Comments Add Comment

राष्ट्रपति ज्यू ! हेलिकोप्टरमा जानुस्, जनतालाई दुःख नदिनुस्

Ram-baran-yadav

१२ चैत, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादव चीन भ्रमणमा जाने क्रममा बिहीबार झण्डै तीन घन्टा राजधानीको यातायात अस्तब्यस्त भयो । ट्राफिक प्रहरीले पिक आवर भन्ने गरेको विहान १० देखि अपरान्ह १ बजेसम्म राजधानीको सवारी आवागमन लगभग ठप्प भयो ।

विहान कार्यालय समयमा उसै पनि काठमाडौंका मुख्य सडकमा सवारीको सहज आवागमन लगभग असम्भव हुन्छ । त्यसमाथि राष्ट्रपतिको सवारीका नाममा ठाउँ ठाउँमा सवारी साधानलाई ट्राफिक प्रहरीले रोकेपछि एकैछिनमा अवस्था भयावह भयो ।

मध्यान्ह चर्को घाममा घण्टौंसम्म सवारी रोकेर बस्नुपर्दा काठमाडौंको जमलमा एक स्कुटर चालक महिला सडकमै ढलिन् । उनलाई उठाएर लैजाने ठाउँ समेत नहुँदा केहीबेर कोलाहल नै मच्चियो ।

बाआओ सम्मेलनलाई सम्बोधन गर्न राष्ट्रपति मध्यहृन साढे १२ बजेतिर त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल पुगेका थिए । तर, त्यसको डेढ घन्टाअघिनै प्रहरीले सडक खाली गराइसकेको थियो ।

ट्राफिक प्रहरीले शीतलनिवासदेखि पानीपोखरी, लैनचौर, दरवारमार्ग, रत्नपार्क, सिंहदरवार, माइतिघर, बानेश्वर, तीनकुने हुँदै एयरपोर्टसम्मको सडक खाली गराएको थियो । त्यसको असर भने पूरै राजधानीलाई पर्‍यो ।

एयरपोर्टतर्फ आउने सबै सवारी साधनहरुलाई गौशाला चोकमा नै रोकिएको थियो, जसका कारण चावहिल चोकसम्म जाम थियो । शीतलनिवासदेखि एयरपोर्टसम्मको सडक मात्र खाली गराएको भएपनि यसको प्रभाव भने राजधानीका अधिकांश मुल सडकमा परेको छ ।

विहान ११ बज्दा नबज्दै सुरु भएको सवारी जामको मारमा सर्वसाधारण परे । यात्रुहरु मध्याहृनको चर्को घाममा सवारी साधन कुरेको केरै देखिन्थे भने सवारी चढेकाहरु प्नि समयमै गन्तव्यमा पुग्न सकेनन् ।

कलेजबाट फर्किने विद्यार्थी र घरबाट कार्यालय जाने कामकाजी मान्छेहरुको सवारी चाप हुने समयनै विहानको ९ देखि ११ बजेसम्म हो । यस्तो कुरामा राष्ट्रपति कार्यालय आफैं संवेदनशील भइदिनु पर्ने हो ।

यसरी भीआईपीहरुको सवारीमा सँधै र सबैभन्दा धेरै मार भने आम सार्वसाधारणलाई हुने गरेको छ । सडक खाली गरेर हिड्नेहरुले कहिल्यै आम जनताले पाएको दुःखलाई देख्न गरेका छैनन् ।

हुन त हाम्रो ट्राफिक व्यवस्थापन शैली पनि चुस्त छैन । भित्री सडकहरु अझै ममर्तमै क्रममा छन् भने बाग्मती खोला किनारहरुमा बनाइएको सडक पनि अझै पूर्ण हुन सकेको छैन ।

राजधानीका मूल सडकमा कुनै पनि बेला भीआइपीको सवारी भयो भने सर्वसाधारणले सास्ती भोग्नु पर्ने हुन्छ । तर भिआइपीहरुको सवारीका लागि वैकल्पिक व्यवस्था कसैले सोचेको छैन ।

फोब्र्सका अनुुसार सबैभन्दा बढी ट्राफिक जाम हुने शहर रुसको मस्को हो भने इस्तानबुल दोस्रो, रियो दि जेनेरियो तेस्रो, मेक्सिको चौथो र साओ पाओलो पाँचौ स्थानमा छ । ती देशहरुमा बेला बेला ४८ घन्टाभन्दा लामो समयसम्म ट्राफिक जाम भएको समाचार समेत आएको थियो ।

टेलिग्राफका अनुसार मस्कोमा भीआईपी सवारीमा अत्याधिक सवारी जाम हुने भएपछि हेलिकोप्टर प्रयोग गरिएको छ ।
त्यसैले अब हाम्रा भीआईपीहरुले पनि सोच्ने बेला भयो कि ? शीतल निवास, बालुवाटार, सिंहदरवार लगायत भिआइपी आवागमन हुने सबै ठाउँमा हेलिप्याड छन् ।

जनतालाई घण्टौं सास्ती दिएर राजधानीको यातायातनै अस्तव्यस्त बनाउनुभन्दा हेलिकोप्टर प्रयोग गरे कसो होला ?
आखिर हाम्रा भिआइपीहरु राजधानीकै स्कूलका स्वर्ण जयन्ती र महायज्ञमा त हेलिकोप्टर प्रयोग गर्नछन् भने एयरपोर्टमा हेलिकोप्टरबाटै गए के हुन्छ ? जनतालाई घाममा टट्याएर रमिता देखाउदा भिआइपीलाई मज्जा आउने हो भने अर्कै कुरा ।

नत्र सार्वसाधारणलाई सास्ती नहुने गरी सवारी गर्नु पर्‍यो । राष्ट्रपति ज्यू ! बरु शीतल निवासबाट विमानस्थल हेलिकोप्टरमा जानस्, जनतालाई दुःख नदिनुस् ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment