Comments Add Comment

गरिबी, भोकमरी र अभाव हटाउन एकीकृत प्रयास अपरिहार्य : राष्ट्रपति

१४ चैत, काठमाडौं । राष्ट्रपति डा. रामवरण यादवले विश्वका धेरै मुलुकमा अझै पनि विद्यमान गरिबी, भोकमरी र अभाव अन्त्यका लागि एकीकृत प्रयास अपरिहार्य भएको बताएका छन् ।
rambaran-yadavगत बिहीबारदेखि चीनको दक्षिणी प्रान्त हेनानस्थित बोआओ नगरमा सुरु भएको एसियाका लागि बाआओ मञ्चको वार्षिक सम्मेलनलाई शनिबार बिहान सम्बोधन गर्दै डा. यादवले गरिबी, भोकमरी र विभेद निमिट्यान्न पारेर एसियाको भविष्य स्थिर, सुरक्षित एवम् समृद्ध बनाउनुपर्नेमा जोड दिए ।

राष्ट्र राष्ट्रबीच र देशभित्रै विद्यमान आय तथा असमानताका अन्य स्वरुपलाई पूर्णतः उपेक्षा गर्न नसकिने बताउँदै राष्ट्रपतिले सबै देशले आफ्ना नागरिकलाई सम्मानजनक जीवन यापनको सुनिश्चितता गर्न नसकेको बताए ।

सामूहिक आर्थिक सुरक्षाको अभावमा शान्ति र स्थायित्व हासिल नहुने बताउँदै भन्दै यादवले आर्थिक वृद्धि र विकासका ढोका खोल्न मजबुत एवम् सहयोगात्मक संरचनाको आवश्यकतामा विशेष जोड दिए ।

एसियाले रचना गरेको गतिशीलता र प्रगतिको इतिहास शान्ति, स्थायित्व, लोकतन्त्र र सामूहिक समृद्धिको इतिहास बनोस् भन्ने आफ्नो चाहना रहेको बताउँदै यादवले एसियाको विद्यमान आशावादी परिदृश्यले यो महादेशको धरातलीय यथार्थलाई महत्वहीन तुल्याउन नहुने बताए ।

संविधान बनाउन नेपाली जनता सक्षम

संविधान निर्माणका काममा केही कठिनाइको सामना गर्नु परे पनि सौहार्दपूर्ण ढङ्ले समाधान गर्न नेपाली जनता सक्षम रहेको बताउँदै यादवले नेपाली जनताको संविधान प्राप्तिका प्रयासमा अन्तर्राष्ट्रिय समुदाय एवम् शुभचिन्तकबाट बृहत् समझदारी, ऐक्यबद्धता र सहयोग आवश्यक रहेको बताए ।

अल्पविकसित एवम् भूपरिवेष्टित नेपालले विकास प्रयासमा गम्भीर अवरोधको सामना गर्नुपरेको, पर्याप्त पूर्वाधारको अभाव, न्यूनस्तरको औद्योगिक आधार, अपर्याप्त पुँजी, प्राविधिक सीप र ज्ञानको कमी, दक्ष मानव संशाधनको अपर्याप्तता र न्यूनस्तरको उत्पादन क्षमताले आफ्नो मुलुकको आर्थिक अवस्था चित्रण गर्छ भन्दै राष्ट्रपतिले पर्यटन, जलविद्युत् र कृषिजस्ता विकासका अथाह विकल्पको उयोग हुन नसकेको बताए । उनले प्राकृतिक तथा मानव संसाधनको प्रचुर उपलब्धता भए पनि नेपाली जनताको जीवनस्तरमा गुणात्मक परिवर्तन हुन नसकेको उल्लेख गरे । रासस

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment