Comments Add Comment

एमाले फुटाउने जासुसी रिपोर्ट पाएको योगेशको खुलासा

yogesh
१३ चैत, काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले एमाले फुटाउन केही विदेशी शक्ति र अन्तरराष्ट्रिय खुफिया एजेन्सीहरु पछिल्लो सयमा नेपालभित्रै क्रियाशील भइरहेको खुलासा गरेका छन् ।
एमालेमा संस्थापन पक्षसँग असहमत पक्षका नेतासमेत रहेका भट्टराईले पार्टी फुटाउन ठूला शक्तिहरु लागिरहेको आधिकारिक सूचना आफूहरुले पाएको बताएका छन् ।

एमाले सञ्चार इलाका परिषदमा सीमित कार्यकर्ताबीच सचिव भट्टराईले भने-एमाले फुटाउन पछिल्लो समयमा ठूलो खेल भइरहेको छ, हामीभित्र अन्तरविरोध सिर्जना गर्ने र राष्ट्रिय राजनीतिमा कमजोर बनाउन फुटाउने ठूलो प्रयास भइरहेको सूचना पार्टी नेतृत्वसम्म आइसकेको छ ।

उनले अहिले पार्टीभित्र कार्य विभाजनलगायत आन्तरिक विषयमा आफूहरुबीच अन्तरविरोध रहे पनि राष्ट्रिय राजनीतिको सवालमा एमालेमा कुनै विवाद नरहेको प्रष्ट पारे ।

‘कांग्रेससँग भएको ९ बुँदे सम्झौतामा शासकीयस्वरुपमा हाम्रो असहमति हो, तर संविधान बनाउने सवालमा हामीले यसलाई फरक मतका रुपमा लगेका छैनौं’ भट्टराईले भने ‘अरु विषयमा अध्यक्ष केपी ओलीको नेतृत्वमा एमाले एक जुट छ’ ।

प्रचार विभाग प्रमुखसमेत रहेका सचिव भट्टराईले संघीयताका सवालमा एमालेले लिएको अडानका कारण पार्टी फुटाउन अन्तर्राष्ट्रिय डिजाइन बनेको जासुसी रिपोर्ट आफूहरुले पाएको दावी गरे ।

भट्टराईले भने-‘एमाले नफुटाई जातीय संघीयता पनि नहुने र हिमाल पहाड तराई अलग गर्न पनि नसकिने भएपछि हामीलाई फुटाउन अन्तरराष्ट्रिय डिजाइन बनेको जासुसी रिपोर्ट हामीले पाएका छौं । तर, हामी त्यो बाटो हिड्दैनौं ।’

पार्टीमा कार्यविभाजनमा असहमत भएर नोट अफ डिसेन्ट लेख्ने तयारीमा रहेका भट्टराईले पार्टीले गरेको निर्णय भने अक्षरशः पालना गर्ने प्रतिवद्धता जनाए ।

‘हाम्रो असहमति हुन सक्छ, तर पार्टीको बहुमतले गरेको निर्णय मान्नुपर्छ’ भट्टराईले भने ‘यो संस्कार हामीसँग छ, भोलिको पुस्तालाई सिकाउनु पनि पर्छ’ ।

सूर्य थापाको कटाक्ष

सोही कार्यक्रममा भट्टराई प्रमुख रहेको प्रचार विभागका उपप्रमुख तथा एमाले केन्द्रीय सदस्य सूर्य थापाले भने कार्य विभाजनका सन्दर्भमा केही नेताले विवाद सिर्जना गरेर चियाको कपमा तुफान निकालेको टिप्पणी गरे ।

Surya-thapa-finalउनले अध्यक्ष केपी ओली बिरामी भएकाले अध्यक्षको निवासमा बैठक राख्दा समेत नकारात्मक टिप्पणी गरेकोमा समेत नेताहरुको आलोचना गरे । केपीलाई अध्यक्ष निर्वाचित गरिएकाले उनी बिरामी भएको जान्दा जान्दै   पार्टीको बैठक कार्यालय, निवास वा अस्पताल जहाँ पनि बस्न सक्ने थापाले बताए ।

‘बैठक कहाँ बस्यो भन्दा पनि कस्तो निर्णय गर्ने, पार्टी र मुलुकका लागि के योजना बनाउने भन्ने ठूलो कुरा हो’ थापाले भने ‘हिजो माधव नेपालकै घरमा पनि बैठक बसेकै हो, मनमोहनका पालामा अस्पतालमा पनि बैठक बसेकै हो’ ।

माधव नेपालप्रति संकेत गर्दै थापाले भने-‘हिजो गिरिजाबाबुको शयनकक्षमा गएर बैठक गर्ने नेताले आज आफ्नै पार्टीका अध्यक्षको निवासमा बैठक राख्दा टिप्पणी गर्न सुहाउँदैन ।

अध्यक्ष ओलीले निवासमा बैठक राखेको भन्दै माधव नेपाल लगातार अनुपस्थित भएका थिए भने उपमहासचिव घनश्याम भुसाल र सचिव भट्टराईले घरमा बैठक नराख्न आग्रह गरेका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment