Comments Add Comment

६ करोड लगानीमा पोखरामा अक्सिजन उद्योग

१३ चैत, पोखरा । पोखराको औद्योगिक क्षेत्रमा कालीगण्डकी ग्यास उद्योग स्थापना गरिएको छ । उद्योग स्थापनामा करिब ६ करोड रूपैयाँ खर्च भएको छ ।

सो उद्योगले अक्सिजन, नाइट्रोजन र लिक्युट नाइट्रोजन ग्यास उत्पादन गरिरहेको छ । उद्योगले तीन महिनाअघिदेखि परीक्षण उत्पादन गरिरहेको थियो ।

उद्योग स्थापनापछि हाल १४ जनाले रोजगारी पाएका छन् । उद्योगबाट उत्पादित ग्यास गण्डकी र धौलागिरिमा वितरण भइरहेको उद्यमी वामदेव बस्ताकोटीले जानकारी दिए ।

पाँचसय सिलिन्डर ग्यास उत्पादन गर्ने क्षमता रहेको उद्योगले हाल दैनिक २०० सिलिन्डर उत्पादन गरेको उनले बताए । उद्योगबाट उत्पादित ग्यास बिक्रीका लागि पाँच ठाउँमा आधिकारिक विक्रेता राखिएको छ ।

बागलुङ, स्याङ्जा वालिङ, बेँसीसहर र गोरखामा डिलर राखेका उद्योगमा अहिले साना ठूला गरी तीन हजार सिलिन्डर रहेका र दुई वर्षभित्र दुई हजार सिलिन्डर उत्पादन गर्ने लक्ष्य राखिएको छ ।

अक्सिजन ग्यास उत्पादन गर्ने कालीगण्डकी दोस्रो उद्योग हो । यसअघि पोखरा ग्यास उद्योग स्थापना गरिएको थियो । उद्योगले सानो र ठूलो सिलिन्डरमा ग्यास भरेर बजारमा पठाउने गरेको छ ।

“बाह्र र ५५ किलोको सिलिन्डरमा ग्यास उत्पादन गरी बजारमा पठाउने गरेका छौँ” उद्यमी बस्ताकोटीले भने । सानोमा एक र ठूलोमा पाँच किलो ग्यास हुने उनले बताए ।

ग्यास उत्पादनका लागि उद्योगले भारतको बम्बइस्थित केभिके कम्पनीबाट मेसिन र सिलिन्डरमा तीन करोड रूपैयाँ लगानी गरेको छ । दुई रोपनी जमिन ४० वर्षका लागि भाडामा लिएर उद्योग स्थापना गरिएको छ ।

उद्योगले आगामी १० वर्षभित्र कार्बनडाइअक्साइड, आर्गन र नाइट्रोअक्साइड लगायतका ग्यास उत्पादन गर्ने लक्ष्यसमेत लिएको छ ।

उद्योगमा वामदेव बस्ताकोटी, सुरेश बराल, बलराम बडाल, इमानबहादुर गुरुङ, राजन पौडेल, सनत भट्टराई, केशरी तिवारी, क्षेत्रबहादुर बराल क्षेत्री, सूर्यबहादुर रोका, समुन्द्र देवकोटा र किशोर बस्नेतको लगानी रहेको छ ।
। रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment