Comments Add Comment

कोहलपुरमा खुल्दैछ चारतारे होटल सेन्ट्रल प्लाजा

Hotel-Central-Plaza-Fhoto-6

नविन अर्याल

१३ चैत, काठमाडौं । पर्यटकीय गन्तव्यका रुपमा विकास हुँदै गइरहेको कोहलपुरमा चारतारे होटल सञ्चालनमा आउने भएको छ । मदनचोक नजिक ३० करोड लगानीमा अत्याधुनिक होटल सेन्ट्रल प्लाजा सञ्चालन हुने भएको हो ।

बाँकेको कोहलपुर मध्य तथा सूदुरपश्चिम क्षेत्रका १९ जिल्लाको प्रवेश द्धारका रुपमा रहेको छ । स्वदेशी तथा विदेशी पर्यटकलाई लक्षित गर्दै स्थानिय होटल व्यवसायी देवानन्द अर्यालले चारतारे होटल सेन्ट्रल प्लाजा प्रालि निर्माण गर्न लागेका हुन् ।

अर्यालले कोहलपुरमै विगत पाँच वर्षदेखि सेन्ट्रल प्लाजा होटल चलाउँदै आएका छन् । पाँच तले विल्डिङमा २३ रुम भएको उक्त होटल पनि कोहलपुरको स्तरीय होटलमा पर्छ । रोजगारीका लागि दक्षिण कोरिया पुगेका अर्याल सन् २००८ मा कोहलपुर फर्किएर होटल व्यवसाय सुरु गरेका हुन् ।

बैशाखदेखि निर्माण सुरु

‘सेन्ट्रल प्लाजाको निर्माण कार्य बैशाख ९ गतेदेखि सुरु गर्ने योजनामा छौंं’ सञ्चालक अर्यालले भने- ‘अबको दुई वर्षभित्रमा होटल सञ्चालनमा ल्याइसक्ने लक्ष्य रहेको छ ।’ मदनचोक नजिकै १७ रोपनी क्षेत्रफलमा फैलिने होटलको डिजाइन गर्ने काम सम्पन्न भइसकेको छ ।

निर्माणाधिन होटलको मूख्य भवन ९ तलाको हुनेछ भने पार्टी र सेमिनार तथा स्पा र जीमका लागि एक/एक तलाका छुट्टै भवन निर्माण गरिने बताइएको छ । होटलमा ८० वटा अत्याधुनिक रुमहरु रहनेछन् ।

Hotel-Central-Plaza-Fhoto-3

जसमध्ये ५ वटा प्रेसिडेन्सीयल स्वीट रुम, ५ वटा फेमीली स्वीट रुम, २० वटा सुपर डिलक्स र ५० वटा डिलक्स रुमहरु हुनेछन् । होटलको डिजाइन गर्दा नै रुमदेखि सम्पूर्ण सेवा-सुविधाहरु चारतारे होटलको मापदण्ड अनुसार गरिएको छ ।

कोहलपुरमा आउने सबै खालका पाहुनाहरुलाई उपयूक्त हुने खालका रुमहरु तयार गरिने सञ्चालक अर्यालले अनलाइनखबरसँग बताए । होटलमा ५ सय जना अटाउने पार्टी हल रहनेछ भने सय/सय जना अटाउने दुईवटा सेमिनार हल हुनेछ ।

पश्चिम क्षेत्रकै नमुना

पश्चिम क्षेत्रकै नमुना होटल बनाउन लागिएको सेन्ट्रल प्लाजामा ४ हजार स्क्वायर फिटको आइलेण्ड बारसहितको स्वीमिङ पुल बनाउने योजना छ । जहाँ २० फिट माथिबाट वाटर फल गराएर खोलाको ‘र’मा पौडिएजस्तो महशुस गराइने छ । वर्षमा ९ महिना गर्मी हुने कोहलपुरमा ३० प्रतिशत ग्राहक स्वीमिङ पुलको माध्यमबाट तान्ने लक्ष्य रहेको सञ्चालक अर्यालको भनाई छ ।

होटलको गार्डेनमा कटेज रेष्टुरेन्ट निर्माण गरिने छ भने भित्र थप दुईवटा रेष्टुरेन्ट हुनेछन् । ठूला सुपरमार्केटमा जस्तै होटलमा पार्किङ, स्वीमिङ पुल, गार्डेन, पार्टी तथा सेमिनार हलबाट पायक पर्ने ठाउँमा स्ट्रिट फुड लवी सञ्चालन गरिने बताइएको छ ।

स्ट्रिट लवीमा मम, पानी पुरी, चाट लगायतका खानेकुरा उपलब्ध गराइनेछ । सेवा शुल्क र भ्याट समेत नलगाइने हुँदा ग्राहकले भित्रभन्दा धेरै सस्तोमा खाना पाउने अर्यालले जानकारी दिए ।

Hotel-Central-Plaza-Fhoto-4

होटल परिसरमा मिनी सुपर मार्केट सञ्चालन गरिने छ । जसले गर्दा ग्राहकलाई सपिङका लागि बाहिर जानैपर्ने बाध्यता हुनेछैन् । साथै, पार्लर, स्पा, साउना, ज्याकुजी, जीम हल, टेनिस कोर्ट लगायतका सुविधाहरु पनि होटलभित्रै उपलब्ध गराइने छ ।

एउटा रुमको ३० हजार

सेन्ट्रल प्लाजामा रहने प्रेसिडेन्सियल स्वीट रुममा बस्नका लागि प्रतिरात ३० हजार रुपैयाँ बुझाउनुपर्ने हुन्छ । एनजीओ, आइएनजी, विकास आयोजनाका उच्चाधिकारीलाई लक्षित गर्दै ५ वटा प्रेसिडेन्सियल स्वीट रुम बनाउन लागेको सञ्चालक अर्यालले जानकारी दिए ।

प्रेसिडेन्सियल रुमको औषत अकुपेन्सी १० प्रतिशत हुने अनुमान अर्यालको छ । होटलको गुणस्तरता र सुविधाका लागि यस्तो रुम बनाउन लागिएको हो । ‘यी रुमहरू होटलको मुटु होइनन्, उनले अनलाइनखबरसँग भने- ‘गहनामात्र हुन् ।’

फेमिली स्वीट रुमको प्रतिरात १० हजार प्लस भ्याट तिर्नुपर्ने हुन्छ भने सुपर डिलक्सका लागि ५ हजार र भ्याट तिर्नुपर्छ । होटलको गहनाका रुपमा रहेका ५० वटा डिलक्स रुम प्रतिरात २२ सय प्लस भ्याटमा उपलब्ध गराउने अर्यालले जानकारी दिए ।

यस्तो छ सम्भावना

कोहलपुर मध्य तथा सूदुरपश्चिम क्षेत्रको ट्रान्जिट प्वाइन्ट हो । काठमाडौंबाट पश्चिम जिल्लामा जानेहरु एकदिन कोहलपुरमा बस्नैपर्ने बाध्यता हुन्छ । भारतको राजधानी दिल्लीबाट सडकको बाटो हुँदै काठमाडौं आउने पर्यटकहरु पनि कोहलपुरमा बास बस्न आउँछन् । दिल्लीबाट एक दिनको बाटो हिँडेर कोहलपुर आइन्छ, यहाँ एक रात बसेर अर्को दिन काठमाडौं आउन सकिन्छ ।

Hotel-Central-Plaza-Fhoto-2

त्यसमाथि बाँके जिल्लामा पछिल्लो समय व्यवसायीक क्रियाकलाप पनि बढ्दै गइरहेका छन् । नजिकै रहेको मेडिकल कलेजका कारण पनि यहाँ मानिसको भिड लाग्ने गरेको बताउँछन अर्याल ।

कोहलपुरबाट नेपालगञ्जसम्मको बाटो चार लेनको बनाइसकिएको छ । भारतले बोर्डरबाट लखनाउसम्मको १८० किलोमिटर बाटो ६ लेनको बनाउँदै छ । जसले गर्दा यस क्षेत्रमा भारतीय पर्यटकको ओइरो लाग्ने अनुमान गरिन्छ ।

मध्य तथा सूदरपश्चिममा बाक्लिदै गइरहेका एनजिओ आइएनजीओ र विकासे आयोजनाका कारण पनि यस क्षेत्रमा खर्चालु ग्राहकहरु आउने गर्छन् । जसले गर्दा होटलका लगानीकर्ताको ध्यान बाँकेमा तानिएको देखिन्छ ।

बाँकेमा होटलको आकर्षण

पछिल्लो समय पाँचतारे सोल्टी क्राउन प्लाजाले बाँकेमा चारतारे होटल निर्माण गरिरहेको छ भने अर्को चारतारे होटल कृष्ण निर्माणको चरणमा रहेको छ । यसअघि नै बाँकेमा तीनतारे होटल स्नेहा सञ्चालनमा आइसकेको छ ।

Hotel-Central-Plaza-Fhoto5

सेन्ट्रल प्लाजामा होलिडेज ट्राभल एजेन्सीमार्फत मार्केटिङ गरेर पर्यटक भित्राउने योजनामा रहेको अर्यालले जानकारी दिए । उनले विभिन्न आकर्षक प्याकेज बनाएर पर्यटक ताल्ने योजना बनाएको पनि सुनाए ।

उनको योजनामा रारा प्याकेज, खप्तड ट्रेकिङ, दैलेख तल्लो डुंगेश्वरदेखि कर्णाली चिसापानीसम्म १२ रातको र्‍याफ्टिङ लगायत रहेका छन् । यो र्‍याफ्टिङ रूट संसारकै सबैभन्दा लामो भएको उनको दाबी छ ।

सञ्चालनमा रहेको होटल

कोहलपुरमै सञ्चालनमा रहेको सेन्टर प्लाजामा २३ रुम रहेका छन् भने ३ सयजना अटाउने पार्टी हल र ५० जना अटाउने सेमिनार हल छ ।

यस होटलमा बारसहितको रुफटप गार्डेन, फेमिली रेष्टुरेन्ट, पार्किङ, ७ वटा विभिन्न भेराइटीका पसलहरु सञ्चालनमा रहेका छन् । होटल एक कठ्ठा क्षेत्रफलमा फैलिएको अर्यालले जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment