Comments Add Comment

मुख्यसचिव भन्छन्- खुमलटार जानोस्,१० हजार रुपैयाँ पाउनुहुन्छ

१३ चैत, काठमाडौं । नेपाल सरकारका मुख्य सचिव लीलामणि पौडेल शुक्रबार दिउँसो महत्वपूर्ण सरकारी काम छाडेर काठमाडौंका नदीनाला सफाइसम्बन्धी एक कार्यक्रममा सहभागी भए । त्यहाँ उनले आफ्नै भान्छाको फोहोर भेला पारेर ग्यास उत्पादन गर्न र भात पकाउन सकिने बताए ।

Lilamani-Paudelकाठमाडौंमा ग्यासको अभाव भएका बेला आफूले फाेहोरबाट निकालेको ग्यासले काम चलाएको मुख्यसचिव पौडेलले बताए । यसका लागि १५/२० हजार खर्च लाग्ने उनले जानकारी दिए ।

‘तपाई इच्छुक हुनुहुन्छ भने वैकल्पिक उर्जा प्रवर्द्धन केन्द्र खुमलटारमा गएर म मेरो घरको किचनको फोहोरबाट  ग्यास बनाउन चाहन्छु भन्नोस्, तपाईलाई १० हजार रुपैयाँ पैसै दिएर पठाउँछ’ मुख्य सचिव पौडेलले भने- ‘जानोस्, बनाउनोस् र छिमेकीलाई पनि गराउनोस्, मेरो घरमा हेर्न आउनै पर्दैन ।’

मुख्य सचिव पाैडेलले फाेहाेरबाट ग्यास बनाएकाे काठमाडाैं ७ र ८ नं वडामा हेर्न सकिने जानकारी दिए ।  त्यसैगरी पशुपति क्षेत्रमा समेत गएर हेर्न उनले  राजधानीवासीलार्इ सुझाव दिए । पशुपतिमा चढाएकाे फूल र दूधले ग्यास बनाउन सकिने र किरियापुत्रीहरूलार्इ बिजुलीकाे साटाे त्यही ग्यास दिन सकिने उनले बताए ।

रुद्रमति सफाइ समिति र गल्ली गल्लीले आयोजना गरेको कार्यक्रममा मुख्यसचिव पौडेलले सरसफाइ एवं फाेहोर व्यवस्थापनका सम्बन्धमा गरेको रोचक भाषणको सारांश यस्तो थियो :

                                                             ००००

यो काठमाडौं फोहोर गरेको हामीले हो । अब यसरी फोहोर नगरौं । के नगर्ने भन्दा सार्वजनिकस्थलमा आफूलाई काम लाग्ने कुरा उपभोग गरेर काम नलाग्ने कुरा नफाल्ने । यसो गर्न सकिन्छ । मैले सकिराखेको छु । यो कुनै महाभारत, ठूलो कुरा होइन ।

फोहोर घरभित्रै सिर्जना हुने हो । फोहोर माथिबाट झर्ने पनि होइन, तलबाट आउने पनि होइन । घरभित्रै सिर्जना हुने हो नि त । तपाई हामी मान्छेले गर्ने त हो नि फोहोरको सिर्जना । बाटो हिँड्दा पनि हामीले नै गर्ने त हो नि ।

एउटा, सार्वजनिक स्थलमा नफ्याँकौं । दोस्रो, घरभित्र सिर्जना भएको फोहोरलाई कुहिने र नकुहिने दुई भागमा बाँडौं । यो पनि कुनै महाभारत होइन, सामान्य कमन सेन्सले काम गर्छ । यसमा कुनै लगानी पनि चाहिँदैन । तपाईलाई हदै गाह्रो भयो भने कागजको कार्टुन राखिदिए पनि हुन्छ ल । कागजको कार्टुनमा कुहिने र नकुहिने फोहोर छुट्याएर राखौं ल । यति गर्न कसैलाई पनि पैसा लाग्दैन । सकभन्दा गरीबले पनि गर्न सक्छ ।

नभए दुईवटा प्लाष्टिकको ‘विन’ एउटा रातो र एउटा हरियो ल्याएर रातोमा नकुहिने र हरियोमा कुहिने फोहोर राखे पनि हुन्छ ।

यति गरेपछि कुहिने फोहोरलाई घरमै खाल्डो खनेर पुर्ने ठाउँ छ भने त्यही पुरिदिनोस् । मल हुन्छ । मलबाट कौसीमा खेती गर्नोस्, जमीन छैन भने पनि । कोसीमा खेती गर्‍यो भने कम्तिमा हप्तामा एक दिन भए पनि विषादी हालेको तरकारीबाट त मुक्त भइन्छ ।

अथवा थोरै लगानी गर्न, १० देखि १५ हजार लगानी गर्न सक्नुहुन्छ भने कुहिने फोहोरबाट ग्यास बन्छ । हाम्रो हजार लिटरको पानी ट्यांकी हुन्छ नि, त्यही पानी ट्यांकी अटाउने ठाउँ भए पुग्छ । त्यही पानी ट्यांकीलाई प्रयोग गरेर ग्यास बनाइएको हुन्छ । त्यसले बायो ग्यास निकाल्छ । त्यो ग्यासले एक चौथाइ तपाईको आवश्यकता पूरा हुन्छ । अस्ति ग्यासको सर्टेज भएका बेलामा मैले त्यही प्रयोग गरें ।

अब एक चौथाइ ग्यास चाहिँ हाम्रो घरमा, किचनमा कुहिने फोहोरबाट बन्छ । त्यो कुहिने फोहोरको मात्रा अहिले काठमाडौंमा ७० प्रतिशत छ । घरैभित्र व्यवस्थापन गर्ने हो भने ७० प्रतिशत फोहोर त्यसै कम हुन्छ । बाँकी ३० प्रतिशतचाँहि नगरपालिकाको फोहोर लिन आउने मान्छेलाई तोकिएको समयमा जिम्मा दिने । यति गरेपछि ठोस फोहोरको समस्या समाधान हुन्छ ।

अब नगरपालिकाको काम बल्ल आउँछ । नकुहिने फोहोर संकलन गरेर त्यसबाट पनि रिसाइकल गर्न मिल्ने र नमिल्ने छुट्याउँदाखेरि अर्को दुईतिहाइ जति पुनःप्रयोग गर्न मिल्छ । एकतिहाइ हामी पुनःप्रयोग गर्न सकिँदैन । बेट्रीहरु, इलेक्ट्रोनिक वेस्टेजहरु पुनःप्रयोग गर्न सकिँदैन । त्यसरी रिसाइकल गर्न नसकिने फोहोरहरु हामी प्राविधिक हिसाबले व्यवस्थापन गर्न सक्दैनौं, नगरपालिकाले गर्छ । रिसाइकल गर्ने फोहोरबाट नगरपालिकाले केही पैसा कमाउन सक्छ ।

तपाई हामी व्यक्तिले चाहिँ पहिला : सार्वजनिक स्थलमा फोहोर नगर्ने, दोस्रो : घरभित्र उत्पादन हुने फोहोरलाई दुईभागमा बाँड्ने । तेस्रो, कुहिने फोहोरलाई घरबाट बाहिरै जान नदिने । र, चौथो, नकुहिने फोहोर सम्बन्धित नगरपालिकाको मान्छेलाई जिम्मा लगाउने । यति हामी यहाँ बस्ने सबैले गर्न सक्छौं । यति गर्न कसैलाई समस्या पर्दैन । पर्छ भन्यो भने त्यो बाहनामात्रै हो ।

तपाईहरुलाई यो भनिरहँदा मैले पहिला मेरो घरमा प्रयोग गरेर भनेको छु । अहिलेसम्म नेता अभिनेता सबैले अरुलाई मात्रै अर्ती दिए । आफूले गरेनन् । फोहोर पनि त त्यही हो । नगरपालिकाको कर्मचारीले सफा गर्नुपर्छ भन्दा भन्दै आफूले गरेर फोहोर भएको न हो । ४० लाख मान्छेले सडकमा फोहोर फालिदिएपछि नगरपालिकाका कर्मचारीले सफा गरेर साध्य हुन्छ ?

तपाईले २४ घण्टा फोहोर फ्याँकेको फ्याँकेकै गर्ने, नगरपालिकाको कर्मचारी २४ घण्टामा एकचोटि ठसठसी कन्दै आउँछ, त्यही पनि कहिले तीन चार दिन आउँदैन ।

तर, हामीले आफूले सफा राखेर रुटीन बनायो भने नगरपालिकाको कर्मचारी आउँछ । संसार पनि गरेको त्यही न हो । जापानमा भगवानले सफा बनाइदिएको होइन । युरोप पनि होइन, सिंगापुर पनि होइन । लि क्वानको गार्डले हिजोमात्रै पत्रिकामा लेखेको छ, म बच्चा हुँदा सिंगापुर हाम्रोभन्दा फोहोर थियो भनेर लेख्नुभएको छ । हुँदोरहेछ त । तपाई हामीले पनि गर्न सक्छौं ।

हामीले अहिलेसम्म गरेको के हो भन्दा अरुलाई अर्ति दिने । अरुलाई अर्ति दिने । फलानाले गरेन, फलानाले गरेन भन्ने । सबभन्दा पढेलेखेकाहरुले ठूल्ठूला अर्ति दिने तर सानो काम पनि नगर्ने । डेढ करोडको गाडीमा सानले बसेर, चुरोट खाएर सडकमा ठुटा फाल्ने ।

                                                        ०००००

अस्ति ठमेलमा घरचाँहि झण्डै डेढ अर्ब पर्ने थियो । भाडै उठ्छ होला महिनाको २०/२५ लाख । खिल्लीको पाँच रुपैयाँ पथ्र्यो भन्थे, त्यो चुरोटका ठुटा र बट्टाचाँहि घरबाट निस्कनेबित्तिकै बाटो बिगारेर बनाएको फलामको जालीमुनि फालेको रहेछ । हामीले फलामको गह्रुंगो जाली तानेर निकाल्यौं ।
ठमेलको चोकमा । मुख्य सडकमा । सबभन्दा सुन्दर हाम्रो पर्यटकीय नगरमा । काठमाडौंको पनि एकदम मुटुमा । त्यहाँभित्रबाट हामीले चुरोटका ठुटा र बट्टाहरु निकाल्यौं । यो भन्दा ठूलो अपराधी को हो ? यो भन्दा ठूलो हाम्रो मुलुकको दुश्मन को हो ? भन्नोस् त ।
अनि त्यही मान्छेले ठूलो कुरा गर्छ । चट्ट कार चढेर बाहिर निस्कँदा बित्तिकै एकदम टिपटप टाई लगाएर, संसारका सबैभन्दा महंगा ड्रेस लगाएर, अत्तर छरेर हिँड्ने, घरको अगाडि चाहिँ पाँच रुपैयाँ खिल्ली पर्ने चुरोटका डब्बा र ठुटा फ्याँक्ने ।
हामी सफा गर्न गएका थियौं, ती ठुटाहरुचाँहि फ्याक्यौं । घर बन्द रहेछ । अब एउटा ठुटो देखियो भने ५ हजारका दरले जरिवाना गर्नू, गरिनस् भने तँलाई कारवाही गर्छु भनेर नगरपालिकाको कर्मचारीलाई भनेर आएको छु मैले ।

                                                         ०००००

पहिला हामीले हाम्रो कर्तव्य पूरा गरौं । नागरिकले आफ्नो कर्तव्य पूरा गरिसकेपछि सरकारमा बस्ने कर्मचारीलाई जिम्मेवार बनाउनका लागि सबैभन्दा ठूलो मोराल पावर त्यहाँबाट आउँछ । सबभन्दा ठूलो शक्ति त्यहाँबाट आउँछ । सबभन्दा ठूलो बल त्यहाँबाट प्राप्त हुन्छ । उर्जा त्यहाँबाट प्राप्त हुन्छ । त्यही उर्जाले हो मुलुक रुपान्तरण गर्ने । समाज रुपान्तरण गर्ने ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment