Comments Add Comment

कोइराला र देउवा दुबैले हार्न मिल्दैन

विन्दुकान्त घिमिरे

आगामी भदौ २४ देखि २८ सम्म काठमाडौंमा हुने भनिएको नेपाली कांग्रेसको १३ औं महाधिवेशनमा सभापति पदका सम्भावित उमेद्वार वर्तमान सभापति सुशील कोइराला र  वरिष्ठ नेता शेरबहादुर देउवा हुन् । चुनाव लडेपछि एकजनाले जित्छन्, एकजनाले हार्छन् । तर, यी दुबैजनाका निम्ति हार्नै नमिल्ने चुनाव हो यसपल्टको महाधिवेशन ।

koirala and deuba

दुबै नेताहरुले आफ्नो राजनीतिलाई नै दाउमा राखेर पार्टी सभापतिको चुनावमा जाने तयारी गरेका कारण कांग्रेस महाधिवेशनमा ठुलै महाभारत हुने संकेत देखिएको छ ।

कोइरालाले चुनाव हार्दा बेर्होनुपर्ने पाँच क्षति

१. पार्टीको आन्तरिक प्रतिस्पर्धामा हारेपछि प्रधानमन्त्री पदबाट तत्काल राजीनामा दिनुपर्ने हुन्छ ।

२. सभापति पदको पाँचवर्षे कार्यकाल र प्रधानमन्त्री पदको डेढ वर्षे कार्यकाल निकम्वा भएर बिताएको प्रमाणित हुन्छ ।

३ अहिलेसम्मको सबै साख समाप्त हुन्छ । उनको राजनीति विर्सजनको बाटोमा जान्छ ।

४. गिरिजाप्रसाद कोइरालाले आफ्नो पारिवारिक विरासत जोगाउन  विगतमा गरेका साह्रा  राम्रा-नराम्रा घटनाहरु उजागर हुन्छन् र कोइराला परिवारभित्रको एकता छिन्नभिन्न हुन्छ ।

५. आफ्नो टीमका अरुलाई मौका नदिएको थप आरोप लगाउँदै कार्यकर्ताले पनि कोइरालाको साथ छाड्नेछन् ।

वरिष्ठ नेता देउवाले चुनाव हार्दा व्यहोर्नुपर्ने पाँच क्षति

१. यसअघि दुई-दुई पटक सभापति पदमा हारिसकेका देउवाले अब तेस्रोपटक चुनाव हार्दा राजनीतिक रुपमा उनको सर्बनास हुनेछ ।

२ पार्टी सभापति बन्ने सम्भावना सधैंंका लागि समाप्त हुनेछ र फेरि अर्कोपटक उमेदवार बन्ने मौका प्राप्त हुनेछैन ।

३  सधैं चुनाव हार्ने र भविष्य नभएको नेताका रुपमा पहिचान बन्ने भएकोले कार्यकर्ताहरुले धमाधम देउवाको साथ छाड्नेछन् ।

४. आफ्नो टीममा अरुलाई मौका नदिएको आरोप लाग्नेछ ।

५. कोइराला परिवारको खिलाफमा लाग्नेहरु पार्टीमा कहिल्यै सफल हुँदैनन् भन्ने प्रमाणित हुने भएकाले नेपाली कांग्रेसको देउवा धार समाप्त हुन गई पार्टीभित्र कोइराला परिवारको तानाशाही झन् बढ्छ ।

नेपाली कांग्रेसको आगामी महाधिवेशनमा सुशील र देउवा दुबै पक्षका लागि अनुकूलता र प्रतिकूलता दुबै छन् ।

strong and weak part of koirala and deuba

कोइरालाका अाठ अनुकूलता-

१. १२ औं महाधिवेशन र संसदीय दलको निर्वाचनमा देउवालाई पराजित गरेको नजीरका कारण कोइरालासँग बहुमत छ भन्ने छाप पार्टी पंक्तिमा जीवितै छ ।

२. वहालवाला पार्टी सभापति भएका कारण पार्टी संयन्त्र परिचालन गर्न सहज  छ ।

३. प्रधानमन्त्री पदमा भएका कारण सरकारी संयन्त्र परिचालन गर्न तथा आश र त्राश देखाएर कार्यकर्तालाई  आफ्नो पक्षमा लिन सक्ने अवस्था  छ ।

४. संस्थापन पक्षमा लामो समयदेखि कार्यकर्ता पालेका नेताहरुको संख्या ठूलो छ । उदाहरणका लागि  डा. रामवरण यादव, रामचन्द्र  पौडेल, प्रकाशमान सिंह, सुजाता कोइराला, शशाङ्क कोइराला, डा. शेखर कोइराला, कृष्णप्रसाद सिटौला, डा. रामशरण महत, अर्जुननरसिंह केसी लगायतका नेताहरुले लामो समयदेखि कार्यकर्ता संरक्षण गरेका छन् ।

५. १२ औं महाधिवेशन पछि मिनेन्द्र रिजाललगायत देउवा पक्षका केही नेताहरु संस्थापन पक्षमा लागेका छन् ।

६. गणेशमान र किशुनजीका पालादेखि  कोइराला परिवारको खिलापमा लागेका कार्यकर्ता (३६ से समुह) मध्ये आधाजसोको साथ सुशीलले पाउने सम्भावना यस महाधिवेशनमा पनि  छ ।

७. ०५४ साल पछिका नेविसंघका पूर्वअध्यक्षहरु प्रायः सबै कोइरालाकै साथमा  छन् ।

८. संविधानसभाको दोस्रो निर्वाचनमा नेपाली कांग्रेसले प्राप्त गरेको सफलताको श्रेय कोइरालाले पाउने अवस्था छ ।

sushil

कोइरालाका १२ प्रतिकूल पक्षहरु-

१. पार्टी सभापति पदको पाँच वर्ष र प्रधानमन्त्री पदको डेढ वर्षको परीक्षामा कोइराला असफल भएका छन् ।

२. निर्वाचित भ्रातृसंस्था विघटन गरी अधिवेशन गराउन नसकेको अपजसको एकलौटी भागिदार पनि कोइराला नै भएका छन् ।

३. १२ औं महाधिबेशनपछि जति भ्रातृसंस्थाका अधिवेेशन भए, विवादास्पद डीएलए बाहेक सबैमा संस्थापन पक्षको हार भएको छ र यसको अपजस कोइरालाकै टाउकोमा गएको छ ।

४. १२ औं महाधिवेशनमा जस्तो मेरो अन्तिमपटक हो, एकपल्ट मौका दिनुहोस् भन्दै टिठ्याउलो अनुहार लगाएर मत माग्ने अवस्था  यसपटक सुशीलसँग छैन । उनी परीक्षण भइसकेका छन् ।

५. संस्थापन पक्षमा धेरै उपगुटहरु छन्, ती उपगुटहरु असन्तुष्ट भएका कारण पदाधिकारीको टिम मिलाउन सजिलो छैन ।

६. कोइराला पार्टी सभापति र प्रधानमन्त्री रहँदा लाभ पाउने जमात सानो छ । लाभ नपाएका कारण भित्रभित्रै असन्तुष्ट हुने जमात ठूलो हुँदै गएको छ ।

७. संस्थापन पक्षकै उपसभापति रामचन्द्र पौडेल र महामन्त्री प्रकाशमानसिंहले सभापति पदमा उमेदवार घोषणा गर्दै कोइरालाप्रति अविश्वासको वातावरण सिर्जना गरेका छन् । एक/डेढ सय भोट तलमाथि गर्ने हैसियतका अर्जुननरसिंह केसी पनि सुशील कोइरालाले डा. रामशरण महतलाई च्यापेका कारण र कृष्ण सिटौलालाई महामन्त्री बनाएका कारण त्यही टीममा बसेर बदलाको राजनीति गरिरहेका छन् ।

८. १२ औं महाधिबेशनका क्रममा  दिइएका गोप्य आश्वासनहरु  पूरा नगरेको भन्दै अमरेशकुमार सिंह, मानबहादुर विश्वकर्मा लगायतका केही नेताहरु कोइरालाको विरोधमा उत्रिएका छन् ।

९. निजी सचिवालयमा कार्यकर्ताले नचिनेका स्वार्थीहरुको हालीमुहाली बढ्दै गएको छ ।

१०. अघिल्लो महाधिबेशनमा  कोइरालालाई मत दिनमध्ये  केहीले विकल्पको खोजी गरेको देखिएको छ । यस्तो संख्या करिव ५ सय जति हुन सक्छ भन्ने कुरा उनीहरुसँगका कुराकानीका क्रममा प्रष्ट भएको हुन्छ ।

११. कोइरालासँग सक्रिय राजनीति गर्ने उमेर सीमित छ ।  नागरिकतामा उमेर घटाइएको भए पनि उनी ८० वर्षको हाराहारीमा पुगेका छन् ।

१२. कार्यकर्ताले बुझ्ने शैलीमा बोलेर वा अखबारमा लेखेर आफ्ना कुरा स्पष्ट राख्ने शैली कोइरालामा कमजोर छ ।

देउवाका ९ अनुकुलता

१. १२ औं महाधिवेशनपछि सम्पन्न भ्रातृ संस्थाका महाधिवेशनमा आफ्नो पक्षले जितेका कारण पार्टीभित्र देउवा बलिया छन् भन्ने छाप कार्यकर्ता पंक्तिमा परेको छ ।

Deuba२. कोइरालाको विकल्पमा देउवाबाहेक अर्को नेताले आँट गरेको छैन । ठूलो इतिहास बोकेको र योगदान भएको, अन्तर्राष्ट्रियरुपमा चिनिएको नेतालाई पार्टी सभापति बन्नबाट बञ्चित गर्दा नेपाली कांग्रेसलाई नोक्सान हुन्छ भन्ने भावना पछिल्लो समयमा कार्यकर्तामा विकास हुँदै गएको छ ।

३. एकपटकका लागि अन्तिम मौका भन्दै १२ औं महाधिवेशनमा मत मागेका सुशील कोइरालाको पाँचवर्षे कार्यकाल ज्यादै निराशाजनक रुपमा बितेको र पार्टी संगठन लथालिङ्ग भएको अवस्थाको लाभ देउवाले उठाउने सम्भावना छ ।

४. देउवा आँटिला नेताका रुपमा चिनिन्छन् । विगतमा प्रतिकूल अवस्थामा प्रधानमन्त्री हुँदा पनि देउवाले मुलुकका लागि दीर्घकालीन महत्वका केही काम गरेको महसुश कार्यकर्ताले गरेका छन् । जस्तै- महाकाली सन्धि, भूमिसुधार ऐन संशोधन, कमैया मुक्ति, महिला आयोग, दलित आयोग गठन । यद्यपि अनुकुल समयमा प्रधानमन्त्री बन्दा पनि कोइरालाले यस्ता उल्लेखनीय कुनै काम गरेको देखिएको छैन ।

५. नेपाली कांग्रेस अहिले जुन ढंगले समावेशी छ, त्यसमा देउवाको योगदान छ ।

६. देउवा पक्षमा शक्ति केन्द्र (उपगुट) हरुको संख्या कम छ । अर्थात देउवा पक्षमा सभापति  पदका आकांक्षीहरु अरु छैनन् । अन्य पदमा पनि धेरै आकांक्षी छैनन् । आफ्नो समुहलाई एक ढिक्का राख्न देउवा सफल छन् ।

७. अघिल्लोपटक कोइरालालाई भोट दिनेमध्ये ३० प्रतिशत मतदाता कोइरालासँग असन्तुष्ट छन्, जसको मत देउवाले पाउने सम्भावना छ ।

८. तेस्रो विकल्प नभएको अवस्थामा देउवालाई लाभ पुग्न सक्छ ।

९. एकपल्ट पनि मौका नपाएको नेताप्रति कार्यकर्ताको सहानुभूति जाग्ने गरेको विगतमा देखिएको छ । यसपटक त्यसको लाभ देउवालाई हुन सक्छ

देउवाका १६ प्रतिकुल पक्षहरु-

१. राज्य संयन्त्र र पार्टी संयन्त्र दुबै देउवाको खिलापमा छन् ।

२. सुशील कोइरालाबाहेक अरुका पक्षमा संस्थापनभित्र सहमतिको सम्भावना नदेखिएकाले सुशील नै उमेदवार बन्ने सम्भावना प्रबल छ, जसका कारण हार्नै नमिल्ने चुनावमा पार्टी सभापति तथा प्रधानमन्त्री कोइराला उमेदवार बन्ने सम्भावना भएकाले धाँधलीको सम्भावना हन्छ । क्रियाशील सदस्यता वितरण तथा नवीकरणमै यो संकेत देखिइसकेको छ । सदस्यता छानविन समितिका संयोजक नरहरि आचार्य  कोइराला पक्षका प्रमुख रणनीतिकार हुन् ।

३. ६० र ४० को भागवण्डामा सरकार र पार्टी चलेका कारण अपजसको भागिदार कोइराला मात्रै होइनन् देउवा पनि हुन् भन्ने प्रचार-प्रसारलाई चिर्न देउवाले सकेका छैनन् ।

४. १२ औं महाधिवेशनपछिको पाँच वर्षे अवधिमा संस्थापन पक्षका कुनै पनि नेता तथा कार्यकर्तालाई  खुलारुपमा आफ्नो पक्षमा तान्न  देउवाले नसकेका कारण संस्थापन पक्ष नै पार्टीभित्र ठूलो छ भन्ने मनोभावना देखिएको छ  ।

५. कार्यकर्ताको मूल्याङकन गर्ने मामिलामा संस्थापन पक्षजस्तै  देउवा कमजोर  छन् ।

६. कार्यकर्तालाई संरक्षण गर्ने नेताहरु संस्थापन पक्षका तुलनामा देउवा पक्षमा थोरै छन् । आफूले पाएको ४० प्रतिशत भागवण्डामा कार्यकर्तालाई संरक्षण गर्ने नेताहरुलाई ठाउँ दिन चुक्दा यो अवस्था आएको हो । उदाहरणका लागि खुमबहादुर खड्का, गोपालमान श्रेष्ठ, विमलेन्द्र निधि, बालकृष्ण खाण, प्रकाशशरण महतलगायत कार्यकर्तालाई संरक्षण दिने नेताहरु देउवा पक्षमा थोरै छन् र यिनीहरु वीच पनि आपसी अविश्वास छ ।

७. २०५४ सालपछि नेविसंघको नेतृत्वमा आएको युवा पुस्तामा  देउवाको पकड कमजोर हुँदै गएको छ ।

८. देउवा पक्षमा नेतृत्वको विकल्प साँघुरो भएकाले नयाँ पुस्ता आफ्नो भविष्यका संरक्षणका लागि असन्तुष्टिका बाबजुद पनि संस्थापन पक्षमै बसिरहेका छन् । अर्थात देउवाको पक्षमा खुल्न सकेका छैनन् ।

९. एकद्वार प्रणाली र टाढा (बूढानीलकण्ठ) को बसाइका कारण कार्यकर्तासँग देउवाको प्रत्यक्ष सम्पर्क तथा सम्वाद कम छ ।

विन्दुकान्त घिमिरे
विन्दुकान्त घिमिरे

१०. कृष्णप्रसाद भट्टराईको निधनपछि उनका कार्यकर्ता तथा अनुयायीलाई संरक्षण गर्न देउवा चुकेका छन् ।

११. देउवा पक्षका मुख्य हस्ती खुमबहादुर खड्काको भूमिका संदिग्ध  छ ।

१२. १२ औं महाधिवेेशनमा भएको संगठनभन्दा १३ औं महाधिवेशनमा देउवाको पक्षमा के-के सुधार भयो, त्यो अहिलेसम्म देखिन सकेको छैन ।

१३. कोइरालाका कमजोरीको अपुताली आफूलाई स्वतः आउँछ भन्ने कुरामा देउवा भर परेका छन् ।

१४. देउवाको निजी सचिवालय १२ औं महाधिवेशनको बेलाको भन्दा पनि अव्यवस्थित हुँदै गएको छ ।

१५. देउवा उमेरको हिसाबले कोइराला भन्दा पाँच वर्षमात्रै कान्छा हुन् त्यसैले उनको पनि सक्रिय राजनीति गर्ने उमेर सीमित छ । कोइरालाका उत्तराधिकारीहरुमा यो समस्या छैन । तर, देउवाको उत्तराधिकारी को हो भन्ने कुरामै समस्या छ ।

१६. कार्यकर्ताले बुझ्ने शैलीमा बोलेर वा अखबारमा लेखेर आफ्ना कुरा स्पष्ट राख्ने शैली देउवाको पनि कमजोर छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment