Comments Add Comment

माधव नेपाललाई मनाउन एमाले बैठक स्थगित

मात्रिका पौडेल
१० चैत, काठमाडौं । माधव नेपाल पक्षले सहमतिका लागि एक दिनको समय मागेपछि एमाले नेताहरुको कार्य विभाजन टुंगो लगाउने भनिएको मंगलबारको स्थायी कमिटी बैठक पछि सरेको छ । मंगलबार नै कार्यविभाजन गरिसक्ने तयारीमा रहेको संस्थापन पक्ष एक कदम पछि हटेको छ ।

KP-madhav-final

महासचिवको प्रस्तावमा कसलाई के जिम्मा ?

पार्टीका दुई बरिष्ठ नेताहरु झलनाथ खनाल र माधव नेपाल दुवैले विदेश विभाग प्रमुख हुने रुची राखेका थिए । पोखरेलले नेपाललाई विदेश विभाग र खनाललाई नीति अनुसन्धान प्रतिष्ठानको प्रमुखमा प्रस्ताव गरेका छन् ।

त्यस्तै उपमहासचिव घनश्याम भुसालले रुची राखेको पार्टी स्कूल विभागको प्रमुख अध्यक्ष ओलीलाई नै प्रस्ताव गरेर उनको सहयोगीमा देवराज घिमिरे र पछि कार्यकारी हुने गरी उपप्रमुखमा शंकर पोखरेललाई प्रस्ताव गरिएको छ ।

अधिकांश केन्द्रीय सदस्यहरुलाई जिल्ला इञ्चार्जमा खटाइएको छ भने अञ्चल इञ्चार्जमा सकेसम्म समावेशी बनाउन खोजिएको महासचिव पोखरेल निकट स्रोतले जनाएको छ ।

महासचिव ईश्वर पोखरेलले उपमहासचिव घनश्याम भुसाल र सचिव योगेश भट्टराईलगायत असन्तुष्ट पदाधिकारीसँग छलफल गर्ने भनेपछि मंगलबार बैठक नबसेको सचिव एवम् प्रचार विभाग प्रमुख प्रदीप ज्ञवालीले बताए ।

नवौं महाधिवेशनबाट केपी ओली अध्यक्ष निर्वाचित भएको करीब साढे आठ महिनापछि एमालेले पदाधिकारी, स्थायी कमिटी, पोलिटब्यूरो र केन्द्रीय सदस्यहरुलाई कामको जिम्मेवारी बुधबारको बैठकले तोक्नेछ ।

महासचिव ईश्वर पोखरेलले पेश गरेको १ सय ८४ सदस्यीय केन्द्रीय कमिटीका सदस्यहरुको कार्य विभाजन प्रस्ताव माधव नेपाल पक्षको समेत अधिकतम सहमतिमा बुधबार पारित गर्न लागिएको हो ।

नेपाल पक्षले असहमतिका बीच महासचिवको प्रस्ताव पारित हुन दिने सोच बनाएको छ । ‘आखिर अब चार वर्ष पार्टीभित्र लड्नु नै छ, जे गर्छन् गरुन्, धेरै रोइकराई गर्दैनौं’ नेपाल पक्षका एक पदाधिकारीले अनलाइनखबरसँग भने ।

यसअघि केन्द्रीय सचिवालयमा महासचिव पोखरेलले कार्य विभाजन प्रस्ताव गर्दा उपमहासचिव घनश्याम भुसाल र योगेश भट्टराईले आश्चर्यमा परेको बताएका थिए ।

‘गुटको यति नांगो अभ्यास होला भन्ने सोचेका थिएनौं’ भुसालले भनेका थिए, ‘तपाईको आत्माले शान्ति पाओस् ।’

भागवण्डा नखोज्न आग्रह

महासचिव पोखरेलले आफ्नो प्रस्तावमा सामान्य हेरफेरको संकेत गरे पनि नेपाल पक्षको माग अनुरुप हेरफेर हुने सम्भावना नरहेको पोखरेल निकट स्रोतले जनाएको छ । ‘उहाँहरु हरेक ठाउँमा गुटको भागबण्डा खोज्नुहुन्छ, तर पार्टीमा अब गुटको आधारमा भागबण्डा हुँदैन’ सचिव पृथ्वीसुब्बा गुरुङले अनलाइनखबरसँग भने ।

नेतालाई कामका ६ क्षेत्र

महासचिव पोखरेलले पेश गरेको कार्य बिभाजन प्रस्ताव अनलाइनखबरले प्राप्त गरेको छ । जसमा पार्टीका नेताहरुलाई मुख्यतः ६ क्षेत्रका काममा खटाउने उल्लेख छ ।

पोखरेलको प्रस्तावमा भनिएको छ- ‘अभ्यास गरिँदै आएका कार्यक्षेत्र र नयाँ प्रकट भएका कार्यक्षेत्रहरुलाई विश्लेषण गर्दा हामीले मूलतः निम्नानुसार छ प्रकृतिका क्षेत्रमा पार्टीशक्ति विन्यास गर्न र तदनुरुप कार्यविभाजन गर्न जरुरी छ – (१) संगठनात्मक क्षेत्र (२) सैद्धान्तिक तथा वैचारिक क्षेत्र (३) प्रचारको क्षेत्र (४) राज्य संचालनको क्षेत्र (५) उत्पादन र निर्माणको क्षेत्र । (६) विदेश सम्बन्धको क्षेत्र ।’

महासचिव पोखरेलले पार्टीको भौगोलिक क्षेत्रको कामका लागि ६० प्रतिशत केन्द्रीय सदस्यलाई खटाएका छन् भने २० प्रतिशत सदस्यलाई विभागीय कामको जिम्मेवारी तोकेका छन् । बाँकी २० प्रतिशतलाई जनवर्गीय संगठन, विभिन्न मोर्चाहरुको इञ्चार्जका रुपमा खटाएका छन् ।

एमालेको विधानअनुसार अध्यक्षलाई समग्र पार्टीको राजनीतिक नेतृत्वको जिम्मा दिइएको छ भने महासचिवलाई संगठनको नेता मानिएको छ । त्यसैले सांगठानिक कार्य विभाजनको प्रस्तावमा महासचिवलाई हस्तक्षेप नगर्ने अध्यक्ष ओलीले सोमबारको बैठकमै बताएका थिए ।

महासचिव पोखरेलले स्थायी कमिटीमा पेश गरेको १ सय ८४ जना केन्द्रीय सदस्यहरुको कार्य विभाजन प्रस्ताव यस्तो छ ।

UML 1 UML 2 UML 3 UML 4UML 5

UML 6

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment