Comments Add Comment

केपी र माधवले अंकमाल गर्दै भने-हाम्रो ठाकठुक भाँडा बजेजस्तै

Kp oli and Madhav Nepal

१४ फागुन, काठमाडौं । नेताहरुको कार्य विभाजनलगायत आन्तरिक मामिलामा एक अर्कोलाई आरोप गर्दै आएका एमाले अध्यक्ष केपी ओली र वरिष्ठ नेता माधवकुमार नेपाल शनिबार एउटै मञ्चमा देखा परे । उनीहरुले आफूहरुवीचको आन्तरिक विवाद घरभित्रको ठाकठुक मात्रै भएको प्रष्टीकरण दिए ।

एमाओवादीबाट एमालेमा फर्किएका डा. डिल्लीराज खनाल, नवराज पौडेल लगायतलाई बल्खुमा स्वागत गर्दै ओली र नेपालले पार्टीको नीति सही भएकाले आन्तरिक विवादले केही असर नगर्ने बताए ।

कार्यक्रममा अध्यक्ष ओलीले एमालेमा पछिल्लो समयमा देखिएको विवाद दुलाहा दुलहीको ठाकठुकजस्तै हो भने । उनले अहिले माधव नेपाल पक्षले जनाएको असन्तुष्टिलाई संकेत गर्दै स्वच्छ भावनाले पार्टीमा ठाकठुक परेको बताए । ‘यिनीहरुको झगडा पर्यो कि क्या हो भनेर छिमेकी आउँछन्, तर दुलाहा-दुलही चुपचाप हुन्छन्’ ओलीले भने ‘फेरि छिमेकी गएपछि ठाकठुक त परिहाल्छ, तर स्वच्छ भावनाले गरेको झगडामा कुनै स्वार्थ हुँदैन’ ।

सोही कार्यक्रममा बरिष्ठ नेता नेपालले पनि एमालेभित्र कहिलेकाहिँ देखिने विवाद वा असन्तुष्टि भान्छामा भाँडा बजेजस्तै हो भने । ‘अलि अलि ठाकठुक पर्दैमा केही हुँदैन, भान्छामा भाँडा बजे जस्तै हो’ नेपालले भने ।

Dilliraj-Khanal

त्यसपछि मन्चमै अध्यक्ष ओलीले नेपाललाई खै त तपाईको कोटमा राष्ट्रिय झण्डा भन्दै चन्द्र-सूर्य अंकित झण्डाको लोगो लगाइदिएका थिए । त्यसपछि दुबै नेताले अंकमाल गरेर हलमा उपस्थित कार्यकर्तालाई आफूहरुबीच विवाद नरहेको सन्देश दिएका थिए ।

कार्यक्रममा पूृर्वसांसद डा. डिल्लीराज खनाल, एमाओवादी सम्वद्ध अखिल क्रान्तिकारीका पूर्वउपाध्यक्ष नवराज पौडेल, वैद्य माओवादीका अर्घाखाँची जिल्ला नेता बाबुराम घिमिरे, हरिहर लामिछानेसहितको समूह एमाले प्रवेश गरेको थियो ।

एमाओवादी छाडेर राष्ट्रिय प्रगतिशील एकता मञ्च नामको संगठन खोलेको खनालको समूहले २० जिल्लामा आफ्नो संरचना रहेको बताएको छ ।  नवप्रवेशीलाई अध्यक्ष ओली, बरिष्ठ नेता नेपाल, उपाध्यक्ष भीम रावल, उपमहासचिव बिष्णु पौडेललगायतका नेताहरुले स्वागत गरेका थिए ।

तस्वीरः आनन्दराम डंगोल

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

ट्रेन्डिङ

Advertisment