Comments Add Comment

बेलायती सेना प्रमुखलाई गोरखा सैनिकको कालो झण्डा

१२ चैत, काठमाडौं । राजधानीमा विहीबार दुई विपरीत ध्रुबका दृश्य देखिए । एकातिर बेलायती सेना प्रमुखले सैनिक मञ्चमा सलामी थापिरहेका थिए, त्यहीबेला जंगी अड्डा नजिकै पूर्वगोरखा सैनिकहरुले बेलायती महारानीको तस्वीरसहित विरोध प्रदर्शन गरे ।

Hugson-1

नेपालीहरुलाई बेलायती सेनामा भर्ना गर्न थालिएको २ सय वर्ष पुगेकाे तथा नेपाल र वेलायतकाे दाैत्य सम्बन्ध कायम भएकाे उपलक्ष्यमा बेलायती सेना प्रमुख जनरल निकोलस हग्टन सैनिक दलबलसहित नेपाल आएका हुन् ।

विहीबार बेलायत र नेपालको सेनाले काठमाडौंमा संयुक्त परेड खेलेर गोरखा भर्तीको दुई सयौं वर्षगाँठ भव्यरुपमा मनायो । तर, बेलायती सेनामा जवानी बिताएका सरोकारवाला भूपू गोरखाहरु चाहिँ त्यो खुशीमा सहभागी भएनन् । आफूमाथि विभेद भएको भन्दै उनीहरुले मुखमा पट्टी बाँधेर कालो झण्डा एवं ब्यानर प्रदर्शन गरे ।

‘हामी पनि सँगै खुशी हुन चाहन्थ्यौं,’ पूर्वगोरखा सैनिक ज्ञानराज राईले अनलाइनखबरसँग भने, ‘तर, हाम्रो रगत र पसीनामा होली खेलिएको छ, बेलायतमा बूढाबूढीहरु रोइरहेका छन्, गोरखा सैनिकका छोराछोरी अरबमा दुःख गर्न बाध्य छन्, यो अवस्थामा हामीले कसरी सेलिब्रेशन गर्ने ?’

Gyanraj Raiज्ञानराजको नेतृत्वमा रहेको गोरखा भूतपूर्व सैनिकहरुको संगठन सत्याग्रह संघर्ष समितिले राजधानीमा बेलायतविरुद्ध प्रदर्शन गर्‍यो । प्रदर्शनकारीहरुले १९४७ को त्रिपक्षीय सन्धीको विरोधमा प्रदर्शन गरेका थिए ।

प्रहरीले दिउँसो १२ बजेपछि प्रदर्शनकारीलाई हटाएको थियो ।

बेलायती सेनापति हग्टन प्रधानसेनापति गौरबसमशेर जबराको निमन्त्रणमा नेपाल आएका हुन् । उनको सम्मानमा नेपाली सेनाले विहीबार सैनिक मञ्चमा सम्मान गारत अर्पण गरेको नेपाली सेनाले जनाएको छ । सैनिक मञ्चमा बेलायती सेनाको टुकडीसमेत उपस्थित थियो ।

बेलायती सेना प्रमुखले विहीबार नै प्रधानमन्त्री सुशील कोइरालासँग पनि भेट गरेका छन् ।

‘असिनाले कुट्दा साह्रै खुशी भएँ’

 सैनिक मञ्चमा खुशीयाली मनाउन आएका बेलायती सैनिकहरुको कार्यक्रमलाई विहीबार दिउँसो परेको असिना-पानीले बिथोलिदिएको छ । असीनाले चुटेकोमा आफूलाई खुशी लागेको ज्ञानराजले बताए ।

‘म त आध्यात्मिक मान्छे हुँ, बेलायतसँग गोरखा सैनिकका पितृहरु र नेपाल आमासमेत खुशी छैनन् र रोएकी छिन् भन्ने आज प्रकृतिले पनि देखाइदियो,’ राईले अनलाइनखबरसँग भने, ‘हाम्रो पसीनामा रजाइँ गर्न खोज्दा तिनका टाउकामा असिना वर्षिए, नेपाल आमाले तिनीहरुको कार्यक्रम असफल बनाइन्, म यसमा असाध्यै खुशी भएको छु ।’

विवादास्पद इतिहास 

बेलायती सेनामा नेपालीहरुले सेवा गर्न थालेको दुई सय वर्ष पहिलेको त्यो ऐतिहासिक दिनलाई कसरी सम्झने भन्नेबारे स्पष्ट विवाद छ भन्ने तथ्यका रुपमा लिन सकिन्छ आजको काठमाडौंको यो दृश्यलाई ।

नेपाल सरकार र बेलायत सरकारले यो दिनलाई सुखद र गौरबमय दिनका रुपमा चित्रण गर्न खोजेको प्रष्टै देखिन्छ । तर, बेलायती सेनाका अवकाश प्राप्त गोरखाहरुले भने त्यो दिनलाई कालो दिनका रुपमा लिएका छन् ।

Hugson

सन् १९४७ सेप्टेम्बर ९ तारेखका दिन गोरखा सैनिकबारे बेलायत, भारत र नेपालवीच त्रिपक्षीय सम्झौता भएको थियो । सो सम्झौता अनुसार गोरखाली सेनालाई असमान तलब र सुविधा दिइएको गुनासो गोरखा सैनिकहरुले गर्दै आएका छन् ।

गोरखा सैनिकहरुले समान तलब, पेन्सन र अधिकारका लागि बेलायत सरकारसँग निरन्तररुपमा बैधानिक संघर्ष गर्दै आइरहेका छन् । उनीहरुले लामो संघर्षबाट केही अधिकार पनि प्राप्त गरेका छन्, तैपनि सन्तुष्ट हुन सकेका छैनन् ।

नेपाल सरकार र नेपाली सेना स्वयंले गोरखा सैनिकको हक अधिकारको लविङ गर्नुपर्नेमा बेलायती सरकारसँग मिलेको गोरखा सैनिकहरु बेखुशी देखिएका हुन् ।

पदमबहादुर गेसो मौन

यसैवीच बेलायती सेनाप्रमुख टुँडीखेल आएका बेला कालो झण्डा देखाउने भन्दै आएका भूतपूर्व गोरखा सैनिक संघ (गेसो) का पदाधिकारीहरु विहीबार एकाएक हराए । सभापति पदमबहादुर गुरुङ पोखरा पुगे भने अन्य पदाधिकारी पनि सडकमा उत्रेनन् ।

यो पनि पढ्नुहोस् 

नेपालले बेलायतलाई पैसा दिन्थ्यो, अहिले माग्ने भयो

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment