Comments Add Comment

चलचित्र खेलाउछु भन्दै कसैलाई शारीरिक शोषण गरेको छैन : छवि ओझा(भिडियो सहित)

Chabi Ojha_1
विगत २५ बर्षदेखि नेपाली चलचित्र क्षेत्रमा निर्माताको रुपमा परिचय बनाएका छवि ओझा अझै पनि सक्रिय छन् । उनको जिवनमा विभिन्न खालका स्क्यान्डल, विवाद र चर्चा भएका छन् । ३ वटा श्रीमतीसँग छविको घरबार भत्किएको छ ।

चलचित्र चलाउनकै लागि उनी नयाँ नायिकासँग बिहेको कुरा समेत गर्छ पछि पर्दैनन् । उनी छवि ओझासँग उनको जिवनमा गाँसिएका विभिन्न चर्चा, स्क्यान्डल र चलचित्र क्षेत्रको बारेमा अनलाइनखबरका लागि विजय आवाजले गरेको कुराकानी यहाँ प्रस्तुत गरिएको छ ।

१. छवि ओझालाई कहिलेकाही लाग्दैन, बेकार चलचित्र क्षेत्रमा किन आइएछ, बरु अरु नै व्यापार गरेको भए हुने रहेछ ? म कहाँ फसे भन्ने सोच्नुहुन्छ ?
मलाई पटक्कै पनि यो लाग्दैन । म अर्कै व्यापारबाट आएको हुँ । चलचित्र ‘युगदेखि युगसम्म’ निर्माण गरेर म यो क्षेत्रमा आएँ । सुरुमा म कलकत्ताबाट हिन्दी चलचित्र ल्याएर वितरण गर्थे । चलचित्र निर्माण गरेपछि मलाई यसको मोह जाग्यो । चलचित्रकै कारणले मैले घरमा कुटाई पनि खाएको छु । चलचित्रको मोहले म यहाँ निरन्तर छु ।

२. तपाइले चलचित्र त बनाइरहनुभएको छ, तर नाफा कत्ती कमाउनुहुन्छ ? नाफा नै नभई ग्ल्यामर दुनियाँको चमकधमकमा हराइरहनुभएको त होइन ?
चमकधमक लामो समयसम्म टिक्दैन । आज मैले यो क्षेत्रमा २५ बर्ष बिताइसके । मैले दाल भात यही नै बाट खाएको छु । म एउटा कृषक हुँ । यत्रो समय यहाँ बिताएँ, अब जाने म कहाँ ? एउटा कृषक भएपछि घाम-पानी सबै सहनुपर्छ ।

यो बर्ष पानी परेन भनेर म भाग्ने होइन, अर्को बर्ष धान लगाउन कुर्ने हो । कुनै पनि दिन चलचित्रले राम्रो व्यवसाय गर्छ भन्ने आशमा छु । नाम पनि दिन्छ, पैसा पनि दिन्छ भन्ने आशमा छु ।

(छवि ओझासँग गरिएको भिडियो कुराकानी यहाँ हेर्नुहोस्)

३. अहिले चलचित्रको कमाई कस्तो छ ?
अहिले पहिलेको जस्तो आम्दानी छैन । मैले ७० लाख लगानी गरेर ५ लाख फाइदा भयो भने त्यो कमाई होइन । मैले जवानीमा केही अरु गर्नुपथ्र्यो होला । अब ५० बर्षको उमेरमा कहाँ जानु ? दर्शकले मलाई आज निर्माता भएकाले नै चिन्नु भएको छ, मैले कमाएको आम्दानी यही नै हो ।

४. प्रसंग बदलौ, तपाइको घरबार कहिले पनि टिकेन, यसको पछाडि तपाई आफूलाई कत्तीको दोष दिनुहुन्छ ?
यसमा मेरो पनि दोष छ, मसँग सहकार्य गर्ने महिलाहरुको पनि दोष छ । कही म राम्रो थिएँ होला कही उहाँहरु राम्रो हुनुहुन्थ्यो होला । मेरो गल्ती भनेको चलचित्रमा मात्र ध्यान दिनु भयो ।

मैले घर परिवारलाई समय दिन सकिन । आज मैले धरानमा रहेकी मेरी आमालाई नै नभेटेको ३ बर्ष भयो । मेरो परिवार भनेकी चलचित्र नगरी हो । यसैले म अरु सबैसँग टाढा भएँ ।

५. तपाई कस्तो श्रीमान्, जो श्रीमतीसँग विस्तारादेखि घर भित्र भएका कुरा सम्म ल्याउनुहुन्छ ?
सरी, म यो कुरा मान्दिन । उताबाट(रेखा थापा) कुरा आएपछि मैले जवाफ मात्र फर्काएको हुँ । यो कुरा म कहिले पनि गर्न चाहन्न । म घरमा हुँदा पनि काम नै गर्ने मानिस हुँ । मैले त्यो कुरा प्रष्ट पारामा भनेको छैन । म यो कुरा कोट्याउन पनि चाहन्न । त्यो समयको दोष थियो । प्रश्न आएपछि जवाफ दिनुपर्छ, मैले दिएँ ।

५. चलचित्र चलाउनका लागि सधै स्क्यान्डल मात्र गर्दा, के छवि ओझाले बनाएको एउटा उचाई गुम्छ जस्तो लाग्दैन ?
म के गरु तपाई आफै भन्नुहोस् । कुनै सामान्य कुरा गर्दा तपाई पत्रकारहरु नै त्यसलाई ज्यादा महत्व दिनुहुन्न । तर, कुनै कुरालाई थोरै नकारात्मक बनाइदिएको खण्डमा त्यसले उचाई पनि धेरै पाउँछ ।

मैले बनाउने चलचित्रको बारेमा दर्शकले त जानकारी पाउनु पर्‍यो नि होइन ? हो, त्यो सामानको जानकारी दिनका लागि पनि यस्ता स्क्यान्डल ल्याउनुपर्छ ।

६. एउटी उदाउँदै गरेकी नायिका शिल्पा पोख्रेललाई बिहे गर्छु भन्दै तपाइले प्रचारको बाटो खोज्नुभयो ? तपाइले कहिले सोच्नुभएन कि यस्ता कुराले शिल्पाको करिअरलाई कस्तो असर गर्छ ?

यो पनि गलत कुरा हो । उहाँको करिअर धरमराउने होइन, झनै चम्केको छ । आज मैले उहाँलाई सबैले चिन्ने अवस्थामा पुर्‍याएको छु । आजको जमानमा होटलमा भेट्नु, खाज खानु कुनै नौलो कुरा नै होइन ।

फेरि मैले उहाँलाई बिहे गर्छु भनेको कहाँ छु र ? तपाइहरु नै सोध्नुहुन्छ, मैले मन पर्छ मान्नु भयो भने बिहे गर्छु भने, यसमा के गल्ती भयो र ? शिल्पासँग बिहे गर्छु भनेर गरिएको चर्चा प्रचारका लागि मात्र थियो ।

उहाँ सुन्दर हुनुहुन्छ, बिहे गर्न मान्नुभयो भने गर्छु भने के गल्ती गरे मैले ? मलाई ऐश्वर्या, कटि्रना मनपर्छ । के अब ती सबैसँग मेरो बिहे हुन्छ त ? मलाई मनपर्‍यो र त नायिका बनाएनी हैन ।

७. आफूलाई चलचित्र क्षेत्रको ‘बा’ भन्दै तपाई चलेका कलाकारलाई पनि पारिश्रमिक कम दिनुहुन्छ भन्ने चर्चा चल्छ । के तपाईको ब्यानरमा काम गर्ने वित्तिकै कलाकारले पारिश्रमिक नै लिन हुन्न भन्ने कही छ त ?

यो कुरा केही सत्य हो, केही होइन । मैले आफ्नो प्रस्ताव दिने हो । घरबाट घोक्राएर ल्याएर चलचित्र गर त भनेको छैन नि । म पहिले नै भन्छु, मसँग  पैसा छैन मेरो चलचित्र खेल्ने कि नखेल्ने ?

अब, मन लागेकाले गर्छन्, नलागेकाले गर्दैनन् ? भित्र गर्छु भन्ने अनी बाहिर गएर छविले पैसा नै दिदैन भन्नु त त्यो नै बेकुब होनी हैन ? यो कहीबाट पनि शोषण होइन । मैले आजसम्म कसैको पनि उधारो राखेको छैन । माग्नेले धेरै माग्छ, दिनेले कम दिन्छ । यो त स्वभाविक नै हो नि होइन र ?

८. मैले निरन्तर चलचित्र बनाएको छु भनेर तपाई घमण्ड गर्नुहुन्छ ? तपाइले पनि व्यवसाय गरेर पैसा नै कमाउन यो क्षेत्र रोज्नुभयो नि होइन, यसमा घमण्ड किन ?
मैले त्यसो भनेको नै छैन । २५ बर्षदेखि निरन्तर चलचित्र बनाएकाले पनि होला मलाई सबैले ‘बा’ भन्छन् । मैले यत्रा कलाकार र प्राविधीक जन्माएको छु ।

१० बर्षे जनयुद्धकालमा पनि नभागेर चलचित्र नै बनाइराखे मैले । आज त झन् बर्षमा ३ वटासम्म चलचित्र बनाएको छु । सबैले मलाई सम्मान दिएका हुन् । मैले चलचित्र क्षेत्र नै मेरो हो, मैले जे गर्दा पनि हुन्छ भनेको छैन ।

९.यूवतीसँग नाम जोडेर चर्चामा आउँदा यो बुढो बाघलाई के मा आनन्द आउछ भन्या ?
यो ग्ल्यामर क्षेत्र हो, यस्ता कुराहरुलाई सामान्य रुपमा नै लिनुपर्छ । अब फेरि मैले कतै गएर कुनै यूवतीसँग चिया पिउन पनि हुँदैन, समाचारमा आउँछ । के मेरो व्यक्तिगत जिवन छैन । मैले केही गर्न नै नपाउने ?

Chabi Ojha_2१०. तपाई एक यूवतीलाई चलचित्रमा भित्राउनुहुन्छ, अनी उसैसँग काम गर्नुहुन्छ । किन अरुलाई मौका दिनुहुन्न ?
यो त ममा मात्र होइन, संसारमा नै चलेको नियम हो । काम मिलुन्जेल, आफूलाई पुरा समय दिउन्जेल, मेरो चलचित्रलाई आफ्नो चलचित्र जस्तो संझिउन्जेल काम गर्ने हो । यो बन्धन होइन । नयाँलाई ल्यायो भने फेरि पुरै पढाउनुपर्छ । मैले नायक-नायिका दुबै ल्याएको छु । तर, कुरा नायिकाको मात्र धेरै हुन्छ ।

११. अब रेखा थापासँग काम गर्ने संभावना कत्ती छ ?
पुरै छ नि । रेखा थापालाई मैले नै ल्याएको हो । उहाँ राम्रो कलाकार पनि हो । पुराना नायिकाको भिडमा उहाँ नम्बर १ नै हुनुहुन्छ । उहासँग सहकार्य हुनसक्छ । कुनैदिन उहाँलाई मिल्ने भूमिका आएको खण्डमा अफर गर्छु ।

१२. अब छवि ओझोको चौथो बिहे हुन्छ कि हुँदैन ?
सतप्रतिशत हुँदैन । मलाई सबै केटीहरु उस्तै लाग्छ । बिहे नभइन्जेलसम्म सबै कुरा मिल्ने, बिहे भएपछि केही पनि नमिल्ने । बेकारको टेन्सन लिनु भन्दा बिहे नै नगर्दा राम्रो नि होइन ? बेकारमा बिहे गरेर किन झगडा गर्नु त ?

१३. मानिसको घरबार किन बिग्रन्छ ?
यो क्षेत्रमा शंका धेरै हुन्छ । रातभर काम गर्नुपर्छ । कहाँ गयो होला, किन गयो होला भन्ने हुन्छ । यो कुरा वुझ्न नै गाह्रो छ । केटासँग केटीले भेट्ने, केटीले केटासँग भेट्नुपर्छ । यसैले, यस्तो संभावना धेरै हुन्छ ।

१३. छवि ओझाको बिषयमा समाजको आ-आफ्नै वुझाई छ । धेरै यूवतीसँग तपाइको नाम जोडिन्छ । आजका दिनसम्म छवि ओझाले नायिका बनाउनका लागि शारीरिक सम्बन्धको अफर गर्‍यो या गरेन ?
पशुपतिनाथको कसम खाएर भन्छु, आजसमम्म मैले चलचित्र खेलाउछु भनेर कसैसँग शारीरिक सम्बन्धको प्रस्ताव गरेको छैन । यो त नाट्यकर्मीको अपमान भयो नि होइन । यो एउटा अपराध हो ।

मैले मानिससँग काम गर्ने हो । पछि मन मिल्नु, माया बस्नु आफ्नो ठाउँमा छ । कही पनि मानिस एकसाथ काम गर्दा, एकसाथ हिड्दा माया प्रिती हुनु अर्कै कुरा हो नि ? तर, चलचित्र खेलाउनकै लागि मैले कसैसँग ‘शारीरिक सम्बन्ध’ राख्ने प्रस्ताव गरेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment