Comments Add Comment

यी हुन् ‘कलियुग’ का अरबपति महन्थ

नवीन झा

२ चैत, जनकपुर । अघिल्लो साताको आरम्भदेखि नै धनुषा प्रहरीले जनकपुरको रत्नसागर मठका महन्थ बैकुण्ठ दासलाई समात्नका लागि खोजिरहेको छ । गत सोमबार रत्नसागरमा धनुषा प्रहरीले छापासमेत मार्‍यो । तर, सो मन्दिरका महन्थ फेला परेनन् ।

Janakpur Mahantha_650
धनुषाका प्रहरी प्रमुख गणेश थापा क्षेत्री भन्छन्- ‘जिल्ला प्रशासन कार्यलयबाट बैकुण्ठ दासलाई पक्राउ पुर्जी जारी भएका आधारमा मैले उहाँलाई पक्राउ गर्न लागेको हुँ, तर उहाँ अहिलेसम्म फेला पर्नुभएको छैन ।’

यसबारे प्रहरीले स्पष्ट खुलाएको छैन । समाजमा अत्यन्तै सम्मानित ठानिने महन्थहरु जनकपुरमा पटक-पटक विवादमा तानिएका छन् । प्रहरीले खोजीको सूचीमा राखेका बैकुण्ठ दास यसअघि पनि अदालतसम्म पुगिसकेका पूजारी हुन् ।
रत्नसागरका बैकुण्ठजस्तै जनकपुरको प्रशिद्ध जानकी मन्दिरका महन्थ राम तपेश्वर दास पनि अनेकन अपराधिक क्रियाकलापदेखि गुण्डागर्दीमा समेत संलग्न रहेको रेकर्ड प्रहरीसँग छ ।

महन्थवीच सुपारी युद्ध

वैकुण्ठ दास र रामतपेश्वर दास दुबै अरबपति महन्थ मानिन्छन् । वैकुण्ठ दासलाई भारतीय भगौडा अपराधी भएको र बतन ढाँटेर नेपाली नागरिकता लिएको तथा गुठीको श्रीसम्पति हिनामिना गरेको आरोप लागेको छ । यो आरोप अख्तियारसम्म पुगेको छ ।

aktiyar
रामतपेश्वर चाहिँ गरीबका सन्तान हुन् । तर, धन कमाउनाका लागि उनीमाथि गुठी मासेको, भेटी चोरी गरेको र मधेसमा आपराधिक समूहलाई सहयोग गरेको आरोप लागेको छ । यी दुई महन्थहरु एकले अर्कालाई सिध्याउने खेलमा लागिरहेका छन् । यस्तो खेललाई जनकपुरवासीले “महन्थहरुवीचको सुपारी युद्ध” भनेर चर्चा गर्ने गरेका छन् ।

रामानन्दचोक बम विष्फोट काण्डमा  पक्राउ गरेका सशस्त्र समूहका राजनमुक्ति (रञ्जीत झा), पृथ्वी सिंह (श्याम यादव), स्वामीजी (उमेश यादव), अजयमुक्ति (दीपक सिंह) र अर्जुन सिंह (मुकेश चौधरी) जस्ता अपराधीहरु गुठी जग्गाको कारोबार गर्ने माफिया समूहसंग सम्वद्ध थिए ।

मन्दिरको सम्पत्तिमा सशस्त्र समूहको चलखेल

रत्नसागर मठका महन्थ वैकुण्ठदास र जानकी मन्दिरका महन्थ रामतपेश्वरदासवीच शीतयुद्ध परेपछि “महन्थहरुवीचको सुपारी युद्ध”मा उनीहरु प्रयोगमा आए ।

राजन मुक्ति (रञ्जित झा) ले अदालतलाई वयान दिँद गुठीका महन्थहरु नै अपराधको केन्द्रमा रहेको खुलासा गरे । उनले वयानमा भनेका थिए- “रत्नसागर मठका महन्थ बैठकुण्ठ दासको निर्देशनमा ०६७ कार्तिक ११ गते (मैले) लालकिशोर झाको हत्या  गरेको हुँ ।’

MAHANTHA

लालकिशोर झा मटियानी मठका महन्थ जगरनाथ दासका भतिजा थिए ।  उनी रामतपेश्वर दासको संरक्षणमा रहेका थिए । जगरनाथ दासको कारोवार लालकिशोर झाले हेर्थे । लालकिशोर झा र रत्नसागर मठका महन्थ बैकुण्ठदासबीच गुठीको जग्गा बेचबिखनमा मनमुटाव भयो । सोही रिसईबीका कारण बैकुण्ठदासले (लालकिशोर) झालाई मार्न आफू र भाष्कर मुक्ति भन्ने दीपक सिंहलाई सम्पर्क गरी, तपाईहरुलाई चन्दा (सुपारी) दिन्छु मेरो काम गरिदिनु भनेर प्रस्ताव गरेको राजन मुक्तिको वयानमा उल्लेख छ ।

राजनमुक्तिको वयानमा भनिएको छ- ‘बैकुण्ठ दाससँग भारतको सीतामढीमा बैठक गरेर १० लाखमा डिल भयो…..सहमति बमोजिम दासले मलाई ७ लाख रुपैयाँ दिए, बाँकी रकम मेरा कार्यकर्ताहरु सुनिल कुमार, राकेश पाण्डे, शिवकुमार ठाकुरलाई दिए ।’

तर, रत्नसागर मठका महन्थ बैकुण्ठ दास भन्छन्,-“मलाई फसाउन जानकी मन्दिरका महन्थ रामतपेश्वरदास सहित केही महन्थहरु लागेका छन् । तिनले यस्तो अफवाह फैलाएका हुन् । तर, तिनको केही चल्दैन ।”

जोगीको अथाह सम्पत्ति

धनुषाको गंगुली गाउँस्थित श्री मिथिला आयुर्वेद कलेज तथा अनुसन्धान केन्द्र शिक्षण अस्पतालका मालिक जानकी मन्दिरका महन्थ रामतपेश्वर दास हुन् । अत्यन्त गरीव परिवारका सन्तान रामतपेश्वर दास अहिले साढे ६ विगाहा जमीनमा बनाइएको यस भव्य अस्पतालको ६० प्रतिशत शेयरको धनी छन् । यसको बाँकी ४० प्रतिशत शेयर पनि उनकै हो, जुन नातेदार निर्मला ठाकुरका नाममा राखिएको छ ।

अस्पतालको जग्गा र भवनको सम्पति मात्रै ३९ करोडको छ । कलेजका निर्देशक राकेश झा पनि महन्थ रामतपेश्वर दासका आफ्नै भतिजा हुन् ।

आयुर्वेद चिकित्सा शिक्षण हुने यस कलेजका विद्यार्थीको शुल्क १० देखि १६ लाखसम्म लिइन्छ ।

जानकी मन्दिरबाट बाषिर्क २ करोडभन्दा वढी उठ्ने भेटी र चढौना समेत रामतपेश्वरले निजी तवरले खर्च गर्छन् ।
भगवान बेलाकुटीबाट राधाकृष्णको बहुमुल्य मूर्ति चोरी भएपछि केन्द्रीय प्रहरी अनुसन्धान ब्युरोले एक वर्ष लगाएर खोजी गर्दा सो मूर्ति रामतपेश्वर दासकै कुटीमा फेला परेको थियो । तर, प्रहरीले कारवाही चलाउन सकेन ।

यसबारेमा जनकपुरका पत्रकार मनोज साहले पत्रपत्रिका मार्फत खुलासा गरेपछि ०६४ माघ ३ गते पत्रकार साहमाथि नै आक्रमण भयो  । साहमाथि संघातिक हमला गर्ने तीनजना आक्रमणकारीलाई प्रहरीले पक्राउ गर्‍यो । ती अभियुक्तहरुले अदालतसमक्ष बयान दिएर आफूहरुलाई महन्थ रामतपेश्वर दासले (सुपारी दिएर) अपराध कर्म गर्न लगाएको खुलासा गरे ।

मनोज साह जानकी मन्दिरको गुठीका बारेमा निरन्तर लेख्ने जनकपुरका पत्रकार थिए । पहिलो संविधानसभाको निर्वाचन पश्चात माओवादी सरकारमा आउँदा उनी गुठी संस्थानको केन्द्रीय सदस्य समेत भए ।

साह भन्छन्-‘जनकपुरको गुठीको सम्पति विनासमा मन्दिरका महन्थहरुको मूख्य भूमिका छ । यही विषयमा कलम चलाउँदा जानकी मन्दिरका महन्थबाट ममाथि संघातिक हमला भयो ।’

जानकी मन्दिर
जानकी मन्दिर

मन्दिरमा सम्पत्तिमा अपराधको मञ्चन

धनुषाका पूर्वप्रहरी प्रमुख उत्तम सुवेदी भन्छन्- “मध्य र पूर्वीतराईमा अपराधकर्ममा संलग्न रहेका सशस्त्र समूहका अधिकांश सदस्यहरुको सम्बन्ध जनकपुरधामको जग्गाको बेचविखन र दलालीबाट आएको अवैध कमाइसँग गाँसिएको पाइएको छ । देवभूमिको जमीन बेच्ने महन्थहरुवीच आपसी झगडा हुँदा सशस्त्र समूहहरु परिचालित गरेर अपहरण गर्ने, फिरौती असुल्ने र हत्या गर्नेसम्मको अपराध भएको तथ्य प्रहरी अनुसन्धानबाट देखिएको छ ।”

इतिहास हेर्दा ०४६ सालपछि जनकपुर क्षेत्रमा जीवनाथ-सञ्जय साहको जोडी ठूलो कारोवारीका रुपमा देखा पर्‍यो । यिनले नेता, महन्थ, मानमहन्थ गुठी कर्मचारी र प्रहरी प्रशासनका हाकिमहरुलाई समेत संयोजन गरेर जनकपुरधामको धार्मिक गुठीको जमीन बेचविखन गर्न थाले । जम्माजम्मी १० वर्षको अवधिमा भूमाफियाहरु कौडी कवाडीबाट अरबपति बन्न पुगे ।

त्यस्तै ०६२/०६३ मा मधेश आन्दोलन उठेपछि तराई-मधेसमा सयभन्दा बढी भूमिगत सशस्त्र समूह स्थापना भए । यीमध्ये कतिपय सशस्त्र समूहहरु राजनीतिक उद्देश्यले नभएर आर्थिक अपराध गर्नका लागि भूमाफियाहरुबाट गठन भएका थिए भन्ने कुरा राजन मुक्ति समूहका प्रमुख रञ्जित झा पक्राउ परेपछि मात्र खुल्न गयो ।

त्यस्तै जीवनाथ चौधरी र सञ्जय साहको जोडीले अनेकौं सशस्त्र समूहको निर्माण र सञ्चालन गरेको कुरा जनकपुरको रामानन्दचोक विष्फोट काण्डमा पक्राउ परेका मुकेश चौधरीले अदालतमा बयान दिएर पुष्टि गरेको प्रहरी बताउँछ ।

जीवनाथमाथि बम प्रहार गर्न गएका मुकेशले प्रहरीलाई बयान दिँदै भनेका छन् कि उनले सञ्जय साहको आदेशमा काम गरेता पनि जीवनाथसँग कारोवारी सम्बन्ध रहेकाले उनलाई बचाउन उनले भूमिका खेले ।

महन्त फुट्दा माफिया पनि फुटे

धेरै वर्ष सँगै काम गरेका चौधरी र साहको जोडीलाई महन्थहरुवीचको विवादले नै फुटाइदिएको थियो । फुट भएपछि राजनीतिक समूह पनि फरक हुन गयो । सञ्जय साह सदभावना पार्टीतिर लागे भने जीवनाथ चौधरी कांग्रेस नेता विमलेन्द्र निधिको संरक्षणमा गए ।

यसैवीच सञ्जय साहले जीवनाथ चौधरीको हत्या गर्ने योजना बनाएर रामानन्दचोकमा बम विष्फोट गराउँदा नागरिक समाजका निर्दोष मानिस मारिए ।

अहिले साह यही अपराधमा सिराहा जेलमा छन् । जीवनाथ चौधरी भने धनुषा जिल्ला विकास समितिमा भ्रष्ट्राचार गरेको आरोपमा अख्तियारको तारेख धाउँदैछन् ।

राज्यलाई ठाडो चुनौती

जनकपुरधामका मन्दिर र त्यहाँको जमीन गुठी संस्थान अन्तगतका छ । त्यहाँ प्रत्येक ५ बर्षमा महन्थहरुको नियुक्ति हुने गर्छ । तर, कुनै पनि महन्थले गुठी संस्थानलाई टेर्दैनन् ।

मन्दिरको विवरण मागसहित गुठी संस्थानलार्इ लेखिएको पत्र
मन्दिरको विवरण मागसहित गुठी संस्थानलार्इ लेखिएको पत्र

गत वर्ष गुठी संस्थानले जानकी मन्दिरमा नयाँ महन्थ नियुक्त गर्ने प्रक्रिया अघि बढाउँदा महन्थहरुले आन्दोलन गरेर संस्थानको प्रयास विफल पारिदिए ।

नाम उल्लेख नगर्ने शर्तमा गुठी संस्थानका एक अधिकारी भन्छन्- ‘महन्थ रामतपेश्वर दासलाई जीवनाथ चौधरीमार्फत विमलेन्द्र निधिको संरक्षण प्राप्त छ ।

महन्थ बैकुण्ठ दासको पक्षमा सञ्जय साह थिए, तर, उनी जेल परेपछि एमालेका रघुवीर महासेठ र एमाओवादीका रामचन्द्र झाहरुले उनलाई संरक्षण दिएका छन् ।

गत साल सम्पन्न दोस्रो संविधानसभाको निर्वाचनमा जानकी मन्दिरका महन्थले विमलेन्द्र निधिलाई र रत्नसागर मठका बैकुण्ठ दासले सञ्जय साहलाई चुनावी खर्चमा सघाएका थिए ।

मन्दिरको सम्पत्तिमा हालीमुहाली गरेर बसेका महन्थहरु कानूनी दायरामा आएनन् भने राज्यलाई अझै ठूलो चुनौति थपिने खतरा रहेको बताउँछन् गुठी संस्थानका एक अधिकारी ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment