर्क आफ्नो कुरा राखेको छु र त्यसले देश र जनताको सम्मान बढाएको छ । र, यो पार्टीको धारणा पनि हो ।

भारतलाई शान्ति प्रक्रियाको ‘स्टेक होल्डर’ नै चाहिँ भन्नुहुँदैनथ्यो कि ?

– मैले बाह्रबुँदेको स्टेक होल्डर भनिँन । युद्ध र शान्ति एउटा देशको विषय मात्र हुँदैन, अन्तराष्ट्रिय हुन्छ । नेपालमा हामीले जुन जनयुद्ध सञ्चालन गरौं, त्यसबेला हामीले समानान्तर सत्ता नै चलाएका हौं । हाम्रो समानान्तर सरकार थियो । ०५८ सालमा जनसेना र संयुक्त क्रान्तिकारी जनपरिषद् नै घोषणा गरेपछि अन्तराष्ट्रिय रुपमा पहल गरेका थियौं । ०५८ को मंसिर पुसमा हामीले संयुक्त राष्ट्रसंघका साथै भारत, चीन, अमेरिकालाई पत्रचार गरेर हाम्रो सत्ता नै वास्तविक सत्ता हो भन्ने दाबी गरेका थियौं । त्यो अगाडि बढ्दै गएर राष्ट्रसंघले चासो देखायो र भारत, चीन, अमेरिका जस्ता शक्ति केन्द्रले पनि चासो देखाए । त्यही क्रममा शान्ति प्रक्रिया अघि बढ्यो र हामीले प्रत्यक्ष रुपमा कुनै देश संलग्न नभए पनि राष्ट्रसंघमा ती सबै देश छन् ।

मुख्य ठूलो छिमेकी हुनुको नाताले भारतको अझ बढी संलग्नता हो । त्यसअर्थमा नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्रिय समुदायको चासो राख्नु स्वभाविक हो भनेर मैले राखेको हुँ ।

जबसम्म संविधानसभाबाट संविधान बन्दैन र सत्य निरुपण तथा मेलमिलाप आयोगको काम सम्पन्न हुँदैन, त्यसबेलासम्म शान्ति प्रक्रिया पूरा भएको मानिँदैन । त्यसबेलासम्म हामीले समानान्तर सत्ताका लागि गरेको पहलको औचित्य रहन्छ । त्यसअर्थमा नेपालको शान्ति प्रक्रियामा अन्तराष्ट्रिय समुदायको चासो रहन्छ भन्ने अर्थमा पछिल्लो घटनाक्रमबारे बताएको हुँ ।

तपाई नेपालको पूर्वप्रधानमन्त्री पनि हुनुहुन्छ, भारत गएर नेपाली नेताको आलोचना गर्नुभयो । त्यो कूटनीतिक मर्यादा विपरीत भयो भनेर बालुवाटारमा कुरा उठेको थियोे । के जवाफ दिनुहुन्छ ?

– मैले त्यसको जवाफ नै दिनुपर्दैन । म सामान्य २/३ दिनको कार्यक्रमका लागि मात्र गएको हुँ । कसैको निम्तो लिएर गएको होइन, पार्टीको कार्यक्रममा गएका बेला रोकिएको मात्र हो । जुन ढंगले यस्ता सार्वजनिक कार्यक्रम भए र उच्च नीति निर्माण, राजनीतिक दल, नागरिक समाजसँग जुन ढंगले कुराकानी भयो, मिडियाले जुन ढंगले चासो राख्यो । शायद पछिल्लो चरणमा कुनै पनि नेपाली नेताले त्यो प्रकारको सार्ववजिक एक्सपोजर पाएको थिएन ।

मैले जुन ढंगको कुरा राखेँ, लोकतन्त्रको नयाँ मोडल विकास गर्ने कुरा भनेको नेपालको मात्र विषय होइन । यसले उच्च नीति निर्माता र बौद्धिक तहमा तरंग पैदा गरेकै हो । त्यसले जुन ढंगको मिडिया कभरेज पनि पायो । त्यसले यहाँका नेताहरु, जो खाली निजी स्वार्थमा केन्दि्रत हुन्छन्, छोराछोरीको पढाइ, स्वास्थोपचार, चुनावी खर्च माग्ने र मदिरापानको सुविधा मात्र दिने नेताहरुलाई डाहा हुनु स्वभाविक हो । त्यसरी नै उनीहरु र आसेपासेहरुले चर्चा चलाएजस्तो लाग्छ ।

एउटा जिम्मेवार व्यक्ति हुनुको नाताले तुच्छ ढंगले कसैका बारेमा टीकाटिप्पणी गर्ने स्वभाव पनि छैन र गरिँन पनि । मैले त्यही उचाइका सैद्धान्तिक, राजनीतिक बहस गरेको हुँ ।

मोदीका बारेमा के भन्नुभएको थियो ? मोदीको विरोध गर्नेलाई पाखण्डी भन्नुभएको हो ?

– मैले पाखण्डी भनेकै छैन । मोदीका बारेमा इकोनोमिक टाइम्सलाई दिएको अन्तरवार्तामा मैले भनेको थिएँ, तपाईले हेर्नु भए हुन्छ ।

मोदी आएपछि तपाईले के फरक पाउनुभएको छ, भनिएको छ, मैले मोदी आएपछि मुलभूत परिवर्तन त भारतको हुँदैन विदेश नीतिमा, त्यो विगतको निरन्तरतामै हुन्छ ।

अब अलिकता सकारात्मक परिवर्तन के देखियो भने विगतका सरकारले भन्दा मोदी सरकारले छिमेकका देशहरुप्रति बढी चासो चाँही देखाएको छ । त्यही कारणले १७ वर्षदेखि नेपालमा भारतको प्रधानमन्त्रीको भ्रमण भएको थिएन, मोदीजीले चाँही दुईचोटि गर्नुभयो । यसरी उहाँले अरु देशका छिमेकी देशको पनि भ्रमण र चासो देखाएको देखिन्छ ।
त्यसअर्थमा मोदीको बढी छिमेकी मुलुकप्रति बढी चासो राख्ने प्रवृत्ति देखा पर्छ भन्ने कुरा टिप्पणी गरेको छु, त्यो इकोनोमिक्स टाइमले लेखेको छ, त्योभन्दा बाहेक मोदीको प्रशंगमा मेरो अरु कुनै टिप्पणी छैन । कुनै यहाँकाले यस्तो भन्छन् भने त्योचाँही नियोजित दुष्प्रचार या भ्रम मात्रै हो भन्ने मलाई लाग्छ ।

मोदीले वीर अस्पतालको ट्रमा सेन्टर उद्घाटनका बेला दिएको स्टेटमेन्टमा मोदीको आलोचना बढेको हो भन्ने प्रश्नमा तपाईले ती पाखण्डी नै हुन् भनेको जस्तो लाग्छ, हिन्दुस्तान टाइम्समा…. ?

– मैले पाखण्डी भनेको जो मान्छे दलाली गर्छन् र भारतको सत्तासँग चाकडी गरी निजी स्वार्थको निम्ति चाकडी गर्छन्, ती मान्छेले फेरि राष्ट्रियताको कुरा गर्नु भनेको पाखण्डपन हो भनेको हो । त्यो नेपाली शासकहरुको पुरानो चरित्र हो । त्यही कुरा मैले भनेको हो ।

नेपालगञ्ज आएपछि नेपालका शासकले भारतको शक्तिलाई चिन्दैनन्, पत्याउँदैनन् भन्ने स्टेटमेन्ट दिनुभएको होइन ?
होइन । मैले त्यस्तो कहिल्यै पनि भनेको छैन । मैले खाली अन्तर्राष्टिय सम्बन्धको कुरा गर्दा अन्तर्राष्ट्रिय सम्बन्ध भनेको पनि वर्गीय हुन्छ, त्यसको शाशक वर्गको शासक वर्गसँग सम्बन्ध हुन्छ । उत्पीडकहरुको उत्पीडकसँग र उत्पीडितहरुको उत्पीडितहरुसँग हुन्छ ।

त्यसकारण हामी भनेका सामानान्तर वैकल्पिक सत्ता हौं । त्यसैले हामीले हाम्रो कुटनीति, हाम्रै वर्गीय दृष्टिकोण अनुसार मैले अघि सुरुमा भने, त्यही ढंगले हामीले गरेका छौं ।

नेपालका शासक वर्गले पनि त्यहाँको पुराना शासक वर्गसँग त्यही ढंगको उनीहरुको सम्बन्ध रहने गर्छ । हामीले त्यो सम्बन्धलाई जनस्तरसम्म विकास गर्ने र हाम्रो कुटनीतिक पहलचाँहि हाम्रै उत्पीडित नेपालीहरुको पक्षमा निर्माण गर्ने हामीे प्रयत्न गछौर्ैं । मैले भनेेको यो हो र अहिले पनि यो कुरा दोहोर्‍याउन चाहन्छु ।

नेपालको राजनीतिमा भारतले माइक्रो म्यानेजमेन्ट गर्‍यो भन्ने कुरा आउँछ । तपाईले भारतमा शान्ति प्रक्रियाबारे दिएको स्टेटमेन्टलाई लिएर वैद्य माओवादीले नेपालमा हस्तक्षेपका लागि आहृवान गर्नुभयो भनेर आपत्ति जनाएको छ । बाबुरामले नेपालमा भूमिका खेल्न भारतलाई गुहारे भन्ने पनि आएको छ नि ?

– बाबुरामले गुहारे भन्ने कुरा होइन । त्यो त सुगौली सन्धीदेखि छ, त्यसको अन्त्य हुनुपर्छ भन्ने मान्छे हो म । मेरो भनाइ के मात्र हो भने त्यसलाई हामी नेपालका माओवादीहरुले राष्टिय रुपमा पनि, अन्तर्राष्टिय रुपमा पनि जुन पुरानो सम्बन्ध छ, नेपालको बहुसंख्यक जनताको विरुद्धमा छ, त्सलाई परिमार्जन गरेर नेपाली जनताको पक्षमा नेपाली राष्टियताको पक्षमा ल्याउन चाहन्छौं ।

यसका निम्ति हामीले हिजो विद्रोहमा छँदाखेरि चाँहि हामीले एउटा फरक ढंगले संघर्ष गर्‍यौं भने अहिले हामी अन्तरिम सत्तामा भएको संविधानसभाभित्र भएकोे अवस्थामा फरक ढंगले संघर्ष गर्छौं भन्ने कुरा नै मैले राख्दै आएको छु । मेरो एउटा मात्र भनाइ के हो भने भारतीय सत्ता पक्ष र नेपालको सत्ता पक्षले सधैं नै नेपाली जनताको विरुद्धमा नै काम गर्दै आएका छ । नेपालको राष्ट्रियता भनेको त जनता हो नि त । भूगोल त अब त्यति धेरै कसैले मिचेर मिचिँदैन । अहिलेको जमानामा भूगोल नै कब्जा गर्ने धेरै नै पुरानो हो ।

एउटा अपवाद स्वरुप भूगोललाई कसैले पनि धक्का गर्दैन । जनताका आफ्ना सामाजिक, राजनीतिक हक, अधिकारलाई कुण्ठित गर्ने र त्यो ढंगले आर्थिक रुपले नव औपनिवेशिक तरिकाले उत्पीडन गर्ने अहिलेको तरिका हो । यसरी हेर्दा नेपालको शासक वर्गले पनि भारतीय शासक वर्ग सामु घुँडा टेकेर त्यसमा आत्मसमर्पण गरेर आफ्नो सरकार टिकाउँदै आएको छ ।

हामीले जनताको पक्षमा भारतसँग पनि र हाम्रो सवै छिमेकीसँग नयाँ प्रकारको सम्बन्ध विस्तार गर्न चाहन्छौं । त्यसअर्थमा हाम्रो पहल वर्गीय हितमा हामीले गरेका छौं ।

हाम्रा साथीहरुको म खासै टिप्पणी गर्न पनि चाहन्न । उहाँहरुलाई महत्व पनि दिन चाहन्न । किनभने उहाँहरुको माइण्ड सेट बन्या छ कि यथार्थ धरातलमा, उहाँहरुको टिप्पणी गर्नु नै बडो लज्जास्पद हुन्छ । त्यसैले ती साथीहरुको आलाकाँचा क्रान्तिकारी भनेको उहाँहरुलाई नै हो । त्यसैले त्यो टिप्पणी गर्नु त्यति उपयुक्त र शोभनीय ठान्दिँन ।

संघीयताको विषयलाई लिएर भारत र चीनको भूमिकाको विषयमा कुरा उठ्ने गरेको छ । यसमा भारतीयहरुको के रहेछ बुझाइ ?

– होइन, होइन । यस्तो विषयमा त चर्चा गर्ने नै होइन । पहिलो कुरा, बडो दुर्भाग्य नै यही भएको छ । कस्तो संघीयता हामीले बनाउने भन्नेमा तपाईहरुले कस्तो मानिदिनुहुन्छ, हामीले कस्तो बनाउने भनेर सोध्ने विषय पनि होइन । र, उनीहरुले भन्ने विषय पनि होइन ।

हामीले बुझ्ने एउटा के मात्रै हो भने नेपालको जुन शान्ति प्रक्रिया छ, त्यसका तीनवटा आयाम छन् । सेना समायोजनको आयाम, संविधान निर्माणको आयाम, सत्य निरुपण र मेलमिलाप आयोग मार्फत द्वन्द्व ब्यवस्थापन गर्ने आयाम ।

यसमा नेपालको द्वन्द्वरत पक्षसँग जोडिएको विषय भएको हुनाले अन्तर्राष्टिय पनि सरोकार र चासो रहन्छ । यो विषयमा नेपालभित्र शान्ति सम्झौता भयो, त्यसलाई पूर्णतामा पुर्याउनको निम्ति अन्तरराष्ट्रिय समुदायले पनि सकारात्मक भूमिका खेल्नुपर्छ । त्योभन्दा विपरीत शान्ति प्रक्रिया बिथोलिने गरी गर्नु हुन्न भन्ने कुरा मात्रै नै मैले गरेको छु त्यहाँ ।
त्यसकारण उनीहरुले पनि त्योभन्दा बाहेक जनरल ट्रेन्डका कुराहरु बाहेक ठोस रुपमा गएर चर्चा उनीहरुले पनि गर्ने कुरा भएन र हामीले पनि गर्ने कुरा भएन । जहाँसम्म सैद्धान्तिक कुरा छ, राज्यको पुर्नसंरचना, संघीयता भनेकै जुन देशमा एउटा भाषिक, जातीय अथवा राष्ट्रिय, नेशनल विविधता हुन्छ, अप्रेसन हुन्छ, उत्पीडन हुन्छ, त्यसको अन्त्य गर्न नै संघीयतामा जाने हो ।

त्यसले स्वतः नै पहिचान जोडिएको हुन्छ । यो बेकारमा यो पहिचान र उ न पहिचान भन्ने शब्द नेपालमा विवाद आ’छ, असाध्यै केटौले तर्क भइरहेको छ ।

अन्तर्राष्ट्रिय समुदाय बुद्धीजीवी त यस्तो कुरा गर्दा हाँस्छन् । तपाई किन संघीयतामा जाने त त्यसो भए ? तपाई एउटा जातीय, भाषिक, क्षेत्रीय, राष्ट्रिय विविधता छ, विभेद छ, त्यसलाई अन्त्य गर्न भनेर नै संघीयतामा जाने । अनि ती उत्पीडित जाति र भाषाहरुको पहिचान हुनुहुन्न भनेर तर्क गर्नु भनेको त संघीयता नै हुनुहुन्न भन्ने तर्क हुन जान्छ । त्यसैले यो भन्यो भने त यस्तो आश्चार्यको कुरा गर्ने हो भन्छन् मान्छेहरु ।

बंगाल, आसाम, तामिलनाडु, उडिसा सबै भाषिक आधारमै बनेका राज्यहरु हुन् । त्यसो भएको हुनाले यो त लज्जास्पद कुरा भयो । हामीकहाँ बिडम्बना के भएको छ, भने संघीयता विरोधीहरुले सिधै संघीयताको विरोध गर्न नसकेर पहिचानको विरोध गरेजस्तो गरिरहेका छन् । सारतत्वमा उनीहरुको संघीयताको विरोध हो, त्यो । एकात्मक राज्यसत्ता एउटा निश्चित खास जाति र वर्गले मात्रै शासन गर्दै आएका छन्, यहाँ । उनीहरु संघीयतामा जान चाहँदैनन् । संघीयतामा नजाउँ भन्यो भने शान्ति सम्झौतामा लेखिसकियो, जाउँ भन्यो भने उसको मन छैन । निहुँ खोज्नका लागि यस्तै खालका उट्पट्याङ कुराहरु गरेर विषयान्तर गरिएको छ । भएको कुरा यही हो । र, अन्तर्राष्टिय समुदायले चाँहि यस्तोमा सुन्न पनि कसैले चाहँदैन र भन्नु पनि हुँदैन । आफ्नै एउटा लाजमर्दो कुरा हो ।

भारतमा छलफल हुँदा नेपालप्रति भारतले लिँदै आएका कतिपय असमान सन्धी सम्झौताको पनि कुरा गर्नुभयो कि ?

– म त निरन्तर भन्दै आएको छु कि सुगौली सन्धीदेखि यता नेपाल र भारत असमान सम्वन्धमा बाँधिएका छन् र विकासमा भारत र नेपालको असमानता बढ्दै गएको छ । यो राजनीतिक अर्थशास्त्रीय दृष्टिकोणले असमानता एकचोटि बनेपछि संरचनात्मक परिर्वतन गरेर बदलिएन भने निरन्तर बढ्दै जान्छ । किनकि एकाधिकार पूँजीवादी विकासको नियम नै हो । त्यसअर्थमा त्यो अहिले पनि विद्यामान छ र त्यसको दीर्घकालीन समाधान खोज्नुपर्छ भन्ने कुरा मैले निरन्तर राख्दै आएको छु ।

अहिले मात्र होइन, सन् १९९० मा दिल्लीमा भएको गोष्ठीमा पनि मैले त्यो प्रशंग उठाउँदा एक ढंगको तरंग पैदा भएको थियो । पशुपतिशमशेर राणाले परेवाको बीचमा बाज जस्तो भइदिनु भो भन्ने टिप्पणी पनि गरेका थिए । जबसम्म सच्चिँदैन, तबसम्म भन्छु ।

अंश अंश गरेर नेपाल र भारतको समस्या समाधान हुँदैन भन्ने मेरो निष्कर्ष हो । हिजो हामी विद्रोहमा छँदा एक ढंगले सम्बोधन गर्न प्रयत्न गथ्र्यौं । अहिले हामी सत्ताको नजिक र नयाँ राज्य सत्ता निर्माणको क्रममा रहेकाले भिन्न ढंगले हल गर्न खोजेका छौं ।

तपाईको विचारमा नेपालको राष्ट्रियतामा कुन पक्षबाट बढी खतरा छ, ‘भौगोलिक राष्ट्रवाद’ वा ‘भारत भक्ति’ ?

– त्यो एउटै हो । भारतलाई विरोध गर्ने भन्ने होइन, जनताको परिर्वतनको चाहना र अग्रगमनको आन्दोलनलाई मत्थर गर्न हिजो चाणक्य र मेकियाबेलीका पालादेखि प्रयोग गरिँदै आएको जनताको ध्यान अन्यत्र मोड्ने चालबाजी मात्र हो । त्यसैले नेपालको शासक वर्गले विदेशीको चाकडी गरेर नै आफ्नो शासन टिकाएका छन् ।

खासगरी सुगौली सन्धीदेखि यताको इतिहास हेर्नु भो भने चाहे राणा भन्नुस्, चाहे शाह वंशीय राजा भन्नुस् । चाहे कांग्रेस भन्नुस्, चाहे एमाले नै भन्नुस्, जो जतिबेला उनीहरु सत्तामा रहे । भारतीय शासकको दलाली गरेर सत्तामा टिक्ने प्रयत्न गरे । तर, जनताका अग्रगामी परिवर्तनको चाहनालाई रोक्नका निम्ति त्यस्ता परिर्वतन चाहने शक्तिहरुलाई अराष्ट्रिय तत्व भनेर लान्छित गर्ने काम पनि गरे । त्यसअर्थमा हेर्दा कथित शासक वर्गको राष्ट्रियता भनेको एउटा शोषण मुलक सत्तालाई टिकाउन प्रयोग गरिने हौवा मात्र हो । प्रगतिशील, अग्रगामी शक्तिहरुको राष्ट्रियता भनेको साँच्चै नै विदेशी शोषण, जो ऐतिहासिक रुपले रहँदै आएको छ, त्यसको अन्त्य गरेर पूर्णरुपमा स्वाधीन, सार्वभौम बनाउने प्रगतिशील राष्ट्रियता हो ।

यसअर्थमा नेपालका शासक वर्गले बाहृय शक्तिको चाकडी, दलाली र गुलामी गरेर नै आफ्नो सत्ता टिकाएको छ ।

विकास र सम्वृद्धिप्रति तपाई चिन्तित नेता मानिनुहुन्छ । अहिले चलिरहेको बहस के छ भने माथिल्लो कणर्ालीबारे भारतसँग भएको सम्झौता नेपालको हितमा छैन । सेना वा एनआरएन नै यो परियोजना बनाउन सक्थ्यो भन्ने पनि छ, तपाईलाई के लाग्छ ?

– यसका लागि समग्र अर्थ राजनीतिक सोचमा नै परिर्वतन ल्याउनुपर्छ । यसका लागि देशको शासन स्रोत परिचालन गर्न सम्पूर्ण राज्यसत्ता जनताको हातमा आएको हुनुपर्छ । त्यो स्थिति त होइन । हामीले क्रान्ति, जनयुद्धका रुपमा जुन सम्पन्न गर्‍यौं, त्यसलाई पूर्ण विजयमा पुर्‍याउन सकेको अवस्था होइन । हामीले बीचमा सम्झौताको विन्दु ल्यायौं र अपूर्ण क्रान्तिको क्रमबाटै हामी गुजि्ररहेका छौं ।

त्यसो भएको हुनाले यहाँ आर्थिक विकासको मोडलको विषयमा पनि त्यत्रो परिर्वतन भएको छैन । हिजोकै निरन्तरतामा सामान्य सुधारसहित मात्र छौं । त्यो भएकाले अहिले हामी त्यस्ता परियोजना आफ्नै बलमा मात्र गर्न सक्छौं भन्ने भन्नलाई त भन्न सकिन्छ । तर, बन्ने र लागू हुँदैन । यस्तो अवस्थामा सुधारवादी ढंगले सोचेर राष्ट्रिय क्षतिलाई न्यूनीकरण गर्ने ढंगले नै प्राप्त विकल्पमा जानु हाम्रो बाध्यकारी अवस्था हो ।

यसरी हेर्दा यो विदेशी लगानीका कणर्ाली, अरुण, पश्चिम सेती लगायतका प्रोजेक्टमा अधिकतम राष्ट्रिय हित हुने गरी वैदेशिक लगानी गर्नुको विकल्प छैन । तर, जहाँसम्म पीडीए र पीटीएको कुरा छ, त्यसबेला हामी सरकारमा रहेनौं । र, सरकारले अन्तिम दिन सामान्य जानकारी दिने मात्र काम गरेकाले यो प्रोजेक्ट रोक्ने भनेर त भन्न सक्दैनौं । तर, पुरै सहमति जनाउन पनि सक्दैनौं भनेका छौं ।

अपर कर्णालीबारे पार्टीको अहिलेको नीति पनि यही हो ?

– यो सबै प्रोजेक्टमा पार्टीको नीति त्यही हो ।

एमाओवादीको भारतलाई हेर्ने दृष्टिकोणमा पहिले र अहिलेमा किन फरक ?

– हामीले के भनेका छौं भने भारतीय मात्र होइन, कुनै पनि एकाधिकार पुँजीवाद हुन्छ, जसको चरित्र राष्ट्रिय सीमानालाई मिचेर विस्तार गरेर अरु देशमा जाने र त्याहाँ शोषण, उत्पीडन गर्ने हुन्छ । त्यो अर्थमा एकाधिकार पुँजीवाद भनेको स्वभावैले त्यो विस्तारवादी हुन्छ । त्यो भारतको मात्र होइन, अन्य देशको पनि अमेरिकी अथवा भोलि गएर चिनियाँ पनि हुन सक्छ अथवा रुसी । यी सबैले एकाधिकार विस्तावादी चरित्र विस्तार हुन्छ ।

विशिष्ट रुपलाई साम्राज्यवादी पनि भनिन्छ । तर प्रारम्भिक रुपले त्यसलाई विस्तारवादी भनिन्छ । त्यसअर्थमा त्यो चरित्र पुँजीवादयुक्त चरित्र हो । पुँजीवादी कायम भएको देशमा ती सबैतिर रहन्छन् । त्यसमा हिजोदेखि आज वा भोलिसम्म हाम्रो त्यही दृष्टिकोण रहन्छ । तर, त्योसँग कसरी संघर्ष गर्ने भन्ने विषय संघर्षको तरिकाहरु एउटै हुँदैनन् । परिस्थिति अनुसार त्यो फरक हुन्छन् ।

हिजो हामी भर्खर प्रारम्भिक विद्रोहका बेला प्रचारात्मक रुपमा आउनका लागि भण्डाफोर गर्ने ढंगले बढी भन्थ्यौं । भोलि क्रियात्मक ढंगले जाने बेलामा हामीले त्यसलाई फरक ढंगले क्रियान्वयन गर्दथ्यौं । अन्तरिमकालीन संकटकालीन सत्ताभित्र रहेर त्यसविरुद्ध संघर्ष गरेर अहिलेको लागि संघर्ष कुटनीतिक प्रकारको संघर्ष बढी हुन्छ । त्यसकारण संघर्षको रुप फेरिएको हो । सारतत्व फेरिएको होइन ।

तर, अहिलेचाँही हामी हिजो भण्डाफोरको तरिकाले होइन, कुटनीतिक पहल र कुटनीतिक संघर्षको तरिकाले बाहृय उत्पीडनका प्रवृत्तिविरुद्ध संघर्ष गर्ने हाम्रो नीति हो । फेरि सारतत्व हाम्रो एउटै हो । रुप पक्ष र संघर्षको स्वरुप चाँहि फेरिएको हो । त्यो फेरिनुपर्छ र फेरिन्छ । भोलि फेरि अर्को रुपमा जान सक्छ ।

प्रस्तुती- अरुण बराल/राजकुमार श्रेष्ठ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment