Comments Add Comment

बामदेवले भने-अनलाइन भिसा प्रणालीको बिरोध गर्नेहरु राष्ट्रघाती

१३ चैत, काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री वामदेव गौतमले अनलाइन भिसा प्रोसेसिङ प्रणालीलाई राष्ट्रघाती भन्नेहरु नै मुलुकको आधुनिकीकरण विरोधी र राष्ट्रघाती भएको आरोप लगाएका छन् ।

bamdev-Gautam

  • उपप्रधानमन्त्री बामदेव  गौतम । फाइल तस्वीर

उनले अध्यागमन विभागलाई आधुनिकीकरण गर्न तथा सुरक्षित आवागमनका लागि इ भिसा (अनलाइन प्रवेशाज्ञा) प्रणाली कार्यान्वयन गर्न लागिएको समेत प्रष्ट पारेका छन् ।

नेकपा एमाले सञ्चार इलाका परिषदको बैठकलाई शुक्रवार काठमाडौंमा सम्बोधन गर्दै उपप्रधानमन्त्री गौतमले त्यस्तो प्रणाली स्थापित भएमा नक्कली भिसाको समस्या समाधान हुने बताए । उनले भिसाको अन्तिम अनुमति अध्यागमन विभागले नै गर्ने समेत स्पष्ट पारे ।

कुरै नबुझी सरकारले गर्न लागेको राम्रो कामको समेत गलत प्रचार गरिएको भन्दै गौतमले त्यस्तो प्रचार गर्नेहरु राष्ट्रघाती र केही कमिसनखोरहरुबाट निर्देशित भएको आरोप लगाए ।

नयाँ प्रणाली सञ्चालन गर्नेसम्बन्धी प्रस्ताव मन्त्रिपरिषद्को पूर्वाधार विकास समितिमा विचाराधीन छ । सो सम्बन्धमा विभिन्न संसदीय समितिमा छलफल भइरहेको गौतमले जानकारी दिए । ‘प्रवेशाज्ञाको अनुमतिको आवेदन अनलाइनमा भर्न सकिन्छ, त्यसमा आगन्तुकले सबै सूचना दिएका हुन्छन्, त्यो सूचना बाहिर जाँदैन, यो प्रणाली स्थापित नभएसम्म कम्पनीले यो काम गर्नेछ तर अध्यागमन विभाग नै विदेशीलाई सुम्पन लागेको भन्ने कुरा शतप्रतिशत गलत हो,’ गौतमले भने ।

नेपाली नोट र मेसिन रिडेबल पासपोर्ट विदेशमा छापिएको दृष्टान्त दिँदै उनले भने, ‘हिजो एमआरपी लागु गर्ने बेला पनि यस्तै गलत प्रचार भएको थियो । यसबाट राष्ट्रघात कहाँ भयो ?’

बेलायत लगायत विकसित मुलुकले पनि प्रवेशाज्ञाका अनलाइन प्रणालीको जिम्मेवारी त्यहाँको सरकारले अनुमति वा विश्वास गरेको कम्पनीले गर्ने गरेको बताए ।

गृहमन्त्री गौतमले नेपालमा विदेशी गुप्तचरी छ्यापछ्याप्ती आइरहेको स्थितिमा नयाँ प्रणाली स्थापित भएमा नेपालमा आउने हरेक विदेशीको विवरण एक-एक घण्टामा नेपाल सरकारले सूचना राख्न सक्ने भएकाले यो विषयलाई राष्ट्रघाती विषयसँग नजोड्न आग्रह गरे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment