Comments Add Comment

मान्छेको रङ : विद्यार्थीले पढ्नैपर्ने, माओवादीले नपढे पनि हुने

बेथर

आन्विका गिरी युवापुस्ताकी उदीयमान लेखिका हुन् । उनले माओवादी जनयुद्धको पृष्ठभूमिमा ‘मान्छेको रङ’ उपन्यास लेखेकी छिन् । भाषा, प्रस्तुती वा कला पक्षमा आन्विका निकै अब्बल छिन् । तथापि ‘जनयुद्ध-साहित्य’ मा उनले पर्गेलेको मान्छेको रंग खासै चहकिलो बन्न सकेन ।

यो उपन्यास माओवादीले भन्दा बढी ‘टीन एज’का विद्यार्थीले पढ्नैपर्ने खालको छ ।

Manchhe-ko-rang

सांग्रिला बुक्समार्फत बजारमा आएको उपन्यास ३७८ पृष्ठको छ । यो सामान्यतया लामै सिर्जना हो ।

उपन्यासमा पात्रहरुकै नामबाट शीर्षक दिइएका छन् । जस्तो- पवन, माया, सविन, फेरि पवन, फेरि माया, फेरि पवन इत्यादि । एउटा पात्रको शीर्षकमा ५२ पृष्ठसम्मको कथानक छ ।

पात्रकै शीर्षकमा गरिएको खण्डीकरण पात्र-परिचयजस्तो मात्रै नभएर यसलाई एउटा फरक प्रयोगका रुपमा लिन खोजेको जस्तो देखिन्छ ।
भौगोलिक परिवेश हेर्दा पूर्वको मोरङ, राजधानी काठमाडौं र पश्चिमको दाङसम्मको आञ्चलिकतालाई समेट्न खोजिएको छ ।

पात्रहरु शिक्षक, गृहणी, राजधानीमा पढ्न बसेका विद्यार्थी, माओवादी कार्यकर्ता, प्रहरी एवं स्कुले केटीमा केन्द्रित छ ।

समयको हिसाबले हेर्दा सशस्त्र द्वन्द्वकालको उत्तरार्ध र ०६२/०६३ सालको जनआन्दोलनको सफलता करिब ५ वर्षको अवधिमा उपन्यास बढ्ता केन्द्रित छ ।

उपन्यासमा के छ ?

दाङतिरको पवन नाम गरेको केटो काठमाडौंमा पढ्न बसेको छ । ऊ बाआमाको जोडबल र पैसामा अष्ट्रेलिया जाने भिसाको ट्राइ गरिराखेको छ । काठमाडौंमा पढ्ने मध्यमवर्गका सबै प्राय सबै केटाकेटीको सपना यस्तै हुन्छ । काठमाडौंमा सडक आन्दोलन भरहेको छ ।

पुतलीसडकमा एउटी माया नामकी केटी भेटिन्छे । हरियो भेष्ट लगाएकी, चिन्ताको बोधमा डुबेजस्ती । केटीको घर पूर्वी तराईमा छ ।
पवनको अष्ट्रेलिया जाने दिन नजिकिन्छ, बाबुआमा काठमाडौं आउँछन् । पवनका दाजु माओवादीमा लागेर माििरएका हुन् । त्यसैले बुबा चाहन्छन्, यो पनि माओवादीमा नलागोस् । तर, काठमाडौंको डेरामा विनोद नामको माओवादीले बेलाबखत सेल्टर लिने गरेको हुन्छ ।

उपन्यासमा सोच्तै नसोचेको घटना हुन्छ, माया घर गएका बेला अकस्मात पवन पूर्व पुग्छ, आमा बालाई काठमाडौंमै छाडेर । उसले उहीँबाट भनिदिन्छ, म अष्ट्रेलिया जान्न । त्यसपछि न प्रेमिका, न पुरानो चिनजान, पवन मायाको घरको पाहुना बन्छ ।

Anbika-Giri
आन्विका गिरी

मायाको घरमा अचम्म देखिन्छ । प्राविका शिक्षक रहेकाआफ्ना बालाई उसले सर भन्छे । उनीहरुवीच खासै बोलचाल हुँदैन । छोरीले बाबुलाई गद्दार भन्छे । आमा र बहिनी हुन्छन् घरमा । बेलाबखत माओवादी आउँछन् । छिमेकमा माओवादी मारिन्छन्, पक्राउ पर्छन् । प्रहरीले छोरी चेलीलाई बलात्कार गर्छ । संकटकालको बेलामा मधेसको कुनै माओवादी गतिविधि भइरहने गाउँको चित्र जे जस्तो थियो, उपन्यासमा त्यसको सजीव व्याख्या छ ।

माया नामकी माओवादी झर्कोलाग्दी, रिसाहीखालकी छ । पवनले उसलाई प्रेमको नजरले पनि हेर्दैन । उनीहरु बेलाबख बाझ्छन् । चिडचिहाडवाला केटी हो माया, जुन विशेषता अक्सर माओवादी कार्यकर्तामा पाइन्छ ।

काठमाडौंको पवनलाई मायाको घरमा पुर्‍याएपछि उपन्यासकार आन्विका मायाको स्कुले जीवनको पछि लाग्छिन् । माया विस्तारै माओवादीमा लाग्छिन् । शिक्षक रहेका पितालाई सुरक्षाकर्मीले पक्डेर लगेपछि आत्मसमर्पण गर्छन् । त्यसपछि मायाले बुबालाई गद्दार घोषणा गर्छे र घर छाडेर माओवादीसँगै हिँड्छे । त्उसबेलासम्म यसले एसएलसी दिएकी हुन्छे ।

आफ्नो घरमा आइरहने शिखर नाममो कार्यकर्तालाई मायाले भित्रभित्रै प्रेम गरिरहेकी हुन्छे । स्कुल ड्रेसमै हिँडेकी मायालाई मिन्स हुँदा प्रयोग गर्ने प्याड शिखरले किनिदिन्छ । तर, उनीहरुवीच बाक्लो भेट हुँदैन ।

यसैक्रममा मायालाई माओवादीका केही कार्यकताले काठमाण्डौ भगाउँछन् । पवनको कोठामा जबरजस्ती बस्छे । कोठामा अर्का एक पुरुष पनि हुन्छन् । पवन शिखरलाई खोज्छे, तर पवनले शिखरको सम्पर्क पाएर पनि दिँदैन ।

यस्तै हुँदाहुँदै थाहा हुन्छ कि शिखरले नै मायालाई काठमाडों पठाएको रहेछ । गद्दार बाबुकी छोरीलाई साथ दिएकोमा शिखरलाई पार्टीले केही समय कारवाही पनि गरेछ । शिखर चाहन्थ्यो, मायाजस्ती केटीले पढ्नुपर्छ । अरु माओवादी चाहन्थे, बुर्जुवा शिक्षा पढ्नुहुँदैन ।

एसएलसीको रिजल्ट आउँछ । मायालाई एकतर्फी मन पराउने सविन पनि काठमाडौं पढ्न आउँछ । मायाले पनि प्रथम श्रेणीमा एसएलसी पास गर्छे र कलेज भर्ना हुन्थे । पछि काठमाडौंकै आन्दोलनमा लाग्दा ऊ प्रहरीको लाठीचार्जबाट घाइते पनि हुन्थे । शिखरलाई सेनाले समातेर हत्या गर्छ ।

यस्तै यस्तैमा ०६३ बैसाखमा ज्ञानेन्द्रले घुँडा टेकेको समाचार सँगै माया विजय जुलसमा सहभागी हुन्छे । उपन्यास पनि सकिन्छ ।

उपन्यासमा के छैन ?

मान्छेहरुको विभिन्न रंग देखाउन खोजिएको यो उपन्यासमा मायाका पिता र एकाथ माओवादी कार्यकर्ताबाहेक सबै पात्रहरु ‘टीनएज’ आसपासका छन् । मायाको विद्यार्थी जीवनको लामो चर्चालाई हेर्दा त उपन्यास झण्डै बाल मनोविज्ञानमा आधारित साहित्यजस्तो लाग्छ ।
उपन्यासमा माओवादी आन्दोलनको केन्द्रीय ब्याख्या भन्दा पनि छिपछिपे प्रस्तुती छ ।

माओवादी जनयुद्धको फौजी पाटोलाई दीपशिखाको उपन्यास ‘रात फुलेको याम’ले जसरी भित्रैबाट व्याख्या गरेको छ, आन्विकाले त्यसरी गर्न सकेकी छैनन् । लेखिका जनयुद्धमा प्रत्यक्ष सहभागी नभएकाले पनि त्यसरीभित्रको कथा आउन नसकेको हुन सक्छ ।

दीपशिखा आन्विका दुबैको उपन्यासमा देखिएको साझा समस्या के हो भने दुबैले उपन्यासलाई ०६३ सालको जनआन्दोलनमा टुंग्याएका छन् । त्यसयताको ८ वर्षको माओवादी कार्यकर्ताको मनोविज्ञानबारे उनीहरुले कलम चलाउन नसक्दा जनयुद्ध साहित्यको अन्तिम बिसौनीचाँहि ०६३ सालको काठमाडौंको जुलुसै हो कि भनेजस्तो देखिन्छ ।

तर, एउटा माओवादी कार्यकर्ता किन जनयुद्धमा लाग्यो ? उसले केकस्तो वैचारिक, राजनीतिक र सांस्कृतिक अन्तरविरोधहरु झेल्यो ? अहिले उसले के सोचिरहेको छ ? के अहिले पनि उसमा क्रान्तिकारिता र बलिदानीभाव छ ? पूर्व लडाकूको अहिलेको मनोविज्ञान के हो ? अरब जानुहुँदैन, देशमै केही गर्नुपर्छ भन्ने चेतना पूर्वमाओवादी कार्यकर्तामा छ कि छैन ? हिजोको माओवादी कार्यकर्ता अहिले कुन गुटमा लागेको छ ? यी विषयहरुलाई छाडेर ६ वर्ष अघिको समयावधिमा बीट मार्ने कर्मकाण्ड दीपशिखा र आन्विका दुबैको कमजोरी हो ।

त्यसबेलाकै समयलाई आधार बनाउने हो भने यी दुबै उपन्यास ०६३ साल जेठतिरै छाप्नुपथ्र्यो, ०७०/०७१ सालमा होइन । एक दशक पछाडिको माओवादी आन्दोलनलाई पूरै बेवास्ता गरिएकाले मान्छेको रंग चहकिलो हुन सकेन र मधुरो प्रकाशजस्तो भयो । कुनै पनि प्रगतिशील उपन्यासले एउटा निश्चित कालखण्डको समग्र मानवजीवनलाई प्रतिविम्वन गर्न सक्नुपर्छ ।

उपन्यासको केन्द्रीय भाव मधुरो छ । एसएलसी दिएकी केटीले बुझेको माओवादीले मात्रै माओवादी आन्दोलनको सातै रंगलाई पर्गेल्न सकेको देखिँदैन । उपन्यास माओवादीका पसेकै छैन, बाहिरबाट मात्रै छामेको छ ।

सकारात्मक पाटो

माओवादी जनयुद्धको सौन्दर्यशास्त्रमा कमजोर देखिए पनि उपन्यासको कलापक्ष निकै आकर्षक छ । पात्रहरु प्रेमको छेऊ छेऊमा पुग्छन्, केटा र केटीहरु एउटै कोठामा सुत्छन् । तर, उनीहरुमा अश्लीलता छैन । आफूले भोगेको समय र उमेरका परिघटनाहरु पात्रले सजीस्वरुपमा बोलेका छन् ।

आफ्नो पिताले बाध्य भएर आत्मसमर्पण गरेको विषयलाई छोरीले त्यसरी पितामाथि बलात्कारीकै जस्तो व्यवहार गर्छे भनेर पत्याउन सकिँदैन यस्तो असंगत घटनाक्रमलाई सामाजिक यथार्थवादी बनाउने हो भने लेखिका सफल उपन्यासकार बन्न सक्ने निश्कर्ष जोकसैले निकाल्न सक्छ ।

उपन्यासको प्रारम्भ असाध्यै सनसनीपूर्ण एवं कलात्मक छ । माओवादी सौन्दर्य खोज्नेहरुले त्यति स्वाद नपाए पनि किशोरावस्थाका विद्यार्थीहरुले पढ्नैपर्ने साहित्य हो आन्विका गिरीको ‘मान्छेको रंग ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment