Comments Add Comment

विप्लवको पक्षमा दुई हजार शब्द

सुदर्शन मंगोल

यतिबेला तीन माओवादी पार्टीबीच पुनगर्ठन अभियानको चर्चाले नेपाली राजनीति एकाएक तात्न पुगेको छ । वास्तवमा यो नयाँ अभियान कसरी आयो ? के साँच्चिकै नेपालमा अहिले नै माओवादी पुनगर्ठन होला त ? यसका लागि वैचारिक, राजनीतिक, सांगठनिक आधारहरु के छन् ? तीनतिर फर्किएका माओवादीहरु कसरी पुनगर्ठनमा आउन सक्लान् ? प्रश्न र जिज्ञासाहरु छन्, जसको भरपर्दो जवाफ तीनै माओवादी पार्टीका नेता-कार्यकर्ताले दिनै पर्ने हुन्छ ।

नयाँ विचारका लागि नयाँ अभियान

माओवादी जनयुद्ध नेपाली मौलिकतामा आरम्भ गरिएको २० औं शताब्दीको अन्तिम दशकको उत्तरार्द्धतिर सुरु भएको नयाँ विचारसहितको नयाँ अभियान थियो ।

Netra bikram chand Biplav at Khula Manch (1)

अन्तर्राष्ट्रिय सर्वहारावर्गको एक अग्रदस्ताका रुपमा तत्कालीन नेकपा (माओवादी) खडा भयो । जसको लक्ष्य थियो, नयाँ विचारको विकासहित नेपाली जनतालाई सामन्तवाद र विस्तारवादको सिकञ्जाबाट मुक्त पार्नु । राष्ट्रिय र अन्तर्राष्ट्रिय परिस्थितिको सुझबुझ विश्लेषणसहित नेपाली मौलिकतामा दीर्घकालीन जनयुद्धको माध्यमबाट नयाँ जनवादी क्रान्ति सम्पन्न गर्ने लक्ष्य लियो माओवादीले ।

जुन लक्ष्यबाट जनयुद्ध आफ्नो बाटोमा अघि बढ्यो, त्यो छोटो अवधिमा जनयुद्धले तीब्र छलाङ हान्यो । आफ्नो ती महान् लक्ष्य प्राप्तिको आन्दोलनमा दश हजार नेपाली आमाका होनहार सपुतहरुले वीरगति प्राप्त गरे । हजारौं योद्धा घाइते बने । हजारौं बेपत्ता बने । दशौं हजार क्रान्तिकारी योद्धाहरु जीवनमरणको संघर्षमा हेलिए, जसको बलमा नेपाली राजनीतिको रञ्गमञ्चले नयाँ कोल्टे फेर्‍यो । वास्तवमा दशवर्षे जनयुद्धले राष्ट्रिय सीमा नाघेर अन्तर्राष्ट्रिय  स्तरमा समेत नयाँ तरंग र बहस सृष्टि गर्‍यो । दश वर्षपछि खागरी २० औं शताव्दीको अन्त्यतिर सुरु गरेको जनयुद्ध २१ औं शताव्दीको पूवार्द्धमा आउँदा नयाँ ठाउँमा आइपुग्यो ।

नयाँ र विकसित परिस्थितिमा आइसकेपछि माओवादी आन्दोलनलाई नयाँ शिराबाट नयाँ विचारको विकाससहित थप विकास गर्नुपर्ने थियो । ०५२ देखि सुरु गरेको जनयुद्ध ०६२ मा आउँदा नयाँ सम्भावना र चुनौतिसहित आयो । जनसत्ता, जनअदालत, जनकम्युन र आधारइलाकासहित केन्द्रीय जनसरकार निर्माणको दिशामा आइपुगेको जनयुद्धलाई विकसित राष्ट्रिय/अन्तर्राष्ट्रिय परिस्थितिमा कसरी थप विकास गरेर जाने भन्ने प्रश्न जवर्जस्त रुपमा देखा पर्‍यो ।

प्रचण्ड-बाबुराम नेतृत्व आफ्नो वर्ग, नारा, कार्यक्रम छोडेर देशी विदेशी शक्तिसँग समर्पण गर्न पुग्यो, त्यहीबाट सुरु भयो उनीहरुको असफलताको बाटो

यसैक्रममा ०६२ को असोज-कार्तिकमा सम्पन्न चुनबाङ बैठकमा ती संभावना र चुनौतिका बारेमा लामो बहस भयो । जुन बैठक र बहसबाट विकसित राष्ट्रिय/अन्तर्राष्ट्रिय परिवेशको मोटामोटी व्याख्या विश्लेषणसहित चुनवाङबाट नयाँ कार्यनीति लोकतान्त्रिक गणतन्त्रको रुपमा अघि सारियो । त्यसपछि सुरु भयो प्रचण्ड-बाबुराम नेतृत्वको  अग्नीपरीक्षा ।

असफल प्रचण्ड-बाबुराम

२५ फरवरी १९१७ मा रुसमा तत्कालीन जारशाही राजतन्त्रका विरुद्ध त्यहाँका संसदवादी पुँजीवादीहरुसँग मिलेर लेनिन र बोल्सेविकहरुले बुर्जुवा क्रान्ति सम्पन्न गरे । नेपालमा जस्तै जारशाही राजतन्त्रको अन्त्यपछि लोकतान्त्रिक गणतन्त्रको स्थापना भयो । त्यसपछि लेनिन र बोल्शेविकहरु चुप लागेर बसे ? बसेनन् । बरु समाजवादी क्रान्तिका निम्ति अगाडि बढे । फरवरी क्रान्ति भएको ८ महिनाभित्र सन् १९१७ को अक्टोबरमा पुगेर लेनिनहरुले समाजवादी क्रान्तिको नेतृत्व गर्न पुगे ।

हामी नेपालका माओवादीहरु पनि चुनबाङबाट काठमाडौं त्यही लेनिनकै बाटो पछ्याएर आएका थियौं । पक्कै पनि अढाइसय वर्ष पुरानो राजतन्त्रको अन्त्यका लागि दश वर्षे लामो जनयुद्ध मुख्य जग थियो । त्यही जगमा टेकेर माओवादी र  संसदवादी दलको संयुक्त आन्दोलनबाट राजतन्त्र गयो र गणतन्त्रको स्थापना भयो । त्यसपछि के गर्नु पर्दथ्यो ? यसपछि प्रचण्ड-बाबुराम नेतृत्व आफ्नो वर्ग, नारा, कार्यक्रम छोडेर देशी विदेशी शक्तिसँग समर्पण गर्न पुग्यो, त्यहीबाट सुरु भयो उनीहरुको असफलताको बाटो ।

सुदर्शन मंगोल
सुदर्शन मंगोल

चुनबाङ बैठकको दिशानिर्देश लोकतान्त्रिक गणतन्त्रबाट जनवादी गणतन्त्रतिर जाने थियो । तर प्रचण्ड-बाबुरामले के गरे ? उनीहरु लेनिनले जस्तै ०६२/०६३ को पुँजीवादी क्रान्तिलाई जनवादी क्रान्तितिर लगेनन् । बरु उनीहरु दक्षिणपन्थी तथा राष्ट्रिय आत्मसमर्पणवादी दिशातिर गए । विस्तृत शान्तिसम्झौतालाई  बाहिर जे भने पनि माओवादीहरुको लागि त्यो एउटा दाउपेच (कार्यनीति) मात्र थियो/हो । तर, प्रचण्डहरु यहीँनेर चुके । लोकतान्त्रिक बुर्जुवा पुँजीवादी क्रान्तिलाई सम्पूर्ण क्रान्ति भनेर जसरी प्रचण्ड-बाबुरामले बुझे, त्यहीबाट उनीहरु विचलनताको सुरुङतिर भासिन पुगे । जनवादी क्रान्ति पुरा गर्ने गहन जिम्मेबारीबाट भागेर उनीहरु पछिल्लो दिनमा समाजवादी क्रान्ति भन्न थाले । यो अर्को ठूलो विचलन थियो ।

प्रचण्ड-बाबुरामको विचलन र गद्दारी दश वर्षे जनयुद्धले ठूलो बलिदानीबाट प्राप्त गरेको जनसत्ता, जनअदालत, जनकम्युन र आधार इलाकाहरुलाई विघटन गरेर चरम पराकाष्ठातिर लग्यो । त्यो भन्दा ठूलो गद्दारी बाबुराम नेतृत्वको सरकारको ठाडो आदेशमा ०६९ को चैत्रमा नेपाली  सेनाद्धारा महान् जनमुक्ति सेनाको शिविरमा पसेर गरिएको निलज्र्ज निसस्त्रीकरण थियो । यद्यपि सैद्धान्तिक रुपले जनसेनाको विघटन पहिल्यै भइसकेको थियो ।

यी सबै परिघटनाहरु प्रचण्ड-बाबुरामको नेतृत्व मण्डलीमा देखा परेको गंभीर  दक्षिणपन्थी आत्मसमर्पणवादी र गद्दारीका परिणाम थिए । यी विचलन र गद्दारीका कारण माओवादी दशवर्षे जनयुद्धले प्राप्त गरेको महान् उपलब्धिहरु गुम्न पुगे । प्रचण्ड-बाबुराममा देखा परेको ती विचलन र गद्दारीका विरुद्ध अविभाजित माओवादीमा खासगरी ०६४ को बालाजु प्लेनमदेखि ०६५ को खरिपाटी भेलाहुँदै ०६७ को पालुङटार प्लेनमलगायत थुप्रै भेला/बैठकहरुमा लामो समय दुईलाइन संघर्ष सञ्चालन गरियो । त्यो लामो दुई लाइन संघर्षले प्रचण्डहरुलाई रुपान्तरण गर्न नसकेपछि वा रुपान्तरण नभएपछि ०६९ को असारमा पुगेर माओवादी विभाजित हुन पुग्यो । दश वर्षे जनयुद्ध लडेर आएको विशाल क्रान्तिकारी शक्तिको एउटा पंक्ति ठूलो विचलनको शिकार बन्दा क्रान्तिकारी माओवादीहरु जनयुद्धका बाँकी कार्यभार पुरा गर्ने लक्ष्यसहित नयाँ माओवादी निर्माणमा लागे, जसको पहिलो नेतृत्वकर्ता मोहन वैद्य (किरण) बने । यी सबै नमीठा परिघटनाहरु (खासगरी नयाँ पार्टी निर्माण हुनु) भोग्न क्रान्तिकारी कार्यकर्ता र जनता विवश भए ।

अन्योल, अर्कमन्यता र गोलचक्करको भँमरीमा किरण नेतृत्वको माओवादी नराम्रोगरी फस्यो

चुनबाङबाट काठमाडौं आएको समग्र ९ वर्षको सम्पूर्ण परिघटनाहरुलले प्रष्ट के देखायो भने प्रचण्ड-बाबुरामहरु सम्पूर्ण रुपले असफल बन्न पुगे । उनीहरुको विचारले हावा खायो । वैचारिक, राजनीतिक, सांगठनिक र संघर्षका सबै कोणबाट विकसित परिस्थितिमा माओवादी आन्दोलनलाई विकास गर्न शान्तिप्रक्रियामा आएको माओवादी विभाजित बनेर कमजोर बन्न पुग्यो । विचलन र गद्दारीको बाटो पकडेपछि विकास होइन विनाश हुँदो रहेछ भन्ने कुरा प्रचण्ड- बाबुरामको असफलताका कारणले देखाइसक्यो । यस्तो स्थिति आइसकेपछि माओवादी आन्दोलनलाई नयाँ दिशाबाट अघि बढाउनै पर्ने थियो । त्यसका लागि सुरुमा मोहन वैद्य (किरण) नयाँ विचार विकास गर्ने सहासका साथ प्रचण्ड- बाबुरामका विरुद्ध नेतृत्व गर्न आए । जुन ०६९ को बौद्ध भेलाबाट किरणलाई नयाँ माओवादीको अध्यक्षमा निर्वाचित गरियो । जसलाई सबैले सकारात्मक ढंगले लिए । ठिकै पनि भयो । त्यसपछि के गर्ने ? नयाँ पार्टी त बन्यो तर नयाँ विचारको विकास हुन सकेन या किरणजीले सक्नु भएन ।

अन्यौलमा किरण-बादल

प्रचण्ड-बाबुराममा गम्भीर दक्षिणपन्थी नवसंशोधनवादी र राष्ट्रिय आत्मसमर्पणवादी विचलन पैदा भएको संश्लेषण गर्दै ०६९ को असारमा किरणको नेतृत्वमा नयाँ माओवादी बन्यो । त्यो माओवादी यसकारण बन्यो, त्यसले वैचारिक, राजनीतिक, सांगठनिक र संघर्षलगायत सबै क्षेेत्रमा नयाँ विकास गर्नु पर्छ भन्ने थियो । नयाँ माओवादी त बन्यो तर त्यसले केही पनि नयाँ दिन सकेन । त्यसपछि पार्टी गतिरोधको शिकार बन्यो ।

अन्योल, अर्कमन्यता र गोलचक्करको भँमरीमा किरण नेतृत्वको माओवादी नराम्रोगरी फस्यो । मान्छेहरु भन्नथाले, नयाँ पार्टी बनाए तर नयाँ के दिए त ? प्रश्नहरु स्वभाविक थिए ।

वैचारिकलगायत सबै क्षेत्रमा नयाँ गर्ने भनेर आएको माओवादी उही पुरानो र परम्परागत विचार बोकेर आयो । जहाँ कि पहिल्यै कार्यान्वयन हनु नसकेको र असफल भएको जनयुद्धको जगमा जनविद्रोहको कार्यदिशालाई शिरानी हालेर तत्कालीन नेतृत्व मस्तराम सुत्न थाल्यो । एकातिर विचारहीन नेतृत्व र अर्कोतिर असफलसिद्ध कार्यदिशाका कारण किरण नेतृत्वको तत्कालीन माओवादी नेपाली राजनीतिको मूलधारबाट हराएजस्तै भयो । विचारको क्षेत्रमा नयाँ कार्यदिशाको विकास गर्न नसकेपछि किरण नेतृत्वको माओवादी राजनीतिको क्षेत्रमा पूर्णतया शून्यजस्तै रह्यो ।

किरण नेतृत्वको पार्टी रहँदा ३३ दलीय आन्दोलनमा ३३ सय मान्छे जम्मा गर्न नसक्ने स्थिति सधै देखापर्‍यो

राजनीतिक क्षेत्रमा नयाँ माओवादी नयाँ राजनीति लिएर आउँछ भन्ने कार्यकर्ता र जनताको ठूलो आशा थियो । त्यो आशा पनि  निराशामा परिणत हुन पुग्यो । राजनीतिको क्षेत्रमा कुरा गर्दा तत्कालीन कार्यनीति गोलमेच सम्मेलन, संयुक्त सरकार भन्दै उही संसदीय राजनीतिको पेरिफेरिमा हिँडिरहयो । जुन भर्खर माओवादी विभाजित भएको थियो, त्यही बेला पहिलो संविधानसभा विघटन भएको थियो ।

यस्तो स्थितिमा यथास्थितिवादी संविधानसभाको पुनस्थापना गर्नुपर्छ भन्दै पार्टीभित्रबाट देव गुरुङ, पम्फा भुसाल, हितमान शाक्यजस्ता पात्रहरु देखा परे । उही यथास्थितिवादी राजनीतिको बाटो पकडेपछि कसरी नयाँ हुन सकिन्थ्यो र !

अझ पछि स्थिति कस्तोसम्म रहयो भने कथित दोस्रो संविधानसभा निर्वाचन बहिष्कार गर्नुपर्छ भन्ने पार्टी निर्णय हुँदा त्यसलाई भित्रैदेखि असन्तुष्टी जनाउनेमा पार्टीको तत्कालीन नेतृत्वको ठूलो पंक्ति देखा पर्‍यो ।

पदाधिकारीमा कमरेड विप्लवका कारण सिंगो केन्द्रीय समितिसहित सिंगो पार्टी कथित दोस्रो संविधानसभा बहिष्कार अभियानमा होमियो । तर, पदाधिकारी र पोलिटब्युरोका अधिकांश नेता बहिष्कारमा अनिच्छुक भएकै कारण बहिष्कार अभियान सोजेजति सफल हुन सकेन । त्यसपछि त झन् पार्टी पुरै निश्क्रिय जस्तै बन्यो । त्यो नेतृत्वको अन्योलता र अर्कमन्यताका कारण थियो ।

संघर्ष र संगठनको कुरा गर्दा यस्तै देखियो । ‘लक्ष्य केही होइन आन्दोलन सबथोक हो’ भन्ने बर्नस्टीको विचारलाई किरण नेतृत्वको माओवादीेले अनुशरण गरेजस्तै संघर्षका कार्यक्रम संचालन गर्न  थाल्यो । संघर्षको स्वरुप र लक्ष्य कहिल्यै ठोस हुन सकेन । ३३ दलले आन्दोलन संचालन गर्ने नाममा पार्टी पुरै काठमाडौंको शान्तिबाटिका केन्द्रित आन्दोलन मात्र गर्न बाध्य भयो । जुन आन्दोलन संसदवादी दलहरुले रत्नपार्क केन्द्रीत (पाँचसय/हजार भन्दा मान्छे जम्मा गर्न नसक्ने) आन्दोलन ०६२/०६३ भन्दा पहिले गर्ने गर्दथ्यो । त्यो मुलतः उनीहरुको राजनीतिक संघर्षको नारा कार्यक्रम प्रष्ट नहुँदाको परिणाम थियो । किरण नेतृत्वको पार्टी रहँदा ३३ दलीय आन्दोलनमा ३३ सय मान्छे जम्मा गर्न नसक्ने स्थिति सधै देखापर्‍यो । त्यो मुलतः प्रष्ट राजनीतिक संघर्षको स्वरुप र लक्ष्य किटान गर्न नसक्नुकै कारण थियो । संघर्षको क्षेत्रमा पनि किरण नेतृत्वको पार्टी कालमा विकास हुन  सकेन ।

प्रचण्ड-बाबुरामसँगको सम्वन्धविच्छेदपछि नयाँ माओवादीले संगठनको क्षेत्रमा केही नयाँ गर्न खोजेको थियो । जुन आवश्यक र जटिल प्रक्रिया पनि थियो । विश्व कम्युनिस्ट आन्दोलनमा लेनिन, माओ, गोञ्जालो र नेपालमा प्रचण्डपछिको माओवादीमा सांगठनिक नेतृत्वको विकास नयाँ उचाइँबाट  विकास गर्नु पर्दथ्यो ।

कमरेड विप्लवले लिएको पछिल्लो एकीकृत जनक्रान्ति यो नितान्त नयाँ विचार हो, अब माओवादी पुनगर्ठन केन्द्रको नयाँ नेतृत्व पनि विप्लवले गर्नुपर्छ

रुसमा लेनिनको बोल्शेविक पार्टी, चीनमा माओको चिनियाँ कम्युनिस्ट पार्टी, पेरुमा गोञ्जालोको नेतृत्वमा रहेको कम्युनिस्ट पार्टी र नेपालमा प्रचण्डको नेतृत्वमा जनयुद्ध सुरु गर्दाको पार्टी नेेतृत्व लगभग सबै एउटै ‘लियर’का थिए । ती देश र पार्टीका क्रान्तिमा जस्तो कि रुस र चीनमा लेनिन र माओ निर्विकल्प नेतृत्वको रुपमा देखा परे ।

प्रचण्डहरुसँगको सम्वन्धविच्छेदपछि किरण नेतृत्वको माओवादीमा पार्टीका पहिलो, दोस्रो र तेस्रो ‘लियर’का नेताहरु पैदा भए  । किरणलगायत केही नेताहरु बृद्ध (पाका) उमेरका रुपमा देखा परे । बादललगायतका केही नेताहरु बयस्क नेताका रुपमा देखा परे । र, अर्को गतिशील र सक्रिय युवा नेतृत्वको रुपमा विप्लवजस्ता नेताहरु पैदा भए ।

यस्तो स्थितिमा बृद्ध, बयस्क र युवा नेतृत्वमध्ये बृद्ध (पाका) नेताहरुको निगरानी, नियन्त्रण र निर्देशनमा बयस्क या युवा नेतृत्वको हातमा सांगठनिक नेतृत्व हस्तान्तरण गर्नुपर्छ भन्नेमा क्रान्तिकारी युवा नेताहरुको विशेष आग्रह र प्रस्ताव राख्ने काम भयो  । तर त्यसलाई पुरानो र अघिल्लो लियरका नेताहरुले अस्वीकार गरेपछि संगठनमा पनि नयाँ विकास हुन सकेन र पछि अर्को नयाँ क्रान्तिकारी पार्टीको निर्माण समेत हुन पुग्यो ।

यसपछि वैचारिक, राजनीतिक, सांगठनिक र संघर्षको क्षेत्रमा नयाँ विकास किरण नेतृत्वको पार्टीले गर्न नसकेपछि विप्लव नेतृत्वको नयाँ क्रान्तिकारी माओवादी पार्टी निर्माण हुन पुग्यो ।

यसकारण विप्लव

कम्युनिस्ट आन्दोलन आफैमा एउटा लामो मार्क्सवादी विश्वविद्यालय हो । यो विश्वविद्यालयमा एक/दुईपटक उतीर्ण भएर मात्र पुग्दैन । निरन्तर उतीर्ण भइराख्नु पर्छ । प्रचण्ड-बाबुराम, किरण-बादलको नेतृत्व टीम (जेनेरेशन) आफ्नो जमानामा एक कालसम्म उतीर्ण भए । त्यसलाई सकारात्मक रुपमा लिनु पर्छ । तर पछिल्लो समयमा आएर उनीहरुको टीम पूर्णतः असफल भइसकेको छ । चुनबाङबाट काठमाडौं आउँदाको समयपछि खागसरी ०६३-०७१ को अवधि भनेको ती दुई नेतृत्वको भीषण अग्निपरीक्षा भएको समय थियो । त्यो चरणमा उनीहरु सम्पूर्ण रुपले असफल भनेपछि अब साच्चै माओवादी पार्टी पुनगर्ठन गर्ने हो भने त्यसको नेतृत्व कमरेड नेत्रविक्रम चन्द (विप्लव)ले मात्र गर्न सक्छन् ।

विश्वमा भएका सबै सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक शिक्षाहरुबाट पाठ सिकेर यो माओवादीले नयाँ विचारको विकास गर्न खोजेको छ

किनभने यसका लागि कमरेड विप्लवले लिएको पछिल्लो एकीकृत जनक्रान्ति यो नितान्त नयाँ विचार हो । यो नयाँ विचारसहित माओवादी पुनगर्ठन केन्द्रको नयाँ नेतृत्व पनि कमरेड विप्लवले गर्नुपर्छ ।

अहिले विप्लव नेतृत्वको माओवादी सबै माओवादी आन्दोलनको मूलप्रवाह हो । यसका केही आधारहरु छन् । खासगरी वैचारिक, राजनीतिक, सांगठनिक र संघर्षका हिसावले धेरै हदसम्म नयाँ विचारको विकास गर्न खोजेको छ । मुख्यगरी विचारको क्षेत्रमा लेनिन र माओपछिको विश्वमा नयाँ शिराबाट क्रान्तिकारी कार्यदिशाको विकासको रुपमा एकीकृत जनक्रान्ति आएको छ । यसले आजको भुमण्डलीकृत विश्व, विज्ञान तथा सूचना प्रविधिमा आएको अभुतपुर्व परिवर्तनलगायत समग्र क्षेत्रमा आएको परिवर्तनलाई नयाँ उचाइँबाट विकास गर्न खोजेको छ ।

मुलतः विश्व र नेपाली अर्थ-राजनीतिमा आएको परिवर्तनलाई पकडेर त्यही अनुरुप विचारमा थप विकास गर्न खोजेको छ । खासगरी माओपछि (सन् १९४९ को जनवादी क्रान्तिपछि) को विश्वमा कतै पनि सर्वहारा क्रान्ति किन सफल हुन सकेनन् ? बर्मा, मलाया, फिलिपिन्स, पेरुलगायतका क्रान्तिहरुले किन सेटब्याक खानु पर्‍यो ? विश्वमा भएका ती सबै सर्वहारा क्रान्तिका सकारात्मक तथा नकारात्मक शिक्षाहरुबाट पाठ सिकेर यो माओवादीले नयाँ विचारको विकास गर्न खोजेको छ ।

यो नेपालमा मात्र होइन विश्व कम्युनिस्ट आन्दोलनमा समेत नयाँ विचार हो भन्ने हाम्रो दाबी हो । अरु कुरा प्रयोगबाट अझ यसलाई विकसित गर्ने कुरा छदैछ ।

यो एकीकृत जनक्रान्तिको सिद्धान्त एकाएक आकाशबाट फुक्त खसेर आएको विचार होइन । यो दश वर्षे जनयुद्धले गरेको विकास र त्यसपछि थप विकास गरेर अघि बढ्ने स्थितिमा प्रचण्ड-बाबुराममा पैदा भएको गंभीर विचलन र गद्दारीले पैदा गरेको विचार  हो । त्यसपछि किरण-बादलले जुन आफ्नो नेतृत्वको अवधिमा थप विचारको विकास गरेर जानु  पर्ने  थियो, त्यो पनि गर्न नसकेपछि कमरेड विप्लवद्धारा लामो वर्गसंघर्ष र दुईलाइन संघर्षका अनुभवबाट प्राप्त गरिएको विचार हो ।

आजको विश्वमा लेनिन र माओको विचारमा मात्र टेकेर क्रान्ति हुन सक्दैन । बरु ती दुई विचारलाई विकास गर्दै नयाँ विचारको विकास गरेर मात्र आजको दुनियाँमा क्रान्ति गर्न सकिन्छ । जसरी भौतिक विज्ञानमा चार्ल्स  डार्विनको विकासवादी सिद्धान्तमा टेकेर अल्बर्ट आइन्स्टाइले सापेक्षतावादको सिद्धान्त प्रतिपादन गरे ।

त्यसैगरी आधुनिक भौतिक विज्ञानका शक्तिशाली वैज्ञानिक स्टेफन हकिन्सले डार्विन र आइन्स्टाइनको वैज्ञानिक सिद्धान्तमा टेकेर मात्र अरु थप विज्ञानको विकास गरे ।

एकीकृत जनक्रान्तिको सिद्धान्त पनि १९ औं र २० औं शताव्दीमा भएका क्रान्ति र त्यसपछिका अवधिमा भएका असफल क्रान्तिहरुबाट शिक्षा लिएर नयाँ विचारको विकास गर्न खोजिएको हो । अरु त बाँकी व्यवहारमा गएर थप विकास गर्नु पर्ने कामहरु छदै छ । यी नयाँ विचारका मुख्य पहलकर्ता कमरेड विप्लव र उनीद्धारा नेतृत्व माओवादी नै आजको नेपालमा सबै माओवादीलाई एकीकृत गर्ने सामथ्र्य राख्छ ।

जनयुद्धका सबै उपलब्धि समाप्त पार्ने प्रचण्ड -बाबुरामहरु असफल मात्र होइन पूर्ण रुपले विचारबाट पतन भइसकेको नेतृत्वबाट अबको माओवादी पुनगर्ठन संभव छैन । त्यसैगरी थप विचारको विकास गर्न भनेर नयाँ माओवादी पार्टीको अढाइवर्ष नेतृत्व समालेका किरण-बादल पुरै समय अन्योल र गोलचक्करमा फसेर असफल भएका कारण पनि अब ती दुई नेतृत्वको धारबाट माओवादी पुनगर्ठन हुन सक्दैन ।

दश वर्षे जनयुद्धका सम्पूर्ण मोर्चामा सफल नेतृत्व गरेर आएका एकमात्र नेता कमरेड विप्लव हुन्, जसले अहिले नयाँ विचार ल्याएका छन् । उनको नेतृत्वमा मात्र अबको माओवादी आन्दोलन पुनगर्ठन हुनुपर्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment