Comments Add Comment

‘सेना प्रहरीले अब भ्रष्टाचारीलाई समात्छन्’

Ram-nayaran-bidari– रामनारायण विडारी, (अधिवक्ता तथा सभासद)

यो सरकार अपराधी हो भन्ने कुराको प्रत्यक्ष प्रमाण शान्तिपूर्ण जुलुसलाई रोक्ने छेक्ने संविधान विरोधी काम हो । संविधान विरुद्धको काम अपराधी काम हो ।

लाठीचार्ज कानुन विपरीत कार्य हो । लाठीचार्ज पनि मान्छेको टाउकोमा छानीछानी हान्ने तालिम किन प्रहरीलाई दिलाएको ? लाठीचार्जको सिद्धान्त भिडलाई तितर-वितर गर्नेसम्म हो । यसको मतलव भुईंमा लाठी बजार्ने, बिस्तारै गोडातिर हान्ने, हाउभाउ बढी गर्ने आदि हो । तर, यो सरकारले प्रहरी सिपाहीलाई ठाउकोमा हान्ने तालिम दिएको छ । मान्छेको सबैभन्दा संवेदनशील अंग भनेको टाउको हो । त्यहीँ ताकेर हान्ने सरकार नियतबाटै अपराधी हो ।

प्रहरीले सामान्य अवस्थामा पनि टाउकोमा हान्ने काम गरेको छ । भर्खरै एमाओवादी नेता गंगा श्रेष्ठ लगायतका सबै घाइतेलाई हेरेमा टाउकोमा गम्भीर चोट लागेको देखिन्छ । धोबीखेाला नजिक जर्नादन शर्मालाई पनि टाउकोमा नै हिर्काइएको थियो । प्रहरीले जहिले पनि लाठी टाउकोमा नै प्रहार गर्न गरेको देखिन्छ । प्रहरीले चाहिँ टाउकोमा हेलमेट लगाएको देखिन्छ । जनता खालीहात हिँडेकालाई किन टाउकामा नै हान्ने गरेको ? कुनैकुनै व्यक्तिको हात भाँचिएको देखिन्छ । किनकि शिपालु व्यक्तिले टाउको जोगाउन हात प्रयोग गर्छन् । त्यसैले उनीहरुको हात भाँचिएको हो । तर, तिनलाई पनि प्रहरीले टाउको नै ताकेको हो ।

सेना प्रहरी सबैलाई थाहा छ, कांग्रेस एमालेका कारण देश विश्वको गरिब राष्ट्रमध्ये परेको छ । यो देशमा भ्रष्टाचार पनि उनीहरुकै कारणबाट भएको हो ।

सरकारले प्रहरीलाई टाउकोमा हान्ने तालिम नदिएको भए वा आदेश नदिएको भए सम्वन्धित प्रहरीलाई कारवाही किन भएन ? आदेश दिने हाकिमलाई किन कारवाही भएन । यस सम्वन्धमा मानव अधिकार आयोग किन मौन बसेको छ ? विदेशी डलरमा बाँचेका मानव अधिकारवादी भन्नेहरुले किन देखेनन् ? विभिन्न आवाज उठाउने पत्रकारहरुले किन बोलेनन् । यसको रहस्य केहो ? खालीहातका मान्छेको टाउकोमा ताकी ताकी हान्ने सरकार निकृष्ट अपराधी हो ।

फागुण १६ एमाओवादीसहितको मोर्चाको जुलुसमा बानेश्वरमा जुन झडप भयो, त्यो सरकारको अपराध हो । किनकि बानेश्वरमा हाइवे सडक छ, जुन मान्छे आवतजावत गर्ने हो । सरकारले सो ठाउँमा धर्ना बस्न, आमसभा गर्न, घेराउ गर्नसम्म, त्यो पनि संविधानसभा वैठक चलेको अवस्थामा नदिनु ठिकै हो । तर, सो सडकवाट आवत-जावत गर्न, हिँड्न, शान्तिपूर्ण तरिकाले अर्कै ठाउँमा जाने जुलुसमा हिँडन रोक्नुपर्ने अवस्थै थिएन । सडकमा काँडेतार राखेर आवत-जावत रोक्नुपर्ने कारण नै थिएन । नेपालको अन्तरिम संविधानले नेपालमा हिँडडुल आवत जावत, जुलुस प्रदर्शन गर्न छुट दिएको छ ।

तर, यो बेइमान सरकार आपराधिक मानसिकता बोकेर विना हतियारको जुलुसमा अवरोध गर्छ र झडप गरेर टाउकोमा लाठी प्रहार गर्छ र यसको नाम लोकतन्त्र राख्छ । संसदीय व्यवस्थाको लोकतन्त्र यस्तो हुन्छ । सरकारले कानुन मिच्ने र जनतालाई प्रहार गर्न पाउने । तर, जनताले संवैधानिक अधिकार प्रयोग गर्दा पनि मुद्दा मामिला खेप्ने र अंगभंग हुनुपर्ने । अनि मरेमा पनि सरकारका पदाधिकारीलाई मुद्दा नलाग्ने व्यवस्थाको नाम संसदीय कांग्रेस एमालेको व्यवस्था हो ।

बानेश्वरमा जुलुसलाई सडकमा नरोकेर सडकको दायाबाँया सुरक्षा गरेर बसेको भए झडप हुँदैनथ्यो । झडप नभएको भए जनता र प्रहरी घाइते हुँदैनथे । देश र जनतालाई नोक्सान हुँदैनथ्यो । प्रहरी घाइते बनाएर सोको उपचारको नाममा पनि भ्रष्टाचार गरेर पैसा खान पल्केको यो सरकार कति बदनाम छ ।

पहिला निरंकुश शासन थियो । सेना प्रहरी पनि ब्यारेकमा मात्र सीमित थिए । एउटा राजाका परिवार जोगाउनु सेना प्रहरीको कर्तव्य थियो । माओवादी पनि जनयुद्धमा थियो । सेना प्रहरीसँग सिधा लडाइँ हुन्थ्यो । अब माओवादी पनि पुँजीवादी व्यवस्थाको सरकार चलाउने अवस्थामा आइपुग्यो । कांग्रेस एमालेको राजा पनि गयो । उनीहरु पनि पुँजीवादी व्यवस्थाका नै हुन् ।

भ्रष्टाचारी समाउनु सेना तथा प्रहरीको कर्तव्य नै हो । यो देश र जनताका निम्ति काम गरेको नै ठहर्छ ।

तर, सेना प्रहरी सबैलाई थाहा छ, कांग्रेस एमालेका कारण देश विश्वको गरिब राष्ट्रमध्ये परेको छ । यो देशमा भ्रष्टाचार पनि उनीहरुकै कारणबाट भएको हो । यो देश विकास नभएको कारण पनि तिनै हुन् । किनकि यो देशमा ०४७ देखि ०७१ सम्म (केही महिनाबाहेक ) २५ वर्ष शासन उनीहरुले नै चलाएका हुन् । पञ्चायत नामले ३० वर्ष चलाएका हुन् । तर, देश हरिकंगाल पारे । अहिले देशका युवा विदेशीलाई बेचेर त्यसको रकमले तलब भत्ता र भ्रष्टाचार गरिरहेका छन् । यो कुरा सेनाका सकल दर्जाका र प्रहरीका सबै जवान अधिकृतले बुझेका छन् । देखेका छन् । अब यिनको आदेश मानेर नयाँ आएको पुँजीवादी व्यवस्थाका सञ्चालक माओवादीविरुद्ध किन जाइलाग्छन र ? ती भ्रष्टाचारीको संरक्षण गर्न, ती राष्ट्रद्रोहीको रक्षा गर्न सेना प्रहरी किन लाग्ने ?

यो सरकारले सेनाका निम्ति, प्रहरीका निम्ति कुन संरक्षण गरेको छ र ? राशन ठेक्काका नाममा यी दलका मन्त्री भ्रष्टाचार गरिरहेका छन् । लत्ताकपडाका नाममा भ्रष्टाचार गरिरहेका छन् । उपचार र कल्याणकारी कोषको दुरुपयोग गरिरहेका छन् । मन्त्रीकहाँ बस्ने ती सेना, प्रहरीले यो प्रत्यक्ष अनुभव गरिरहेका छन् । सिपाहीलाई नोकरसरहको व्यवहार गरेको कुरा यिनीहरुले बिसर्ेेका छैनन् । सेनालाई ब्यारेकमा सम्म नराख्ने यो जाडो र वर्षायाममा पालमा सुताउने । अनि मन्त्रीचाहिँ भ्रष्टाचार गरेर विदेशमा समेत घरजम गर्ने यो कुरा सेना प्रहरीले बुझेका छैनन् र ?

त्यसैले अब यिनलाई मन्त्री कायम राख्न सेना प्रहरीले किन बलिदान गर्ने ? सेना प्रहरी त देशको, राष्ट्रको, मुलुकको जनताको हो । उनीहरुले त मुलुकको रक्षा गर्ने हो । प्रचलित सेना र प्रहरीको कानुन अनि संविधानले यही भन्छ । अपराधमा संलग्न, भ्रष्टाचारका किरा, मुलुकको शत्रु एवं जनताको शत्रुको संरक्षण सेना प्रहरीले गर्दै गर्दैनन् । यो सेना प्रहरीको कर्तव्य हो । सेना प्रहरी जनताका साझा हुन् । कुनै दल विशेषका होइनन् । कुनै दलको राष्ट्रघाती नेतालाई प्रधानमन्त्री बनाउने खेल सेना प्रहरीले गर्दैनन् । उनीहरुले अब स्पष्ट बुझेका छन् । लोकतन्त्रको मर्म यही हो । सेना प्रहरी पनि सचेत भएका छन् ।

जन्मेदेखि आजसम्म देश र जनताका नाममा काम गरेका, आफ्ना छोराछोरी, परिवार सबैलाई देश जनताका निम्ति होमेका, घरपरिवार मात्रै हैन, आफ्ना सबै पैतृक एव निजी सम्पत्तिसमेत क्रान्तीका लागि प्रयोग गरेका ती नेता एवं कार्यकर्ताले अहिले पनि देश र जनताका निम्ति, गरिव र किसान मजदुरका निम्ति आवाज उठाइरहेका छन् । शोषित पीडित, जातजाति, वर्गका निम्ति काम गरिरहेका छन् भने तिनीहरुलाई हरेक सत्तामा मोज गर्न पल्केकाले विखण्डनकारी, आतंककारी, अराष्ट्रिय तत्व आदि भनेर दमन गरिरहेका थिए ।

अब गणतन्त्र नेपालका सेना प्रहरीले देशको ढुकुटी मासेर खाने, जनताको गाँस खोसेर विदेशमा घरजम गर्ने अनि साना कर्मचारी, प्रहरी सेनाको बजेटमा समेत भ्रष्टाचार गर्ने दल र तिनका नाइकेहरुलाई सत्तामा राखिराख्न दिनुहुँदैन । नेपाली जनताका छोराछोरीविरुद्ध अब सेना प्रहरीले भ्रष्टाचारीलाई जोगाउने काम गर्ने छैनन् ।

यो कुरा सरकारमा बस्नेले नबुझेर, सेना प्रहरी देखाएर विपक्षीलाई दबाउने कार्य गरिरहेको देखिन्छ । यही रफ्तार केही महिना चलिरहृयो भने सेना प्रहरीले भ्रष्टाचारी मन्त्री र सचिवलाई नै पक्राउ गर्ने छन् । नयाँ शक्तिका दललाई संरक्षण गर्ने छन् ।

यस्तो कार्य कानुनबमोजिमको नै हुने छ । कानुन मिचेको हुने छैन । भ्रष्टाचारी समाउनु सेना तथा प्रहरीको कर्तव्य नै हो । यो देश र जनताका निम्ति काम गरेको नै ठहर्छ । यो अवस्थामा नेपालका नयाँ शक्तिका दल ०६२/०६३ पछि वैधानिक भएका र जन्मेका दल र शाही सेनाबाट नेपाली सेना भएका हाम्रा सेना, प्रहरी अब एक भएर नेपाल मुलुकको हित चिताई काम गर्नुपर्ने वाञ्छनीय छ ।

यसका निम्ति नयाँ शक्तिले पनि धैर्यपूर्वक कार्य गर्नुपर्नेछ । नेपालका सबै राष्ट्रियताहरुको संरक्षण र बलियो संघीय नेपाल बनाउन, एकतावद्ध नेपाल बनाउन, अखण्ड नेपाल बनाउन, नेपाललाई विखण्डन गर्नबाट रोक्न, सबैलाई समान संरक्षण र अधिकार प्रदान गरेर एउटै माला हुन सबै देशको प्रशासन, सेना, प्रहरी र नयाँ शक्तिको एकतावद्धताको आवश्यकता छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment