Comments Add Comment

न्यूजिल्याण्ड भर्सेज अष्ट्रेलिया : कसको प्रदर्शन कस्तो ?

Starc Vs McCullum

विश्वकप क्रिकेटको उपाधिका लागि आइतबार न्यूजिल्याण्ड र अष्ट्रेलिया भिड्नेछन् ।

न्यूजिल्याण्ड पहिलो उपाधिको खोजीमा हुनेछ भने अष्ट्रेलिया पाँचौं पटक च्याम्पियन बन्ने प्रयासमा छ । फाइनल भिडन्तसम्मको यात्रा तय गर्दा दुबै टीमका कुन खेलाडीको प्रदर्शन कस्तो रह्यो त ?

अष्ट्रेलिया

aron-Finch-and-Steven-Smith

डेभिड वार्नर

५० को एभरेज सहित ३०० रन बनाएका वार्नर अष्ट्रेलियाको टीमका तेस्रो सर्वाधिक रन स्कोरर बनेका छन् । पर्थमा अफगानिस्तानबिरुद्ध त उनले आफ्नो करिअरकै बेस्ट १३३ बलमा १७८ रन बनाए ।

विश्वकप अघि निकै लयमा देखिएपनि वार्नरको विश्वकप प्रदर्शन मध्यम नै रह्यो । विश्वकपको पहिलो खेलमा इंग्ल्याडबिरुद्ध २२ रन बनाए भने न्यूजिल्याण्डबिरुद्ध ३४ रन जोडे ।  त्यसपछि उनले अर्धशतक पनि बनाउन सकेका छैनन् ।

श्रीलंकाविरुद्ध ९ र स्कटल्याण्डविरुद्ध नटआउट २१ रन बनाए समूह चरणमा । क्वाटरफाइनलमा २४ रनको योगदान गरे । भारतबिरुद्धको सेमिफाइनलमा उनी १२ रनमै आउट भए ।

आरोन फिन्च

फिन्चले पहिलो खेलमै इंग्ल्याण्डबिरुद्ध शतक बनाउँदै प्रतियोगितामा सुखद सुरुवात गरे । उनले १३५ बलमा १२८ रन बनाए । त्यसपछि भने खासै रन जोड्न सकेनन् ।
क्वाटर फाइनलसम्मका अन्य कुनै पनि खेलमा उनले अर्धशतक बनाउन सकेनन् । समूह चरणमा उनको रन १४, ४, २४  र २० थियो । क्वार्टर फाइनलमा पाकिस्तानविरुद्ध उनी २ रनमै आउट भए ।

तर, भारतबिरुद्धको सेमिफाइनल खेलमा उनले ११६ बलमा ८१ रन जोडे । जारी प्रतियोगितामा उनको रन २८० रन पुगेको छ ।

स्टिभ स्मिथ

भारतलाई हराउँदै फाइनलमा पुग्न स्मिथको शतक अष्ट्रेलियाका लागि संजिवनी बुटी बराबर थियो ।

तर, विश्कपमा उनको सुरुवात भने खराव थियो । पहिलो खेलमै इंग्ल्याण्डबिरुद्ध ५ रन बनाएका उनी न्यूजिल्याण्डबिरुद्ध ४ रनमा नै पभेलियन फर्किएका थिए । अफगानिस्तान बिरुद्धको खेलपछि भने उनी राम्रो लयमा देखिए । त्यसपछि उनले ३ अर्धशतक र सेमिफाइनलमा भारतबिरुद्ध शतक बनाए । जारी विश्वकपमा उनल ३४६ रन बनाएका छन् ।

माइकल कलार्क

कप्तान क्लार्कले चोटका कारण पहिलो खेल गुमाए । पानीको कारण बंगलादेशबिरुद्धमा अंक बाँडेपछि उनले खेल्न पाएनन् । तेस्रो खेलमा न्यूजिल्याण्डबिरुद्ध खेले । उनले समूह चरणमा श्रीलंका बिरुद्ध ६८ रनको महत्वपूर्ण पारी खेलेका थिए । स्कटल्याण्डविरुद्ध ब्याटिङ गर्ने मौका पाएका उनले ४७ रन बनाए ।

शेन वाट्सन

पहिलो खेलमा इंग्ल्याडबिरुद्ध डक आउट भएका वाट्सन न्यूजिल्याडबिरुद्ध मात्र २३ रन बनाए । त्यसपछि उनलाई अफगानिस्तानबिरुद्धको खेलमा पहिलो रोजाइमा राखिएन् ।

उनलाई श्रीलंकाबिरुद्धको खेलमा चान्स दिइयो, जसलाई सदुपयोग गर्दै उनले ६७ रन बनाए । क्वार्टरफाइनलमा पाकिस्तान विरुद्ध ६४ रनमा अबिजित रहे । उनले २ विकेट लिनुका साथै २०६ रन पनि बनाएका छन् ।

ग्लेन म्याक्सवेल

जारी विश्वकपमा आफ्नो टीमका लागि चाहिएका बेला म्याक्सवेलले अपेक्षा अनुसार नै प्रदर्शन गरेका छन्  । पहिलो खेलमै उनले इङग्ल्याण्डबिरुद्ध ६६ रन बनाए भने अफगानिस्तान बिरुद्ध ८८ रन जोडे । श्रीलंकाबिरुद्ध केबल ५१ बलमा शतक पुरा गरे । जारी प्रतियोगितामा उनको स्ट्राइक रेट तेस्रो सर्वाधिक हो । बलिङ तर्फ पनि उनले ५ विकेट लिएका छन् ।

जेम्स फल्कनर

इन्जुरीका कारण सुरुका केही खेल गुमाएका फल्कनर उनले ब्याटिङको कमै अबसर पाएका छन् । उनले अफगानस्तानबिरुद्ध पहिलो खेल खेले, जुन खलमा उनले ४४ रन बनाए । तर, उनले ५ खेलबाट ७ विकेट लिएका छन् । उनको उत्कृष्ट प्रदर्शन श्रीलंकाविरुरुद्ध रह्यो, उनले ४८ रन दिएर ३ विकेट लिएका थिए । भारतको तीन विकेट लिने क्रममा भने उनले ५९ रन खर्चिएका छन् ।

ब्राड ह्याडिन

सेमिफाइनलको खेलमा भारतीय ब्याट्म्यान शिखर धवन क्याच ड्रप गरेका उनले अन्य गल्ती भने गरेका छैनन् । उनी लो अर्डरमा निकै इफेक्टिभ देखिएका छन्  ।
उनले न्यूजिल्याडबिरुद्ध महत्वपुर्ण ४३ रन जोडेका थिए । उनले इंग्ल्याण्डविरुद्ध २१ र श्रीलंकाविरुद्धको खेलमा ३५ रनको योगदान दिएका छन् । उनले १४ ब्याट्म्यानलाई डिस्मिस गरेका छन् ।

मिचेल जोनसन

जारी प्रतियोगितामा जोनसन अपेक्षा अनुसार चल्न सकेका छैनन् । उनले अहिलेसम्म मात्र १२ विकेट लिएका छन् । तर, भारतबिरुद्धको सेमिफाइनमा भने उनी आफ्नो लयमा आए ।

उनले विराट कोहली र रोहितको महत्वपूर्ण विकेट लिनुका साथै केबल ९ बलमा २७ रन जोडेका थिए । प्रतियोगितामा उनको राम्रो प्रदर्शन अफगानिस्तानविरुद्ध रह्यो । उनले २२ रन खर्चिएर चार विकेट लिए ।

मिचेल स्टार्क

प्रतियोगिताका सेकेन्ड लिडिङ विकेट टेकर हुन् स्टार्क । उनी अष्ट्रेलियाको बलिङ अट्याकका प्रमुख हतियार बनेका छन् । उनको इकोनोमी पनि मात्र ३.६ को छ ।
न्यूजिल्याडबिरुद्धको समूह चरणको खेलमा उनले एक्लै ६ विकेट चड्काएका थिए । उनले खेलेका सबै खेलमा विकेट लिएका छन् ।

जोश ह्याजलउड

उनलाई पहिलो खेलमा प्लेइङ–११ मा स्थान दिइएको थियो । तर, विकेट लिन असफल रहे । न्युजिलयण्डको खेलमा भने उनी पहिलो रोजाइमा पर्न सकेनन् । अफगानिस्तान बिरुद्ध भने पहिलो रोजाइमा परे र २५ रन दिएर २ विकेट लिए । क्वार्टर फाइनलमा पाकिस्तानबिरुद्ध ४ विकेट लिएपछि उनले सेमिफाइनलमा आफ्नो स्थान बनाए । उनले ४१ रन खर्चिएर भारतको एक विकेट लिएका थिए ।

यी बाहेक अष्टे«लियाको टीममा जर्ज बली, मिचेल मार्स, प्याट कमिन्स र जाभिएर डोहार्टी पनि छन् । बेलीले पहिलो खेलमा इङग्ल्याण्डबिरुद्ध अर्धशतक बनाएका थिए । मार्सले ५ विकेट लिएका थिए ।

न्यूजिल्याण्ड

New-Zealand 1

ब्रेन्डन म्याकुलम

ब्लाक क्याप स्किपर म्याकुलम यो विश्वकपमा निकै राम्रो लयमा देखिएका छन् । उनी सुरुदेखि नै निकै आक्रामक देखिएका छन् । जारी विश्वकपमा उनले फास्टेस्ट अर्धशतक पनि बनाएका छन् । उनको स्ट्राइक रेट पनि सबैभन्दा राम्रो छ  । उनले दक्षिण अफ्रिकाबिरुद्धको खेलमा ३२ बलमै ५९ रन बनाएका थिए । इंग्ल्याण्डबिरुद्ध उनले सर्वाधिक ७७ रन बनाएका छन् । उनले शतक भने बनाउन सकेका छैनन् । उनले अहिलेसम्म ३२८ रन बनाएका छन्, जसमा श्रीलंकाविरुद्ध ६५ र अष्ट्रेलियाविरुद्धको ५० रन समेत छ ।

मार्टिन गुप्टिल

जारी विश्वकपका क्रममा उनी वन डे इतिहासमा दोहोरो शतक बनाउने उनी पाँचौ ब्याट्म्यान बने । उनले वेस्टइन्डिजबिरुद्ध अविजित २३७ रन बनाएका थिए, जुन विश्वकपको इतिहासकै उच्च स्कोर हो ।  बंगलादेशबिरुद्ध पनि उनले शतक प्रहार गरेका थिए । बंगलादेशविरुद्ध १०५ र अफगाननिस्तान विरुद्ध ५७ रन उनको अर्को महत्वपूण पारी हो । जारी विश्वकपमा उनले ५३२ रन बनाएका छन् ।

केन विलियम्सन

विश्वकपअघि उनी राम्रो लयमा देखिएपछि विश्वपकमा भने त्यसलाई कायम राख्न सकेका छैनन् । उनले एउटा मात्र अर्धशतक बनाएका छन् । श्रीलंकाविरुद्ध उनले ५७ रन बनाएका थिए । अष्ट्रेलियाबिरुद्ध १  विकेटको रोमान्चक जित हात पारेको खेलमा भने उनले महत्वपुर्ण ४५ रनको योग्दान दिएका थिए । अहिले सम्म उनले २२२ रन बनाएका छन् ।

रोस टेलर

टेलरले पनि विश्वकपमा मात्र एउटा अर्धशतक बनाएका छन् । उनले ८ खेलमा १८१ रन जोडेका छन् । समूह चरणमा उनले बनाएको रन १४, ९, अविजित ५, १ र २४ थियो । तर, समूह चरणको अन्तिम खेलमा बंगलादेशविरुद्ध भने ५६ रनको योगदान दिए । क्वार्टरफाइनलमा उनले वेष्टइण्डिजविरुद्ध ४२ रन बनाए भने सेमिफाइनलमा दक्षिण अफ्रिका बिरुद्ध ३० रनको योगदान दिए ।

ग्रान्ट इलियट

दक्षिण अफ्रिका बिरुद्धको सेमिफाइनल खेलमा उनले बिजयी छक्का प्रहार गरेका थिए । उनको म्याच विनिङ अविजित ८४ रनको सहयोगमा न्यूजिल्याण्ड पहिलो पटक फाइनल पुगेको छ । उनले ८ खेलमा २२७ रन जोडेका छन् । उनले अन्य खेलमा अर्धशतक पनि बनाउन सकेका थिएनन् । उनले २ विकेट लिएका छन् ।

कोरी एन्डरसन

तीव्र गतिमा रन बनाउन सक्ने अलराउन्डर एन्डरसनले जारी विश्वकपमा राम्रो लयमा छन् उनको प्रदर्शनमा कन्सिस्टेन्सी पनि देखिएको छ । उनले ८ खेलमा २३१ रन बनाएका छन् । उनले श्रीलंका बिरुद्ध सर्वाधिक ७५ रन बनाएका थिए ।

एन्डरसन १४ विकेट पनि लिएका छन् । उनले स्कटल्याण्डविरुद्ध १८ रन खर्चिएर ३ विकेट लिएका थिए । उनको उत्कृष्ट प्रदर्शन दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा रह्यो । उनले ५८ रन जोड्नुका साथे ७२ रन दिएर ३ विकेट समेत लिएका छन् ।

लुक रोन्ची

विकेटको पछाडि त रोन्चीको प्रदर्शन राम्रो छ तर, ब्याट भने त्यति धेरै  चल्न सकेको छैन् । उनले ६ इनिङमा मात्र ७३ रन जोडेका छन् । श्रंलीकाविरुद्ध उनले २९ रन बनाए ।  तर, विकेट विकरका रुपमा रोन्चीले १२ क्याच लिएका छन् भने एउटा स्टम्पिङ समेत गराएका छन् ।

डानियल भिट्टोरी

भेट्रान स्पिनर भिट्टोरीले जारी विश्वकप समेत गरी वनडे क्रिकेटमा ३०० भन्दा बढी विकेट लिएका छन् । विश्वकपमा उनले ३.९८ को इकोनोमिसहित १५ विकेट लिएका छन् । उनले अफगानिस्तानबिरुद्ध मात्र १८ रन दिएर ४ विकेट लिएका थिए । दक्षिण अफ्रिका बिरुद्धको सेमिफाइनल खेलमा पनि उनले अन्तिम ओभरमा एउटा चौका प्रहार गरेका थिए ।

यो विश्वकपमा उनको प्रभावशाली प्रदर्शन भने इडेनपार्कमा रह्यो । उनले समूह चरणमा भएको भेटमा अष्ट्रेलियाका टप अडरका ब्याट्सम्यानद्वय शेन वाट्सन र स्टिभ स्मिथलाई पभेलियनको बाटो देखाएर न्यूजिल्याण्डको जितको आधार बनाएका थिए ।

टीम साउदी

उनले बोल्टसँग कम्बाइन हुँदा विश्वकपको सबैभन्दा डेन्जर बलिङ जोडीका रुपमा स्थापीत हुदैछन् । उनले १५ विकेट लिएका छन् । साउदीले इंग्ल्याण्डबिरुद्ध रेकर्ड ब्रेकिङ स्पेल फालेका थिए । जुन खेलमा उनले मात्र ३३ रन दिएर ७ विकेट लिएका थिए ।

ट्रेन्ट बोल्ट

जारी विश्वकपका उनी लिडिङ विकेट टेकर हुन् । उनले २१ विकेट लिएका छन् । उनले अष्ट्रेलियाबिरुद्ध ५ तथा वेस्ट इन्डिजविरुद्ध विरुद्ध ४ विकेट लिएका थिए । उनको इकोनोमी ४.४१ छ ।

दक्षिण अफ्रिकाविरुद्धको सेमिफाइनलमा पनि उनले ५३ रन खर्चिएर २ विकेट लिएका थिए । उनले हसिम अमला र क्विन्टन डि ककको महत्वपूर्ण विकेट लिएका हुन् ।

म्याट हेनरी

दक्षिण अफ्रिका विरुद्धको सेमिफाइनल खेलभन्दा एक दिन अघि उनले फस्ट कलास क्रिकेट खेल्दै थिए । एडम मिल्न घाइते भएपछि उनलाई टीममा मात्र बोलाइएन, सेमिफाइनल नै खेल्न पाए । तर, विकेट लिन भने असफल रहे । उनले दक्षिण अफ्रिकाबिरुद्धको खेलमा २ मेडन राख्दै ४० रन दिएका थिए ।

न्यूजिल्याण्डको टीममा पनि मिशेल, काइल मिल्स, टम लाथम र नाथन म्याकुलम पनि छन् । उनीहरुले जारी विश्वकपको कुनै पनि खेल खेलका छैनन् ।

– एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment