Comments Add Comment

अनुभूति : कठै ती दिन कहाँ गए ?

 प्रवेश अचार्य, नयाँ दिल्ली

गोङ्गबु बसपार्कको एउटा छेउँमा टुसुक्क बसेको थियो उ । खुर्किएर मुडुलो भएको कपाल, धुलो र धुवाँले कालो बनेको अनुहार , भोक र प्यासले कलेटी परेका ओँठ । खुट्टामा एक जोर तुना वाला चप्पल, मैलो बनेको खैरो टि-सर्ट, खुचमुचिएको निलो फर्मल पाईन्ट ।

पछाडी पट्टी बोकेको सुर्के झोला, झोला भित्र आमाले हाल्दिनु भएको एक डब्बा घीउ र एक पोका गुन्द्रुक । मान्छेहरु को भिडमा एक्लो निसास्सिएको थियो उ । म भिडमा उसलाई खोज्दै छेउँमा पुगेँ । उसले मलाई पर बाट देख्यो । कलेटी परेका उसका ओँठ सल्बलाए,निदारमा खुशीका रेखा दौडिए ।नजिक आएर सुस्तरि फुस्फुसायो,” कत्ती ढिला गरेको ?” उसको यो गाउँ छोडेर काठमांण्डौ छिरेको पहिलो दिन थियो ।

सायद म पाँच बर्षको थिएँ । भर्खर हजुरबुवाले कालो दलेर बनाईदिएको ‘काठको पाटी’ र खोलामा गाई चराउँन जाँदा खोजेर ल्याईदिएको खैरो लेख्ने ‘खरी’ बोकेर स्कुल जान सुरु गरेको थिएँ । स्कुल पुग्न बाटोमा पुरै जँगल हिड्नु पर्थ्यो ।बिचमा एउटा सानो खोला पर्थ्यो । गाउँ सानो थियो, स्कुल जान साथी पाउनगाह्रो पर्थ्यो । आमाले जुक्ती लगाउनु भो, काँधमा फित्ता बाँध्न मिल्ने जाँघे ( हाफ पाईन्ट) लगाईदिनु भो । दिउँसो खानको लागी झोलामा सानो सातुको कुटुरो हाल्दिनु भो अनि म सँग मेरो सानो भाईलाई पनि स्कुल पठाउनु भो ।

स्कुल पुग्न आधा घन्टा लाग्थ्यो । हामी बिहानै आठ बजे एक अर्काको हात समातेर स्कुल हिड्यौँ । चैत-बैसाखको समय थियो । बाटो भरी काफल र ऐँसेलु पाकेका थिए । हामी भुईँमा खसेका काफल टिप्न र जम्मा गर्न लाग्यौँ । मैले हजुरबुवाले लगाउने गरेको ढाकाको टोपी कान छोप्ने गरी लगाएको थिएँ । हामी त्यहिं ढाकाको टोपिमा काफल जम्मा पार्यौँ । हामी खोलाको किनारमा पुग्दा घाम टाउको माथी आई पुगेका थिए । भाईलाई तिर्खा लागेछ,पानी पिउँछु भन्न थाल्यो । मैले खोलाको किनारबाट जलुकाको पात टिपेँ र पानी जम्मा गरेँ । भाईले र मैले पानी पियौँ । खोला पारी पिपलको बोट थियो । बोटको फेँदमा बसेर आमाले हाल्दिएको सातु खान लाज्ञौँ ।

स्कुल पुग्दा कती बजेको थियो पत्तो भएन । सबै कक्षा भित्र बसेर चिच्चाई चिच्चाई पाठ घोँक्दै थिए । हामी सुटुक्क कक्षा कोठामा छिर्यौं र अन्तिम बेन्चमा गएर बस्योँ। मैले खरी र पाटी निकालेँ । भाई, म सँग आडेस लाएर टुसुक्क बस्यो ।
गर्मीको बेला त्यसमाथी हिँडाईले थाकेकोले होला भाई लल्याक-लुलुक भयो, लामो हाई काड्यो र बेन्चमै भुसुक्कै निदायो । अन्तिम बेन्च थियो, बेन्चमा उ र म एक्लो थियौँ । मैले उसलाई बेन्चमै सुताईदिएँ ।

दिउँसोको हाफ छुट्टी भयो । कोही केटाकेटीहरु खेल्न लागे, कोही खाजा खान लागे । कोलाहलले गर्दा उ ब्यूँझियो । खानको लागी हामीसँग खाजा थिएन । बिहानै बाटोमै सकिएको थियो । उ भोकले पिलिपिली गर्न लाग्यो ।मैले गर्न सक्ने केहि थिएन, म पनि सानै थिएँ । मलाई पनि भोकले सताएको थियो । पाटी झोलामा हालेँ । उसको हात समाएँ र घर तिर लागेँ । हामी फेरी खोलामाआयौँ र पानीमा खेल्न लायौँ । खेल्दा भोक हरायो, प्यास मेटियो ।

फर्किँदै गर्दा अघिँको काफलको बोटमुनी आयौँ । अघिं भन्दा धेरै काफल भुँई भरी थिए । भोक लागेको थियो, हामी काफल टिप्दै खाँदै गर्न लाज्ञौँ । हामिलाई होस भएन, रुख भरी बाँदर भरिएको थियो त्यसैले गर्दा भुईँ भरी काफल खसेका थिए ।हामी आफ्नै सुरमा काफल टिपेर खाँदै थियौँ ।अचानक बाँदर कराउन लागे अनि मात्रै थाहा पायौँ हामी बाँदरले घेरिएका थियौँ । भाई रुन थाल्यो । बाँदर हामिलाईजिस्काउन लागे, डर लाग्यो । म पनि जोड-जोडले रुन र चिच्चाउन लागेँ । भाईमलाई समातेर आँखा बन्द गरेको थियो ।मलाई पनि डर लाज्ञो, मैले उसलाई समातेर आँखा बन्द गरेँ ।

चिच्चाई चिच्चाई रुँदा घाँटी बन्द भयो । हामी भुईँमाथुचुक्क बस्योँ । हामी रुन छोडेका थिएनौँ, आँखा खोलेर हेर्दा बाँदर वरिपरी घेरेका थिए । हामी रुँदै काल्नोमा आडेस लगाएर बस्योँ । एक छिन पछी बाँदर कराउन छोडे । यसो हेरेको त बाँदर हामी लाई घेरेर टसा-टुसुक्क बसेका थिए । उनिहरु सबै भुईं मा झरेका काफल खाँदै थिए । त्यो माहोलमा हामी दुई पनि बाँदरका पाठा जस्ता भएका थियौँ ।

हामी रोएको पारी गाउँ सम्म सुनिएछ, एक छिन पछी २ जना दाईहरु बाँदर भगाउँदै हामी भए निर आईपुगे । उनिहरुले हामिलाई पर बाँदर नभएको ठाउँमा लगेर छोड्दिए । हामी बाटो भरी केहि बोलेनौँ । बाटोमा अरु विद्यार्थीहरु पनि आईपुगे । उनिहरु हाम्रो घर हुँदै जान्थे । उनिहरुले पनि बाँदरले घेरेको थाहा पाए।हामी घर पुग्नु भन्दा पहिले नै खवर घरमा पुगेछ । आमा मेवाको फेँदमा आडेस लागाएर हामी आउने बाटो हेर्दै हुनुहुन्थ्यो । आमालाई देखे पछी झन चिच्चाई चिच्चाई रुन आयो । आमाले दुबैलाई दुईतिर राख्नु भो अनि टाउको मुसार्नु भो । खै अघिको डर कता हरायो पत्तै भएन ।

बुवा जागिरको लागी बाहिर हुनुहुथ्यो,केहि समय पछी आमालाई पनि बोलाउनु भयो । आमा सँग भाई पनि जाने भो । म हजुरबुवा- हजुरआमा सँग बस्ने भएँ । त्यसपछी म एक्लो भएँ । साथमा स्कुल जाने मान्छे छुट्यो । साथमा टोपिमा काफल टिपेर खाने साथी हरायो । स्कुलबाट भागेर खोलामा माछा छोप्ने मान्छे टाढा गयो । अझ बाँदरले घेर्दा साथमा रुने मान्छे हरायो ।

दिन बिते,महिना बिते, बर्ष बिते । एक दिन स्कुलबाट घर फर्किँदा दलानको खोपिमा मेरो नाममा एउटा चिठ्ठी आएको थियो । खोलेर पढेँ । किरिङ्ग-मिरिङ्ग अक्षरमा लेखिएको थियो,” दादा ! म ठूलो मान्छे भएँ । आफैले यो चिठी लेखेको । आमा र बुवा पनि सन्चै हुनुहुन्छ । म चाँडै आउने छु ।”

मन डक्क फुलेर आयो । कता कता रोउँ रोउँ लाग्यो । कापी कलम निकालेँ र उस्लाई लेखेँ , ” तिमी ठूलो मान्छे बन्नु तिमी लाई मेरो आशिर्वाद् !”

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment