Comments Add Comment

‘जनजाति, मधेसी, दलित र महिलामा फोकस गरौं’

surya-brd-thapa

– सूर्यबहादुर थापा, पूर्वप्रधानमन्त्री

एकचोटि हामीले इतिहासतर्फ पनि हेर्नुपर्दछ । यो नेपालको इतिहासमा खास गरिकन विभिन्न आन्दोलनहरु, राजनीतिक परिवर्तनहरु हुँदै आएका छन् । तर, खास कुरा के छ भन्नुहुन्छ भने नेपालको पूर्वइतिहासमा जनजाति, मधेसी, दलित र त्यहाँ भन्दा पछाडि महिलाहरुको अधिकारको संरक्षण भएर उनीहरुलाई पावर लेबलमा अरुसरह लिएर आउने प्रयत्नहरु भएनन् ।

हामीले अर्थोक ठुल्ठुला राजनीतिक वादका कुराहरु, दर्शन, सिद्धान्त, देश विकास गर्ने ठुल्ठुला आर्थिक, सैद्धान्तिक प्रतिपादन जे जति गरे पनि नेपालमा भएका नागरिकहरुको वीचमा एउटा समानताको फिलिङ आएन । र, यहाँ भएका जति स्रोत साधन छन्, त्यसमा सबै सहभागी हुन पाएनन् । समान व्यवहार हुन सकेन भनेदेखि अरु ठुल्ठुला दार्शनिक सैद्धान्तिक इत्यादि कुरा गरेर केही पनि हुँदैन ।

यो चाँहि कमजोरी भयो भनेर मैले भन्न खोजेको के हो भने पहिलो जनजाति, त्यहाँबाट मधेसी, त्यस पछाडि दलित त्यहाँबाट महिलाहरुको जेजति इतिहासको क्रममा पछाडि पर्नुपर्ने स्थिति भयो, अहिले उनीहरुलाई हामी नागरिकको समानस्तरमा छैनौं कि भन्ने भावना इत्यादि आइरहेको अवस्था छ । सबैभन्दा पहिला यसलाई ठीक गर्नुपर्छ ।

मैले अघि नै भनें, उनीहरुलाई राजनीतिक, सामाजिक, आर्थिक हरपक्षमा समान स्तरमा ल्याउनुपर्छ । ती वर्गले हामी समानरुपमा सबै अधिकारहरु उपभोग गरिराखेका छौं, हामीले प्राप्त गरेका छौं भन्ने जहिलेसम्म फिलिङ दिन सकिँदैन, यो अहिले भइरहेको विभेद र राजनीतिक असन्तोष इत्यादि राजनीतिक पार्टीहरु मिल्दैमा हट्दैन । नेताहरु सन्तोष हुँदैमा समस्या समाधान हुँदैन, जहाँको त्यहीँ रहन्छ ।

त्यसकारणले सबैभन्दा पहिला मैले भनेका यी वर्ग, जनजाति, मधेसी, दलित र महिला, यिनीहरुपटि्ट फोकस गरेर उनीहरुलाई समान हकदार बनाएर राज्यमा उनीहरुले अधिकारहरु उपभोग गर्न सक्ने स्थिति भएपछि समाजमा अहिले भएको व्यापक असन्तोष हराएर जान्छ । अनि राष्ट्रले एउटा युग परिवर्तनको महसुस गरेर तुरुन्तै अगाडि बढ्दछ ।
नभएदेखि यी कमी कमजोरी भइरहे भने हामीले जति आर्थिक पक्षको सुधारको कुरा गरे पनि, राजनीतिक सुधारका कुराहरु गरे पनि स्थिति जाहाँको त्यहीँ रहन्छ, अझै बिग्रिँदै जान्छ ।

हामी सबै नेताहरु दोषी छौं

सबै राजनीतिक दलको जो नेतृत्व वर्ग छ, खास गरिकन म त्यो नेतृत्व वर्गलाई आग्रह गर्दछु, यो समय अब एकले अर्कोलाई दोषारोपण गरेर कसैको चित्त बुझ्नेवाला छैन । अहिलेको अवस्थामा भन्ने हो भने सबै दोषी छन् । सबै नेतृत्व वर्ग कोही पनि अछुतो छैनन् । हामी सबै दोषी छौं ।

त्यसकारणले यसलाई (माथि भनेको वर्गलाई) प्राथमिकता दिँदै यसलाई समाधान गर्ने बाटो खोज्न थालेपछि पार्टीमा एकतावद्ध पनि आउँछ, अनि जनता र राजनीतिमा एउटा सामाञ्जस्य र विश्वासको वातावरण पैदा हुन्छ । त्यतिमात्रै होइन, अन्तरराष्ट्रिय जगतले पनि यो सही दिशा पक्डेको हुनाले नेपालको राजनीति ठीक दिशातिर जान्छ भन्ने महसुस गर्छ ।

अहिले संविधानसभामा डेटलक भएको छ । दुभाग्यको कुरा भन्नुपर्‍यो, नेपालमा राजनीतिज्ञको कमी पनि छैन, सबै दक्ष पनि छन् । क्षमता पनि छ । सोच्न नसक्ने पनि होइनन, सबै कुरा छ । हुँदाहुँदै मुलुकलाई एउटा मूल कानून, संविधान दिनलाई हशामी असफल भइराखेका छौं । एउटा संविधानसभा त त्यसै बितेर गयो । विश्वमा मेरो विचारमा संविधान बनाउनै भनेर दोस्रो संविधानसभा भएको पनि मलाई थाहा छैन ।

यो विषयमा म के देख्छु भने हामी आफैं, नेतृत्व वर्ग नै एक अर्कालाई दोष दिएर हिँडेका छौं ।

गलत बाटोतिर गइराखेका छौं

संविधानसभा भनेको सरकारी पक्ष र प्रतिपक्ष भनेर बस्ने संविधानसभा होइन । संविधानसभामा सरकारको पक्ष भनेर मान्दा पनि मानिँदैन । संविधानसभामा सम्पूर्ण जति सभासदहरु छन्, सबै जिम्मेवार छन् । त्यहाँ छुट्टिँदैन ।

त्यसकारणले संविधान बनाउने विषयमा सरकार र प्रतिपक्षको फिलिङ गरेर अहिले जो अघि बढिराखेको छ, यो निरर्थक कुरा हो । र, हामी गलत बाटोतिर गइराखेका छौं । यसरी हामी टुंगोमा पुग्न सक्दैनौं । त्यसकारण यी सबै कुरालाई छाडेर संविधान निर्माणमा हामी एक ठाउँमा उभिनुपर्‍यो ।

संविधानसभाले भनेको मितिमा संविधान दिन नसकेको दुईचोटि भइसक्यो । यसले गर्दा सम्पूर्ण जनतामा निराशा छ । जनतामा नेतृत्वप्रति नै अविश्वास बढेर गएको छ । अर्को कुरा, अन्तरराष्ट्रिय जगत पनि नेपाल एउटा सगरमाथा भएको, वुद्धको जन्मस्थल, सानो र सुन्दर देश भनेर महत्व दिएर हेरिरहेको ठाउँमा यो असफल भएर गइराखेकोमा चिन्तित छन् । मित्रराष्ट्र नै भन्नोस्, विश्व नै भन्नोस्, सबै चिन्तित छन् ।

संविधान कहिले बनाउने ? जनताले सहने सीमा हुन्छ

मेरो एउटा भनाइ के छ भने सबै एक ठाउँमा भएर वार्ता गर्नोस् । वार्ता असफल भो, कोनि के भो भन्छन् । हेर्‍यो, नेतृत्व वर्ग जम्मै दक्ष नै छ । अनुभवी पनि छन् । राजनीतिको ठुल्ठुलो संघर्ष गरेर आएका छन् । लडाइँ नै लडेर पनि आएका छन् । यस्तो राजनीतिक जमघट र नेतृत्व भएको ठाउँमा यसरी संविधान दिन नसक्नुचाहिँ दुर्भाग्यको कुरा हुन जान्छ ।

जनताले सहने पनि एउटा हद हुन्छ । एउटा सीमा हुन्छ । त्यहाँ भन्दा पछाडि उनीहरुको धैर्य टुट्छ । अन्तरराष्ट्रिय जगतको पनि नेपाललाई विश्वास गर्ने, माया गर्ने एउटा हछ हुन्छ, त्यहाँभन्दा बढ्ता गएपछि त्यो टुट्छ । त्यसकारणले यी सब कुरालाई विचार गरेर संविधान निर्माण गर्ने कुरामा ध्यान दिनुपर्छ ।

अहिले पनि दुई कित्ताजस्तो छुट्टएिर, अलग-अलग धार अगाडि बढ्नेजस्तो क्रम देखिन्छ । यस्तो पक्ष-विपक्ष हुनै हुँदैन । सबैभन्दा ठूलो आवश्यकता के छ भने पार्टीका नेताहरुले मिटिङ बसेपछि त्यो मिटिङ भनेको हामी राजनीतिक व्यक्तिहरुको गफ गर्ने अखडा होइन । र, मान्छेलाई भोलिपल्ट न्युज दिएर मनोरञ्जन गराउने अखडा पनि होइन । त्यसकारणले एकठाउँमा बसेर सबैभन्दा पहिले मिल्नुपर्‍यो ।

त्यसैले एक ठाउँमा बस्नोस् । व्यक्तिगत लेनदेन त केही छैन हेर्नोस् । कसैले कसैको तमसुक गरेर बसेको हैन होला । यति ऋण लिएको छु, यति दिनुपर्ने, तैंले मेरो ऋण तिरिनस्, यति ब्याज भयो, लु ले भनेर भगडा गर्नुपर्ने आवश्यकता पनि छैन । त्यसकारणले विवाद जम्मै छाडेर पहिले एक ठाउँमा उभिनैपर्छ ।

संविधान बनाउने विषयमा सानातिना निहँु खोज्ने कुरा गरेर, यो सबैले बुझ्छ । हामी नेताले मिटिङ गरेर भोलिपल्ट न्युज आउँछ, त्यसमा हामी मख्ख परेका हौंला कि हामीले जनतालाई आफ्नो आफ्नो पक्षमा लिइराखेका छौं र जनताले मान्दिएका होलान् । तर, यो गलत कुरा हो । जनता विल्कुल असन्तोष भएको अवस्था छ । त्यसैले यो राजनीतिलाई विश्व र नेपाली जनताको मनोरञ्जनको भाँडो नबनाइकन एकठाउँमा बसौं ।

संविधान अस्ति माघ ८ मा बनेन । अब सबै राजनीतिक नेताहरु बसेर जो भूमिका खेल्नुपर्ने छ, उहाँहरु बसेर एउटा मिति निश्चित गर्न सक्नुभएको छैन । सबैभन्दा पहिला त उहाँहरु एक हुनुपर्‍यो । हो, सरकार ठीकसँग चलेको छैन भने त्यसको आलोचना गर्नोस्, तर संविधान बनाउने विषयमा संविधानसभामा झगडा नगरिकन एक ठाउँमा उभिनोस् ।

हामी अहिले जो दलील दिइराखेका छौं, मिटिङ गरेको, फलानोले गर्दा भएन भनेर । हामीले जनतालाई झुक्याइराखेका छौं भन्ने जो भ्रम छ, त्यो भ्रम उहाँहरुले हटाइदिनुर्‍यो । राजनीतिमा अलग अलग विचार हुन्छ, त्यसको प्रतिवाद जति गरे पनि हुन्छ, तर यो संविधान बन्ने कुरामा एक ठाउँमा उभिएर पहिला मिति तोक्नोस् ।

अब संविधान कहिलेसम्म बन्छ भनेर हिसाब-किताब गरेर त्यो पनि बाहिर जानकारी दिनुपर्‍यो । यति काम बाँकी छ, यतिलाई गर्दा यति समय लाग्छ भनेर मिति तोक्नुपर्छ । यति भएपछि मात्र एउटा विश्वासको वातावरण पैदा हुन्छ । र, अन्तरराष्ट्रिय समुदाय पनि संविधान आउने भो भनेर विश्वस्त हुन सक्छन् । त्यसपछि सहयोगको मात्रा बढाउने पनि हुन सक्छ । नभएदेखि केही हुन सक्दैन । यस्तै हो ।

संविधानसभामा जनताले छानेर पठाएको हो । यही संविधान बनाउनै भनेर जनताले पठाएको हो । एजेन्डै त्यही थियो । संविधान निर्माण गर्न भनेर पठाएको ठाउँमा म सुन्छु, पढिराखेको पनि छु, यिनीहरुले प्रतिनिधित्व गर्दैनन्, यी कोही होइनन्, भनिराखेका छन् । उहाँहरुलाई त्यो भन्ने हैसियत उहाँहरुको पुग्छ कि पुग्दैन ? किनभने जनताले छानेर संविधान बनाउन निर्णय गरेपछि त्यही संविधानसभामै संविधान निर्माण हुनुपर्दछ । त्यहाँभन्दा यताउता गरेर हुन सक्दैन ।

संघीयता : टाउको थाती राखेर मान्छे बन्छ ?

हामी बेग्लै जन्तु हौं, हाम्रो दिमाग विश्वका मानिसको भन्दा बेग्लैछ र हाम्रो दिमागले यो कुरा बुझ्नै सक्दैन भनेर कि नेताहरुले भन्नुपर्‍यो, होइन भने विश्वमा त्यत्रा त्यत्रा संघीयताका लडाइँ भएर अपि|mका, हिन्दुस्तान सबै बनेका छन् भने यहाँ किन नबन्ने ?

पहिले नै मिल्छ भन्ने कुरा होइन । हेर्नुहोस् वादे वादे जायते तत्ववोध भन्छन् । छलफल गर्दै जाँदा जम्मै अक्किल पनि आउँछ, बुद्धि पनि आउँछ । विवेक पनि आउँछ । सबै आउँछ ।

टाउको थाती राखेर मान्छे बनाउँछु भन्ने तपाईहरुलाई परिकल्पना छ भनेदेखि मलाई केही भन्नु छैन । हात र खुट्टा नभइकन म मान्छे बनाउँछु, त्यसलाई पछि जोडदिउँला भन्ने हो भनेदेखि त म के भन्छु र ? मैले भन्ने त त्यसको जवाफै छैन । बसेर छलफल गर्‍यो भने टुंगिने देखिन्छ । अलिकति छलफलको जरुरी छ ।

कमल थापासँग पार्टी एकता सम्भव छ कि छैन ?

त्यो सम्भव छैन । दुईटाले आ-आफ्नो धार, कित्ता नछाडिकन मिल्ने ठाउँ छैन । हामीले गणतन्त्र र संघीयता छाड्ने सम्भवै छैन । त्यो हुँदै हुँदैन । यो नहुने कुरा हो । अब मिल्ने भनेको या त हामीले यो छाड्नुपर्‍यो, जो सम्भव छैन । मेरो विचारमा यो कुरा हाम्रो अध्यक्ष (पशुपतिसमशेर) ले पनि भनिसक्नुभएको छ । या उहाँ (कमल थापा)हरुले छाड्नुपर्‍यो । उहाँले लिइरहेको नीति छाड्नुपर्‍यो ।

मैले उहाँका नेताहरुले बोलेको पनि सुनें । उहाँहरु पनि आफ्नो धारणा ठीक छ, भन्दै हुनुहुन्छ । त्यो उहाँहरुको पनि विश्वास हो । आफ्नो आफ्नो विश्वासमा हिँड्ने हो । त्यस्ता पार्टी विश्वमा जहाँ पनि हुन्छन् । ठीक छ, उहाँहरुले बोकेर हिँडेको हामीलाई केही आपत्ति छैन । तर, उहाँहरुले आफ्नो कुरा छाडिदिनुभयो र हामीसँग मिल्न आउनुभयो भने कुनै आपत्तिको कुरा होइन । पार्टी छरिएर बस्नुभन्दा मिल्नु जाति हो ।

उहाँ पनि नछोड्ने, हामी पनि नछोड्ने भनेपछि त यसमा तपाई (पत्रकार) हरु अल्मलिने कुरो पनि छैन । यो वीचमा नअल्मलिनोस् ।
धर्मको पक्षमा राप्रपाले सर्वधर्म सापेक्ष भनेका छौं । धर्ममा हामी विश्वास गर्छौं । तर, नेपालमा भएका सबै धर्मलाई । धर्मको भनेको ठूलो विषय होइन हेर्नोस् । हामीले आफ्नो कुरा छाड्दैनौं, त्यही हो । गणतन्त्र र संघीयता यो दुईवटा फण्डामेन्टल कुरा राप्रपाले जो लिएर बसेको छ, जसले जति गुड्डी हाँकेर बाहिर गफ गरे पनि अघि पनि यस्तै कुरा उठेको थियो, मिलेको थिएन । अहिले पनि तपाईहरुले यता यता सुन्न थाल्नुभएको छ, ती गफ हुन् ।

(पूर्वप्रधानमन्त्री थापाले विहीबार आफ्नो ८८ औं ‘बर्थ डे पार्टी’मा पत्रकारसँग गरेको कुराकानी)

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment