Comments Add Comment

‘माधव नेपाल पनि डनको नेता हुनुभयो’ (भिडियोसहित)

नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले युवा संघमा डन, गुण्डा, रक्तचन्दन तस्कर र रकम संकलकहरु जम्मा भएको आरोप लगाएपछि युवा संघ पुनः चर्चामा छ । संघले हेटौडाको विस्तारित बैठकबाटै माधव नेपालप्रति भत्र्सना गर्दै आरोप पुष्टि गर्न चुनौति दिएको छ । अर्कोतिर नेपाल पक्षका युवा नेताहरुले समानान्तर समिति गठन गरेका छ ।

युवा संघका महासचिव राजीव पहारीले भने महेश बस्नेतले सिंगो पार्टीलाई लगाएको गुन बिर्सिएर माधव नेपाल बैगुनी बनेको आरोप लगाएका छन् ।
yuba sang_2

युवा संघलाई डन र गुण्डाहरुको संगठन हो भन्दा हुने भयो होइन त अब ? यो त एमालेकै बरिष्ठ नेता माधव नेपालले नै भनेपछि अरुले भन्न के बाँकी रह्यो र अब ?

एमालेका बरिष्ठ नेता, मुलुकका पूर्वप्रधानमन्त्री कमरेड माधव नेपालजस्तो व्यक्तिले युवा संघका बारेमा जुन अभिव्यक्ति दिनुभएको छ, त्यसप्रति युवा संघको दोस्रो विस्तारित बैठकले खेद व्यक्त गरिसकेको छ । उहाँजस्तो व्यक्तिले यति तल झरेर यस्तो अभिव्यक्ति दिनुहोला भन्ने सोच्न पनि नसकिने हो । तर उहाँ अत्यन्तै अराजनीतिक, अशिष्ठ र युवा संघ सिध्याउन हिँडेका केही कामचोर व्यक्तिहरुको घेराबन्दीमा पर्नुभयो ।

हिजो माधव नेपाल प्रधानमन्त्री हुँदा, उहाँलाई सडकबाट पछार्ने भनेर माओवादीले सात दिने आम हड्ताल गर्दा यही युवा संघ त्यसको विरुद्ध जनतालाई लिएर सडकमा उत्रिएको थियो । त्यतिबेला उहाँको नजरमा युवा संघजस्तो वैचारिक, क्रान्तिकारी र जुझारु संगठन अरु थिएन । महेश बस्नेत जस्तो जुझारु क्रान्तिकारी युवा नेता उहाँले कोही देख्नुभएको थिएन । आज युवा संघले संस्थागत निर्णयको पक्षमा उभिँदा, सामाजिक सदभाव र राष्ट्रिय एकताको पक्षमा उभिँदा डन, गुण्डा, अराजक, रक्तचन्दनको संगठन भयो भन्नु, यो उहाँको पतनको शुरुवात हो जस्तो लाग्छ । उहाँ गलत व्यक्तिको बहकाउमा लागेर बोल्नुभयो, यसले उहाँलाई पछि पिरोल्नेछ ।

माधव नेपालजस्तो व्यक्तिलाई युवा संघको बारेमा बोल्न अरुले बहकाउमा लैजान सक्छन् र ?

नेताको चेतनास्तर र सोचाइ जस्तो छ, त्यही कुरा अभिव्यक्त गर्ने हो । माधव नेपालले जुनखालको अभिव्यक्ति सिंगो युवा संघप्रति, सम्पूर्ण नेपाली युवाहरुमाथि जुन लान्छना लगाउनुभयो, यसलाई प्रमाणित गरेर देखाउन उहाँसमक्ष आग्रह गर्छु । नेताले आवेग र उत्तेजनामा अभिव्यक्ति दिनुहुँदैन । यो अभिव्यक्ति उहाँकै निम्ति गलपासो बन्नेछ । संगठनका विधि, प्रक्रिया र घोषित निर्णय नमान्ने अराजक व्यक्तिले उहाँलाई उत्तेजनामा ल्याए । यसलाई उहाँले सच्याउनुहुनेछ भन्ने विश्वास छ ।

अरुले लगाएको आरोप भए पुष्टि गर्न चुनौति दिनु ठिकै होला, तर, एमालेको १५ वर्ष नेतृत्व गरेको नेताले भनेको कुरालाई पुष्टि गर्नु पर्छ र ?

होइन, यो कुरा त कामरेड माधव नेपालले पुष्टि गर्नैपर्छ । यो ख्याल-ख्यालको कुरा होइन । उहाँजस्तो नेताले जुन कुरा बोल्नुभएको छ, त्यसले उहाँलाई भविष्यमा भत्भति पोल्नेछ । उहाँले देखाउनुपर्‍यो, युवा संघले कहाँ रक्तचन्दन राख्यो ? युवा संघले कहाँ कोबाट पैसा संकलन गर्‍यो ? युवा संघले कहाँ गुण्डागर्दी गर्‍यो ? यो कुरा त उहाँले पुष्टि गर्नैपर्छ ।

एउटा व्यक्तिको कुरा अर्कै हो, तर उहाँले त सिंगो युवा संघलाई लान्छित गरेपछि त्यसको पुष्टि गर्ने दायित्व पनि उहाँँकै हो । उहाँजस्तो नेताले यस्तो गैरजिम्मेवार कुरा गर्न सुहाउँछ ?

माधव नेपालले जुन ढंगले अभिव्यक्ति दिनुभयो, यसबाट मलाई एकदम दुःख लागेको छ । उहाँको अभिव्यक्ति शैली, सोच्ने शैली देखेर अचम्म परेँ । यसबाट उहाँको उचाइ घटेको छ । यही युवा संघ नेपाल जुझारु क्रान्तिकारी र पार्टीका भातृ संगठनमध्ये सबैभन्दा गतिशील भन्ने उहाँ नै हो ।

तीन महिनाअघि त्यस्तो प्रशंसा गर्ने नेताले अहिले तपाईहरुलाई यस्तो आरोप लगाउनुमा केही न केही कारण त होला नि ?

युवा संघ नेपालले जब जब राष्ट्रिय राजनीतिमा तरंग दिने ढंगले गतिबिधि गर्छ, त्यसबेला युवा संघभित्रै खेलोमेलो गर्ने र संगठनलाई कमजोर बनाउने प्रवृति बिगतदेखि नै छ । यसअघि पनि बुटवल महाधिवेशनअघि महेश बस्नेत युवा संघको अध्यक्ष दोहोरिनै हुँदैन भनेर जसले अभियान चलाए,उनीहरु नै बुटवलमा महेश बस्नेतको टाङमुनि छिरेर उपाध्यक्ष र सचिव जित्न सफल भए । तीनै साथीहरु आज संगठनको पद्दति, नियम, विधान केही मान्दैनौं भन्दै पार्टीका नेताहरुलाई उचालेर हिँडेका छन् । उनीहरु जुन थालमा खायो, त्यही थालमा फोहोर गर्दै हिँडेका छन् । तिनै अराजनीतिक र गैरजिम्मेवार मान्छेहरुकमो चंगुलमा परेर माधव कमरेडले आफ्नो कद घटाउदै हुनुहुन्छ ।

तपाईहरुले माधव नेपालमाथि कारवाहीको माग गर्नुभएको छ, माधव नेपालले त युवा संघ डनहरुको भयो भनेका छन्, लडाइ त माधव नेपालसँग पो शुरु भयो होइन त ?

कमरेड माधव नेपाल पार्टीको आदरणीय नेता हुनुहुन्छ । देशभरका युवा संघका लाखौं कार्यकर्ताको पनि नेता हुँ भनेर उहाँले बोल्नुपर्ने हो । उहाँले युवा संघलाई डनहरुको संगठन भनेपछि त उहाँ पनि डनको नेता हुनुभयो नि ।

yuba sangयदि युवा संघ गुण्डाहरुको संगठन हो भने त माधव नेपाल पनि गुण्डाहरुको नेता हुनुभयो । यदि डनको संगठन हो भने उहाँहरुले यस्तो संगठनमा किन बस्नु, छाडेर हिँडे भयो नि त ।

तर, म माधव नेपाल कमरेडलाई अत्यन्त सम्मान गर्छु, उहाँले त्यो सम्मान देशभरिका युवा कार्यकर्ताबाट पाइरहनका लागि आफूले बोलेको कुरा रियलाइज्ड गर्नुपर्छ । युवा संघ नभएको भए, युवा संघका नेता कार्यकर्ता नांगो हात वाइसिएल र माओवादी ज्यादती विरुद्ध मैदानमा लड्न नउत्रिएका भए माधव नेपालसहित एमालेका नेताहरुको हालत अहिले के हुन्थ्यो ?

पहिलो संविधानसभाको पहिलो चुनावमा के भएको थियो ? हामीले सम्झाइ रहनु पर्दैन । उहाँ जस्तो नेताले खोलो तरेपछि लौरो बिर्सिनु हुदैन ।

महेश बस्नेतले गर्दा युवा संघ डनवादी भयो भन्ने चिन्ता हो रे नि त माधव नेपालको त ?

यो त झन् आपत्तिजनक कुरा हो । हिजो त्यही महेश बस्नेत लाखौं युवाहरुको नेतृत्व गरेर उहाँको सत्ता जोगाउन माओवादी र वाइसीएलको ज्यादति विरुद्ध सडकमा उत्रिँदा क्रान्तिकारी देख्नुभयो । दशौंपटक मृत्युको मुखबाट महेश बस्नेत बाँचेर पनि पार्टी जोगाउन हिँड्दा महेश बस्नेतजस्तो जुझारु र बैचारिक नेता कोही छैन भनेर माधव कमरेडले नै भन्नुभयो । मलाई के लाग्छ भने, गलत मान्छे, संगठनमा बसेर संगठनकै आत्मभत्र्सना गर्नेहरुले उहाँलाई गलत बाटोमा लैजाँदैछन् । युवा संघको अगुवाइ, महेश बस्नेतले युवा संघको नेतृत्व नगरेको भए संविधानसभामा दोस्रो निर्वाचनमा एमाले दोस्रो स्थानमा आउन सम्भव थियो कि थिएन ? हामीले नदेखेको हो, हाम्रा नेताहरुको हविगत ?

महेश बस्नेतले रिस्क मोलेर युवा संघलाई जुझारु बनाएको हो । लड्ने बेला, पार्टीलाई जोगाउने बेला, माधव नेपाललाई काँध थाप्ने बेला युवा संघ चाहिने, अहिले गुण्डा भन्ने ? उहाँले गुन बिर्सनु भयो, यस्तो बैगुनी हुनुहुँदैन ।

माधव नेपालले व्यक्तिलाई होइन, संस्थालाई आरोप लगाउनुभएको छ । उहाँले भनेजस्तै यस्तो गुण्डा, डन संगठन एमालेले किन राख्ने ? बिघटन गरिदिए भयो नि त ।

तर, युवा संघ त उहाँको अर्कै भइसक्यो नि, दिलु पन्तको नेतृत्वमा फुटिसक्यो नि होइन र ?

कसले भन्यो ? दुईचार जना मान्छेले चिया दोकानमा बसेर हामीले अर्कै समिति बनायौं भनेका भरमा युवा संघ फुट्दैन । यो आफ्नो बिधान अनुसार अघि बढ्छ, संस्थागत निर्णय अनुसार चल्छ । भन्नलाई त जसले जे भने पनि हुन्छ । लक्ष्मण खड्काले म राष्ट्रपति भएँ भने जस्तै हो । संगठन त्यसरी चल्दैन । संस्थागत निर्णय मानेर आउनुस न, अध्यक्ष उपाध्यक्ष बन्न पाइहालिन्छ नि ।

खुट्टा भाँच्ने धम्की दिनुहुन्छ रे, एक जनालाई आक्रमण नै गराउनुभयो रे, अनि कसरी आउँछन् त ?

यति घीनलाग्दो आरोप लगाउन पनि हाम्रा केही साथीहरुले जानिसकेछन् । मलाई अचम्म लाग्न थालेको छ । कुण्ठा र पीडा पोख्न पाइन्छ, तर यसरी घीनलाग्दो हर्कत गर्नु त अति नै भयो । म साथीहरुलाई भन्छु, यति घीनलाग्दो आरोप पनि नलगाउँ, भोलि कोही मर्दा आँशु पनि नआओस् ।

हिजो महेश बस्नेतलाई युवा आन्दोलनको रोलमोडल भन्ने उहाँहरु नै हो । महेश बस्नेतबिना युवा आन्दोलननै चल्दैन भन्ने पनि उहाँहरुनै हो । महेश बस्नेतलाई गौतम बुद्धकै अवतारसमेत भनेर उहाँले चाकडी गर्दा हामीलाई लाज लाग्थ्थ्यो । आज उहाँहरु नै यस्तो हर्कतमा उत्रिनुले पनि विचलन कसरी भइरहेको छ भन्ने देखाउँछ ।

जहाँसम्म अशोक चन्दजीमाथिको आक्रमणको कुरा छ, संगठनले यसको छानविन गर्न समिति गठन गरेको छ । उहाँ हिँड्दा कतै लड्नु भएछ । किन लड्नु भयो, लडेर कहाँ घाउ चोट लाग्यो भन्ने बारेमा संगठनले सोधखोज गरेको छ । उहाँको स्वास्थ्यलाभको कामना पनि बैठकले गरेको छ ।

अब समानान्तर ढंगले अघि बढिसकेका साथीहरुलाई के गर्नु हुन्छ त अब ?

उहाँहरुका गतिविधिको छानविन गर्न उपाध्यक्ष सूर्य ढकालको संयोजकत्वमा छानविन समिति बनेको छ । त्यो समितिले स्थायी समितिमा प्रतिवेदन पेश गरेपछि आवश्यक कारवाही गर्छ । संगठनको विधि नमान्नेमाथि कारवाही गर्छ । कमरेड माधव नेपाललाई भन्छु, पार्टी चल्ने लेनिनवादी संगठनात्मक सिद्धान्त अनुसार होइन ? अल्पमत बहुमतको अधिनस्थ हुने भन्ने लेनिनवादी सिद्धान्त हो । दिलु पन्तजीले आफू अध्यक्ष हुन नसकेको कुण्ठा जुन ढंगले सडकमा पोखेर हिँड्नु भएको छ, त्यसले उहाँलाई नै घाटा हुन्छ ।

युवा संघकै कारण पार्टी फुट्ने अवस्था आयो भन्न थालिसके, तपाईहरुले मिलाउनु पर्दैन ?

हेरौं न पार्टी कसले फुटाउँदो रहेछ । पार्टी फुटाउनेहरुको हविगत विगतमा हामीले पनि हेरेकै हौं । संगठन चल्ने विधि विधानअनुसार हो, युवा संघलाई कमजोर बनाउने प्रयास कसैको पनि सफल हुदैन । युवा संघको विवाद नियतवश कहीँबाट सञ्चालितत भएको हो कि भन्ने मलाई लागिरहेको छ । माधव नेपाल कमरेड यस्ता तत्वबाट जोगिनु नै उहाँका लागि श्रेयस्कर हुन्छ ।

जहाँसम्म मिलाउने कुरा छ, उहाँहरुलाई संस्थागत निर्णय मानेर काममा लाग्नुस भनेर हामीे भनेका छौं । अहिले संगठनको कुरालाई लिएर उहाँहरु व्यक्तिको चरित्र हत्या गर्ने तहमा उत्रिनु भएको छ, यो विषयको हिसाब- किताब त हुन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment