Comments Add Comment

कथा : मिसेज पत्रकार

Basanta Pokhrelवसन्त पोखरेल

अचानक घुइँष्टोबाइष्टोसहित आएको पानीले मिसेज पत्रकारलाई समस्यामा पार्‍यो । भीआइपीहरुको बस्ती जस्तो रहेको फराकिलो कालोपत्रे सडकको किनाराका रुखहरु हावाले सोस्याउँदै थिए । भुइँमा खसेका पात र धुलोलाई एउटै मुस्लो बनाएर हावाले बाटोभरी कहिले यता र कहिले उता दौडाइरहेको थियो ।

पानीका ठूला-ठूला थोपाहरु आकाशबाट बर्षँदै थिए र कता-कता आकाशमा विजुली झिल्कने र केही पछि गड्याङ्ग गरेको आबाजले मुटु थर्काइदिन्थ्यो । मिसेज पत्रकारले सुरक्षित ओत खोजेकी थिइन् । तर, त्यहाँ सबैका मुल गेटहरु बन्द थिए । उनको त्यो छट्पटाहटलाई मैले गेटमा राखेको सीसीटीभी क्यामेराको माध्यमले कम्प्युटरको स्त्रिmनमा देखेँ । एक थान सर्ट र पाइण्टमा सजिएकी मिसेज पत्रकार जाडोले झण्डै काँपेकी थिइन् । कान्छीलाई अह्राएँ । कान्छीले गेट खोलेर मिसेज पत्रकारलाई भित्र ल्याई ।

बराण्डाको कुर्चीमा मिसेज पत्रकार बस्न आइपुगिन् । यद्यपि त्यहाँ पनि हावा हुण्डरी र पानीको तिखो र चीसो प्रभाव कम थिएन । त्यत्ति हो टाउकोमाथि आकासको ठाउँमा छत थियो । बाहिर निस्केर मैले सोधपुछ गर्दा पत्रकार रहिछन् यो थाहा लाग्यो । कान्छीले एउटा उलन शल लिएर ओढ्न दिई । एकैछिनमा उसले तातो एक कप चिया लिएर हातमा थमाइदिई । मौसमले भने आफ्नो तुजुक देखाइरहेको थियो ।

कान्छी विछट्टै राम्री छे । मसिनो श्वरमा बोलीपिच्छे मुसुक्क हाँस्छे । घरभित्रको काम गर्न निकै सिपालु छे । कुनै काम अह्राउनु पर्दैन । झण्डै ६० कोठाको घर उसले सँधै चुस्त दुरुस्त राख्छे । कान्छाले काम नभ्याएको अवस्थामा उसलाई पनि सघाउँछे । त्यसो त कान्छो पनि नराम्रो छैन । तर, भैंसीको गोबर फाल्ने, कुखुराको खोर सफा गर्ने, दूध दुहुने, घाँस चारो मिलाउने कोदाली खन्ने, बारीमा फलेका तरकारीहरु टिप्ने, अवस्था अनुसारको सबै काम उसले गर्छ । उसलाई पनि अह्राइरहनु पर्दैन । सानो भेटघाट पछि मिसेज पत्रकारसँग- मेरो थोरै जरुरी काम छ, अलि ब्यस्त छु, बस्नोस्, आँधी पानी थामिएपछि जानुहोला भनेर भित्र छिरेँ । उनको सामुन्नेको कुर्चीमा गएर कान्छी बसी मुखबोला साथीको रुपमा ।

पत्रकार चुप लागेर कहाँ बस्छन् र ? कान्छीसँग मिसेज पत्रकारले थुप्रै कुरा सोधिछन् । कान्छीले सोधेअनुसारको जवाफ फर्काउँदै गई । आफ्नो फोटो पनि खिचाइ । मिसेज पत्रकारले मलाई पनि एउटा प्रश्न तेर्छाइन् कि तपाइँका घरेलु कामदारलाई सरकारले तोकेको मापदण्डअनुसार तलव सुविधा दिनुभएको छ ? मैले भनेँ- यिनीहरु दुबैजनालाई मैले तलवमात्र हैन, खानसमेत् दिन्न । कहिलेकाहिँ रिस उठ्यो भने लात्ताले पनि हानिदिन्छु । उनले ‘त्यस्तो अत्याचार’ भन्दै मलाई पुलुक्क हेरिन् र डायरीमा केही कुरा टिपोट् गरिन् । मसँग नाम सोधिन् । नाम भनिदिएँ । यतिबेला मौसममा केही सुधार आएको थियो । पानी थामिएको थियो । तर, हावा भने चलि नै रहेको थियो । मिसेज पत्रकारलाई आजको जागिर पाको भएको थियो । घरेलु हिंसा सम्बन्धी समाचारका शब्दहरु गाँस्नमात्र बाँकी थियो । उनी सायद कार्यालयतिर लागिन् ।

भोलिपल्टको अखबारमा म समाचार बनेको थिएँ । कान्छीको त तस्बीर नै छापिएको थियो । प्रथम पृष्ठमा रंगीन फोटोसहित कभरेज भएको सो समाचार त्यहि पत्रिकामा छापिएकोमात्र थिएन, रेडियोहरुले पनि त्यसलाई भन्दै थिए र टेलीभिजनमा पनि चित्र देखाउँदै पढिँदै थियो । घरेलु कामदारमाथि चरम रुपमा श्रम शोषण, खानसमेत् नदिइने, रिस उठेमा लात्ताले हान्ने कुरा मालिकद्वारा स्विकारोक्ति, कहाँ छन् महिलाअधिकारवादीहरु ? यस्ता-यस्ता शब्दहरु कुँदिएर समाचार बनाइएको थियो । वास्तवमा त्यो समाचारले त्यतिबेला सनसनी नै मच्चायो । मैले कान्छीलाई फोटो र समाचार बन्न गएकोमा वधाइ दिएँ । उ मुसुक्क मुस्काइ । कतिपय उसकै शब्दहरु जो इन्भर्टेड कोमाभित्र उल्लेख थियो-त्यसमा मिठास थियो । कतिबेला उसको दिमागमा यी शब्दहरु भरिएभनेर मैलाई आश्चर्य लाग्यो ।

अब मलाई थाहा थियो कि यहाँ महिला अधिकार आयोगको तर्फबाट वा महिला हक हित हेर्ने गैरसरकारी संस्थाको तर्फबाट कुनै पनि बेला मेरो घरमा आएर छापा मार्नेछन् । मलाई छ्यास्नेछन् । कान्छीको पक्षमा टिठाउँदै उसको अधिकार दिलाउन मलाई कठघरामा उभ्याउने छन् । हुनसक्छ अदालतसम्म पनि घिसार्ने छन् । मलाई यस्तो सोँच आउनु स्वभाविकै हो । सम्पर्क नम्बर नभएकोले मलाई कतैबाट फोन त आएन, तर, तिनै मिसेज पत्रकारलाई लिएर एउटा गाडी मेरो गेटमा उभिएको मैले भित्रैबाट देखेँ । सायद मिसेज पत्रकार अधिकारकर्मीहरुलाई मेरो घर देखाइदिन आएकी थिइन् । तिनैले हुन सक्छ, एक प्रति पत्रिका मेरो गेटमा छाडिदिएकी थिइन् ।

भोलिपल्ट मेरो घरको त्यो समाचारले महिला अधिकारकर्मी, प्रशासन सबैलाई घच्घचाएछ । घरेलु काम गर्ने महिला कामदारलाई खान समेत् नदिनु, लात्ताले हान्ने अभिब्यक्ति आफ्नै मुखले दिनु उनीहरुको लागि निकै ठूलो मुद्दा थियो । त्यो एकखालले राष्ट्रिय मुद्दा थियो । फेरि कान्छीको सुन्दरता झल्केको जुन फोटा छापिएको छ त्यसलाई हेर्दा मबाट यौन शोषण भएको हुन सक्छ भन्ने आशंका पनि अधिकारकर्मीलाई पर्न सक्छ ।

एकसाता नबित्दै मेरो घरको समाचार महिला अधिकार आयोगमा ठूलो बहसको विषय बनेछ । यसकारण पनि बन्न पुग्यो कि त्यहि अखबारमा तिनै मिसेज पत्रकारले आयोगलाई कुम्भकर्ण निद्रामा मस्त सुतेको, तलवमारा अधिकारकर्मी भनेर छ्यासिन् । त्यसले पनि अधिकारकर्मीलाई जाग्न वाध्य पार्‍यो । मैले समाचारको खण्डन नपठाएकोले, कुनै सफाइको बाटो नअँगालेकोले पनि कुरा सत्य हो भन्ने निस्कर्षमा आयोग पुग्यो होला । उनीहरु एक थान पत्रसहित कान्छीको उद्धार गर्न आइपुगे । पत्रमा मैले कान्छीलाई मोटो रकम हर्जाना तिर्नुपर्ने कुरा उल्लेख थियो । मैले भित्र बोलाएर कुर्चीमा सबैलाई राख्दै कान्छीलाई नै चिया लिएर आउन अह्राएँ । कान्छी फूर्तिसँग भित्र गई र चिया लिएर सबैका अगाडि शिर झुकाउँदै कपहरु राखिदिई । कान्छीको मुस्कुराहट लोभलाग्दो थियो । सबैले उसलाई हेरेका थिए ।

कुराकानीको क्रममा मैले भनेँ- ठीक छ तपाइँहरु अधिकारकर्मी हो । अनुसन्धान गर्नु, कर्तब्य हो । तर, कारवाही गर्ने निकाय हैन । तपाइँले अदालतमा यो मुद्दालाई उठान गर्न सक्नुहुन्छ । अदालतले ठहर गरेको सजाय, जरिमाना जे हुन्छ मैले पालना गर्ने कि नगर्ने भन्ने हो त्यो त्यतिबेलै तय होला । अहिले कान्छीलाई तपाइँहरुले लैजान सक्नुहुन्न, उनी तपाइँसँग जान पनि मान्दिनन् ।

अधिकारकर्मी मध्येकै एकजना महिलाले कान्छीलाई बोलाएर लैजानको लागि सोधिन् पनि । कान्छीले इन्कार गरी । अदालतले जे फैसला गर्छ त्यहि हुन्छ भनेर उसले जवाफ दिई । उसले जवाफ दिँदा पनि मुस्कान उस्तै थियो । अब अदालतमा भेट हुने भन्दै उनीहरु मेरो बैठक कक्षबाट बाहिरिए । मैले ‘हुन्छ’ भनेर जवाफ दिएँ ।

यस्तै दुईसातापछिको कुरा हो अदालतबाट एउटा झण्डै चार पृष्ठको खामबन्दी पत्र आयो । मैले त्यसलाई बुझेँ । जहाँ दस्तखत गर्न भनियो दस्तखत गरिदिएँ । मलाई बाटोको म्याद बाहेक सात दिनभित्र प्रतिवाद फिराउन भनिएको थियो । अदालतको आदेशलाई उल्लंघन गर्न मलाई अनुमति थिएन । मैले प्रतिवाद पत्र फिराएँ । अदालतले घरेलु हिंसापीडित महिलालाई समेत लिएर फलानो मितिमा वयानका लागि हाजिर हुने भन्ने तारेखपत्र थमाइदियो । म घरमा गएँ । तोकिएको दिन र समयमा म अदालत पुगेँ । मसँग कान्छी पनि गएकी थिई । मैले वकील राखेको थिइन । पेचिलो मुद्दा भएकोले महिला अधिकारकर्मी, सञ्चारकर्मीहरु सबै त्यहाँ खचाखच भरिएका थिए । शुरुमा समाचार बनाउने मिसेज पत्रकार पनि त्यहाँ उपस्थित थिइन् । उनी त प्रत्यक्षदर्शी परिन् । सायद उनको तर्फबाट गवाही दिने कार्यक्रम पनि थियो । नभन्दै रहेछ । उनले आँखाले जे देखेकी थिइन् त्यो सबै बताइन् र कुर्चीमा गएर बसिन् ।

आयोगले नियुक्त गरेको वकील महोदयले कालोकोटमा सजिएर कानुनका दफा, महिला हिंसा गर्नेलाई दिनुपर्ने सजाय, प्रत्यक्षदर्शीको भनाइको नजीर आदिको लामो सूची सुनाउँदै थिए । कान्छीलाई कठघरामा उभाएर बिभिन्न कुराहरु सोध्ने गर्न थाले । कान्छी उस्तै पाराले मुस्कराउँदै वकीलले सोधेका प्रश्नहरुको संक्षिप्त उत्तर दिइरहेकी थिई । कान्छीको पालो सकिएको थियो । उ उठेर कुर्चीमा बसी । त्यसपछि मलाई वकीलले कठघरामा उभ्याएर थुप्रै प्रश्नहरु तेर्छाए । मैले खल्तीमा हात हालेर त्यहिँबाटै रिमोट थिचिदिएँ । कुर्चीमा बसेकी कान्छी पुङलुङ्ग कुर्चीबाट ढली । भुइँमा कुनै धातुजन्य बस्तु खसेको आवाज आयो । सबैका आँखा कान्छितिर गयो । कसैले हत्त न पत्त उठाउन थाले । कसैले खाना खान नदिएर भोकै ल्याएहोला, चक्कर आयो भन्दै मलाई सराप्न थाले । उठाएर उसको पाइण्टमा लागेको धुलो टक्टकाइदिन थाले । जसलाई उद्धार गर्न भनेर ल्याइएको हो त्यो नै ढलेपछि सबैको ध्यानाकर्षण हुने नै भयो ।

वास्तवमा त्यहाँ एकछिन् हलाखल्ला नै मच्चियो । एकजना महिला जो कान्छीलाई उठाएर ठाडो पार्दै थिइन् उनले त कान्छी जीवित नरहेको घोषणा नै गरिन् । किनभने कान्छीले सास फेरिरहेकी थिइन । जता पल्टायो उतै पल्टन्थी । म कठघरबाट गएर कान्छीलाई समाउँदै खल्तीबाटै फेरि रिमोट थिचेँ । उसको शरीर सञ्चालित भयो । मुसुक्क मुस्काउँदै मलाई ँएस सर’ भनी । मैले सबैले सुन्नेगरी भनेँ- सी इज रोबोट गर्ल । हर बडी इज इन माई रिमोट कन्ट्रोल । कान्छी कुर्चीमा शानसँग बसेर मुस्कुराइरहेकी थिई । अधिकारकर्मी महिलाहरु, सञ्चारकर्मीहरु ट्वाँ परेर माहौल हेरिरहेका थिए । कसैले कान्छीको फोटो खिचिरहेका थिए । ती शुरुमा समाचार लेख्ने मिसेज पत्रकार कता छिन् भनेर चारैतिर खोजेँ । तर उनी कतातिर लस्की सकिछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

फेरिएकी बर्षा

Advertisment